सुन तस्करीका सहयोगी ‘ववुराहरु’ मात्रै हैन, संरक्षकहरु पनि समातिनु पर्छ


अहिले सर्वाधिक  चर्चा र चासोको विषय छ ‘सुन काण्ड’।

तस्करीको सुन र त्यससंग जोडिएका प्रवृति र पात्रहरु। समय-समयमा सुन समातिने। त्यसका भरियाहरु अक्सर समातिने तर त्यसको मालिक को हो भन्ने समेत पहिचान नहुने समस्या। वा भनौ प्रवृति।

नेपालको सुन तस्करीको पर्याय हुने गरेको त  आरोप हैन तथ्य हो। पछिल्लो समयमा  सुन तस्करीको मुद्दामा ब्यापक मात्रामा मान्छेहरु गिरफ्तार भएका छन। प्रहरीका वाहलवाला देखि भूतपूर्व अधिकृतहरुसम्म पक्राउ परेको अवस्था छ। तर, न त उक्त काण्डसंग जोडिएको सुन समातिएको छ न सुन तस्करिको मुख्य अभियुक्त देखि लगानीकर्ताहरु नै समातिएका छन।

अहिले भैरहेको अनुसन्धानले सुनका मुख्य नाइके र सहयोगीहरुको पूर्ण पहिचान गर्दै उनीहरुलाइ कानुनको कठघरामा ल्याउन त सक्ला नसक्ला तर उसले अहिले नै  एउटा काम भने सम्पन्न गरिसकेको छ चाहिं छ। अर्थात   नेपालमा व्याप्त एउटा गम्भीर  समस्या  र त्यसका विभिन्न पाटोहरु तर्फ भने अहिलेको अनुसन्धानले  सङ्केत गरेको छ।

एउटा विकारल समस्या र चुनौतीलाइ दुनियाको सामु छर्लंग पारेको छ। अहिले भैरहेको अनुसन्धान र यसको दौरान भएका प्रहरी अधिकृतहरुको गिरफ्तारीले प्रहरी संगठनमाथि नै शंकाको नजर सोझिएको छ।

संगठनमा भएको कतिपय कमि कमजोरी छन। कतिपय खराव पात्र वा प्रवृतिहरु अनि यसको संचालनमा रहेका प्रक्रियागत त्रुटीहरु तर्फ पनि सङ्केत गरेको पनि छ। जसले गर्दा  प्रहरी संगठनलाइ सवल, सक्षम र विश्वसनीय बनाउने प्रण गर्दै अगाडी वढिरहेको वर्तमान प्रहरी  नेतृत्वलाइ भविष्यको नीति निर्माणमा सहयोग  पनि गर्ने छ।

व्याप्त तस्करीको उजागार गर्दै यससंग जोडिएर हुने हत्याजस्ता अन्य अपराध तर्फ पनि समाजको आँखा खोलिदिएको छ यो अनुसन्धानले। यो अनुसन्धान सफल हुन जति आवश्यक छ त्यतिनै   अनुसन्धानको दौरान देखिएका कतिपय कमजोरीहरु  सच्याउन पनि आवश्यक छ।

जनताको सर्वाधिक  चासो रहेको यस अनुसन्धानमा संलग्नहरुले निम्न विषयहरुमा ध्यान दिन अत्यावश्यक छ।

१. हालसम्म नभेटिएको तर विमानस्थलबाट बाहिरिएको भनिएको साँढे तेत्तिस किलो सुनको ओसार पसारमा कसको कसको सहभागिता र साथ  थियो? हराएको यो सुन संलग्न सनम शाक्यको हत्या देखि लाश व्यवस्थापनसम्म कसको कसको के के भूमिका थियो?  भन्ने खोज्नमा  केन्द्रित देखिन्छ । तर सुन तस्करीसंग सम्वन्धित  पात्रहरु खोज्दै गर्दा हराएको त्यत्रो  परिणामको  सुन काहाँ छ भन्ने खोज्नेमा चाहिं दिनु पर्ने जति ध्यान नदिएको हो कि? आवश्यक कदम नचालिएको हो?

