संस्कृत मोहले हुरुक्कै बनायो – Setopati Nepal's Online Newspaper

संस्कृत मोहले हुरुक्कै बनायो


मैले सानै उमेरदेखि पढ्दै सुन्दै आएको कुरा– संस्कृत हाम्रो जननी भाषा हो, माउ भाषा हो। समय बित्दै जाँदा मलाई ती भनाइले घोचिरहन्थे– ए! मैले संस्कृत पढ्नुपर्छ। यो भाषासँग विमुख रहँदा मैले माउ अर्थात् जननीको उपेक्षा गरेको ठहर्छ। मैले साना कक्षामा पढेको बिर्सनु हुन्न मातृ देवो भवः। पितृ दोवो भवः। आचार्य देवो भवः। अतिथि देवो भवः।’ अर्थात् आमा, बाबा, गुरु र पाहुना देवता सरह हुन्।

मेरो अल्लारे उमेर सुरु हुँदा मेरो समाजमा पढाइ भन्ने शब्दलाई गुरुकुलीन शिक्षा भन्ने मात्र बुझिन्थ्यो। काठको चाक्लो फलेकमा धूलो माटो छरेर त्यसमाथि छेस्काले कखरा लेख्नुपर्ने अवस्था त्यो थियो। मैले पनि त्यही प्रणालीको शिक्षा सुरु गरेको हुँ। काका जगगन्नाथ सिग्देलको चिसो र साँघुरो पिँडीमा एकाबिहानै हामी आठ दशजना भुरा भेला हुन्थ्यौँ। उहाँले सुरुमा अक्षर सिकाइदिनु भयो। त्यसपछि संस्कृत व्याकरणका चौधवटा सूत्र रटाउन थाल्नुभएको याद मलाई छ।

केटाकेटी उमेर त्यस्तै छ सात वर्षको। प्रत्येकपटक काका भटभटाउनु हुन्थ्यो ‘अइउण्, ऋलृक्, एओङ्, ऐऔच्, हयवरट्, लण्, ञमङणनम्, झभञ्, घढधष्, जबगडदश्, खफछठथचटतव्, कपय्, शषसर्, हल्’। खेल्ने उफ्रिने उमेरको बच्चोलाई जवगडदश् सूत्रले सातोपुत्लो उडाइदियो। काकाका मुखबाट बारम्बार सुन्दा पनि हाम्रो दिमागमा नछिरेपछि साथीका बीचमा हाँसो बनाउँथ्यौँ – ‘कमलखस् अब घुँडाधस्’। उसले पनि मलाई सूत्रात्मक जवाफ दिएको सम्झन्छु– ‘भुवनबस् अब तँ पनि दुई घुँडाधस्!’

त्यो बेला हामीले के पढेका थियौँ? किन पढेका थियौँ? त्यो कुरा नबुझ्दै हाँसो र विनोदमै काकाको पिँडीमा जान भने हामीले छाडिदियौँ। थानकोटमा प्राथमिक स्कुल खेलेको खबर आयो। म त्यतै दगुरेँ। जबगडदश्को रटान भन्दा दशौँ गुना सजिलो स्कुलको पढाइ लाग्न थाल्यो। धेरैपछि मलाई बोध हुनथाल्यो– सरल र सहज खोज्ने क्रममा हामी कति महत्वपूर्ण कुराबाट गाह्रो हो भनेर पन्छिने रहेछौं। त्यो बेला हामीले फेदलाई भुलेछौँ र हाँगातिर मच्चिन थालेछौँ।

त्यो घटनाको चालीस वर्षपछि मलाई काव्य कविता, कथा, उपन्यास लेख्न मन लाग्यो। लेख्नको लागि केही पढ्नै पर्छ। के पढ्ने भनेर बुझ्दा संस्कृत वाङ्मयका साहित्य पढ्नुपर्ने देखियो। मैले कालिदास, माघ, वाणभट्टका कृति किनेँ र पढ्ने कोसिस गरेँ। म ती काव्यभित्र पस्न सकिन। सातो गयो। झलक्क जगन्नाथ काकाको पिँडी सम्झेँ। जबगडदश्लाई विनोद बनाएका प्रसङ्ग सम्झेँ। कुनै शनिवारको दिन थियो। कालिदासको कुमारसम्भव् किताब हातमा लिएर लाचारवश म उहाँको घरमा पुगेँ। मेरो आशय बुझेर उहाँ मज्जाले हास्नुभो। उहाँलाई त त्यो सिङ्गै काव्य कण्ठ रहेछ। किताबको पाँचौ सर्ग अर्थसहित व्याख्या गरेर मलाई सुनाइदिनुभयो। म ट्वाँ पर्दै घरतिर फर्के।

