भुइँचालो आएको त्यो दिन…

तस्बिरः सुरज सुवेदी


बिहान उठ्न ढिलो भयो। सूर्य उठिसकेको रहेछ। म भने ओछ्यानमा सिरक ओढेर पल्टिरहेँ।

‘कतिबेर सुत्छस् उठ्,’  उ स्वयम्भु पुगेर आइसकेको थियो। म उसको कोठामा छु।

‘मजाले सुत्न पनि दिँदैन,’ म झर्किएँ।

‘तुरुन्त उठेर लुगा पट्याईनस् भने खान पाउँदैनस्,’ सधैँभरि बोल्ने त्यही डायलग दोहोर्याउँछ।

ऊ मर्निङ वाक गरेर भर्खरै आएको हो। कफी बनाउँदै छ। म ओछ्यानबाटै ट्वीटर खोल्दै छु। ट्वीटरमा मेन्सन आएको छ।

‘म यहाँ स्वयम्भुको डाँडामा छु, कोही-कोही भने अहिलेसम्म सुतिरहेका छन्।’ उसैको मेन्सन। उसले मेरो बिल्ला गरिसकेको छ। मेन्सनमा परेको पुष्पलाई पनि मजा आइरहेको होला।

‘कोही चिया खाइनसकी कप माग्छन्, कोही उठ्न नपाई लुगा मिला भनेर गनगन गर्छन्। साथीहरू नै यस्ता भएपछि कसैको केही लाग्दैन’ उनीहरू दुवैजनालाई लक्षित गरेर म पनि ट्वीट फर्काउँछु।

केटाहरू हाँस्छन्।

***

आज शनिबार। युथ फर व्लडको ‘सेयरिङ डे’ मा जाने योजना हिजैदेखि थियो। त्यसैले हिजै कीर्तिपुर जानुको साटो आजको योजना बनाएको थिएँ । खाना खाएपछि लगत्तै कालोपुल जानु छ।

सूर्य खाना पकाउने सुरसार गर्दैछ। भर्खरै उसको दिदी पनि आउनुभएको छ। गफगाफ सँगसँगै कान्तिपुर पत्रिका पढिरहेको छु। आजको कोसेली विशेष लाग्यो। विशेषगरी भीम घिमिरेको ‘गुमनाम कवि’ लेखले मन छोयो। उहाँलाई ट्वीटरमा मेन्सन गरेर बधाई पनि दिएँ।

उक्त फिचरमा भएजस्तै गुमनाम कवि कति होलान्?

खाना खाएर निस्किहालेँ। लगभग दस बज्न लागिसक्यो। एघार बजे कालोपुल पुग्न गाह्रो भइसक्यो।

जानेबेलामा महेश विक्रम शाहको कथासङ्ग्रह  ‘ज्याक्सन हाईट’ मागेँ र निस्किएँ।

बनस्थलीको वातावरण शान्त छ। शनिबार भएकाले अन्य दिनभन्दा गाडीको चाप कम। म सिद्दार्थ बनस्थली ईन्टिच्युट अगाडिबाट गाडी चढेँ। माइक्रोको पछिल्लो सिटमा बसेँ।

रिङरोडको बाटो सारै प्रदुषित। धूलो, धुँवा र मान्छेको भि। नयाँ बसपार्क पार भयो। विष्णुमती पुलभरी नै मान्छेहरु व्यापार गरिरहेका छन्। बेच्ने र किन्ने दुवैको कमी छैन। आकाशे पुलमा पनि उत्तिकै भिड।

‘धूलोले खै भगाउँछ त मान्छेलाई? भगाउनेभन्दा तान्ने चिज धेरै छ काठमाडौंसँग’।

घाम झिलिक्क परेर आँखामा टल्कियो। बाहिर हेरिरहन सकिएन।

झोलाबाट किताब निकालेर पढ्न थालेँ। तीनवटा कथा पढिसक्दा चाबहिल आइपुग्यो।

मित्रपार्कसम्म पुग्नु थियो। माइक्रो नसोधी चढेछु। जोरपाटी जाने पो रहेछ। चावहिलमै ओर्लिँए।

सविन दाहालले फोन गरेको थियो। ‘म बानेश्वरमा छु, सँगै भेटैर जाम है’ भनेको थियो। मैले मित्रपार्क मन्दिर नजिकै ओर्लनु भनेको थिएँ।

चाबहिल आएर फोन गरेँ। सविन बानेश्वरमै रैछ। उसलाई पर्खँदा ढिला होलाजस्तो भयो। म जाँदै गर्छु भनेँ।

अफिस पुगेँ। विष्णु दाइ र निरन्जन सर आइसक्नुभएछ।

लगभग आधा घण्टापछि सविन पनि आइपुग्यो।

‘सेयरिङ डे’ मा आउने भनेका धेरै साथी आइपुगेनन्। पहिला पहिला भिड हुन्थ्यो। सबैको आफ्नै व्यस्तता होलान्।

