समूह बनाऔं, विकासका लागि पहल गरौं


नेपाल विकासको कुरा गर्दाको मनको औडाहा कसैले नेपाल सगरमाथाको देश, सीताको जन्मभूमि, गोर्खालीको मूलुक, संसारको नै राम्रो र सुन्दर ठाँउ भन्दा हामी नेपाली घमण्डले गमक्क पर्छौ ।

कुरा त्यस्तै ३-४ वर्ष अघिको हो, म काम सकेर कोठा  फर्कदै थिए ट्याक्सीमा । प्रायः ट्याक्सीमा यात्रा गर्दा मलाई राजनीतिक, सामाजिक कुरा गर्न मज्जा लाग्छ ! त्यो दिन पनि त्यस्तै भयो । कुराको सिलसिलामा मेरो इथियोपियन ट्याक्सी ड्राइभरले मलाई सोध्यो तपाईं कुन देशबाट?

मैले उही गर्व र दम्भको साथ जवाफ फर्काएँ– नेपाल।

ड्राइभर एकछिन शान्त भयो, केही बोलेन। अनि एक्कासी हाँस्यो र भन्यो– “तिमीहरु अझै गरीब राष्ट्रको सूचीमा सबभन्दा तल छौ है? ”

आफ्नो देशको बारेमा सधैँ राम्रो सुनिरहेको म त्यो कटु सत्य भनौं वा वास्तविक यथार्थ कुरा सुनेर झल्याँस्स भएँ। एकपटक त झनक्क रिस पनि उठ्यो, किन जान्ने पल्टनु परेको उसलाई भनेर!

हामी गरीब राष्ट्रको सूचीमा साँच्चै पुच्छारमै पो छौँ त! एक्कासी याद आयो यो तितो सत्य। लाग्यो, २-३ वर्ष विदेश बस्दैमा मैले आफ्नै धरातल बिर्सिएछु। राजधानी काठमाडौं र ठूलो शहर जनकपुरको ओहोरदोहोरमा आफ्नै वरिपरिको सिराहा, सप्तरी, रोल्पा, रुकुमको वास्तविकता बिर्सेछु। आवेशमा त्यतिबेला झनक्क रिस उठे पनि त्यो ट्याक्सी ड्राइभरसँगको गफले मलाई आफ्नै समाज हेर्ने नयाँ दृष्टिकोण दियो। मलाई मेरो वास्तविकताको बोध गराईदियो।

आजकाल म कोड फर नेपालमा आबद्ध छु। म लगायत अरु केही साथीहरु नेपालमा डिजिटल साक्षरता बढाउने काम गर्छौं| हाम्रो समूह  सानो छ तर ठूलो सपना र योजनाहरु हामीसँग छन्। केही महिना अगाडि हामीले नेपालमा खुला डाटाको प्रयोग वढाउने अभिप्रायले नेपाल म्याप भन्ने वेभसाइट सुरु गरेका छौं| वेबसाइटमा नेपालको सबै गाँउविकास समिति, नगरपालिका, जिल्लाको तथ्याङ्क र जानकारी राखिएको छ। सबै डाटाहरु ग्राफमा, चार्टमा हेर्न सकिन्छ र हरेक  जिल्लाको जानकारीहरुलाई तुलना गर्न सकिन्छ। आजकल नेपाल म्याप विस्तार गर्ने क्रममा धेरै समय साइटमा रहेको डाटा हेर्न र केलाउनमा नै बित्छ। भन्नै पर्दा, मलाई  यो कामले आफ्नै देश बुझ्न सहयोग गरेको छ| तर, साथसाथै दुःखको कुरा जति नेपाल सम्बन्धि डाटा हेर्छु, देशको कुरा बुझ्छु उति नै औडाहा लागेर आउछ ।

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार नेपालका ५ वर्ष उमेर मुनिका बालबालिकाहरुमा १०० जना मध्ये ४० जना कुपोषित छन्| नेपाली महिलाहरुमध्ये ४० प्रतिशतलाई अझै लेख्न पढ्न आउँदैन। नेपालका ६४ प्रतिशत मानिसहरु अझै दाउरामा खाना बनाउछन् भने ८० प्रतिशत नेपालीको घरमा अझै बिजुली पुग्न सकेको छैन। ४० प्रतिशत नेपाली अझै खुला आकाशमुनि नै दिसापिसाब गर्न बाध्य छन्, घरमा शौचालय छैन। यी त पूरा देशको सरदर प्रतिशत मात्र हो। जिल्ला, गाँउ विकास समिति, नगरपालिकाको तहमा गएर अझै हेर्ने हो भने कतिपय ठाँउका स्थिति अझै विकराल छ। खोटाङ जिल्लाको दिकुहाको ८६ प्रतिशत जनताको घरमा चर्पी छैन, बिजुली पुगेको छैन। त्यस्तै महोत्तरीको धमौरा गाँउका ६० प्रतिशत जनतालाई पढ्न लेख्न आउँदैन। धमौराको कुल जनसंख्याको जम्मा ८ प्रतिशतले मात्र एसएलसी पास गरेका छन्। यी गाँउहरुले नेपालको दूरावस्थाको प्रतिनिधित्व गर्छ।

हाम्रो नेपाल  छिट्टै विकसित हुन्छ। छिट्टै नै संसारकै राम्रो र समृद्ध देश हुन्छ भनेर गमक्क परिरहँदा धेरै नेपाली मानव विकासको लागि चाहिने आधारभूत आवश्यकताको पहुँचभन्दा टाढा रहेका छन्। हामीले नेपाललाई विकसित, समृद्ध बनाउने योजना बनाइरहँदा गाउँगाउँमा बस्ने औसत नेपालीको आधारभूत आवश्यकता नै बिर्सिरहेका छैनौं? पूर्व पश्चिम चल्ने बुलेट ट्रेनको आवश्यकता महसुस गरिरहँदा हरेक नेपालीको घरमा चर्पीको अनिवार्यता र उपयोगिताको कुरा गर्न बिर्सिरहेको त छैनौं? शैक्षिक स्थिति राम्रो बनाउन एसएलसी प्रवेशिका र ‘प्लस टू’परिवर्तन गरिरहँदा सरकारी प्राथमिक विद्यालयमा पढ्ने न्यून आय भएको नेपालीका छोराछोरीलाई पोषणयुक्त खानेकुरा दिन बिर्सिसकेका त छैनौं?

