के छोराले मात्र तिम्रो बंश चल्छ र?


विश्वकै सर्वश्रेष्ठ प्राणी मानिस, जसले प्रविधिको विकास गरेर प्रकृतिलाई समेत चुनौति दिइरहेको छ। विकासको गतिले चुचुरो छुँदै गइरहेको छ। विश्वविद्यालयले हर विषयका विज्ञ र प्राज्ञहरु उत्पादन गरिरहेको छ। नेपाल कतिपय कुरामा विकसित देशभन्दा पछाडि होला। तर, शिक्षा र जनचेतनाको मामलामा छोटो समयमा भएको प्रगतिलाई कम भन्न मिल्दैन। मानिसको जीवनस्तरसँगै नेपाली समाज शिक्षित, सचेत, सभ्य र समुन्नत बन्दै गइहेको छ। तर, केही गम्भीर भएर हेर्ने हो भने बाहिरबाट सभ्य देखिने हाम्रो समाज भित्रबाट भने कुरुप पनि छ। खाउँखाउँ लाग्ने बोक्रा भएको तर भित्र भने कुहिएको आँपजस्तै।

नेपाली समाज पाप र पुण्यलाई मन भित्रैबाट मान्छ। अझ हिन्दू धर्म मान्ने हरेकले छोरीलाई लक्ष्मीको प्रतीक मान्छन्। चाडपर्व र पूजापाठ गर्दा टीका लगाएर खुट्टामा भगवानलाई जसरी नै ढोग्छन्।

महिलाहरु हेपिएका छन्, पिछडिएका छन्। शिक्षित बन्दै गएको भनिएको हाम्रो समाजका अहिलेका धेरै छोरीहरु सम्मान र श्रद्धाका पात्र बनिरहेका छन्। तर, गतिलो अवसर पाए भने छोरी पनि परिवार र समाजको प्रतिष्ठा बन्न सक्छे भन्ने उदाहरण प्रशस्तै पाउन सकिन्छ। नेपालमै पनि छोरीहरु राष्ट्रपति, प्रधानन्याधिश, सभामुख बन्न सफल भएका छन्। अनुराधा कोइराला, पुष्पा बस्नेत, झमक घिमिरेलगायतको लामो सूचि हामीसँग छ, जो कसैको छोरी भएरै पनि प्रतिष्ठित बने । उहाँहरुको नाम लिँदा एउटा परिवार मात्र होइन, सिङ्गो देशले गर्व गर्न सक्छ ।

तर, कैयौं छोरीहरुले उज्यालो संसार हेर्ने पखाईमा आमाको कोखबाट आफ्नै जन्म कुर्दाकुर्दै हत्याको शिकार भइरहनु परेको छ। बिडम्बना, सफलताको सूचीमा थपिन सक्ने सम्भावना बोकेका छोरीहरुलाई आफ्नै बाआमा, परिवार अनि समाजले गुपचुप रुपमा हत्या गरिरहेका छन्।

बंश चलाउन छोरो नै चाहिन्छ भन्ने पुरातनवादी सोचले अहिलेसम्म पनि हाम्रो समाजमा जरो गाडिरहेको छ । छोरा जन्माउन चाहिने आमाचाहिँ एउटा छोरी नै हो भन्ने कुरा किन हाम्रो परिवार अनि समाजले बिर्सीरहेका होलान्? ती छोरा जन्माउने हरेक आमाहरुलाई पनि छोरी भएकै कारण तीन महिना पनि नपुग्दैको गर्वबाट उनीहरुका आमाले फालिदिएको भए के हुन्थ्यो? यसबारे कतिले गम्भीर भएर कल्पना गरेका छन्?

धेरै अभिभावकले प्रविधिको गलत फाइदा उठाएर आफ्नो चाहना अनुसार छोरो भएमात्र संसार हेर्ने अवसर दिन्छन्। छोरी भन्ने पत्तो पाउनेबित्तिकै कमलो मातृत्वप्रेम पनि कडा बनाउँछन्। अनि, संसार हेर्ने आशामा गर्भभित्रैबाट दिन गनिरहेका कैयौं अबोध छोरीहरु भ्रुण अबस्थामा नै मारिइरहेका छन्। तर, उसका बाआमा, परिवार अनि समाज भने केही समयपछि छोरो पाउने अर्को प्रयास गर्छन्। जुन कुरा मैलेमात्र नभई जो कोहीले पनि आफ्नै टोल, छिमेक र आफन्तजनहरुमा देखेको र सुनेको हुनुपर्छ।

हिजोका दिनमा महिलाहरु पुरुषको इसारामा चल्नुपथ्र्यो। पुरुषले गरेको दमनलाई सहनुको विकल्प थिएन। आजको युगका महिलाहरु स्वतन्त्र छन्। संविधान र कानुनले नै उनीहरुलाई बिशेषाधिकार दिएको छ। यद्यपि, ती बिशेषाधिकार पूर्ण भने छैन। त्यसैले, महिलाहरु आफ्नो अधिकारका लागि लडिरहेका छन्। पुरुषप्रधान मान्यतालाई उखेलेर समान अधिकारको जग बसाल्न संघर्ष गरिरहेका छन्।

