एमालेभन्दा कांग्रेस पछाडि पर्नुका कारणहरू


धेरैले अपेक्षा गरे विपरित यसपालिको स्थानीय चुनावमा नेपाली कांग्रेस पहिलो स्थानमा आएन, र त्यस विषयमा उपलब्ध तथ्य र विवरण समेटेर एउटा विश्लेषणत्मक लेख छाप्नै लाग्दा असार २३ को सेतोपाटीमा एउटा समाचार देखेँ- त्यो लेख कांग्रेस पछाडि पर्नुका बारे कांग्रेसका यूवा नेता गगन थापाको विचारमा आधारित रहेछ। त्यसो हुँदा थापाका विचारमाथिको टिप्पणीसहित यो लेख लेखिएको हो।

थापाले कांग्रेस पछाडि पर्नुका दुई-चार कारणबारे आफ्नो धारणा व्यक्त गरेको छन्। ती मध्ये केहीसँग म सहमत वा आंशिक सहमत छु भने, अरू कुनै बुँदाका बारे मेरो ठम्याई नितान्त फरक छ। नेताहरू र खासगरी नेपाली कांग्रेसमा  चुनावको समिक्षाका लागि जनताको वा स्वतन्त्र बुद्धिजीवीहरुको ‘अब्जर्वेसन’    के छ, भन्ने बुझ्नुभन्दा आ-आफ्नै मनोगत सोचमै बढी भर गर्ने परिपाटी देखिनु प्रजातान्त्रिक मान्यताको स्खलनको संकेत जस्तो देखिएको छ।

अरू सँगैं थापाले टिकट वितरणमा सन्तुलन नभएको र अन्तर्घात भएको कुरा  उठाएको देखियो। पार्टीभित्र गुट-उपगुटको अस्तित्व रक्षाको लागि यस्तो जिकिर गरिएको भए अर्कै कुरा भयो तर यथार्थमा यसपालीको चुनावमा यो कुरा प्रमुख कारक बन्यो भन्ने मलाई लाग्दैन। दोस्रोमा पार्टीको तयारी नपुगेको कुरा उल्लेख भएको रहेछ जो मेरो विश्लेषणसँग सत प्रतिशत मिल्छ, र यसका बारेमा म पछि छलफल गर्नेछु। त्यो समाचार पढेपछि मलाई साह्रै चित्त नबुझेको पक्ष्य भनेको कांग्रेसले प्रतिपक्ष र खासगरी एमालेले लगाएको आक्षेप वा आरोप खण्डन गर्न नसकेको कुरालाई थापाले स्वीकारेको कुरा हो। समाचारले कोट गरे अनुसार थापाको भनाइ देखिन्छ कि उनी लगायत कांग्रेसका अरू नेताले पनि राजदूत/आईजी नियुक्ति, लोकमान र सुशीला प्रकरण, एवम् बृद्धभत्ता  बारेको आरोप या प्रश्नको जवाफ दिनै सकेनन्, साथै उनको भनाइ देखिन्छ कि ‘तयारीबिनै हामी भाषण गर्न दगुर्‍यौं।’

यो अभिव्यक्ति देखेर मलाई उदेक लाग्यो र टिठ पनि लाग्यो। दुई कक्षाको बच्चालाई पनि थाहा थियो कि यसपालीको चुनावमा प्रतिपक्षीले कांग्रेसलाई प्रहार गर्ने प्रमुख मुद्दा भनेकै तिनै हुन्। प्रश्न उठ्छ, ती प्रश्नको सामना गर्ने ‘भूकम्पीय हैसियत’, सामग्री र उपाय बिना के चाहिँ भाषण गर्न गए त उनी लगायत अरू कांग्रेस नेताहरू।

