बाँच्न जानेको मान्छे


‘सर नमस्कार, यसपाली भेट्न सकिन। अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनालीको आरोहणमा जाँदैछु। जुलाईको १४ तारिखमा चढ्ने योजना छ। फेरि पनि सहयोग माग्यो भन्ने नठान्नु होला, जानकारीका लागि मात्र।’

नेपाली झण्डा सर्वोच्च शिखरमा फहराइरहेको तस्विर भएको व्यक्तिले म्यासेन्सरमा पठाएको यो म्याजेससँगै दुईवटा हाँसेको ‘स्माइली’ पनि आएको थियो।

सञ्जय सामान्यता मलाई भेट्दा दाइ भन्ने गर्थे। जब ‘सर’को सम्बोधनसहितको यो म्यासेज पढेँ, बुझ्न गाह«ो भएन, मलाई जस्तै उनले दर्जनौं ‘सरहरु’लाई यो म्यासेज एकसाथ पठाएका हुन्। उनी आफ्नो सबै सूचना केही सञ्चारकर्मी र दाताहरुलाई उपलब्ध गराइरहन्थे। उनको बारेमा छापिएका समाचारको लिङ्क प्रायः मेरो म्यासेन्जरमा पनि आएको हुन्थ्यो। समाचारको लिङ्कसँगै इनबक्समा लेखिएको हुन्थ्यो, ‘यसमा मेरा केही सुचना छन्, तपाईंलाई काम लाग्छ भनेर पठाएको हो। समाचारका लागि होइन।’

गएको केही महिनादेखि उनले पठाएको समाचारको लिङ्क र म्यासेजको उत्तर दिन छाडेपछि उनले चित्त दुखाएको शैलीमा लेखेका थिए, ‘दाइ, मैले सबै कुरा अन्तरवार्तामा भन्न भ्याएको छैन, काम लाग्छ भनेर पठाउँछु तर तपाईं उत्तर नै दिनुहुन्न। म आफ्नो घर बन्धकी राखेर देशको नाम राख्दैछु। तपाईं जहिल्यै पनि मेरो स्वार्थका लागि हो भन्ने ठान्नुहुन्छ। प्लीज, त्यसो नठानी दिनुहोला।’

५ वर्षअघि सञ्जय पण्डित तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्समा पत्रिकाहरुमा छापिएका समाचारका टुक्राहरु बोकेर भेट्न आएका थिए। अत्यन्त व्यस्त समयमा अग्रीम समय नलिइकन आएका कारण मैले उनलाई धेरै समय दिन सकिन। हतारमा एक कप चिया पिउँदा उनले भनको थिए, ‘मैले भर्खर सर्वोच्च शिखर सगरमाथा चढेँ। म संसारभरीका ७ महादेशका ७ सर्वोच्च हिमाल चढ्न चाहन्छु। तर यति ठूलो काम गर्दा पनि कसैले महत्व नै दिँदैन।’

सर्वोच्च शिखर सगरमाथा चढ्नु आफैंमा ठूलो कुरा हो। त्यसमाथि हिमालभन्दा धेरै तल जन्मे हुर्केका गैर–शेर्पाहरुका लागि सर्वोच्चको शिखर चुम्नु करिब करिब असम्भव काम मानिन्छ। उनले ठानेका रहेछन्, एक जना बाहुनले सर्वोच्च सगरमाथा चढ्नेबित्तिकै उनी रातारात ‘स्टार’ हुनेछन्। उनको अघि टेलिभिजनहरुले माइक तेस्र्याउने छन् र उनी आफ्नो बहादुरीको बखान गर्नेछन्। तर त्यसो भएन। संसारकै सर्वोच्च शिखर सगरमाथा चढेको समाचार पत्र–पत्रिकाको भित्र छोटकरी पेजमा मात्र अटाएपछि उनी आफैं पत्रकारको खोजीमा हिँडेका रहेछन्। त्यो समयमा उनले दर्जनौं सञ्चारकर्मी भेटे। त्यही क्रममा कसैले मेरो नाम दिएर पठाएको रहेछ।

त्यसयता उनी लगातार मेरो सम्पर्कमा रहे। जहिले पनि आफ्ना उपलब्धीका कथा सुनाइरहे। मलाई भने उनको सानो तिनो समाचार बनाउनेबाहेक लामो कभरेज गर्ने जाँगर कहिल्यै चलेन। पटक–पटक सामान्य समाचारमा सीमित गरेको पाएपछि उनले भनेका थिए, ‘दाइ, मेरो समाचार र अन्तरवार्ता सबैतिर आइरहेको छ। संसारका सबै हिमाल चढिसक्दा मेरो अन्तरवार्ता नलिने कोही पनि बाँकी रहने छैनन्। तर मलाई भने तपाईंसँग दिल खोलेर कुरा गर्ने मन छ।’

