भोलि कसैले तपाईलाई पनि अन्तरघातीको आरोपमा कालोमोसो नलगाओस्


नेपाली काँग्रेसलाई प्रजातन्त्रप्रति प्रतिबद्ध पार्टी मानिन्छ र हो पनि। हामी सानै छँदा हाम्रा नेता दाईहरुले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बारेमा निकै व्याख्या गर्नुहुन्थ्यो। उहाँहरु बताएका ती तीन शब्दहरुको व्याख्या हामी बुझ्दैन थियौं। अहिले बल्ल बुझ्दैछौं कि यी शब्दहरु कति महत्त्वपूर्ण छन्। तिनका भावनाको पूर्ण पालना गरेका देशहरु नै आज संसारका सबैभन्दा उत्कृष्ट शासन व्यवस्था भएका देश बन्न पुगेका छन्।

यति राम्रो सैद्धान्तिक धरातल भएको काँग्रेस पार्टीका कार्यकर्ताहरुले बाँकेको कोहलपुर नगरपालिकामा आफ्नै पार्टीको स्थानीय नेतालाई कालोमोसो लगाइदिए। उनलाई आरोप लगाइएको छ, उनले अन्तरघात गरे। राणाकालीन इतिहासमा मात्र पढ्न पाइने यस्तो घटना प्रमाणसहित राष्ट्रिय पत्रिकाहरुले नै समाचार प्रकाशित गरिदिए।

पहिलो कुरा ती कार्यकर्ताले नेपाली काँग्रेसलाइ मत दिएनन् भन्ने कुराको के प्रमाण छ? अवश्य पनि उनले गोप्य मतदान गरेका थिए। यस्तो अपराध गर्ने मित्रहरुले कल्पना गर्नुहोस्, यदि उनले काँग्रेसमा नै मत दिएका रहेछन् भने तपाईंहरु उनीमाथि कति अन्याय भयो होला?

ती पीडित व्यक्तिले तपाईको पार्टीबाट केही फाइदा अवश्य लिए होलान्। नेपालको समस्या नै हो कि पार्टीमा लागेपछि फाइदा लिनु पर्ने र फाइदा लिएपछि पार्टीमा रहिरहनुपर्ने। तर, हालसम्म उनले पनि त तपाईंको पार्टीका लागि केही योगदान गरे होलान्। त्यसलाई चाहिँ मान्यता दिनुपर्दैन?

हामी सधैं हाम्रो देश विकसित रास्ट्रजस्तो बन्ने र बनाउने कल्पना गर्दछौं। तर, हामीले विकसित रास्ट्रहरुले उन्नति गर्नुको कारण के छ भनेर कहिल्यै प्रश्न गर्दैनौं। विकसित रास्ट्रहरुले उन्नति गर्नु वा उन्नत समाज निर्माण गर्न सक्नुको कारण माथिका तीन शब्दहरु नै हुन्, जुन तपाईंहरुको सिद्धान्तको किताबमा लुकेर बसेका छन्। धेरै गहिराइमा जानु पनि पर्दैन। उक्त व्यक्तिलाई स्वतन्त्रतापूर्वक आफ्नो अधिकार प्रयोग गर्ने छुट पनि छ।

बर्दियामा मात्र नभएर अन्तर्घात भन्ने शब्द यो हप्ता नेपालभर नै चर्चामा रह्यो। यस सन्दर्भमा फ्रान्समा गत तीन महिनाभित्र घटेका ५ महत्त्वपूर्ण घटनाहरु उल्लेख गर्नलायक छन्।

पहिलो, फ्रान्समा नयाँ शक्तिको स्थापना भएपछि सत्तारुढ समाजवादी पार्टीका करिब ५० प्रतिशत र रिपब्लिकन पार्टीका करिब २० प्रतिशत केन्द्रीय नेताहरुले नयाँ शक्तिलाई समर्थन गर्ने घोषणा गरे। यसलाई कसैले अन्तर्घात भनेनन्। बरु, स्वतन्त्रपूर्वक आफ्नो मतदानको उपयोग गरिएको भनी राष्ट्रिय मिडियाहरुबाट सकारात्मक सन्देश प्रशारण गरियो। उनीहरुको तर्क थियो “देशलाइ निकास चाहिएको छ, पुराना शक्तिबाट निकास सम्भव छैन।”

दोस्रो, समाजवादी पार्टीबाट प्रधानमन्त्री बनेका फ्रान्सका पूर्वप्रधानमन्त्री (Manuel valls) ले आफ्नै पार्टीका राष्ट्रपतिका उम्मेदवारलाई भोट नदिने सार्वजनिक घोषणा गरे। उनको तर्क थियो, “मत विभाजन हुँदा देशको नेतृत्व ( राष्ट्रपतिको पद) कट्टर दक्षिणपन्थीको हातमा जाने र त्यसलाई रोक्नु अनिवार्य भएको छ।”