जिन्दगीका अन्य गोरखधन्दाले गाँजिसकेको अवस्था थियो। संस्कृतको बढी ज्ञान लिने लालसा भने मभित्र च्यापिएर रहिरह्यो। जगन्नाथ काका पनि बितेर जानुभयो। तर मेरो मनको लालसा मरेर गएको थिएन। मैले सुनेँ वाल्मीकि क्याम्पसमा पाँच महिने भाषा कक्षा वर्षमा एकपटक खुल्छ रे! त्यहीँ प्राध्यापन गर्नुहुने गुरु, मेरा कवि मित्र डा. जीवन अधिकारीसँग एक वर्षअघि यस बारे जिज्ञासा राखेको थिएँ। उहाँले हाँस्दै सोध्नु भो– ‘किन र? बुढेसकालमा संस्कृत पढ्ने मोह जाग्यो कि क्या हो?’

मैले आफ्नो प्रबल इच्छा सुनाएपछि भन्नुभो– ‘यो सालको कार्यक्रम सकियो। २०७४ सालको वैशाखदेखि यो कार्यक्रम सुरु हुन्छ। त्यसलाई कुर्नुहोस्!’

निकै व्यग्रता पूर्वक मैले समयलाई कुर्नुपथ्र्याे। कुरेँ पनि। जगन्नाथ काकाको पिँडी छुटेको ६० वर्षपछि पाँच महिनाको पढाइ शुल्क रू. ५००÷– तिरेर अहिले म त्यहाँ पढिरहेको छु।

सुरुमा मलाई अत्यास लाग्यो। एक सयको हाराहारीमा हामी विद्यार्थी थियौँ। अपराह्न ४ बजेदेखि चालु हुने त्यो कक्षामा अघिल्ला बेञ्च भरिभराउ हुन्थे। पछाडिका बेञ्चमा बस्दा गुरुले बोलेको नसुनिने, बोर्डमा लेखेको नदेखिने जटिल समस्या बन्यो। ढिलो हुने विद्यार्थी पछाडि उभिएरै पढ्नुपर्ने स्थिति भयो। झ्यालसमेत भरिभराउ भएपछि हावा थुनिने। अन्धकार, उकुसमुकुसमा खलखली पसिना छुट्ने अवस्था प¥यो। थप भर्ना भएर आउनेको सङ्ख्या दिनानुदिन बढ्दै थियो। अघिल्लो बेञ्चमा बस्नका लागि ३ बजेदेखि नै क्याम्पस पुग्ने होड चल्यो।

मेरो हृदय उमङ्गले मडारियो। वाह! संस्कृत पढ्ने लालसा! वाह! यसको महत्ता बोध! कक्षामा ५०–५५ वर्ष अन्तरका हामी विद्यार्थी छौँ। कुन जात? कुन वर्ण? कुन लिङ्ग? त्यहाँ कुनै विभेद छैन। नाथ सम्प्रदायका एकजना साथी उनकै मौलिक भेषभूषामा पढ्न आएका पनि देखिए। मेरो मन हर्षले गदगद भयो। विद्यार्थीको यो उल्लासमय प्रस्तुति देखेर यो भाषाका बारेमा सकेसम्म बढी जानकारी लिने उद्देश्यले अहिले म नियमित उपस्थित भइरहेको छु।

विद्यार्थीको चाप अनि ऐच्छिक विषय पढ्नेहरूलाई छुट्याएर गत जेष्ठदेखि सकेसम्म कक्षा अलग गरियो। त्यसपछि ऐच्छिक व्याकरण, ज्योतिष, वेद, कर्मकाण्ड र साहित्य विषय लिने अलग कक्षा चालु भए। तथापि अनिवार्य व्याकरणको कक्षामा उही चाप हुने भएकोले त्यसको पनि दुई खण्ड गरिएको छ। केही होलो महसुुस भए पनि पछिल्ला बेञ्चमा बस्नुपर्दा पूर्व समस्या अझै छ।