उनको यो भनाइमा म केही चाकडी पाउँथेँ। उनीजस्ता चर्चित व्यक्तिले मलाई खोज्दै आउनु पर्दैन, म आफैं खोज्दै आउँछु भनेर सम्झाउँथेँ। तर उनी आफूले लक्ष्य लिएपछि कुनै हालतमा पछि पर्ने जातका मान्छे थिएनन्। हरेक हिमाल आरोहणपछि उनी आफ्नो प्रगति सुनाउन आइपुग्थे। आफू आइपुग्न ढिला भयो भने सामाजिक सञ्जालमा मेरा लागि सन्देश छाडेकै हुन्थे। हरेक पटकको अन्तरवार्ता लिन अस्वीकार पछि भन्थे, ‘दाइ, मसँग अन्तरंग कुरा गर्न ढिला नगर्नूहोला, किनभने मेरो जीवनको भरोसा छैन। मानिसहरु बुझिरहेका छैनन्, म कालसँग ‘फाइट’ खेलिरहेको छु।’

उनी काठमाडौं छँदा प्रत्येक दिन बिहान २७ किलो मिटर रिङ रोडको चक्कर लगाउँथे। करिब दुई घन्टामा उनको यो दौड पूरा हुन्थ्यो। त्यसपछि थप दुई घन्टा शारीरिक व्यायाम गर्थे। गाउँतिर हुँदा डाँडा काँडा कुदिरहन्थे। उनी शरीरलाई जति बढी शास्ती दियो, त्यति शरीरले अप्ठ्यारा कुरा सहन गर्न सक्छ भन्ने ठान्दथे। यही कारण डाक्टरले काठमाडौंको धुलो धुँवामा लामो सयम कुद्नु राम्रो होइन भनेर सम्झाउँदा उनी त्यसलाई चुनौति बनाइदिन्थे।

‘शरीरको एउटा अनौठो क्षमता हुन्छ, जब तपाईं उसलाई बारम्बार त्यही कुरा गर्न बाध्य बनाउनुहुन्छ, त्यो कुरा शरीरले स्वीकार गर्न थाल्छ,’ उनी भन्थे, ‘मलाई जुन कुरा गर्नुहुँदैन भनिन्छ, त्यही कुरा गर्न मन लाग्छ। यही नै मेरा लागि जीवन बाँच्ने आधार हो।’

उनी नेपालका सबै ‘ठूला मान्छे’ हरुलाई भेट्न चाहन्थे। यसबाट उनलाई दुईवटा फाइदा हुन्थ्यो, पहिलो– उनी आफू संसारका ७ महादेशका ७ अग्ला हिमाल चढ्न लागेको जानकारी गराएर उनीहहरुबाट त्यसका लागि आर्थिक सहयोगको आधार तयार पार्नु। जति नाम चलेका मानिससँग भेट्यो, सम्बन्ध स्थापित ग¥यो, उनीहरुको सहयोगले आर्थिक संकलन हुन सक्थ्यो। दोस्रो– उनीहरु किन ठूला मानिस भए, त्यसको जानकारी प्राप्त हुन्थ्यो। सञ्जय पहिलो भेटमा कुनै व्यक्तिसँग परिचय भएपछि सुरुमा आफूले गर्न चाहेको काम देश र समाजका लागि कति महत्वपूर्ण छ भन्ने बुझाउने प्रयास गर्थे। त्यसपछि लगातार उनीहरुको संगतमा रहेर उनीहरुको आनी–बानी संकलन गर्थे। तीमध्ये सहयोगी हुने ठानिएका मानिसको सुची बनाएर लगातार उनीहरुसँग सम्पर्कमा रहन्थे। उनको जीवनको निश्चित उद्देश्य मात्रै थियो, बिहानभरी कडा शारीरिक व्यायाम गर्ने, बाँकी समय मानिससँग भेटघाट गरेर आर्थिक संकलन गर्ने र वर्षको अन्त्यमा एउटा हिमालको आरोहण गर्ने। कतैबाट अचानक सहयोग प्राप्त भयो भने तुरुन्तै सानोतिनो समिटमा उक्लिहाल्ने र एउटा रेकर्ड बनाउने। यसो गर्दा उनलाई लाग्थ्यो, उनको प्रोफाइल बढ्छ र लक्ष्यमा सजिलै पुग्न सकिन्छ।

