महिला सधै अवसरवाट किन वन्चित हुन्छिन् ?


महिला र पुरुष बराबर वा समान हुन् भन्ने पैरवी हुँदै गरेको ३ शताब्दी हुन थालिसक्यो। सन् १८४८ को सेनिका फल्स सम्मेलनबाट महिला अधिकारको बहस सुरु भएको थियो। यसले १९ औं शताब्दी वा त्यो भन्दा पहिलादेखि नै महिला उत्पीडनको शिकार हुँदै आएको रहेछ भन्ने चित्र वा झलक देखाउँछ।

सेनिका फल्स अमेरिकामा सम्पन्न भएको उक्त सम्मेलनमा महिला पारिवारिक, राजनीतिक, आर्थिक, शैक्षिक, पेशागत तथा नैतिक रुपमा उत्पीडनमा परेको कारण महिलाको अधिकार सम्बन्धी सम्मेलन गर्नुपर्ने भनी प्रस्तावनाहरु तथा घोषणापत्र नै जारी गरी महिला अधिकार सम्बन्धी आन्दोलन जारी भएको घोषणा विश्वका महिलाहरुले गरेका थिए।

तीन शताब्दीदेखि जारी महिला अधिकार सम्बन्धी आन्दोलनको परिणाम स्वरुप महिलालाई विभिन्न अधिकार सम्पन्न बनाइयो। पाश्चात्य मुलुकदेखि लिएर पूर्वीय मुलुकसम्म यस्ता हजारौ अभियानहरु भए र हुँदै पनि छन्। जहाँ महिलाले मानिसको दर्जा नभई बस्तुको हैसियतको रुपमा जीवन विताइरहेको अवस्थामा महिला पनि मानिस हुन् भन्नेदेखि लिएर महिला पुरुष सरह स्वतन्त्रापूर्वक बाच्न, स्वतन्त्र रुपमा हिड्‍डुल गर्न, सम्पत्ति आर्जन गर्न, नीति निर्माणमा समान रुपले सहभागी हुन, आफ्नो आवाज सबै माझ पुर्‍याउन सक्षम भएकाले समान छन् भन्नेसम्मका आन्दोलनका आवाजहरु गुन्जिरहेको छ। यति लामो अवधिको संघर्ष र आन्दोलनले अझै पनि आफ्नो लक्ष्य हासिल गर्न सकेको छैन।

सहिला समानता सम्बन्धी नेपाली परिवेशलाई केही बिश्लेषण गर्न मन लाग्यो, वर्तमान परिवेशमा नेपाली महिला राष्ट्रपति बनी देशको अभिभावको दायित्व बहन गरेको छ। तर, नेपाली महिला प्रधानमन्त्री बन्न भने सकेको छैन। महिला व्यवस्थापिका संसदको सभामुख भए तर कुनै पनि राजनैतिक पार्टीको अध्यक्ष भएको छैन। तर नेपाली उखान जस्तै “नभएको मामा भन्दा कानो मामा जाति” भनेर बस्नु बाहेक अरु केही विकल्प छैन नेपाली महिलालाई। साधन र स्रोतमाथिको अधिपत्य हुने र शक्तिको स्वामित्व हुने ठाउँमा महिलाको उपस्थिति र प्रतिनिधित्व रहेको कमै मात्रामा पाइन्छ, अझ भनौं शुन्य प्राय छ। यसबाट ceremonial स्थानमा मात्र महिलालाई प्रतिनिधित्व गराइएको हो कि भन्ने भान हुन्छ।