चर्को स्वरले नअड्कीकन बोल्नु  र केही राम्रा शब्द विन्यास मिलाउनु मात्र हो भाषण गर्नुको उद्धेश्य?, गणेशमानजी या किशुनजीका भाषणमा के शब्द हुन्थे, के लय हुन्थ्यो र तर उहाँहरुको भाषणको प्रभाव कस्तो दमदार हुन्थ्यो सबैलाई थाहा भएकै कुरा हो। गगन थापाका विचारका कुरालाई यहीं छोडेर, अगाडि अरू थप कुरा गरौँ।

नेपालमा एउटा ठूलै वर्ग यो स्थापित गर्न चाहिरहेको छ कि राजदूत/आइजीपी नियुक्ति, लोकमान र सुशीला प्रकरणले यसपाली कांग्रेसलाई थला पार्‍यो, यी कुराको प्रभाव थोरै केही मात्रमा त पर्‍यो होला, तर दाबी गरे जस्तो भूकम्पीय प्रभाव परे जस्तो देखिन्न। यसको प्रभाव भलै केही नपरेको उसले ठम्याएको किन नहोस् एमाले यसैले गर्दा कांग्रेस आफूभन्दा पछि परेको हो भन्ने स्थापित गराउन उद्दत देखिन्छ।

कांग्रेसले यो स्वीकार्‍यो भने, उसले गल्ती गरेको प्रमाणित हुन जान्छ। स्थानीय अजेन्डा, परिचित अनुहार जस्ता कुरामा केन्द्रित हुने यो चुनावमा केन्द्रीय राजनीतिको यी ठूला कुराको एकदम ठूलो प्रभाव परेको हो भन्ने मलाई लागेकै छैन। यसका साथमा केही मान्छे कांग्रेसको माओवादीसँगको सहकार्य गलत थियो र त्यसले गर्दा कांग्रेसलाई ठूलो घाटा पर्‍यो भन्छन्।

मेरो विचारमा यसको पनि केही रोल त होला तर यो पनि त्यस्तो खास कारण चाहिँ होइन। यसको उल्टो मेरो ठम्याईमा कांग्रेस पछाडि पर्नुका कारण यस प्रकार छन्।

पहिलो, निर्वाचन परिचालनको कमजोरी हो, जसलाई सहायक बुँदामा छलफल गर्न सकिन्छ।  निर्वाचन परिचालन अन्तर्गत चुनाव प्रचारको गलत प्राथमिकता पनि एक हो। जहाँ सुकै जानुहोस् एमालेहरू प्रायः मतदाता भेटघाटलाई जोड दिइरहेका हुन्थे भने कांग्रेसका उम्मेद्वारहरु स्थानीय आमसभाका लागि केन्द्रबाट नेता/वक्ता लैजाने चाँजोपाँजो मिलाउन धेरै समय खर्चन्थे। ताकि त्यस्तो केन्द्रीय बक्ताको उपस्थितिले खासै ठूलो असर परे जस्तो देखिएन, यो कुराको अलिकति संकेत त गगन थापाको कुरामै आइसकेको छ।

प्रजातन्त्र र कम्युनिस्ट पार्टी फरक कुरा हो, र स्थानीय स्वायत्त शाशन संस्थागत गर्न प्रजातान्त्रिक मूल्यको कति महत्व हुन्छ भनेर जनतालाई राम्रोसँग बुझाउन नसकेर अहिले मात्र हैन २०४८ सालदेखि अहिलेसम्मै कांग्रेस एमाले वा अरू कम्युनिस्ट पार्टीसँग आत्थु आत्थु हुँदै आएको छ।

सटिक र एकदम फरक ढंगको चुनाव घोषणापत्रद्वारा अरूभन्दा फरक प्रस्तुत हुने मौका थियो यसपाली कांग्रेसलाई। तर, देखासिकीमा ५०/५० पेजको घोषणापत्र लेख्नबाट कांग्रेसले आफूलाई फरक राख्न सकेन, जसमा सबै पार्टी करिब उही कित्तामा देखिए।