‘जो व्यक्तिगत संघर्षले माथि आएका छन्, उनीहरुले जीवन बुझेका छन्। उनीहरु सहयोगी पनि छन्। जो कुनै व्यक्ति, पार्टी वा सरकारी जागीरका कारण माथि आएका छन्, उनीहरु एकदमै स्वार्थी र अरुलाई मान्छे नगन्ने प्रवृत्तिका हुँदा रहेछन्,’ ठूला मानिससँगको उठबसपछि उनले निकालेको निष्कर्ष थियो, ‘विशेषगरी सरकारी जागिरेहरु बढी व्यक्तिगत प्रवृत्तिका छन्। उनीहरुमा अरुसँग लिने सोच मात्रै देखिन्छ, उनीहरुको हातबाट दुई–चार रुपैयाँ पनि गाह«ो हुँदो रहेछ। कतिसम्म भने सरकारले ‘सहयोग गर्नू’ भन्ने शीर्षकलाई पनि कसरी दिन मिल्दैन भनेर हत्तोसाहित गर्छन्।’

सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७ वर्षभित्रमा विश्वका सात महादेशका ७ ठूला हिमाल चढिसक्ने उनको योजना थियो। यो योजनामा उनले ७ करोड नै खर्च हुने आकलन गरेका थिए। यसका लागि उनले नेपालका कुन व्यापारीलाई भेटेनन्रु कुन राजनीतिक दलका नेतालाई भेटेनन् र कुन लेखक–पत्रकारलाई आफ्नो प्रगति सुनाएनन्रु यसरी भेट्ने क्रममा उनले बुझे, जसले जति आफ्नो गाउँ, जिल्ला र क्षेत्रको नाम लियो, त्यति बढी सहयोग प्राप्त हुने रहेछ। एक दुई वटा हिमाल चढेपछि उनले आर्थिक संकलनका लागि सकेसम्म प्युठान जिल्लावासी, त्यसपछि मध्यपश्चिम र सुदुरपश्मिेली नेता र व्यवारीको सहयोग लिए। आफ्नो प्रोफाइल बढाउन उनले गएका तीन वर्षमा ३ वर्तमान प्रधानमन्त्री र केही पूर्व प्रधानमन्त्री, चर्चित मन्त्रीहरु, आफ्ना क्षेत्रका सभासदहरु सबैलाई भेटे। विदेश जाँदा प्रत्येक एन। आर। एन। को घर दैलोमा गएर आर्थिक सहयोग मागे। उनी आफ्नो काममा कतिसम्म विश्वस्त थिए भने अन्टार्टिकाको हिमाल चढ्न आफ्नो घर–खेत ५६ लाखमा बन्धकी राखेर हिँडेका थिए। तर चिली पुग्दा नपुग्दै उनको पैसा सकिने लक्षण देखियो। त्यसपछि भोकै तीन दिन यात्रा गरेका सञ्जयले फर्कंदा नेपालीहरुबाट सहयोग पाउने आशा बेकार भयो। तै पनि, उनी निराश भएनन्। अर्थमन्त्रीलाई भेटेर आफ्नो ऋण मिनाहा गर्ने निवेदन दिएपछि नयाँ यात्राको सुरुवात गरिहाले।

मागेरै संसार घुमेका विश्व साइकल यात्री पुष्कर शाहले दिएको अन्तरवर्ताबाट प्रभावित भएर उनले संसारका सबै अग्ला हिमाल चढ्ने योजना बनाएका थिए। भोलि परिवार समस्यामा पर्छ भन्ने कल्पना पनि उनको मनमा आउँदैन थियो। ‘म देशको नाममा काम गरिरहेको छु, देशले मेरो समस्या समाधान गर्छ। यसमा म विश्वस्त छु।’

उनको कुरा गर्ने शैली अत्यन्त आत्मविश्वासी थियो। जुन बेला पनि रेकर्ड राख्ने, अरुले गर्न नसकेको काम गर्ने कुरा मात्र सुनाइरहन्थे। यस्तोमा म उनलाई घर परिवारको बारेमा सम्झाउँथेँ। खासमा अन्तरवार्ता नगरे पनि उनी कस्ता मानिस हुन् भन्ने जान्न मन लागिरहन्थ्यो। कुरै कुरामा उनी भन्थे, ‘तपाईं जे गर्न चाहनु हुन्छ, त्यो गर्न सक्नुुहुन्छ तर त्यसको लागि मेहेनत, लगन, आत्मविश्वास सबै थोक हुनुपर्छ। कति साथीभाइहरुले मेरो आलोचना गर्छन्, पैसा दिनेहरुले अघि जे भने पनि पछाडि मैले पैसा दिएर त चढेको पनि भन्छन्। म कति गाह«ो काम गर्दैछु भनेर त्यो बेला मात्र थाहा पाउनेछन्, जुन बेला मेरो धेरै वटा रेकर्ड बन्नेछन्। त्यो बेला मलाई सहयोग गर्ने सबैको नाम लिनेछु। अहिले पनि उहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, उहाँहरुले गरेको सहयोगको एक पैसा पनि खेर गएको छैन।’

