हैट! एनआरएन


बिचरा त्यो बाग्मती नदिले कहिले एनआरएन (गैर आवासीय नेपाली संघ)हरू आउलान् र मलाई सफा गर्लान् भनेर पर्खिरा होला! देशका केही अमुक पत्रकारहरु एनआरएनवालाले लिने भाडाका गाडीमा सयर गर्ने दिनहरु आउनथाले भनेर उम्ला भाँचे होलान्। सोल्टी होटलको सुरक्षाकर्मीले दाहिने खुट्टा उठाउने दिन आउन थाले भन्दै होलान्। काठमाडौंका नागरिकले त्रिपुरेश्वरदेखि पशुपतिसम्म एनआरएनवालाको मार्चपासको रमितालाई हेर्न आतुर भए होलान्।

दुई वर्षपछि हुने एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलन आगामी अक्टोबर सोल्टी होटलमा हुनेछ। सोही सम्मेलनले फेरि अर्को अध्यक्षको जन्म गराउनेछ। सो होटलमा तीनदिन खुब रौनक हुन्छ। एफएम, केही नीजि च्यानल साथै केही ऋतुअनुसारका पत्रिकामा ‘स्टोरी’ बन्नेछन् । उनीहरु ब्यस्त हुनेछन् । ती स्टोरीहरुलाई सोझासिधाले पत्याइहाल्नेछन् । त्यो सम्मेलनमा एनआरएनलाई माया गरेर जाने कम हुन्छन् तर अर्थले जाने धेरै हुन्छन् । जो अरुले टिकट किनिदिएका, विचौलियामा पारगंत र दुई वर्षमा एकपटक दशैंको मौका पारेर गाउँघर पनि डुलौं भन्ने खाले ।

अर्का कस्ता भने विदेशमा नेता आउँदा सँगै बसेर खिचेका फोटा पनि एनआरएन सम्मेलनका बेला काठमाडौंको कुनै स्टुडियोमा गएर ठूलो बनाएर घर गाउँकालाई देखाउन पनि हुने, झुण्डाएर बैठक कोठामा राख्नपनि हुने । छोरो ठूलो मान्छे भएछ यी फलानो नेता वा मन्त्रीसँग छोराको कुम जोडेको फोटो भन्दै बाउँले चौतारामा गफ लाउने माध्यम पनि हुने । अर्थ यो पनि हो ।

तर यहाँ यी प्रसङ्गहरु होइनन् प्रश्न हो एनआरएनको साखसँग जोडिएको सन् २००३ मा जन्मेको यो संस्थाले करिव डेढदशकअवधिमा कति योजनाहरु घोषणा ग¥यो र कति कार्यान्वयन ग¥यो लेखाजोखा नै छैन । तर चारचारजना अध्यक्षले यस संस्थाको नाममा आफ्नो पहिचान बनाइसके ।

तर त्यो पहिचानसँगै संस्थाका अगुवाहरुले विभिन्न बहानामा विभिन्न ठाउँमा गरेका विकास निर्माण र आर्थिक सामाजिकसँग जोडिएका घोषणाहरुमा कत्तिको कार्यान्वयन भयो वा भएन विर्से ।

यथार्थ के भने तिनै एनआरएनका अगुवाहरुले यो संस्थालाई फितलो बनाए । अनावश्यक घोषणाहरु गरेर । गरेका घोषणाहरुलाई कार्यान्वयन नगरेर । एनआरएनको साख गिर्दै गयो । एनआरएनवालाहरु आउँछन् गफ लगाएर जान्छन् भन्नेकुरा सामान्य हुन थाल्यो ।

अगुवा भन्नेवित्तिकै अध्यक्षहरु मात्रै होइन, त्यो संस्थाको ‘स्ट्रक्चर’ सँग जोडिएका मान्छेहरुपनि यसमा सामेल छन् । यस संस्थालाई भजाएर खाडी मुलुकमा केहीले ‘मेनपावर’ धन्दा चलाए । व्यापारिक वा अन्य प्रयोजनका लागि भनेर मान्छेहरु विदेश लागे उतै बसे । जिम्मेवारबहन गर्न अगुवाहरु चुके ।

यससँगसँगै नागरिकका अपेक्षाहरु पनि धेरै भए । भारतको एनआरआई (नन रेसिडेन्ट अफ इण्डीयन) सँग संस्थालाई तुलना गर्दै बौद्धिकहरुले छिर्के हान्न थाले । करिव दुइसयवर्ष बेलायतको अधिनमा रहेको भारत र बेलायतीले गरेको थिचोमिचोबाट विदेशिइएका भारतीयहरुको करिब पाँचपुस्ता नै एनआरआई भैसकेका छन् । विदेशीइने क्रम केवल साढेदुइदशक मात्र पुगेका हामीहरुको परिस्थिति भारतीयहरु विदेशीए जस्तो रहेन र भएनपनि । तर तिनै एनआरआईसँग भारतीय नागरिक र सरकारले राखेका जस्ता अपेक्षा एनआरएनवालाहरुसँग हाम्रा सरकार र नागरिकले राख्नु अलि समानता हुँदैन ।