म उदेकले रनथनिएँ। विस्मयले पछारिएँ। पश्चात्तापले जलेँ जब नारायण पौडेल गुरुले सुरुमै बोर्डमा लेख्नुभो – ‘अइउण्, ऋलृक् ………’ साठी वर्षपछि पुनः मलाई इनारमा खसेझैँ लाग्यो। काकाको पिँडीबाट जुन सूत्रलाई प्यारोडी बनाएर म भागेको थिएँ। अहिले ठ्याक्कै उही कठधरामा उभिएको छु। त्यही सूत्रलाई तन्मयका साथ रटिरहेको छु। यसभित्रको अनन्त रहस्य खोजिगरिरहेको छु। त्यसको अगाधता फेला नपरेकोले छटपटिएको छु। काकाको पिँडीबाट म कसरी उम्कूँ भन्ने प्रारम्भिक मानसिकता आज कसरी यी सूत्रभित्र पसूँ भन्ने विकल्प खोजिरहेको छ। त्यो बेलाको विचलनले मलाई कुरी कुरी गरेझैँ लाग्छ। अहिलेको उत्साहले धन्यवाद भनेझैँ ठान्छु। मैले एउटा उखान पढेको थिएँ– बिहानै घर छाडेर हिँडेको भुलक्कड साँझमा घरमा फर्केर आयो भने उसलाई भुलक्कड नभन।

यतिखेर म छक्क परेर देशका ती महाचाण्डल र मूर्खहरूलाई धिक्कार गरिरहेको छु जसले संस्कृतलाई मृतभाषा भने। त्यसको चेपमा परेको नेपाली भाषालाई स्वार्थान्ध लालबुझक्कड पिचासले अझै बटार्न र निमोठ्न खोज्दैछन्। यो के विडम्बना हो? म अनुभव गरिरहेको छु संस्कृत व्याकरण कुनै खेलाँची होइन। यसका वर्ण, पद, ध्वनि, रीति, संयोग, वियोग विन्यासका सूक्ष्म र अकाट्य सूत्र वैज्ञानिक आधारमा छन्। यो व्याकरण ठूलो साधना र तपस्याले खडा गरिदिएको अभेद्य आधार हो। नेपालीका मिचाहाहरूले कतै कुतर्क गर्लान् तर संस्कृतमा एउटा कमासम्म मिच्ने ठाउँ छैन। एकजना विद्वान्ले भनेको सुनें– यो व्याकरणबाट एउटा अक्षर थप्न वा झिक्न सके मलाई भाग्योदय चिठ्ठा परेको खुसी मिल्ने थियो।

नेपाली व्याकरण यसैको सानो कुञ्ज हो। भनूँ हाम्रो भाषाको आधारशिला नै यही हो। जग नरहँदा अवश्य धुरी रहन्न। यो सत्य हाम्रो स्वार्थ छ त्यहाँ। तिनले बुझ्नुपर्छ भाषा, धर्म, संस्कृतिजस्ता अति संवेदनशील मानवीय पक्षलाई चलाउनु हँुदैन। त्यसमाथि उपेक्षा राख्नुहुँदैन।

वाल्मीकि क्याम्पसमा यतिखेर संस्कृत भाषा पढ्दै, यसको सूक्ष्म मनन गर्दै एउटा धारणा पनि बनाउँदैछु म। त्यो के भने यो व्याकरण सिक्न र बुझ्न विदेशीहरू समेत यहाँ आउँदा रहेछन्। नेपालीहरूले यति धेरै चासो लिएर यसको अध्ययनका लागि धाउनुको कारण भोक हो, ज्ञानको भोक। प्यास हो त्यो अमृतमय बाङ्मयका तलाउबाट निर्मल जल पिउने तिर्खा।

अहिले पश्चिमाहरू आफ्ना देशमा संस्कृत विद्यालय खोली खोली किन अध्ययन अध्यापन गराइरहेका छन्। यो मृत भाषा थियो भने लासको के प्रयोजन हुने थियो होला र? तिनलाई थाहा छ क्राइष्टको जन्मपूर्व नै यो भाषामा लेखिएका साहित्यले विश्वलाई चकित तुल्याएको थियो। कालिदासजस्ता वेजोड कविका रघुवंश, कुमारसम्भवम्, शाकुन्तलम्, मेघदूत जस्ता कृतिले साहित्यको उत्कर्ष दिइसकेका थिए। तिनलाई यो पनि थाहा छ– गणितीय सूत्रमा कम्प्युटरबाट परीक्षण गर्दा संस्कृत व्याकरणजस्तो वैज्ञानिक र वेदाग व्याकरण अन्य भाषामा छैन।

मलाई थाहा छ अहिले मैले लिइरहेको पाँच महिने भाषा कक्षाले खासै महŒव राख्दैन। किनभने व्याकरण पढाउने गुरुसँग मैले सोधेको थिएँ – ‘गुरु! यो व्याकरण बुझ्न मलाई गाह्रो प¥यो। किन होला?’

