अस्पताल र मृगौला: हाम्रो हलुका टिप्पणी


यो लेख कसैको पक्ष वा विपक्ष भएर लेखिएको होइन। मनमोहन मेमोरियल मेडिकल कलेजमा घटेको प्रतिनिधी घटना र त्यसबाट सिर्जना भएको परिस्थिति, अनलाइन, पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु देखेर चिकित्सा क्षेत्रको एक विद्यार्थीको नाताले यस विषयमा केही कुरा आम मानिसहरुमाझ राख्न जरुरी लागेर यो लेख लेखिएको हो । यो लेखमा राखिएको विचारहरु समाचारहरुमा आएका सामाग्री र अस्पतालको विज्ञप्तिलाई आधार तयार पारिएको हो। थप तथ्य र यथार्थ सम्बन्धित निकायको छानबिनपछि प्रष्ट होला भन्ने विश्वास लिइएको छ।

निज बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आफूलाई आफ्नो उपचारमा कुनै कमीकमजोरी भएको शंका लागेमा सम्बन्धित निकायमा गई कानुनी प्रक्रियाबाट अघि बढ्न र छानबिनमार्फत सत्यतथ्य बाहिर ल्याउन पहल गर्न पनि अनुरोध गर्दछु।

घटनाक्रम

मनमोहन मेमोरियल मेडिकल कलेजमा घटेको घटनाको सत्यतथ्य र यथार्थ विवरण त छानबिन पछि मात्र बाहिर आउला।  तर, अस्पतालको विज्ञप्ति र मिडियाहरुमा आएको समाचार हेर्दा बिरामीको मृगौलामा रहेको पत्थरी निकाल्ने क्रममा अत्याधिक रक्तश्राव भएको र अनेक उपायहरु अपनाउँदा पनि त्यसलाई रोकथाम गर्न नसकिएकोले अन्तिम विकल्पको रुपमा मृगौला झिकिएको भनिएको छ। समाचारहरुमा आए अनुसार अपरेसनपछि बिरामीका आफन्त र अस्पतालबीच केही बुँदाहरुमा सम्झौता भएको छ। गुपचुपमा आफ्नो परिवारलाई प्रभावमा पारेर सम्झौता गर्न लगाएको आरोप अहिले विरामीले लगाएका छन्।

बुझ्नुपर्ने केही कुरा

हरेक अपरेसनको आफ्नै जटिलताहरु हुन्छन्। त्यसको असर अपरेसन गर्दागर्दै वा लामो समयपछि पनि देखिन सक्छ। पत्थरीको स्थिति, आकार तथा मृगौलाको अवस्थिति आदि विभिन्न कारणले यो अपरेसन गर्दा पनि रगतनलीमा चोट लाग्न सक्छ। रक्तश्राव हुने र त्यसलाई रोक्न विभिन्न उपायहरुले कोशिस गर्दा पनि नसकिएमा ज्यान बचाउनको निम्ति मृगौला नै झिक्नुपर्ने हुन सक्छ।

त्यस्तै, पाठेघरको अपरेसन वा बच्चा निकाल्नको निम्ति गरिने ‘सिजेरियन सेक्सन’ गर्दा पनि रक्तस्राव अन्य विधिले रोक्न नसकिएमा वा त्यसले गर्दा ज्यान नै जाने जोखिम भएमा अन्तिम विकल्पको रुपमा पाठेघर नै निकाल्ने पनि गरिन्छ। यी जटिलताहरु अपरेसन गरिएका केही थोरैमा देखिन सक्ने तर हुनसक्ने सम्भावना भएको जटिलता हो।

गल्ती कहाँनेर भयो ?