तत्काल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो वा कुनै त्यस्तै निकायलाइ विशेष मिसन सहित उक्त  सुन खोज्ने काममा लगाउनु पर्ने देखिन्छ।

२. हराएको भनिएको तेत्तिस किलो सुन तस्करीमा जुन जुन प्रहरी अधिकृतहरु गिरफ्तार भएका छन् उनीहरु उक्त सुन नेपाल छिर्ने समयमा विमानस्थल सुरक्षाको जिम्मेवारीमा थिएनन मात्रै हैन उनीहरु त्यहाँको सुरक्षामा प्राभाव पार्न सक्ने हैसियतमा पनि थिएनन भन्दा असत्य हुने छैन।

यद्धपि त्यसो भनेर उनीहरुको भूमिकाका सम्वन्धमा छानविन हुनु हुदैन भन्न खोजिएको हैन बरु छानविन अमुर्त र हल्का पो भयो कि ? भन्ने सवाल मात्रै खडा गर्न खोजिएको होl  सुन समातिएको र चर्चा भएको समयको मात्रै हैन सुन समात्दै नसमातिएको समयको बारेमा पनि दृष्टि गोचर अनिवार्य छ।  समातिने छैन भन्ने आंकलन गरिएको सुन समातिए पश्चातका केहि समय त तस्करहरुले पनि सुन तस्करी गरिरहने खतरा मोल्दैनन। तसर्थ सुन समातिएको समयमा कार्यरतहरुलाइ अभियुक्त बनाउदै गर्दा त्यस अगाडी चाहिं कहिले देखि कहिलेसम्म विना रोकतोक सुन ओसार पसार हुन्थ्यो र त्यस्तो काममा ककसको साथ र सहयोग रहन्थ्यो भन्ने पनि खोजिनु पर्छ।

३. नेपाल प्रहरी बुझेका सवैले बुझेका छन अहिले थुनामा रहेका पुर्व डिआइजी गोबिन्द निरौला, एसपी विकाश खनाल  जस्ता अधिकृतहरु प्रहरीको नेतृत्वको माया  पाएका अधिकृतहरु हैनन, न उनीहरु आफु कार्यरत नरहेको कार्यलयहरुलाइ समेत प्राभाव पार्न सक्ने अधिकृतहरु नै हुन। उनीहरु सदैव नेतृत्वको छड्के नजरमा परेका र डर डरमै काम गर्न बाध्य रहँदै आएका मात्रै हैन पछिल्लो समयमा  जिम्मेवारी नै नपाएका अधिकृतहरु थिए।

आफैं कार्यरत रहंदा उनीहरुले के कसो गरे वा तस्करीमा संलग्नहरुसंग उनीहरुको कस्तो सम्पर्क थियो, अनुसन्धानले खोज्ला। अनि दोषी देखिएमा कारवाही पनि पक्कै होला तर अहिलेनै यति चाहिं भन्न सकिन्छ कि उनीहरु आफु कार्यरत नरहेको कार्यलयको काममा प्रभाव पार्न सक्ने स्वभाव अनि हैसियतका अधिकारिहरु थिएनन। सुन तस्करी जस्तो संगठीत  अपराधमा संलग्नहरुले निस्प्रभावी सारथि के रोजे होलान ? भन्ने प्रश्न पनि जवर्जस्त उठछ नै।

४. अक्सर आफ्नो कामले चर्चा र लोकप्रियता कमाएको नेपाल प्रहरीको अपराध माहाशाखा समेत यस काण्डमा मुछिएको छ। सकारात्मक परिणामको अपेक्षा सहित भनिएको र  तस्करकै  आग्रहलाइ स्वीकार्दै, मुख्य तस्कर भनिने चुडामणि उप्रेती अर्थात ‘गोरे’संग सम्पर्क गर्दै आफ्नो कार्यक्षेत्र भन्दा वाहिरको जिल्ला गए।

सुन तस्करीका सहयोगीको लाशको घटनास्थल भन्दा अन्यत्रनै मुचुल्का तयार पार्ने अपराध माहाशाखाको टोलिको कदम राम्रो नियत, गलत परिणाम र प्रक्रियागत त्रुटी मात्रै भएको हुनसक्ने धेरैको ठम्याई थियो। उक्त कार्यलयका तत्कालिन प्रमुख दिवेश लोहनीको नधमिलिएको विगतले पनि अपराध माहाशाखाको नियत नराम्रो थिएन भन्ने ठान्न वाध्य परेको थियो। तर जव अपराध माहाशाखाको टोलिले मोरंग प्रहरीलाइ प्रतिवेदन बुझाउँदा तथ्यलाइ लुकाएको देखियो त्यसले त्यस कार्यमा संलग्नहरु मध्य कसै न कसैको नियतनै नराम्रो रहेको देखायो।

