एनआरएन, साम्राज्यवाद र वैश्विक चेतको सन्दर्भ


गैरआवासीय नेपालीहरुको संस्था एनआरएनको भविष्यको बारेमा अखबारी चिन्तन गर्नेहरुले इतिहास नै नपढी ख्वारख्वार्ती मनमा आएको भडासमात्रै पोख्ने गरेका छन्। उनीहरु स्वयं गैरआवासीय नेपाली, नेपालका नीति निर्माता र वैश्विक जगतलाई कन्फ्युज बनाइदिने गरेका छन्। भूइँचालोमा एनआरएन, डोल्माको जीवन रक्षामा एनआरएनलगायत बेलाबखत सुनिने एनआरएनसँग गाँसिएका सन्दर्भहरुमा हलुका टिप्पणी गर्नुभन्दा पहिले हाम्रो भू–बनोट, राजनीति र सामाजिक इतिहास, छिमेकी ब्रिटिश उपनिवेश र हाम्रो वैश्विक स्तरको बारेमा बुझिएन भने कुरो गोलमटोल हुन्छ।

मल्लकाल कलाकौशल, वैदेशिक व्यापार र आत्मस्वाभिमानको निम्ति स्वर्णीम युग थियो। अझै पनि मल्लकालीन सम्पदाहरुमा हामी नेपालीहरुले गौरव गरिरहेका छौं। तत्कालीन समयमा भोटसँगको व्यापार, पर्सियन व्यापारीहरुको काठमाडौं उपत्यकामा व्यापारको निम्ति प्रवेश, सिन्धुघाँटी आसपासका व्यापारीहरुको काठमाडौं खाल्टोमा आवतजावतले नेपालको बाहिरी परिवेशसँगको सम्बन्ध झल्काउँछ। मुनामदन धेरैपछि लेखिएपनि त्यसै लेखिएको होइन। मुनामदनको सन्दर्भ आप्रवाससँग जोडिएको छ। चीनको सिन्जियान राज्य, तिब्बत वरपर मल्लकालीन समयमा व्यापार गरेर हाम्रा पुर्खा नेपाली हुन् भन्नेहरु अझै पनि भेटिन्छन्।

रोजगारीको सिलसिला, बन्द व्यापारको निम्ति सजिलो भारत प्रदेशका विभिन्न भेगहरु, टिष्टा काँगडाका पहाड छिचोलेर धेरै परसम्म नेपालीहरु पहिल्यै पुगिसकेका थिए। यो फैलाई ब्रिटिश साम्राज्यसँगसँगै संसारैभरी पुगेका भारतीयसँगै फैलिएको पाइन्छ ।

सम्राट अशोकले दक्षिण पूर्वी एशियामा विजयको झण्डा फहराउँदै जाँदा सुमात्रा र मलायामा भारतीय हिन्दू ब्राम्हणहरु पुगेका थिए। अहिले पनि मुसलमान वर्चश्व रहेको इन्डोनेशियामा हिन्दू मन्दिरहरु छन्। अल्पसंख्यक तर सशक्त हिन्दूहरुको उपस्थिति सम्राट अशोकको विजययात्रासँग जोडिएको छ।

सोह्रौं शताब्दीमा मस्को, तत्कालीन पर्सिया र हालको इरानमा सूति, फलामजस्ता औद्योगिक सामानका व्यापारीहरु भारतीय नै थिए। पछि अटोमन साम्राज्यको समयमा पर्सियामा धेरै हिन्दू र यहूदी व्यापारीहरुको कत्लेआम गरिएको थियो। खुमेनी शासनमा त मन्दिर निर्माणसमेत बर्जित छ। त्यतिमात्र होइन, अफगानिस्तानको कन्दहार र हेरातजस्ता अहिलेका तालिबानी प्रभावित क्षेत्रमा पन्जाबी, सिन्धीहरु व्यपारको निम्ति पुगेका थिए। दक्षिण अफ्रिका, मोजाम्बिक, मध्यअफ्रिकी मुलुकहरुमा गुजराती व्यापारीहरुको राम्रो व्यापार थियो। इतिहास खोतल्दै जाँदा चीनको उग्यार क्षेत्रका मुसलमानहरुले नेपाली र भारतीय व्यापारीहरुलाई काटेपछि व्यापारीहरु भागेका थिए। उन्नाइसौं शताब्दीभन्दा अघिको आप्रवासी इतिहासलाई हेर्दा पूर्णरुपमा पुस्ता नै रुपान्तरित भएर आप्रवासमा जाने परम्परा रहेको भेटिन्छ। अहिलेको जस्तो सूचना र प्रविधिको सहजता नभएर हुनसक्छ, ब्रिटिश साम्राज्यमा भारतीय ब्यापारीहरु बिशेषगरी गुजराती, सिन्धी र पन्जाबीले वेलायतदेखि क्यानडा, अमेरिकासम्म सशक्त उपस्थिति जनाएका छन्। उनीहरुको जनसंख्या बढोत्तरीमा छ र उनीहरुको राज्यका निकायमा पहुँच पनि छ। मूलतः अहिंस्रक भारतीयहरुलाई अझै पनि पोर्चुगल र यसका औपनिवेशिक देशहरुमा निकै माया गरिन्छ। चिनियाँहरुझैं केवल अर्थोपार्जनको निम्ति मात्रै लिट्टी कस्ने नभई स्थानीय संस्कृति र राजनीतिमा समेत उनीहरुको भूमिका रहेको स्वीकारेको देखिन्छ।