देशको दर्पणको रुपमा चिनिने संविधान लगायतका अन्य कानूनी दस्तावेजहरु अध्ययन र विश्लेषण गरियो भने महिलाको अवस्था र स्तर पुरुषसंग समान रहेको र महिलाको अवस्था पनि पुरुष सरह नै छ कि भन्ने भान हुन्छ। कानूनमा महिलालाई अधिकार उपभोग गर्नका लागि पुरुष सरह समानता दिई सक्षम र सवल बनाएको छ। नेपालको संविधानको मौलिक हकहरुको हरेक धारामा महिला र पुरुष समान हुन् र महिला भएकै आधारमा विभेद भयो भने विभेद गर्नेलाई कानूनी दायरमा ल्याई कानूनी दायित्व समेत बहन गराउने भन्ने व्यवस्था गरेको छ। अझ महिलालाई पुरुष सरह नै बराबरी स्थानमा ल्याउनका लागि आरक्षण र सकारात्मक विभेदको समेत विशेष व्यवस्था गरेर महिलालाई पुरुष सरह समाज दर्जामा ल्याउन प्रयास गरिएको छ।

कानूनी दस्तावेजको समानता पाएर समान हैसियत पाएको महिलाले व्यवहारिक जीवनमा भने समानता पाएको छ छैन ? भन्ने तर्फ हेर्दा सम्पत्ति सम्बन्धी हकमा महिला र पुरुषको बराबरको हक हुने भन्ने व्यवस्था छ तर व्यवहारमा हेर्ने हो भने २०६८ सालको जनगणनाको प्रतिवेदनबाट १९.७१ प्रतिशत महिलाको मात्रै सम्पत्तिमा स्वामित्व रहेको भन्नेदेखिन्छ। यो अनुपातमा महिलाको सम्पत्तिमा स्वामित्वदेखिनुको पछाडिको कारण चाहिँ महिलाको नाममा जग्गा पास गर्दा सरकारलाई तिर्नुपर्ने करमा २५% को छुटको व्यवस्था हो। लगभग २०% महिलाले सम्पत्तिमा स्वामित्त्व ग्रहण गरेको तथ्याङ्कले देखाउँछ तर व्यवहारमा उक्त स्वामित्त्वको वास्तविक उपभोग गर्न महिला स्वतन्त्र हुँदिनन्। आफ्नो स्वामित्त्वमा रहेको सम्पत्तिको भोग गर्ने, बेचविखन गर्ने, व्यवसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने लगायतका कार्य गर्नका लागि पुरुषमा नै निर्भर हुनुपर्ने बाध्यता अझ जुझारु छ।

आफ्नो बौद्धिक क्षमताको प्रदर्शन गरेर महिलाले आफूलाई विभिन्न तह तप्कामा उभ्याई आफ्नो जिम्मेवारी पूरा गर्न सफल पनि भएका छन्। पुरुषसंगै आर्थिक गतिबिधिमा समान सहभागिता जनाउँदै काँधमा काँध मिलाएर नेपालको सर्वोच्च अदालतको पूर्व प्रधान न्यायाधीश शुशिला कार्की, माइती नेपालका अध्यक्ष अनुराधा कोइराला, नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष पदमा पुग्न सफल भवानी राणा केही हातका औंलामा गन्न सकिने उदाहरण हुन्। नेपालको निजामती सेवामा महिलाको सहभागित उल्लेख्य रुपमा बढिरहेको पछिल्लो तथ्याङ्कबाटदेखिएको छ। निजामती कितावखानाको पछिल्लो तथ्याङ्कअनुसार निजामति सेवामा ८२ हजार ४ सय ९६ जना कर्मचारीमध्ये ६६ हजार ५ सय ७५ पुरुष छन् भने महिला कर्मचारीको संख्या १५ हजार ९ सय २१ मात्र रहेको छ। यो संख्या भनेको मात्र १९.३% मात्र हो। देशको कुल जनसंख्याको ५१.५% हिस्स ओगटेको महिलाको उपस्थिति देशको कुल जनसंख्याको तुलनामा निकै कम हो।

भनिन्छ कुनै पनि सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भनेर। तर यही हाम्रो समाजमा सफल महिलाको पछाडि पुरुषको हात हुन्छ भन्नलाई अन्कानाउन्छ किन भने महिलाको दाँजोमा दोहोरो जिम्मेवारी लिन पुरुष तयार हुँदैन र सक्दैनन् पनि।