नेपाल म्यापमा विभिन्न जिल्ला, गाउँ विकास समितिको तथ्याङ्क हेर्दा मलाई त्यस्तै कुराले औडाहा  बनाउछ। देशलाई अगाडि लाने दौडमा आफ्नो देशको वास्तविक धरातल विर्सिरहेको त छैनौ? घर बनाउँदा होस् या समाज बनाउँदा, समृद्ध समाजको लागि तलैदेखि जग बलियो बनाउनु पर्छ तर विकासको दौडमा गुटुटु दौडिने प्रयास गरिरहँदा हाम्रो प्राथमिकता तत्कालको लागि गलत ठाँउमा परेको त छैन नी?

औडाहाको उकुसमुकुस आफैंमा कहाली लाग्दो हुन्छ।  तर कहिलेकाहीं त्यही औडाहाले समस्याको नयाँ तथा नवीन बाटो पनि खोज्छ। त्यही औडाहाले वास्तविक जिन्दगीको परिधि र लचकताको सीमा देखाउँछ। नेपालका सबै समस्याको समाधान आजको भोली नहोला| सबै ठाउँमा मोटरगाडी, नयाँ स्वस्थ्यचौकी तत्काल नपुग्ला| कति योजना खर्चिला होलान्, हाम्रो नेपालको आर्थिक हैसियतभन्दा बाहिरको होलान्, देश विदेशबाट दुईचार पैसा जम्मा गरेर बनाउँ न त भन्दा पनि नमिल्ने खालको|

गरिब देशको गरीब सरकारसँग सबै कुरामा मुख ताकिहाल्ने स्थिति पनि छैन। तर यी सबै बाँधिएको परिधिभित्र चाँदीको घेरा नभएको भने होइन। सबै ठूलो समस्याको समाधान गर्ने सामर्थ्य अहिले नभए पनि कतिपय सानो तर महत्वपूर्ण समस्याको समाधान हामी आफैं गर्न सक्ने स्थितिमा भने छौं|  युवाहरुले त्यस किसिमका कामहरु गरिरहनुभएको पनि छ। उदाहरणको लागि बाल विवाह सम्बन्धि जन चेतना, घरघरमा चर्पीको निर्माण र त्यसको आवश्यकताका बारेमा संवाद र छलफलहरु भइरहेका छन्। यस्तो जनचेतना फैलाउन सामाजिक सञ्जालहरुले पनि महत्वपूर्ण भुमिका खेलेको छ। बिजुली, मट्टितेल, दाउराको विकल्पको रुपमा सौर्य प्यानल प्रयोग गर्ने, शुद्ध पानीका बारेमा जनचेतना फैलाउने, स्थानीय सामुदायिक विद्यालयमा स्वयंसेवक भएर काम गर्ने कामहरु पनि युवाहरुले गरिरहेका छन्। यी काम हेर्दा र सुन्दा सरल एवं सानो देखिएला तर यी प्रयासहरुले समाजमा पर्ने प्रभाव ठूलो छ| मिलेर काम गरेकोको खण्डमा कैयौं समस्याबाट छुटकारा पाउन धेरै दिन लाग्ने पनि छैन। हामी सबै गाउँटोल र नगरका युवाहरु मिलेर समस्या समाधान गर्न सानोसानो समूह बनाएर अग्रसर हुने हो भने यस्ता सामाजिक काम र अठोटले एउटा लहर सिर्जना गर्नेछ। हामी सबैले एकै काममा हात हाल्नु पर्छ भन्ने पनि छैन। आफूलाई मन परेको वा महत्वपूर्ण लागेको एउटा अभियान सुरु गर्दा भयो।

सबैले २-४ जना मन मिल्ने र कुरा मिल्ने साथीहरुको समूह बनाएर आजै  काम सुरु गरौं। सानातिना विकास र परिवर्तनको लागि अब सरकारलाई कुर्नु पर्ने बेला गयो। आफ्नो गाँउ, सहर, जिल्लाको स्थिति बुझौं। हाम्रो पिँढी एक अर्कालाइ परेको बेला सहयोग गर्न, राम्रो कुरामा संयमित भएर संवाद गर्न र समस्याको उचित र समयानुकुल समाधान खोजौं।

लेखिका मार्गरेट मियीद भन्छिन्, “सानो तर कटिबद्ध मान्छेहरुको समूहले काम गरेर संसार बदल्छु भन्दा उनीहरुको कामको प्रति कहिल्यै औला नउठाउनुहोस्, त्यस्तै मान्छेको जमातले नै आजसम्म संसार बदलेका छन्।” ती सानो र कटिबद्ध साहसी जनता हामी नेपाली हुन सक्छौ। हामी सधैं गरीब र दरिद्र हुने छैनौं, हामी उठ्ने छौँ।

 

घिमिरे कोड फर नेपालसँग आबद्ध हुनुहुन्छ। कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि युनाइटेड स्टेट्स अफ अमेरिकामा दर्ता गरिएको गैरसरकारी संस्था हो। घिमिरेलाई @RoshGhimire मा फलो गर्न सकिन्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.