छोरी र बुहारी: दुई फरक भूमिकाप्रति समाजको दृष्टिकोण


मेरी आमाले भनेको सधैं सम्झिन्छु, पहिलो सन्तान छोरी जन्मिएपछि दोश्रो सन्तानचाहिँ छोरा होस् भन्ने धेरै आफन्तहरुको चाहना थियो| तर, दोश्रो सन्तान पनि छोरी नै भयो| मेरी आमालाई फेरि तिनै आफन्तले दबाब देलान् र कमजोर शरीरको बाबजुद अर्को बच्चा पनि जन्माउन बाध्य हुनुपर्ला भन्ने डरले बुवाले तुरुन्तै गएर बन्ध्याकरण गर्नुभएछ| यो आजभन्दा २५ वर्ष पहिलेको कुरा हो। त्यतिबेला बुबाले लिनुभएको निर्णयमा म आज पनि गौरव महसुस गर्छु| दुनियाँले के भन्ला, मरेपछि पिण्ड कसले देला र बंश कसले अगाडि बढाउला भन्ने कुराको पछि नलागी गरिएको सो निर्णयका कारण आजसम्म पनि हाम्रो परिवार सुखी परिवार भएको छ।

समय धेरै परिवर्तन भइसक्यो| कमसेकम सहरी क्षेत्रको लागि त हामी यसो भन्न सक्छौं| पहिलेको कुरा गर्ने हो भने सानैदेखि आमा बुबाले आफ्ना छोरीहरुलाई श्रीमान् र उनका नातेदारलाई रिझाउनुपर्छ भन्ने शिक्षा दिँदै हुर्काउनुहुन्थ्यो| रिझाउन त सबैलाई रिझाएकै राम्रो, आफ्नो आत्मसम्मानमा ठेस नपुर्‍याइकन| किन श्रीमानको घरलाई मात्र? तर, ‘मनको बह कसैलाई नकह’ भन्दै सिकाइएको कुराले नजाने कति सहनशीला सुशीलाहरुले जिन्दगीमा चाहिने भन्दा बढी नै सम्झौता गर्न बाध्य भए होलान्|

समय परिवर्तन हुँदै जाँदा र शिक्षा, सञ्चार तथा प्रविधिमा आएको बदालावसँगै छोरीको भूमिका र परिवारमा उसले पाउने स्थानमा धेरै परिवर्तन आउन थाल्यो| आधुनिक समाजभित्र पनि गर्भ परीक्षण र भ्रुण हत्याजस्ता सामाजिक समस्या विद्यमान नै रहेता पनि छोरीलाई पनि महत्व दिई उसको लालनपालन र शिक्षादीक्षामा राम्रो लगानी गर्न थालिएको छ| अब छोरीलाई तिमीले श्रीमान् र सासुससुरालाई खुसी पार्नैपर्छ भन्दा पनि सर्वप्रथम आफू स्वावलम्बी र आत्मनिर्भर हुनु बढी जरुरी छ भन्नेतर्फ सचेत भएको देख्न सकिन्छ| यसलाई मान्छेको सोचाई र बुझाईमा आएको ठूलो फड्को मान्न सकिन्छ| यस्तै हुर्काई र सिकाइसँगै हुर्किएकी एउटी छोरी जब अर्काको घरमा बिहे गरेर जान्छे तब भने बिल्कुलै फरक भूमिकामा ‘फिट’ हुनुपर्ने हुन्छ|