एउटा उदाहरण म यहाँ प्रस्तुत गर्न चाहन्छु, कामकाजी महिलाको दिनचर्या कहाँबाट सुरु हुन्छ, त्यो सबैलाई थाहा नै छ।एका विहानै उठेर नित्य कर्म सकाएर आफू तथा परिवारलाई तातो पानी तथा कोठा कोठामा चिया पुर्‍याउने कामबाट सुरु हुन्छ। चिया पुर्‍याएर आएर आफू पनि चिया खाँदै खाना बसाल्दै भाँडा माझ्न लाग्दा त्यो चिया खान पनि बिर्सिन्छिन्। खान पकाउँदै छोरा छोरीका लुगा पनि धुनैपर्ने हुन्छ यस्तो गर्दा गर्दै खाना पाक्छ र घडिले बिहानको ८ बजेको सुइले देखाउँछ। त्यतिवेलासम्म बल्ल उठेर, चिया खाँदै पत्रिका तथा मोवाइलमा ध्यान दिइरहेको श्रीमानलाई खाना खाने बेला भयो छिटो तयार हुनुस् भन्दै झक्झकाउनु पर्छ। सासु तथा ससुरालाई चिया र विहानको खाजा दिंदै छोरा छोरीलाई स्कुल पठाउन हतार हतार खाना खुवाउनुपर्छ। टिफिन तयार गर्दै गर्दा छोरा छोरीको स्कुलको भ्यान आउँछ र हतार हतार उनीहरुलाई तयार गरी उक्त भ्यानमा राखी “वाई वाई” गर्दै विदाई गर्छिन्। त्यहाँ सकिन्छ एउटा जिम्मेवारी, त्यसपछि सुरु हुन्छ अर्को जिम्मेवारी आफ्नो अफिसको तयारी। फेरी श्रीमानलाई खाना खान बेड रुममै गएर बोलाउँछिन र विहानको खाना खान बस्छिन्।

यस्तैमा बिहान ९ बजेको घण्टि बजेको सुनिन्छ र दुई गाँस खाना पनि राम्रोसंग खान नपाउँदै हतार हतार ड्रेस चेन्ज गरेर अफिसको लागि बाहिरिन्छिन्। दिन भरि अफिसमा काम गर्दै गर्दा सासु ससुराले खाना खाए खाएनन् भनेर बुझ्नु पर्छ फेरी, फोन नगरे भोलिदेखि गैर जिम्मेवार बुहारीको उपमा जोडिन थाल्छ। अफिसमा पनि महिलालाई महिला भनेर सहकर्मीहरुले गर्ने फरक व्यवहारको सामना गर्नुपर्छ। अफिसमा पनि महिला भएकै कारणले संगैका सहकर्मीले अवसर पाउने तर ती महिला त्यसबाट बञ्चित हुन्छिन्। तपाई महिला घर व्यवहार हेर्नुपर्ने, बालबच्चा हेर्नुपर्ने तपाईले सक्नुहुन्न त्यहि भएर……. भनेर अवसर दिनलाई अफिसका हाकिम पनि हिच्किचाउँछ। महिलाले त्यो जिम्मेवारी बहन गर्न सक्छ वा सक्दैन भनेर सोच्नु वा सोध्नु पनि आवश्यक ठानिदैन। सिधै निर्णय गर्छन् कि महिला भएकोले ……। अफिसमा महिलालाई काम राम्रो गर्नुभयो, यसलाई निरन्तरता दिनुहोस् भनेर कहिल्यै प्रशंसा गर्दैन तर तपाईको कपाई कति राम्रो, तपाईको हाँसो कति राम्रो भनेर व्यक्तिगत कुराहरुमा टिका टिप्पणी गर्छन्।