चुनावको अवधिमा म जहाँ जहाँ पुगेको थिएँ, त्यहाँ चुनाव प्रचारको ढंगमै  प्रस्ट फरक देखेको थिएँ।  एमालेका कार्यकर्ता प्रशिक्षित देखिन्थे, तिनलाई घरदैलो गर्न सिकाइएको थियो, तिनीहरू जनस्तर सुहाउँदो भेषभुषा र बोलीको प्रयोग गर्न प्रशिक्षित भएका देखिन्थे। तपाईँको पार्टीको उम्मेद्वारलाई किन भोट दिने भनेर कसैले सोध्यो भने के भन्ने गर्नु भएको छ भनेर जति जति ठाउँमा म कांग्रेसका कार्यकर्तालाई सोध्थे, त्यस्तो धेरै जसोमा उनीहरु पुरै अन्यौलग्रस्त देखिन्थे। एकदम कममा मात्र प्रश्नको प्रभावकारी सामना गर्ने हैसियत देखिन्थ्यो।

वृद्धभत्ताको विषयलाई एमालेले यतीसम्म दुहुनो गाई बनाएको देखियो कि, कांग्रेसका कार्यकर्ता यो मुद्दामा पुरै हतास देखिन्थे, जबकी बृद्ध भत्ताको विषय एमालेको मात्र एकछत्र स्वामित्व हुने विषय हुँदै होइन। यसमा कांग्रेसले सटिक मुकावाला गर्ने तर्क नै नदेखे जस्तो देखियो। २०५४ को चुनावमा यसैपाली जस्तो धेरै ठाउँ एमालेले जितेको थियो। यकिन डाटा  त छैन, तर पार्टीको जनाधारलाई हेर्दा पनि त्यति बेला कांग्रेसका भन्दा एमालेका उम्मेदवार कम उमेर समूहका थिए, जसका कारण ती मध्ये कतिले त यसपाली पनि टिकट पाए नभए पनि चुनाव प्रचारमा सक्रिय त थिए नै।

नेपालीको ‘चिनेको अनुहार’ लाई भोट दिने मतदान-संस्कृतिको कारणले गर्दा यस कुराले पनि एमालेलाई सहयोग पुग्यो। यता कांग्रेसमा भने २०५४ का कतिपय उम्मेदवार यसपालीसम्म आइपुग्दा उमेरका कारण अप्रभावी भैसकेका थिए जसले गर्दा यसपाली एक हिसावले पुरै नयाँ पुस्ता चुनावी मैदानमा थियो।

पार्टीले माओवादीसँग चुनावी तालमेल गरेको या मिलिजुली सरकार चलाएको कुरालाई कांग्रेसका कार्यकर्ताहरुले राम्रोसँग प्रतिरक्षा गर्न सकेको भेटिएन यो विषयमाथि प्रश्न आइलाग्दा उनीहरु ज्यादाजसो पसिना पसिना भएको भेटिन्थे। विगतमा एमाले र माओवादीले पनि सरकार चलाएकै हो, चुनावी तालमेल एमालेले पनि पुनरुत्थानबादी भनिने पुराना शक्तिसँग गरेकै हो। उस्तै काम एमालेले गर्दा सही हुने कांग्रेसले गरेको चाहिँ राष्ट्रघाति हुने जस्तो गरी माहौल बनाइएको थियो। जसलाई ‘क्रस’ गर्न पनि कांग्रेस पूर्णत असफल रहे जस्तो देखियो र अन्ततः यीनै कारणले गर्दा तमाम सकारत्मक काम र बलिदानी इतिहासका बाबजुद कांग्रेस एमालेभन्दा पछि पर्न गएको देखिन्छ।

अन्यथा संगठन र प्रचार सम्बद्द उल्लेखित कमी कमजोरीहरु हुदैनथ्यो भने यसपाली कांग्रेस एमाले भन्दा ठूलै फरकले पहिलो स्थानमा पुग्ने रहेछ भन्ने स्पष्ट हुन आएको छ।

इमेल : [email protected]

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.