वास्तवमा मल्लकालदेखि नेपाली व्यापारीहरुको अन्तर्राष्ट्रियस्तरमा भएको सञ्जालको गतिलो खोज नै भएको देखिँदैन। नेपाल एकीकरणपछि फिरंगीहरुलाई काठमाडौं खाल्टोबाट धपाइदिएर स्वाभिमानी नेपाल राज्यको कल्पना गरेका पृथ्वीनारायण शाहले देश, धर्म र स्वत्वको रक्षार्थ बाह्य प्रवेशलाई खुल्ला नगरेको देखिन्छ। दुखसुख भएपनि आफ्नै उत्पादनले जिविका चलाउने भावनाको बिस्तारका निम्ति उनका लिखित दस्तावेजहरुको अध्ययनबाटै बुझ्न सकिन्छ।

शाहकालहुँदै राणाकालमा आइपुगेपछि बल्ल नेपालीहरु अध्ययनको निम्ति बाहिर आउने र बाह्य संसारसँग सम्पर्कमा रहेर काम गर्ने गरेको पाइन्छ। छयालीस सालसम्म सम्पन्न, दरबारनिकट र उच्च ओहोदाका व्यक्तिहरुको बाह्य प्रवेश सहज थियो। छयालीस सालको क्रान्तिपछि जनताका छोराहरु बाह्य संसारमा जाने, अध्ययन गर्ने, उच्च तहमा रोजगारी, बन्दव्यापार गर्ने, श्रम गर्ने र त्यसको आम्दानी देशमा पठाउने गर्न थालेका हुन्। यसको जस सो क्रान्तिलाई नै दिनुपर्छ। माओवादीले गाउँ कब्जा गर्दै देश युद्धमा हेलिन थालेपछि युवाहरु अरब, युरोप, अमेरिकातिर लाग्ने क्रम बढेको हो।

यसै सन्दर्भमा रुसमा अध्ययन गरेको व्यापारी इन्जिनियरहरु, कुटनीतिक र बैंकिङ क्षेत्रमा राम्रो अध्ययन गरेका व्यक्तिहरुको पहलमा एनआरएनको स्थापना भएको देखिन्छ। मूलतः श्रम गरेर रेमिट्यान्स नेपाल पठाउने श्रमिक वर्गको भूमिका देखिए पनि कालान्तरमा तिनीहरुको भूमिका शून्य हुँदै गएर व्यापारिक वर्गले नै यसको नेतृत्व लिने र सञ्चालन गर्ने कुरा देखिँदै आएको छ। प्रवासनका शुरुवाती समयमा यो सामान्य पनि हो। अहिलेको वैश्विक समाजमा जसले अर्थ संकलन गर्दै आफूलाई अगाडि उभ्याउँछ, उसैले शक्ति र सत्ता हात पार्ने सत्य देखिँदै पनि आएको छ। एनआरएन पनि त्यसको अपवाद कसरी हुन सक्ला र? सकारात्मक व्यापारिक कर्म र आफ्नो ज्ञान बुद्धिको प्रयोगले अर्थोपार्जन गर्नु गलत पनि अवश्य होइन।