महिलाले आफ्नो व्यक्तित्व तथा बौद्धिक विकासको लागि सँधै हाकिमसंग झगडा गरेर नै अवसर लिनुपर्ने हुन्छ। यस्तै परिवेशमा महिला र पुरुष समकक्षी संगै एउटै प्रकृतिको काम गरिरहेको छ भने महिलाको टेबल हेरेर कति अव्यवस्थित टेबल भनेर टिप्पणी गर्छन् त सोहि समयमा पुरुषको टेलब हेरेर एकै समयमा कति धेरै काम गर्नुभएको सर भनेर प्रशंसा गर्छन्। टिप्पनी गर्ने मानिसले सोच्दैन कि किन यस्तो धेरै मिसिलहरु टेबलमा फैलिएका छन्, सिधै महिला न हो, यस्तै गर्छन् भन्ने रेडि मेड सोचले आफूलाई आफैंलाई ठीक भएको प्रमाणित गर्छन्। त्यसै गरी काम गरी रहँदा एक शाखा अधिकृत महिला र नायक सुव्वा पुरुष एकै कोठामा काम गरिरहेको छ भने कोही सेवा ग्राही कार्य कक्षमा प्रवेश गर्यो भने ती पुरुषलाई सर भनी सम्वोधन गर्छन् भने महिलालाई दिदी वा बहिनी भनेर सम्बोधन गर्छन्। अझ बहिनी सर कहाँ हुनुहुन्छ भनेर सोध्न पनि वेर लगाउँदैनन्।

यस्तो विहानदेखिको अ-समान व्यवहार र असिमित कार्यबोझका साथ दिनभरी काम गर्छिन्। छोरा छोरीले विहान मामू मलाई खेलौना चाहियो, कापी चाहियो, कलम सकिएको छ भनेको याद आउँछ, आज ति चिज घरमा पुगेन भने बचाहरुले खेल्न लेख्न पढ्न पाउँदैनन् भन्ने कुरा दिमागमा खेलाउँदै काम गर्दै दिन बित्छ र बेलुका ५ बजेको घण्टि बज्छ, धेरै पटक अनुरोध गरेपछि हाकिमले एउटा प्रस्तुती दिन अवसर दिनुभएकोमा कृतज्ञ हुँदै भोलिको प्रिजेन्टेसनको लागि साथीहरुसंग सल्लाह गर्दै विदाई हुँदै बजार तिर दौडिन्छिन् महिला।

खाना, तरकारी तथा बाल बच्चाको बिहानको मागका सामानहरु बजारबाट लिएर लखतरान हुँदै जब घर पुगिन्छ, घरमा बालबच्चाले खाए खाएनन्, सासु ससुराले दिउँसो खाजा खानुभयो वा भएन भनेर हेर्न नै हतारो हुन्छ। छोरा छोरी किन ढिला आएको भन्दै गन गन गर्न थाल्छन् र उनीहरुको खेलौना र कपी कलम दिएर उनीहरुलाई फकाउँदै एक छिन रमाइलो गर्छिन्। त्यसपछि फेरि सुरु हुन्छ रातिको भान्छाको तयारी। सासुलाई रोटी, ससुरालाई ढिडो, छोरा छोरीलाई भात गर्दै भेराइटी डिसेस बनाउँदै छोरा छोरीको होमवर्क गरे गरेनन् हेर्दै गर्दा बेलुकाको ८ बज्छ, बाल बच्चालाई खाना खुवाउँछिन्। सासु ससुरालाई पनि खाना खान दिन्छिन्। त्यसपछि श्रीमान अफिसबाट नआएसम्म कुर्छिन्। श्रीमान् अफिसबाट घर आइ पुगेपछि बल्ल राति अवेर भएपछि आरामले सँगै खाना खान बस्छिन्।