यस अनुसन्धानको अन्तिम टुँगो लाग्दै गर्दासम्म दिवश लोहनीको विगत जस्तै वर्तमान पनि राम्रै रहेछ  भन्नेनै निष्कर्ष आउन सक्ने सम्भावना सकिएको छैन।  यद्धपि जुनसुकै निष्कर्ष आउँदा पनि  यसबाट धेरै कुराहरु  सिक्नु भने  अनिवार्य हुने छ।

प्रहरीका सम्पूर्ण अधिकृतले मात्रै हैन सिंगो संगठनले सिक्नु पर्नेछ कि सकारात्मक सोच नै लिएर पनि अपारदर्शी ढंगले विधि वाहिर गएर काम गर्नु हुदैन  र उच्च महत्वको घटनाको अनुसन्धान हुँदै गर्दा निशानामा रहेको अपराधी मात्रै हैन अनुसन्धानमा खटिने आफ्नै सहयोगी माथि पनि कडा निगरानी राखिनु पर्छ।

५. सुन तस्करीको अनुसन्धान यहाँसम्म आइपुग्दा गिरफ्तार भएकाहरुको सुची हेर्दा केवल प्रहरी संगठनका मात्रै महत्वपूर्ण पदमा रहेकाहरु समातिएका छन।  यसले संगठन प्रति जनताको विश्वास नै ढुलमूल भएको छ।  तर यहाँ भुल्नै  नहुने विषय के हो भने केवल प्रहरी र विमानस्थलका तल्लो तहका कर्मचारीहरुको मात्रै  मिलेमतोमा यस्तो संगठित अपराध  सम्भव छैन।

यो तह र परिणामको  तस्करी हुन राजनीतिक, प्रशासनिक, प्राविधिक देखि अनेकन क्षेत्रको महत्वपूर्ण तहमा बस्ने  अपराधिक मनाशिकताका मान्छेहरुको विचमा सहकार्य भएको हुनै पर्छ। तसर्थ अनुसन्धान कर्ताहरुले हिम्मत र आँट गरेर तस्करीको यस जालोमा संलग्न  भएको हुनसक्ने जोसुकैलाइ पनि छानविनको दायरामा ल्याउन सक्नु पर्छ।

अपराधमा संलग्न सम्भावित अपराधी खोज्दै गर्दा निजको सम्भावित राजनीतिक  सम्पर्क। सम्वन्ध र त्यसको प्रभाव हेर्ने हैन। निजलाई कानुनको कठघरामा नल्याएर स्वतन्त्र घुम्न दिँदा त्यसले पार्ने प्रभावलाइ चाहिं ध्यान दिनु पर्दछ।

आज लोभ, लालच वा स्वार्थको दाश  भएर आफ्नो वार्दिको इज्जत दाउमा राख्ने प्रहरी वा अन्य निम्छराहरुलाइ मात्रै कानुनको सिकंजामा पार्ने तर तिनको कुकार्यबाट लाभ लिंदै आएका कथित ठुला बडालाइ छुट दिन हुन्न। यसो गरियो भने थुप्रै निकृष्टहरुको जन्म हुने छन।  उनीहरु मध्यका धेरै संरक्षित भै राख्ने खतरा पनि  हुनेछ।

६. तस्करीको आरोपमा कोहि पक्राउ पर्नु एउटा विषय हो भने  त्यो आरोप पुष्टि हुनु अर्को विषय हो। त्यसैले अहिले छानविनमा परेका सबै दोषी अनि नपर्नेहरु सवै  चोखा भन्ने पनि हुन सक्दैन। तर आरोपीहरु उपरको छानविन वैज्ञानिक र तर्कसंगत भने हुनै पर्छ।

जस्तै तस्करीमा सघाएर पैसा कमाएको आरोप लाग्दै गर्दा त्यसरी  पैसा  कमाएको हो भने त्यस्तो पैसा काहाँ छ भनेर पनि हेरिनु पर्छ। कसैलाई करोडौं पैसा खाएको आरोप लाग्ने तर निजले आफ्नो  वचाउमा मुद्दा लड्ने वकिलको फि समेत तिर्न नसक्ने अवस्था बन्यो भने चाहिं अनुसन्धान आफैंमा मिठो मजाक हुने पक्का हुन्छ।