अस्पतालमा आएका बिरामीमा कुनै उपचार थाल्नु अघि त्यस उपचारका फाइदा बेफाइदा, अन्य उपचार विधिहरु, उपचार नगरेमा हुने हानीहरु, उपचारका सम्भावित जटिलताहरुको बारेमा बिरामीलाई राम्रोसँग जानकारी गराइनुपर्छ। अपरेसन गर्नुअघि पनि अपरेसनको क्रममा आउन सक्ने समस्याहरु र हुनसक्ने थप जटिलताको बारेमा बिरामी र बिरामीका आफन्तहरुलाई जानकारी गराउनुको साथै लिखित मञ्जुरीनामा पनि हस्ताक्षर गर्नुपर्छ। अपरेसन गर्दागर्दै आएको त्यो समस्या र जटिलताको बारेमा पनि बिरामीका आफन्तलाई तुरुन्त जानकारी गराइनुपर्ने थियो। यो पाटोमा अस्पतालका चिकित्सकहरुले आफ्नो जिम्मेवारी निभाए कि निभाएनन् वा त्यहि राम्रोसँग बुझाउन नसकेको कारणले अहिले यो समस्या आएको पनि हुनसक्छ। उपचार प्रक्रियामा बिरामीलाई गरिने ‘काउन्सिलिङ’को भाग कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यो घटनाले हामी चिकित्सक समाजलाई पाठ पढाएको छ।

अस्पतालको विज्ञप्तिमा भनिएझैँ अत्याधिक रक्तस्रावबाट बिरामीलाई बचाउनकै निम्ति मृगौला झिकिएको हो भने त्यहाँ चिकित्सकको लापरवाही वा कमजोरी भन्ने देखिदैन। संसारभरी गरिने उपचारको ‘प्रोटोकल’ नै यही हो । यसबारेमा थप कुराहरु अनुसन्धान र छानबिन गरिएपछि पक्कै पनि प्रष्ट हुनेछ।

अस्पतालको कमजोरी

अपरेसनपछि बिरामीका आफन्त र अस्पतालबीच गरिएको भनेको सम्झौता भने अस्पतालबाट गरिएको गल्ती वा कमजोरी हो। यस्ता घटनाहरुमा कानुनी प्रक्रिया, छानबिन, अनुसन्धानभन्दा पनि आफन्त र अस्पताल प्रशासन एउटा बन्द कोठामा बसेर क्षतिपूर्तिको मोलमोलाइ गर्नाले नै अहिले चिकित्सा क्षेत्रमा यो चरम विकृति देखा परेको छ। यसले बसालेको गलत नजिरका कारण नै अस्पताल तोडफोड हुने, भीडरहुलदंगाबाट स्वास्थ्यकर्मीमाथि आक्रमण हुने र तेस्रो पक्षले आफ्नो फाइदाको निम्ति बिरामी र आफन्तको संवेदनालाई प्रयोग गर्ने क्रम बढ्दै गएको छ। यसले क्षणिकरुपमा एउटा पक्षलाई फाइदा पुगे पनि कालान्तरमा आममानिस, अस्पताल र स्वास्थ्यकर्मी सबैलाई हानी गर्छ। चिकित्सक र बिरामीबीचको दुरीलाई बढाएर यसले संबेदनशील र अन्तिम अवस्थाको बिरामीलाई चिकित्सकको पहुँचसम्म पुग्न र उपचार पाउन अप्ठ्यारो पार्नेसम्मका स्थितिमा नपु¥याउला भन्न सकिन्न।

तसर्थ, यस घटना पनि अस्पताल प्रशासनले गरेको त्यो सम्झौतापत्रको कारण के थियो, आफ्नो कुनै गल्ती नभएको भए सम्झौता गर्नुको तात्पर्य के थियो प्रष्ट पार्नुपर्ने एकदमै जरुरी देखिन्छ।

मिडियाको भूमिका

यस्ता घटनाहरुमा मिडियाको भूमिका सन्तुलित र पूर्वाग्रहरहित हुनुपर्नेमा त्यसो भएको पाइँदैन। ‘सनसनीपूर्ण खुलासा’ गर्ने नाममा भड्काउ शीर्षक राखेर प्रशारण गरिने समाचारले अनलाइन पोर्टल वा पत्रपत्रिकाको भिजिट सङख्या त बढाउला। तर, यसले गर्दा आम मानिसमा पर्न जाने गलत सन्देशले समाजलाई सही दिशामा डोहो¥याउन सक्दैन। यही घटनामा हेर्ने हो भने पनि ‘पत्थरीको अपरेसन गर्दा मृगौला निकालियो’ भन्ने शीर्षकले अपरेसन गर्दा जटिलता आएकाले बिरामीको ज्यान बचाउन मृगौला निकालिएको तथ्यलाई बङ्ग्याएर गलत प्रयोजनको लागि मृगौला झिकिएको आशय दर्शाएको छ।