बिहान उठेदेखिको अनलिमिटेड वर्क लोड, रेस्टलेस कामले गर्दा शरीरको हरेक पार्ट पार्ट दुखेको हुन्छ, अझ अफिसको असाइन्मेन्ट बाँकी नै छ, त्यो पनि गर्नु नै पर्‍यो। राति ढिलासम्म बसेर भएपनि त्यो काम सकाउन्नै पर्छ। विहानको ४ बजेदेखि राति १२ बजेसम्मको समयसम्म देश र विश्वमा के कस्ता घटनाहरु घटिरहेका छन् त परै जावस् आफ्नो घरको छिमेकमा के भइरहेको छ भन्ने समाचार समेत सुन्न र थाहा पाउन पाउँदैन। राती ढिला भयो सुत्यो, भोलि बिहान उठ्यो फेरी त्यही रुटिन पुन: दोहोरिन्छ।

महिलाको दोहोरो जिम्मेवारीको भुमिका, असिमित काम गर्नुपर्ने बाध्यता, आराम विना नै काममा खटिनुपर्ने जस्ता कारणले महिला नीति निर्माणमा पुग्न कठिन भएको र पुगेपनि पुरुष सरह सहभागिता जनाउन असमर्थ हुन पुग्छिन्। अनेक किसिमको अफ्ठ्यारो परिस्थितिसंग जुझेर सामना गरेर, घरायसी काम, घर व्यवहार लगायत सम्पूर्ण जिम्मेवारी सकिएपछि र त्यसबाट अलग फुर्सद भएपछि बल्ल पुरुष संग संगै प्रतिष्पर्धामा जान महिला बाध्य छन्। जबकि पुरुषको लागि प्रतिस्पर्धा, वृत्ति विकासको अवसर लगायतको कार्यमा घरायसी जिम्मेवारीको कुनै असर पर्दैन। किनभने घरमा रहेको महिलाले उक्त सम्पूर्ण घर र घर व्यवहारको जिम्मेवारी लिएर पुरुषलाई स्वतन्त्र बनाएको हुन्छ। यति हुँदा हुँदै पनि महिलाको जिम्मेवारीको मूल्याङ्कन गरिन्न, केवल गरिन्छ त अवमूल्यन र महिलालाई आइमाइको संज्ञा, महिला कहिले अगाडि बढ्न सक्दिनन् भनेर गाली गर्छन। महिलाको नामको पछाडि एउटा विशेषण थपिन्छ “आइमाइको जातले केही पनि गर्न सक्दैनन्”। महिला अलि सक्रिय भएर काम गर्न थाल्यो भने “बढी जान्ने भाको” भन्छन् भन्ने अलि सावधानी पूर्वक विस्तारै काम गर्न थाल्यो भने “महिलाको जात न हो” भनेर कुरा काट्न थाल्छन्।

यसरी आम महिलाले घरायसी काम काज तथा घरायसी व्यवहारका कारण पुरुषको बृत्ति विकासमा कहिल्यै पनि रोकावट पैदा गरेको हुँदैन। तर तिनै महिलाको वृत्ति विकासको जब पालो आउँछ, तब सबै घरायसी कामकाज र घरायसी सम्पूर्ण व्यवहारहरु सम्हाली सकेपछि त्यसपछि बाँकी रहेको समय मिलाएर अध्ययन गर्ने तथा विभिन्न अनुसन्धानात्मक कार्य गर्नुपर्छ। अव प्रश्न यहाँ सृजना हुन्छ। यो समानता नै समानताको दस्तावेज र नाराले गुञ्जायमान भएको हाम्रो समाजमा महिलाको समानता कहाँ छ ?

समानता भित्रको यो असमानतालाई कहिले चिर्ने हो यो पुरुषवादी सोचले ग्रसित समाजले ? कहिले महिलाले खुल्ला रुपमा पुरुषको काँधमा काँध मिलाई आफूलाई प्रस्तुत गर्ने ? नीति निर्माणको तहमा निर्वाध रुपमा आफ्नो प्रतिनिधित्व कहिले गर्ने ? आफ्नो वृत्ति विकासमा वाधा अवरोध विना कहिले महिला हिस्सेदार हुने ?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.