२० औं वर्षदेखिको सिकाई र भोग्नुपर्ने व्यवहारमा एक्कासी फरकपन महसुस हुन्छ| अनि त्यो नयाँ व्यवहारमा भिज्न नसके ‘अनफिट’ हुन पुग्दछे | यो पूर्णरूपले ‘रोल रिवर्स’ को अवस्थालाई कसरी सम्हाल्ने भन्ने कुरा प्रायः कमै बुहारीलाई थाहा हुन्छ। किनभने बुहारी बन्ने तालिम त कसैले पनि लिएर आएको हुँदैन| जहाँ छोरीलाई स्वावलम्बी हुन सिकाइयो, आफ्नो निर्णय आफैं लिन र आफूले घर र पेशा सम्हालेर अगाडि बढ्न सिकाइयो, त्यही घरमा अझै पनि बुहारीबाट भने परनिर्भरताको अपेक्षा राखिन्छ| आफू आत्मनिर्भर भएर जन्मघरलाई समेत योगदान पुर्‍याइरहेकी छोरी विवाहपश्चात् त्यही जन्मघर जानुपर्यो भने कारण दिनुपर्ने हुन्छ|

व्यवहारिक रुपले हेर्ने हो भने बुहारी नयाँ सदस्य हुने भएकोले परिवारले उसलाई पहिला नयाँ सदस्यको रुपमा स्विकार गरेर उसलाई सबै व्यवस्था, रितिरिवाज र परिवारका अन्य सदस्यलाई बुझ्ने पर्याप्त समय दिनुपर्ने हो| यसको लागि सुरुवाती १-२ वर्षको समय चाहिन्छ| त्यो किन चाहिएको भने हरेक परिवारको आफ्नै संस्कार हुन्छ, अझ हाम्रो नेपाली समाजमा जटिल पारिवारिक सम्बन्धहरु र त्यो अनुसार निभाउनुपर्ने विभिन्न नियम र संस्कारहरुले गर्दा सुरुमै सबै कुरा जान्न मुस्किल हुन्छ | त्यसमाथि मान्छेको मनोविज्ञान पनि आफैंमा यति जटिल कुरा हो कि परिवारका सबै सदस्यहरुको मन बुझेर त्यही अनुसारको व्यवहार गर्न पर्याप्त समय चाहिन्छ नै| नत्र नयाँ मान्छेको साधारण कुरा र व्यवहारलाई पनि ‘मिसइन्टरप्रीट’ गरी गलत अर्थमा बुझ्ने खतरा हुन्छ।

तर सामाजिक नियम उल्टो छ| नयाँ सदस्यले चाहिँ सबै कुरा सुरुमै जानेर बुझेर आएको हुनुपर्छ र त्यही अनुसारको व्यवहार गर्नुपर्छ भन्ने अपेक्षा गरिन्छ| विवाहपछि आफन्त र छिमेकीले नयाँ बुहारीले कति पढेकी छिन् भन्दा पनि खाना पकाउन आउँछ कि आउँदैन भन्ने प्रश्न सोध्छन्| खाना पकाउन र घरको काम गर्न छोरा, छोरी, बुहारी सबैलाई आउनुपर्छ र सबैले गर्नुपर्छ, त्यो सबैले जान्नुपर्ने सीप हो|