रह्यो कुरा एनआरएनको भाँडभैलोको, राजनीतिको नाममा अराजनीतिक गर्ने पार्टीका हनुमानहरुले भाँडेका मात्र हुन्। कालान्तरमा तिनको अस्तित्व पनि नामेट भएर जान्छ। दलको उर्दी मान्यो, कोरम पुर्‍यायो, कब्जा जमायो र केही गर्छु भनेर शक्ति सामर्थ्य बोकेर मैदानमा उभिएकालाई घुँडा टेकायो। बस्, यी राजनीतिक दलका कारिन्दाहरुले गर्ने त्यत्ति नै हो। त्यसमा श्रम गरेर गुजारा चलाउने र रेमिट्यान्सले छोराछोरी पढाउने बाउआमाको औषधी खर्च गर्ने व्यक्ति प्रयोग मात्रै भएका छन्। प्रारम्भिक संक्रमणकालमा यो सामान्य हो, हुन्छ नै। कालान्तरमा राज्यसँगको पहुँच र वैश्विक क्षमता विस्तारले श्रमिक होइन पूँजी भएकाहरुको हातमा पुग्ने नै छ यो संस्था। हिजोको जस्तो साम्राज्य भएका मुलुकहरुमा भारतीयहरुको व्यापार बढेजस्तो छैन, अब सूचना प्रविधिले सबै कुरा सहज बनाइदिएको छ।

एनआरएनको नेतृत्वले पुस्ता विलयको महाप्रलयप्रति पटक्कै सोचेको पाइदैन। म त भन्छु, विमानस्थलमा सामान गुडाउने तीन पांग्रे गाडा, बागमति सरसफाइ, भूकम्प पीडित क्षेत्रमा पनि एनआरएन गएर त्यत्रो भवन निर्माणको वाचा बाँध्न जरुरी नै थिएन। स्वीस नागरिकले भूइँचालोमा सर्वांग भएकालाई पठाएको लुगाफाटो अझै त विमानस्थलमा छ। नीति भएन रे निकाल्नलाई। भूइँचालो पीडितहरुलाई हेरेर आफ्नै बंगला थप्ने कृतघ्न पापीहरुले राज्य चलाउँदासम्म एनआरएन उफ्रेर केही हुँदैन। बरु आफ्ना सन्ततिलाई पुस्ता विलयको भयबाट जोगाउन आफ्नो धर्म, सँस्कृति र भाषाको निम्ति पहल गर्न जरुरी देखिन्छ। म त देख्छु, जताजता एनआरएन छन्, उनीहरु व्यापारिक कर्ममा लाग्नुपर्छ। सहयोग गर्नुपर्छ सरकारलाई। हात दिनुपर्छ। तर, आफैं अघि सरेर एनआरएनले देश बनाएर बन्दैन। रेमिट्यान्सले देश विकसित हुने भए फिलिपिन्स र श्रीलंका संसारका अग्रगामी मुलुकमा गनिइसक्थे। भारतीयहरु आफ्नो भाषा, संस्कृति जोगाएका र व्यापारिक अनि अध्ययनको क्षेत्रमा अग्रसर भएरै एनआरआईको रुपमा स्थापित भएका हुन् ।

टोलैपिच्छेका संस्था, गाउँ नै पिच्छेका समाज र हरेक राजनीतिपिच्छेका भातृसंगठनले एनआरएनको मर्ममा बरफ खन्याइरहेका छन्। लोभीपापीहरुले समाज सेवा गर्न जरुरी छैन। बेल्जियममा एउटी महिलालाई लोग्नेले अलपत्र पार्दा त्यहाँका तीनदर्जन सामाजिक र राजनीतिक संस्थाले रमिता हेरेकै उदाहरण पर्याप्त छ। दलको झण्डा बोकेर एनआरएन छिर्ने, अनि समूह बनाएर शासन गर्ने कबिला प्रथाबाट सबै नेपाली प्रताडित छन्। स्वयं पनि पीडित छन्। समय लाग्छ, म आशावादी छु। जुनसुकै दलको होस्, यो प्रवृत्तिमा बिराम त लाग्छ नै। दोश्रो पुस्ताले यो झण्डे पुस्तालाई विस्थापित गर्नेछ। वैश्विक रुपमा पनि ऊ सम्पन्न र काबिल निस्कने छ। अनि बल्ल एनआरएन आफ्नो लाइनमा आउनेछ।

जीबा लामिछानेको सर्सर्ती संसार पढेर मख्ख हुने होइन। न त उपेन्द्र महतोको कुबेर गाथा सुनेर रमाउने हो। सानै होस्, अब आफैं व्यापारमा नलाग्ने हो भने एनआरएन भन्नुको कुनै तुक छैन। भोट हालेर पार्टीको हलीलाई नेपाल पठाइरहने हो भने साहूको संकीर्ण राजनीतिको खेत जोतेर उतै निदाउँछ ऊ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.