तर, जन्मिएका छोरीको अधिकार सुनिश्चित हुँदैगर्दा पनि कैयौं छोरीले भने जन्मन नपाई आफ्नै आमाको ‘स्वीकृति’मा मर्नु परिरहेको छ। तिनका लागि कसले बोलिदिने? सबैभन्दा सुरक्षित ठाउँ भनिएको आमाको कोखमा नै असुरक्षित भइरहेका छोरीको जन्मन पाउने अधिकारका लागि कसले लडिदिने? फलस्वरुप, करकापमा होस् वा समझदारीमा नै किन नहोस्, लिंग परिक्षण गराई भु्रण हत्या गर्ने क्रम भित्रभित्रै डरलाग्दो रुपमा बढिरहेको छ। जसकारण, बंश चलाउँछ भनेर जन्माएको छोराले भोलिका दिनमा बुहारी नपाउने स्थिति नआउला भन्न सकिन्न। यस्तै स्वार्थी सोच विकसित हुँदै गएमा कुनै एक बिन्दुमा पुगेर बंश रोकिनुको कुनै विकल्प छ र? छोरी जतिलाई कोखमै सिध्याएपछि छोराले मात्रै वंश चल्छ?

संसार प्रविधिको युगमा पुग्न जति पुरुषको भूमिका छ, महिलाको त्योभन्दा कम पक्कै छैन। महिला र पुरुष मिलेकै कारण प्रविधिको अकल्पनीय विकास सम्भव भएको छ। जसले मानव जीवनलाई सहजता र विलासीतातर्फ उन्मुख गराई रहेको छ। कुनै एकको अभाव हुँदो हो त, यो संसार उहिले शून्य भइसक्ने थियो।

हाम्रा पुर्खाहरुले पनि छोराहरु जन्माएका थिए, साथै छोरीहरुको अभाव पनि हुनदिएका थिएनन्। तर, अहिलेका मानिस अनौठो किसिमले ‘सचेत’ भइरहेका छन्। चार भाई छोरा जन्मिदा कुनै चिन्ता लिदैनन्। तर, पहिलोबाट दोश्रो सन्तान पनि छोरी हुने बित्तिकै गर्भ जाँच गर्न पुग्छन्। डक्टरलाई पैसा ख्वाएरै किन नहोस् छोरी छ भने जर्बजस्ती निर्दयी बनेर कोखबाट फाल्न लगाउँछन्।

समयसँगै सोच बदलियो। शिक्षाको ज्योति घरघरसम्म फैलियो। प्रविधिको विकास पनि भइरहेकै छ। त्यही प्रविधिले छोरीलाई आमाको कोखबाटै विनाश गराउँदैछ। मायाकी खानी भनिएका आमाबुवालाई निर्दयी बन्न सिकाउँदैछ। कोखबाट जन्मिने आफ्नै बच्चा पनि बजारमा सामान किने जसरी छानेर किन्न थालिँदैछ। एकभन्दा बढी छोरी गर्भमा आउने बित्तिकै फोहोर जस्तैगरी कोखबाट बढारिँदैछ। पशुले बरु आफ्ना छोराछोरी छुट्याउँदैन। आफ्नो बच्चाको सुरक्षा गर्छ। तर, २१ औँ शताब्दीकी आमाले आफ्नो पेटमा भएको एउटा छोरीको रक्षा गर्न नसकेको देख्दा उदेक लागेर आउँछ। अनि भन्न मन लाग्छ, सक्छौ सन्तान जन्माउने रमाइलो कसरत नगर। सक्दैनौँ, जो कोखमा आउँछ उसलाई जन्मने मौका देऊ।
छोराको खोजीमा छोरीको हत्या गर्नेहरुले सोचुन्– तिमी मर्दा तिम्रै छोरीले पो काजकिरिया गर्नु पर्छ कि! मरेपछि पिण्ड खान पाउँछु कि भनेर धेरै छोरीलाई मारेर जन्माएको छोराले नै पो अगाडि नै पिण्ड खान्छ कि? मृत्युको बारेमा को जान्दछ र? वा, तिमीलाई बृद्धाश्रममा पठाएर विदेशतिर पो पुगेको हुन्छ की!

छोरा र छोरी बराबर हुन् भनिन्छ। समान हक र अधिकारको प्रयत्न पनि भइरहेको छ। तर, कोखभित्रचाहिँ छोरीलाई किन समान व्यवहार गरिदैन? जन्मिएकाहरु त बोल्छन्। आफ्नो अधिकारका लागि आफैँ लड्छन्। तर, उज्यालो संसार हेर्न उकुसमुकुस भएर संघर्ष गरिरहेकी छोरीको अधिकारको लागि कसले लडिदेला? त्यसरी हत्या गर्ने र गराउनेलाई कसले कारबाही गरिदेला?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.