एउटी छोरीको उपलब्धि र सफलताको मापन उसका एकेडेमिक डिग्री, पेशागत दक्षता र कर्तव्यपरायणता भइसकेको अवस्थामा ‘बुहारी’को सफलताको मापन भने उसले आफू विवाह गरेर गएको घरका सदस्यलाई कतिको खुसी बनाउन सकेको छ भन्ने कुरामा निर्भर गर्छ| हरेक व्यक्ति कुनकुन कुराले खुसी वा दुखी हुने भन्ने कुरा ‘सब्जेक्टिव’ हुन्छ, जुन त्यस व्यक्तिको तत्कालिन मनोवैज्ञानिक अवस्था र उसको बुझाईको क्षमतामा पनि भर पर्छ। यस्तो अवस्थामा बुहारी पनि एउटा अलग्गै व्यक्तित्व र प्रकृति भएको मान्छे हो भन्ने बुझेर त्यहि अनुसारको व्यवहार गर्ने गरी हाम्रो समाज अगाडि बढिसकेको छैन| छोरा, छोरी र बुहारीबीच गरिने व्यवहारिक भिन्नताले पनि यो कुरा पुष्टि गर्छ| आफ्ना छोराछोरीले गर्ने जस्तासुकै कार्यहरु पनि सजिलै स्वीकार गर्ने घरले त्यहि कार्य बुहारीले गरेको कदापी सहन सक्दैन| छोरीका हजार गल्ती माफ गरेर सप्रेम स्वीकार गर्ने परिवारले बुहारीका १० वटा असल काम पछिको एउटा सानै गल्तीलाई पनि स्वीकार्न गाह्रो हुन्छ| असमान व्यवहारले विद्रोहको भावना जगाउँछ र त्यो भावनालाई प्रष्फुटन हुन अनुमति दिने खालको हाम्रो समाज नभएको कारणले गर्दा हाम्रा कतिपय आमा, दिदिबहिनीहरुमा विवाहको केही समयपश्चात् एक प्रकारको तिक्तता आउन थाल्छ| शायद यही कारण हुनसक्छ सासुले पनि बुहारीलाई अफ्नो छोराछोरीभन्दा अलग व्यवहार गर्ने| आफूले भोगेको कुरा बुहारीले पनि भोगे केही फरक पर्दैन र आफूले गरेको दुःख र त्यागको मूल्य बुहारीले पनि चुकाउनुपर्छ भन्ने सोचका कारणले यही चक्र हरेक पुस्तसँगै घुमिरहेको छ| स्वयं बुहारीकै लागि पनि आफ्नो जन्मघरमा जस्तैगरी सजिलैसँग अरुप्रति स्वीकार्यताको भाव नआउन पनि सक्छ| नयाँ सदस्यमाथि लादिने जिम्मेवारी र अपेक्षाले यो प्रक्रियालाई सहज बन्न दिँदैन|

हरेक अभिभावकले अफ्नो छोरीमाथि भावनात्मक र आर्थिक लगानी गरेको हुन्छ| कसैको घरको बुहारी भएर जाँदा त्यो खेर जानुहुँदैन| विवाहपछि छोरीले असल र खुसी परिवार पाओस् भनेर कामना गर्दा बुहारीले चाहिँ त्यो पाएको छ कि छैन भनेर मूल्यांकन गर्नु जरुरी छ| आफ्नै छोरी पनि बिहे गरेर अर्काको घर गइसकेपछि अभिभावकले छोरीले धेरै दुःख पाएको अवस्थामा माइतीको ढोका सदैव खुल्ला छ र विवाह गरेर जानुको मतलव आफूहरु छोरीप्रतिको सहयोगात्मक र भावनात्मक भूमिकाबाट पन्छिएको होइन भन्ने आश्वासन दिनु जरुरी छ| कुनै पनि परिवार एकअर्काबिचको स्नेह, समझदारी र सहयोगले अगाडि बढिरहेको हुन्छ| झन् त्यसमा सहि कार्यविभाजन, कुशल आन्तरिक व्यवस्थापन, असल संस्कार, खुला विचारधारा, चित्त नबुझेका कुराहरुको स्वस्थ आदानप्रदान र एकअर्काको भावनाको कदर, अशक्त अवस्थामा गरिने मायालु हेरचाह भयो भने त त्यस परिवार सम्पूर्ण रूपले सुखी र खुसी हुनसक्छ| महिला क्रमश: छोरी, बुहारी, आमा, सासु जुनसुकै भूमिकामा भएपनि एक कुशल सहजकर्ताको भूमिका निभाउँदै सबैलाई मिलाएर लानसक्ने र परिवारकै सशक्तिकरण गर्न सक्ने क्षमता राख्दछिन्| उनीहरुमा भएको यही क्षमताको पहिचान गरी त्यही अनुसारको वातावरण दिन बाँकी परिवारका सदस्यले सहयोग गर्ने हो भने उनीहरुले परिवारमात्र होइन समाजकै मुहार फेर्ने हैसियत राख्दछन्|

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.