मिस मेरो बच्चालाई अलि बढी होमवर्क दिनुस् है

मिस मेरो बच्चालाई अलि बढी होमवर्क दिनुस् है


एक हुल गोरो छालाका पर्यटक साना नानीहरू  स्कुल जान तयार भएर बसेका बस स्टपमा रोकिए। केहीले आफूसँग भएको क्यामरा तेर्साए, केही जान्न खोजेको जसरी उत्सुक पनि देखिए। खासमा उनीहरुको चासो यी साना भुराहरुले बोकेका ब्यागमा थियो।

साना कक्षामा पढ्ने ती विद्यार्थीहरुले बोकेको ब्याग र बोलेको अंग्रेजीबाट प्रभावित थिए। ६ वर्ष जतिका एक कक्षामा पढ्ने भुरोले नि परर अंग्रेजी बोलेको र उसको कक्षामा पाँच ६ विषयको पढाइ हुन्छ भनेको सुन्दा ती पर्यटकले जिब्रो पनि टोकी भ्याए ।

जापान भ्रमणमा यसपालि संयोगले धेरै वर्षदेखि उतै बसी संघर्षरत नेपाली परिवारलाई भेट्ने अवसर जुर्‍यो। आफ्नो मिहेनतले जापानी समाजमा राम्रो छवी बनाएका नेपाली भेट्दा उसै पनि रमाइलो लाग्ने। नेपाली भनेका तल्लो स्तरका काम गर्न भारत जान्छन् भन्ने एक युवतीको टिप्पणीले सामाजिक सञ्जालमा ठूलो हल्लीखल्ली गरेको आलो समयमा जापान जस्तो महङ्गो मुलुकमा ब्यवसाय गरी नेपाली मात्र होइन जापानीहरुलाई समेत रोजगारी दिलाएका नेपालीहरु भेट्न पाउँदा अनि उनीहरुको अनुभव सुन्न पाउँदा नाक नै फुलेर आयो ।

हो यी बसाइहरुमा उठेको प्रसङ्ग यहाँ उल्लेख गर्न चाहेँ । हामी गएका घरका भाउज्यू आफ्नो एक कक्षामा पढ्ने छोरोको पढाइलाई लिएर चिन्तित थिइन्। नेपालमा छोरो कै उमेरका भुराहरुले फरर बोल्ने लेख्ने भइसक्दा आफ्नोले पढ्नमा अब्बल भएको कुनै संकेत नदिएको अनि के पढिस् भनेर सोध्दा कहिले साथीहरुलाई खाना बाँड्ने ड्युटीमा बसेको, सुतेको मात्र कुरो गर्दा उनलाई जापानी पढाइले छोरो पछि पर्ने हो कि भन्ने मनमा लाग्दो रहेछ । होमवर्कको नाममा पनि कहिलेकाँही फिलफिले कागज मात्र घरमा ल्याउने रहेछ ।

त्यसो त नेपालमा पनि शिक्षामा ठूलो फड्को अनुभव भइरहेको छ । बिदाका दिनमा छोराछोरीका प्रोजेक्ट वर्ककै लागि सही घुम्न निस्किने धेरै देखिन्छन् अनि यी भ्रमणहरुमा फोटो खिच्नु, गुगलमा त्यो ठाउँको बारेमा जानकारी जम्मा पार्नु, रिपोर्ट लेख्नु अभिभावकको ड्युटी नै भइसक्यो भलै जसलाई प्रोजेक्ट वर्क दिइएको हो ऊ वावुआमाले मरीमरी फोटो टाँस्ने, चित्र बनाउने आदि इत्यादि गरी राख्दा उसले एक निद्रा भ्याइसकेको होस्।

यत्रो धेरै कुरो बुनेर कुरो जोड्न खोजेको चुरो चाँहि के भने बिहान सातै बजे घरबाट निस्किएको सानो बच्चा बेलुका ६ बजे घर आइपुग्दा पनि धेरै अभिभावक स्कुलमा बच्चालाई दैनिक होमवर्क दिइयोस् भनेर पुग्दा रहेछन् ।

एक दुई कक्षामा वा त्यो भन्दा साना क्लासहरुमा पढ्ने कति त बस मै निदाउँदै घर पुग्छन् । तेसरी सकसले बल्लबल्ल घर पुग्ने बच्चाहरुलाई अझै होमवर्क दिइयोस् भनेर माग्नुको पछाडिको कारण बच्चाले धेर समय ट्याब मोबाइलमा गेम खेलेर हैरान बनाएर सो गर्नबाट बञ्चित गर्नलाई हो रे । अहिलेको शिक्षा फेरि कस्तो स्थितिमा आइपुगेछ भने अभिभावकले आफू ब्यस्त भएकाले बच्चाको पढाइ सम्पूर्ण रुपमा विद्यालयले हेरिदियोस् भन्ने अनि विद्यालयले प्रोजेक्ट वर्क र होमवर्कका नाममा सवै काममा अभिभावकलाई दलाउन थालेछन् । अनि यो रस्साकस्सीमा विचरा बच्चाहरुले दुख पाउने नै भए । यी साना विद्यार्थीलाई घरमा झोला अनि किताबकापी नै नपठाउने, सम्पूर्ण रुपमा स्कूल मै गराउने भन्ने स्कूलहरुले पनि अभिभावकको दवावमा होमवर्क दिन थालेछन् ।

अब फेरि गुणस्तरीय अनि ब्यवहारिक शिक्षाको कुरो गर्ने हो भने तीनै वर्षमा स्कूल गएका यहाँका होनहार विद्यार्थीलाई ६ वर्ष पछि मात्र स्कूल भर्ना हुने अनि ढिलो पढ्ने जापान जस्ता देशका विद्यार्थीहरुले धेरै प्रतियोगितात्मक परिक्षाहरुमा उछिन्दै आएका छन् । कति पढे भन्दा कति ब्यवहारिक कुरो सिके भन्ने हेक्का राख्नुपर्ने रहेछ । नोबल पुरस्कारहरु लगाएत अन्य विशिष्ट योगदानका लागि पाउने अन्तराष्ट्रिय पुरस्कारहरुमा हामीले ठाउँ नपाउनुले हाम्रो शिक्षामा भएको अब्यवहारिकता प्रमाणित गर्छ ।

बच्चालाई आफ्ना साथीहरु भन्दा आफ्नो आर्थिक हैसियत थोरै भएको कुराले नि पिरोल्दछ । यसपालिको बिदामा फलानो ठाउँ वा देश गएँ भन्नेका अगाडि नजिकैको ठाउँ घुम्न गएको वा नगएको विद्यार्थीले हीनतावोध गरेको भेटिएको छ । यसलाई समाधान गर्न जापानमा साना नानीहरुलाई यी स्थानहरुमा आफ्ना बच्चा लिएर जानुहोस् भनेर ठाँउ नै किटेर सूचना जारी गरिदोरहेछ । अनि स्कूलमा विद्यार्थी पु¥याउन अभिभावक गाडीमा आउन नपाउने, तोकिए कै स्थानबाट मात्र बच्चा लिन पाइने ब्यवस्थाले जुनै आर्थिक हैसियतका अभिभावकका बीचमा फरक देखिंदोरहेनछ ।

यी उदाहरणहरुमा हाम्रा पनि लागू गर्न कुनै गाह्रो छैन। होमवर्कका विषयमा एकोहोरो रटान दिनुभन्दा बच्चाको सम्पूर्ण विकासका लागि अभिभावक र विद्यालयको समन्वयलाई जोड दिनु पर्ने देखिन्छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.