यस्ता समाचारले आम मानिसमा नकारात्मक सन्देश मात्रै जादैन। अस्पताल, चिकित्सकप्रति नै वितृष्णा पैदा गरिदिन्छ। विश्वासमा कमी ल्याइदिन्छ। जुन स्वास्थ्य क्षेत्र र बाँकी समाजको लागि पनि एउटा नराम्रो वातावरण सृजना हुनु हो ।

पत्रकारिता आफैंमा एउटा सन्तुलित पेशा हो। खबरदारी गर्ने पेशा हो। जनतालाई सही सूचनाले सुसूचित गर्ने पेशा हो। कुनै शीर्षक र त्यसभित्रको समाचारले सही सूचना दिनुको साँटो उत्तेजना फैलाउने, मरमसला प्रयोग गरेर तथ्यलाई बङ्ग्याउने र मानिसलाई गलत सन्देश प्रवाह गरियो भने त्यसले पत्रकारिताको खास धर्म निभाउन सक्दैन।

मृगौला चोरीको कुरा

यो घटनापछि सामाजिक सञ्जालका साथसाथै केही प्रतिष्ठित अनलाइनका सम्पादक, पत्रकार र अन्य केहीले अस्पतालले मृगौला चोरेको भनेर पोष्ट गर्नुभएको छ। यो कुरा आफैंमा हास्यास्पद छ। अन्य देशहरुमा यदाकता सुनिने र हुनसक्ने भए पनि नेपालका अस्पतालहरुमा यस्तो घटना हुनसक्ने सम्भावना ज्यादै न्यून छ। मृगौला प्रत्यारोपण गर्नलाई मृगौला निकालेको केही समयमै अर्को शरीरमा प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ। एउटा मानिसको मृगौला जो कोहीले लिनै मिल्दैन, त्यसका निम्ति विशेष जाँचहरुजस्तै ‘एचएलए टाइपिङ’ आदि गरेपछि त्यो मेल खाएमा मात्र मृगौला लिने मान्छे योग्य हुन्छ। त्यसमाथि पत्थरी भएको मृगौला चोरेको भनेर जसरी कुनै ठोस प्रमाणबिना हलुका टिप्पणी गरिएको छ, त्यो आफै गैरजिम्मेवार पनि छ।

अन्त्यमा,

यो लेख लेखिरहँदा मैले कोही दोषी र कोही निर्दोषी भनेर औंल्याइरहेको छैन। हामी सबैले आ–आफ्नो ठाउँबाट आत्ममूल्याङ्कन गर्न जरुरी छ। कमजोरी हामी सबैमा छ। बिरामीलाई पर्याप्त समय नचाहेर वा चाहेर पनि दिन नसक्ने चिकित्सक, सनसनीपूर्ण न्युज बनाएर ब्रेक गर्ने पत्रकार र यथार्थ नबुझिकनै आरोप प्रत्यारोपमा उत्रिने आम सर्वसाधारण सबै आआफ्नो ठाउँमा दोषी छन्।

हामी सबैले पेशागत मर्यादा र इमानदारीलाई नभुलीकन, एक–आपसलाई खबरदारी गर्दै सन्तुलित रुपमा अघि बढे स्वास्थ्य क्षेत्रमा देखिने यस्ता समस्याहरु निराकरण गर्न केही हदसम्म भए पनि सहयोग पुग्थ्यो कि!

(लेखक गण्डकी मेडिकल कलेज, पोखरामा इन्टर्नसिप गर्दैछन् । )

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.