७. अर्को कुरो लामो समय देखि नेपालको विमानस्थल लगायत नाकाहरुबाट  सुन तस्करी भैरहेको थियो भन्ने तथ्य स्थापित गरिएको छ। त्यसैको आधारमा कुनै समय विमानस्थालमा कार्यरत प्रहरीका माथिल्लो दर्जाका अधिकृतहरु पक्राउ समेत परेका छन। तर त्यसमा निश्चित समयमा त्यहाँ बस्नेहरु मात्रै निशानामा परेको हो कि जस्तो देखिन्छ। यसले  अलिक संकुचित सोच र साँघुरो दयारको मात्रै अनुसन्धान भयो कि भन्ने पनि परेको छ।  यदी विमानस्थलबाट सुन तस्करी ठुलो मात्रै हुँदै आएको थियो भने अलिक ब्यापकतामा यसको अनुसन्धान हुन जरुरि छ। त्यसको निम्ती  विभिन्न समयमा विमानस्थल लगायत नाकाहरुमा  बसेका भन्सारका हाकिमहरु, प्रहरीका हाकिमहरु लगायत उनीहरुलाइ त्यहाँ पुर्याउने भूमिका खेल्ने  राजनीतिक तथा प्रशासनिक हर्ताकर्ताहरुको  आकासिएको आर्थिक स्तर र भड्किलो जीवनशैलीलाइ यससंग जोडेर हेर्ने काम गरिनु पर्छ। त्यसैको आधारमा अनुसन्धानलाइ अगाडी बढाउनु  उपयुक्त हुन्छ।

८. महत्वपूर्ण कुरो चाहिं तस्करी वा अन्य माध्यमबाट आएको सुनको खपत कहाँ र कसरि भैरहेको छ? भन्ने हो। नेपाल र नेपालीहरुको  आर्थिक स्तर त्यस्तो उच्च  छ? जसले गर्दा नेपालमा यत्रो परिणाममा सुनको कारोवार सम्भव होस?

यदी छैन भने हाम्रा सांस्कृतिक र पारिवारिक जमघटहरु किन सुन लगायतका वहुमुल्य धातुहरुबाट बनेका गहनाहरुको प्रदर्शन गर्ने अवसर बन्दै गएका छन? अनि त्यस्तो प्रतिस्पर्धामा को भन्दा को कमको शैलीमा उत्रिन राजनीतिक, प्रशासनिक, प्रहरी देखि सेनासम्ममा कार्यरत सामान्य आम्दानी भएकाहरुलाइ समेत कसरि सफलता मिलेको छ?  यसको उत्तर पनि खोजीनु पर्छ।

सुन तस्करी गर्ने तस्कर र तिनका मतियारहरु मात्रै हैनन, अनेकन ढंगले मुलुकको ढुकुटी रित्याउने काममा संलग्न रहेका थुप्रै भ्रष्टहरुको पनि पहिचान गराउन सक्ने छ यसले। अख्तियार दुरुपयोग गर्दै अकुत सम्पति कमाउनेहरुको जालोको समेत सहज र तर्कपूर्ण ढंगले  पहिचान गर्न सकिने छ। उल्लेखित बुँदाहरुमा  ध्यान दिंदा मात्रै भैरहेको  अनुसन्धान सफल र परिणाम मुखी  हुन्छ भन्ने त नहोला। तर यदी उल्लेखित कुराहरुमा गम्भीरतासाथ विचार विमर्श गरिने  र त्यसले संकेत गरेका पाटोहरु तर्फ ध्यान दिइने हो भने स्वाभाविक रुपमा केहि सकारत्मक र थप उपलव्धि हुनेछ।

अन्त्यमा यति चाहिं लेख्नै पर्छ  ‘सुन तस्करीमा अहिले समातिएकाहरु के कति दोषी हुन। उनीहरु कस्तो सजायँको भागिदार हुने हुन  भन्ने त  समयले बताउला। तर अनुसन्धान सफल र परिणाम मुखी भएमा अहिले समातिएकाहरु केवल ‘ववुराहरु’ मात्रै रहेछन। मुख्य र खतरनाक तस्कर र तिनका संरक्षकहरु त अपत्यारिला तर शक्तीशालीहरु नै   रहेछन भन्ने पनि प्रमाणित हुने छ।

जसले जे भने पनि यत्रो ठुलो परिणाममा निरन्तर तस्करी भैराख्ने अहिले समातिएका वा सामातिने क्रममा रहेका भनिएकाहरु काफी हुनै सक्दैनन। आशा गरौँ सुन तस्करीको सहयोगीहरुसम्म पुगेको अनुसन्धान छिट्टै नै त्यसका राजनीतिक, प्रशासनिक वा अन्य सवै खालका संरक्षकहरुलाइ पन्जामा पार्न सफल हुनेछ।

सिधा शव्दमा भन्ने हो भने सुन तस्करीका सहयोगी ववुराहरु मात्रै हैन संरक्षकहरु पनि समातिनु आवश्यक मात्रै हैन अनिवार्य छ।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.