केहीदिनपहिलो अनलाईनका पत्रकारसँग भेट भयो उनले भने ‘हैट एनआरएन ! सुरुमा झुक्कियो, एनआरएनवालाहरुले विमानस्थल उत्रदा आफ्नो फोटोसहितको एउटा भिजिटिङ कार्ड भिर्छन त्यसमा लेखिएको हुन्छ ‘इन्टरनेशनल कोर्डिनेशन काउन्सिल’ कोही फलानो देशको अध्यक्ष, कोही महासचिव । हामिलाई त ठूलै लाग्ने पछि बुझ्दै जाँदा बिचरा उहाँहरु आफैं स्थायीत्व हुनुहुन्न कोही होटल, रेष्टुरेन्ट, दुकानतीर काम गर्दै हुनुहुन्छ तर हामीलाई अलि बढी नै गफदिने के उहाँहरुले’ भन्दै थिए ती साथी । हुनत काम आफैंमा सानो र ठूलो हुँदैन तर म यो गर्छुृ र त्यो गर्छूृ भन्नु अलि क्षमताभन्दा बाहिरको कुरा जस्तो लाग्यो साथीको जवाफ ।

अर्का एकजना राष्ट्रिय दैनिकका सम्पादकसँग एउटा रेष्टुरेन्टमा भेटघाट गर्ने क्रममा उनलाई भनेँ ‘तपाईले काम गर्ने दैनिक पत्रिकामा गैरआवासीय नेपाली संघ (एनआरएनका) का गतिविधिहरु बारे त्यति चाँसो दिएको देखिन्न नी’

उनले भने– ‘पहिला पहिला हामीलाई लाग्थ्यो एनआरएनहरु रत्न हुन्, विदेशमा नाम दाम कमाएर उद्यमी व्यवसायी बनेका हुन् जस्तो लाग्दथ्यो । विमानस्थलमा उत्रदा उनीहरुको रवाफ, धुलो धुँवामा मुख ढाक्ने प्रवृत्ति, बाग्मती सरसफाई आयोजना गर्दा, साइकलमा दौडेको देख्दा अब एनआरएनवालाहरुले काठमाडौ शहरलाई केही गर्दछन जस्तो लाग्थ्यो त्यो त केवल प्रचारका लागि मात्र रहेछ’ त्यसैले अब बुझियो स्थान कम दिइन्छ त्यत्ति हो ।
उनका कुरा सत्य थिए । यो विषयमा पुर्व अध्यक्ष जीवा लामिछानेपनि स्वीकाछन् । ‘सुरु सुरुमा हामीहरु सबै अलि बढी नै हौसिएर केही योजना परियोजना घोषणा गरियो कि? कसैले ल्याएका प्रपोजलहरुलाई कार्यान्वयनपक्ष नहेरि स्वीकार गरियो कि? योजनाहरु संयमित भएर घोषणागर्नु पर्दछ भन्छन् लामिछाने ।

यसो भन्दै गर्दा अगुवाहरुलाई मात्र दोष दिनु पर्ने ठाउँ छैन नागरिकका अपेक्षा पनि बढी देखिन्छन् । विदेशीइएका यी पहिलो पुस्ता हु्न । नियम कानुनका परिधिभित्र चलेका देशका अनुशासित नागरिकका बिच संघर्ष गदै गरेका यो पुस्ताका एनआरएनवालाहरु पहिलो हुन् । जो विदेशमा स्थायीत्व र उद्यमीबन्ने यत्नमा छन् । जे जति गरेका छन् यो उपलब्धिनै मान्नु पर्दछ एनआरएनहरुबाट संचालित दीर्घकालिन योजनाहरु क्रमश आउँदै गर्लान तर दैविप्रकोप र बाढीपीडितका लागि गरेका एनआरएनको पहललाई भने सराहनीयनै मान्नुपर्दछ । त्यसैले अगुवाहरुले आगामी घोषणा गर्दा अलि संयमित भएर कार्यान्वयनपक्षहरु हेरेर आफ्नो र संस्थाको पुँजीगत अवस्थालाई मध्यनजर गरेर घोषणा गर्दा उपयुक्त हुने देखिन्छ । साथै यो वर्ष एनआरएनवालाले बाग्मती सरसफाई होइन, बाग्मती फोहोरो नगर्ने नगराउने प्रचारप्रसारमा लाग्न जरुरी छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.