त्यसो त, सञ्जय प्रत्येक हिमाल चढ्न लाग्दा आफू ठूलो युद्ध लड्न हिँडेको महसुस गर्थे। जानुअघि आफ्ना सबै इष्टमित्र र सहयोगलाई आफू कुन कामका लागि किन जान लागेको सबै सूचना दिनुको अर्थ भोलि केही भैहाले आफ्नो नाममा ठूला ठूला समाचार बनोस् भन्ने उनको अभिलाशा रहन्थ्यो। जसरी पनि चर्चित हुने उनको सोचका कारण नै मलाई झट्टै उनीसँग लामो र अन्तरंग कुराकानी गरिहाल्न अप्ठ्यारो लाग्दथ्यो।

एकपल्ट अस्ट्रेलियाको सबैभन्दा अग्लो हिमाल चढ्नुअघि उनी मसँग भेट गर्न आएका थिए। त्यही बेला उनी आफू विवाहित भएको र जीवन दाऊमा राखेर हिमाल आरोहण गर्न थालेको बताएका थिए। त्यही बेला मैले उनीसँग लामो कुराकानी गरेँ। कुरा गरेपछि उनी आफैंले भने, ‘दाइ, यो अन्तरवार्ता पत्रिका वा अनलाइनका लागि होइन, पुस्तकका लागि हो। म खासमा तपाईंको ‘उनी’ जस्तै पुस्तकमा अटाउन चाहन्छु। साहसी पुरुषहरुको पनि पुस्तक लेख्दै हुनुहुन्छ भन्ने थाहा पाएपछि आज मैले तपाईंसँग विशेष समय लिएको हुँ।’

त्यो बेला उनले भनेका थिए, ‘म संसारको खतरनाक हिमालहरुको आरोहण गर्दैछु। जुनसुकै बेला म हिमालसँग पराजित हुनसक्छु। मानिसहरु जस्तो जीवन बाँचिरहेका छन्, त्यसप्रति मेरो विमति छ। जुन जीवनमा रिस्क छैन, त्यहाँ बाँच्न मजा आउँदैन। मसँग आर्थिक समस्या मात्र नभइदिएको भए, म संसारका सबै हिमाल चढ्ने लक्ष्य लिने थिएँ। एकातिर मैले हिमाल चढ्न आर्थिक जोहो पनि गर्नुपर्छ, अर्कोतिर त्यसको तयारी पनि गर्नुपर्छ। ज्बकि, मैले जुन लक्ष्य लिएको छु, त्यसका लागि मैले दुई–चार घन्टा होइन, १२ घन्टा तयारी गर्नुपर्दथ्यो। यसमा मलाई दुःख लाग्छ।’

उनी अमेरिकाको अलास्कामा हिमाल चढ्न जानुअघि सोचेको थिएँ, सातवटा हिमाल चढ्ने उनको लक्ष्य अर्को वर्ष पूरा हुनेछ। किनभने यो उनको छैठौं महादेशको छैठौं अग्लो हिमालको आरोहण थियो। उनको लक्ष्य पूरा भएपछि त्यो लक्ष्य लिनुको उद्देश्य, लक्ष्यको तयारी र त्यसका कथा–ब्यथा समेट्न लामो समय उनी र उनको श्रीमतीसँग बिताउने छु। सञ्जयको आरोहणको समयमा उनकी श्रीमतीको मनमा कस्ता कुरा खेल्थे, त्यसको पनि विवरण लिनेछु। त्यसपछि मात्र पुस्तकका लागि आवश्यक सामग्री जम्मा हुनेछ। आखिर उनी सजिलै भेटिन्थे, यसका लागि सधैं हाई–हेल्लो गरिरहनु पर्ने आवश्यकता महसुस पनि भएन। यही कारण उनका कतिपय म्यासेजको म उत्तर दिइरहनु पर्ने आवश्यकता पनि ठान्दैनथेँ।

थाहा थिएन, उनको यो अन्तिम आरोहण थियो। थाहा थिएन, एक महिनाअघि चित्त दुखाएर पठाएको म्यासेन्जर नै अन्तिम सन्देश थियो। ‘सर नमस्कार, यसपाली भेट्न सकिन। अमेरिकको सबैभन्दा अग्लो हिमाल डेनालीको आरोहणमा जाँदैछु। जुलाइको १४ तारिखमा चढ्ने योजना छ। फेरि पनि सहयोग माग्यो भन्ने नठान्नु होला, जानकारीका लागि मात्र।’

आज यो सन्देश पढ्दा उनले एउटा शब्द छुटाएजस्तो लागिरहेको छ। त्यो शब्द हो, अलबिदा दाइ, यो मेरो अन्तिम सन्देश हो …!

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.