नारायण गुरुले हाँसेर उत्तर दिनुभो– ‘छ महिनासम्म निरन्तर घोकिरहँदा बल्ल यसका सूत्र र तिनका प्रयोगका तरिका मलाई खुल्न थालेका थिए। तपाईंले पढ्न थालेको दुई महिना भयो। अब आफैं विचार गर्नाेस्!’

मैले ट्वाँ परेको मुख उहाँतर्फ फर्काएँ। तैपनि हिम्मत गरेर सोधेको थिएँ– ‘उसोभए कालिदास र माघजस्ता कविका काव्य कहिले सर्र बुझ्नेछु होला?’

‘यो प्रशिक्षणबाट तपाईंलाई पढ्ने तरिका थाहा हुन्छ। तपाईंले अष्ठाध्यायी पाठ पढ्नु प¥यो। यसबाट तपाईंलाई उच्चारण, पदसन्धि, पदविग्रह, समास, कारक आदि विषयको ज्ञान मिल्ने छ। व्याकरणमा लगभग चारहजार सूत्र छन्। ती सबै सूत्रको ज्ञान र प्रयोगसमेत गर्न सक्ने उद्भट विद्वान पाउनै दुर्लभ छ। हामी गुरु भएकाहरू पनि काम चलाउसम्म हौँ। तपाईं पनि काम चलाउ विद्या सिक्नोस्!’ यो गुरुको उत्तर र सल्लाह थियो।

म तीन छक पर्छु। जहाँ सर्वज्ञाता कोही छैन। जहाँ काम चलाउ मात्रै छन्। काम चलाउलाई पनि धेरै मानिने त्यो अथाह सागरलाई प्रणाम गर्न मन लाग्यो। त्यो भन्दा पनि १४ ओटा सूत्र जसलाई माहेश्वर सूत्र पनि भनिन्छ। ती सूत्र शिवजीका डम्मरुको नादबाट प्रकट भएको कुरा उल्लेख छ। म त्यो डम्मरु र त्यसका वादकका सामु तुरुन्तै नतमस्तक हुनपुग्छु।

महादेव जो देवभन्दा माथि महादेव हो। त्यो बिम्बलाई फूलपाती चढाएर पूजा गर्नु भन्दा पनि बेग्लै श्रद्धाले सम्झन मन लाग्यो। किनभने ऊ अक्षरको प्रणेता। ऊ व्याकरणको प्रणेता। ऊ गणशास्त्रको प्रणेता। ऊ स्वरशास्त्रको प्रणेता। ऊ नृत्यशास्त्रको प्रणेता। नटराज उसको नाम। ऊ भगवान भनेर पूजन गर्ने तत्वभन्दा माथि सामाजिक सभ्यता प्रादुर्भाव गर्ने समाजशास्त्री हो। वैज्ञानिक हो जसको डम्मरुले अगणितीय शास्त्रका सूत्र निरूपण गरिदियो।

यो कक्षाको बसाइ पनि मेरो लागि अविस्मरणीय हुने भयो। सहपाठी साथीमध्ये कसैले मलाई हजुरबा भन्छन्। कसैले बा भनेर सम्बोधन गर्छन्। कुनैले कविजी भनेर बोलाउँछन् पनि। मलाई ती सम्बोधनले झिँजो भनूँ पट्यार लगाउँदैनन्। उल्टो खुसी र प्रेरणा दिन्छन्। अन्य लेखन कार्य पनि यो पढाइले रोकिदिएको छ। दैनिक ३/४ घण्टा नपढ्ने हो भने आउँदो भदौमा हुने जाँचमा अवश्य फेल भइन्छ।

बच्चा बेलाको जस्तो रटेका कुरा दिमागमा बसिरहने उमेर पनि यो होइन रहेछ। अर्काे अपार खुसीको कुरा चाहिँ के भने सात वर्षको उमेरमा काकाले रटाउन खोज्नु भएका १४ सूत्र अब सत्तरी वर्ष पुग्न लाग्दा कण्ठ भन्न सक्ने चाहिँ भएँ। मेरो जय होस्!

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.