तेस्रो, २००७ मा समाजवादी पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेकी र पटकपटक मन्त्री बनेकी Ségolène Royal प्रतिनिधि सभा २०१७ को चुनावको भोलिपल्ट आफूले समाजवादी पार्टीको उम्मेदवारलाइ मत नदिएको कुरा राष्ट्रिय टेलिभिजनबाट खुलासा गरिन्। उनको तर्क अनुसार आफ्नो पार्टीको भन्दा विपक्षी पार्टीको उम्मेदवार योग्य देखिन् र उसैलाई मत दिइन्।

चौथो, चुनाव प्रचारकै क्रममा रास्ट्रपतिको उम्मेदवारलाई अधिकार दुरुपयोगको आरोप लागेपछि रिपब्लिकन पार्टीका केन्द्रीय स्तरको एउटा समूहले राष्ट्रपतिको निर्वाचनमा उनलाई सहयोग नगर्ने सार्वजनिक घोषणा गर्यो। त्यही कारण उनले चुनाव नै हारे। उनीहरुको तर्क थियो, “अदालतमा मुद्दा विचराधीन रहेको व्यक्ति आफ्नै पार्टीको भए पनि राष्ट्रपतिको उम्मेदवारको लागि योग्य हुँदैन।”

पाँचौं, लगभग प्रधानमन्त्रीसरह मानिने पेरिसका पूर्वमेयर समाजवादी पार्टीका तर्फबाट मेयर बनेका थिए। उनले राष्ट्रिय टेलिभिजनबाट नै आफ्नो पार्टीका राष्ट्रपतिको उम्मेदवारलाई भोट नदिने घोषणा गरे। उनले आफ्नो पार्टीको कार्यक्रम समयसापेक्ष नभएको तर्क गरेका थिए।

यी त केही उदाहरण मात्र हुन्। पार्टीको तर्फबाट रास्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मेयर, सांसदजस्ता उच्च पद हासिल गरिसकेकाहरुले पनि स्वतन्त्र रुपमा मत दिन्छन्। यहाँ यस्ता विषयहरुमा खासै चर्चा गरिँदैन। कसलाई मत दिने भन्ने कुरा नितान्त व्यक्तिगत मानिन्छ। कुनै नेताले पार्टीबाट के अवसर पायो भन्ने कुराको कम चर्चा हुन्छ। पार्टीभित्र उक्त नेताको उपस्थितिले देश र पार्टीलाइ पुगेको योगदानको बढी चर्चा गरिन्छ।

यसरी पार्टीको तर्फबाट रास्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मेयर, सांसदजस्ता उच्च पद हासिल गरिसकेकाहरुले पनि स्वतन्त्र रुपमा मत दिन्छन्। तर, हामीचाहिँ पाँच वर्षअगाडि कुनै पार्टीलाई भोट दिएको सामान्य जनताले यसपटक अर्को पार्टीलाई भोट दिँदा अन्तर्घात भनिरहेका छौँ। पहिला जुन पार्टीमा मत दियो त्यही पार्टीलाई नै सधैँ मत दिने मान्यता राख्ने हो भने चुनाव गर्नुको औचित्य के भयो? कार्यकर्ता र नेताहरु पनि त सचेत मानव नै हुन्, उनीहरुलाई पनि राम्रो व्यक्ति छनोट गर्ने चाहना हुनसक्छ।

सामान्यरुपमा सोच्दा पनि, पार्टीद्वारा जबर्जस्ती लादिएका निर्णयको विरुद्ध जानै नपाउनु भनेको प्रजातन्त्रका नाममा निरंकुशता भएन र?

विकसित देशमा राजनीतिक पार्टीका कार्यकर्ता र समर्थकहरु जम्मा मुस्किलले कुल मतदाताको ३० प्रतिशत हुन्छन्। बाँकि ७० प्रतिशत मतदाता कुनै पार्टीसँग पनि आबद्ध हुँदैनन्। कुनै पार्टीसँग आबद्ध नभएको यो समूहलाई फ्रान्समा ‘आँदेसी’ भनिन्छ। यस्ता मतदाताहरु मुख्यगरी पार्टीका घोषणापत्र, उम्मेदवारहरुका भाषण, टेलिभिजनमा हुने अन्तर्वार्ता र छलफलका आधारमा आफ्नो मत कसलाई दिने भन्ने निर्णय गर्दछन्। यो समूह नै निर्वाचनमा निर्णायक हुन्छ। पार्टीका कार्यकर्ताबाहेकका हामी पनि सकिन्छ भने तटस्थ रहन सिकौं। र, अरुलाई पनि सिकाऔं ताकि भोलि कसैले तपाईंलाई पनि अन्तर्घातीको आरोपमा कालोमोसो नलगाओस्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.