एनआरएन संघको चक्रव्यूह


गैरआवासीय नेपाली (एनआरएन) संघमा अहिले चुनाव लागेको छ। चुनावले तातिएका र रापिएकाहरू नारा उरालिरहेका छन्। सबैभन्दा चर्चित नारा बनेको छ– एनआरएन संघलाई धनी होइन प्रवासीको संस्था बनाऔं, व्यापारीको होइन, गरिखानेको संस्था बनाऔं।

संघमा धनीहरूको पक्का भयो, सामान्य आम्दानी हुनेहरू पाखा लागे भन्ने चिन्ता चुनावको बेला निकै चुलिन्छ। झट्ट सुन्दा यो चिन्ता आमसदस्यहरूलाई अपिल गर्ने चुम्बकीय कथनजस्तो लाग्छ, तर यो चिन्ताको अन्तर्यमा रहेको मट्याङ्ग्रा, दिलचस्पी र व्यक्तिगत स्वार्थ अर्कै छ। सच्चाई दुष्कर।

७५ देशमा फैलिएको ठूलो सञ्जाल छ– एनआरएन संघको। संघका केन्द्रीय पदाधिकारी ती देशमा पुगुन् र तत्तत् देशका सानाठूला कार्यक्रममा भाग लिउन् भन्ने सबैको अपेक्षा हुन्छ। राष्ट्रिय समितिमा बस्नेसँग क्षेत्रीय समितिको त्यस्तै आशा हुन्छ। एनआरएनका सबै कार्यक्रमहरू चन्दाको भरमा चल्दै आएका छन्। भन्नै परेन, खादाको खोलमा चन्दाको अङ्कको साइज लुकेको हुन्छ। अर्कोतर्फ, अन्तर्राष्ट्रि«य र राष्ट्रिय अनेक सभा र सम्मेलनमा भाग लिनु त हुँदैन। यो चन्दैचन्दाको चक्र र अनगिन्ती भ्रमणहरूका खर्चपर्च आफैंले गर्नुपर्ने हुँदा एनआरएन पदाधिकारी महंगो जिम्मेवारी बनेको छ। महंगो जिम्मेवारी लिन खोज्ने सस्ता मान्छेहरूले पद ताकेर चक्रव्यूहमा छिर्नु शहिद हुन तम्सनु मात्र हो। सामान्य आम्दानी भएका थुप्रै ‘नारान’हरू अभियन्ता बन्ने नशामा कामकाज र क्यारियर बिग्रेका प्रशस्त उदाहरण छन्। यस्ता दृष्टान्तहरू बढ्दै जान थालेपछि संस्थापक अध्यक्ष उपेन्द्र महतोले कामकुरो नबिगारीकन संस्थामा लाग्न धेरै कार्यक्रममा धेरै पटक सुझाएका छन्। तर ‘समाजसेवा’को नशा जुवाको भन्दा कम नहुँदो रै’छ।

नेपालमा राजनीति गर्नेहरू पनि आफूलाई समाजसेवी नै भन्छन्। तर उनीहरूलाई जस्तो भत्ता र शक्तिको लाभ एनआरएनकर्मीलाई विदेशमा छैन। न त दूतावासका कर्मचारीहरूझैं वैतनिक हुन्। तर, अग्रपंक्तिमा रहेका एनआरएनकर्मीहरूको खटाई डाँक नकुर्ने दूतावास कर्मचारीको जस्तो छ।

केही वर्ष विदेश बसेर स्थापित भएपछि वा केही पैसा कमाएपछि धेरैको समाज सेवा गर्ने रहर हुन्छ र यस्तो समाज सेवा सानै स्केलको भए पनि अर्काले मान्यता दिउन् भन्ने अपेक्षा हुन्छ। कदर होस् वा नहोस् भनी लागेका फल निरपेक्ष समाजसेवी आक्कलझुक्कलै भेटिन्छन्। राजनीतिको च्यादर ओढेर समाजसेवा गर्नेहरू त कब्जा गर्ने भन्दै हाटहुट गर्ने भैहाले। यी सबैखाले समाजसेवीहरूको पहिलो निशाना हो– एनआरएन संघ। किनभने सबैभन्दा बढी फैलिएको (अर्थात् सदस्य रहेको) र सर्वाधिक नाम चलेको संस्था हो– एनआरएन संघ।

नेपालका नेताहरूझैं प्रवासका हरेक कार्यक्रममा अतिथि बन्नु र सम्बन्धित विषयको ज्ञान भए पनि नभए पनि भाषा ठोक्नु ‘नारानवाला’हरूको अर्को विशेषता हो। सायद एनआरएन संघमा लाग्नुको एउटा आकर्षण वा आशक्ति यो पनि हो। त्यसैले एनआरएन संघको नेतृत्वमा जान धेरैको रहर छ। प्रतिस्पर्धा तीब्र छ। तर रहर गर्नेहरूले गम्भीरतापूर्वक बुझ्नुपर्ने कुरा एनआरएन संघको सांगठनिक चित्र नै यस्तो छ कि धनीलाई मात्र ‘नारान राजनीति’ गर्न सजिलो छ।

एनआरएन संघ यस्तो संस्था हो, जहाँ कसले कति दान दियो, कति चन्दा बोल्यो वा कति लगानी ग¥यो भन्ने कुराले ‘नारान व्यक्तित्व’को उचाई तय गर्छ। संघको संरचना, सञ्जाल र कार्यपद्धति नै यस्तो छ की उदारतापूर्वक पैसा खर्च गर्न नसक्नेले पदको अपेक्षा र महत्ता कायम गर्न सक्दैन। संस्थागत संरचना र कार्यप्रणालीमा परिवर्तन नगरेसम्म यो यस्तै हो। धन भइकन कार्यसूची बोकेको व्यक्ति संघको नेतृत्वमा आओस् भनेर शुभेच्छा राख्नु नै अहिलेको सन्दर्भमा ज्यादा सान्दर्भिक हुन्छ। जीवा लामिछानेजस्ता धन, मन र इमानको समिश्रण भएका कति पो हुन्छन् र !

संस्था हरेक साल विस्तार हुँदैछ। नयाँनयाँ राष्ट्रिय समितिहरू गठन भएका मात्र होइनन्, पुराना राष्ट्रिय समितिको आयतन पनि बढीरहेको छ। तर, एनआरएन राजनीति हरेक साल अझ धनीमुखि बन्दैछ। धन नभएका तर मन भएकाहरूलाई ‘एनआरएन संघलाई धनीको होइन, प्रवासीको संस्था बनाउँछु’ भन्ने नारा झन् झन् पेचिलो त बनेको छ। तर रोइलो मात्र हो। यो होइन कि त्यहाँ धेरै खर्च गर्ने शक्ति नभएका तर दृष्टिकोण भएकाहरू अटाउन सक्दैनन्। सक्छन्, तर धनाढ्यहरूझैं गहिरो पानीमा हाम फाल्न सक्दैनन्, छेउछाउमा छप्लाङछुप्लुङ मात्र गर्ने हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.