चारजनामात्र भएकाले हामी आफैंआफैं गफ गर्न थाल्यौं। एकछिनमा विष्णु धमला दाइले युट्युबमा केही हेरौं भन्नुभयो। सौनक भट्टको मोटिभेसनल भिडियो हेर्न थाल्यौं। ल्यापटपको घडीमा पौने बाह्र बज्न लागेको थियो।

मैले फोन गर्दा आउँदिन होला भनेको थियो। तर अचानक सौरभ (कार्की) पनि आयो।

‘सरकार नभनी आइयो त’ म सोध्छु।

‘किन, नभनी आउन हुन्न? जा भन्छौ भने फर्किन्छु,’ उसको सोझो जवाफ। ऊ अक्सर सिधै कुरा गर्छ‍।

‘को हो यो?’ ल्यापटपमा बजिरहेको भिडियो तिर लक्षित गर्दै ऊ सोध्छ।

‘सौनक भट्ट, मोटिभेसनल स्पिकर हो,’ म चिनाउन खोज्छु। उसलाई मतलब लाग्दैन।

हामी भिडियो हेर्न व्यस्त भयौं। सौरभले एकछिन भिडियो हेर्यो। उसलाई अल्छी लाग्दै थियो।

‘जाऊँ आर्यघाट’ उ मतिर हेर्दै भन्छ।

‘हुन्छ, एकछिन है,’ धेरै मान्छे नभएकाले हामीले निस्कने निधो गर्यौं।

निस्कन लागेको मान्छे मेरो एकछिनले रोकियो।

त्यही बेला हामी बसेको तला हल्लियो। सुरुमा गाडीले हल्लायो जस्तो भयो। सडक नजिकै अफिस भएकाले सामान्य गाडी चल्दा पनि थर्किन्थ्यो।त्यो कम्पन भने रोकिएन।

‘भुइँचालो!’ विष्णु दाइ कराएजस्तो लाग्छ।

त्यतिन्जेल सम्म हामी ढोका मुनि पुगिसकेका थियौं। एकतला माथि भएकाले कम्पन बेला भर्याङबाट तल ओर्लनुभन्दा माथि ढोकापछाडि नै बस्नु सुरक्षित लाग्यो। सौरभ तल जान खोज्दै थियो। मैले रोकेँ।

घर जोडले पूर्वपश्चिम दौडिएजस्तो लाग्यो। ढोकामा अडिएर उभिन गाह्रो भइसक्यो। जोडको हुरीले ढोका ढकढक हिर्काए जस्तो। ढोका पछाडि जाँदै र हामीतिर आउँदै छ। किचन कोठा लचकलचक गरेर हल्लिरहेको छ। त्यो आवाज सिधै मुटुमा पुग्छ। म घरको सिलिङ हेर्छु, हल्लिएको स्पष्ट देखिन्छ। जतिबेला पनि घर भत्कन सक्छ। जतिबेला पनि हामी पुरिन सक्छौं। कोठाका कुनै चिजले पनि ‘बलियो छु, नडरा’ भन्दैनन्।

यसअघि पनि सानो भूकम्प थाहा पाएको हो। तर यत्रोबेर हल्लाएको थिएन। मुटुले त्यति डर भेट्टाएको पहिलोपल्ट। सबै जना जेनतेन उभियौं।

कम्पन हुन्जेल के के भयो सबै कुरा थाहा छैन। रोकिएपछि भने खासै ठूलो गएन जस्तो लागेको थियो। सायद आफू बसेको घर नभत्किएकोले होला। क्षति के-के भएको पनि थाहा पाउन बाँकी थियो।

पहिलो कम्पन रोकिएलगत्तै पनि परकम्पन आउँदै थियो। परकम्पन नआएकै भए पनि खुट्टा हल्लिरहेजस्तो तथा भुइँ घुमिरहेको जस्तो थियो। हामी तल ओर्लिएर बाटोमा आयौं। जुत्ता लगाउन खोज्दा थाहा भयो हात त तुना कस्न नस्क्ने गरी कामिरहेका रहेछन्।

कस्तो भयानक ५६ सेकेण्ड पार गरेको थियो शरीरले।

बाहिर बाटोमा गाडीहरू सबै लडेका छन्। सामान यत्रतत्र। सडकभरी मान्छेहरू। भूकम्प फर्किन्छ भनेर कराउँदै छन् कोही। बाटोका पोलहरू बेसहारा भएजस्ता। जति बेला पनि लड्न तयार देखिन्छन्। सबैको अनुहारमा अनौठो बादल ढाकिएको छ।

विष्णु दाइ र निरन्जन सर कतिबेला निस्कनुभयो थाहा छैन। हामी बाटोमा आइपुग्दा उहाँहरू हिँडिसक्नुभएको रहेछ। उहाँहरूको परिवार घरमै हुनुहुन्थ्यो। बाटोमा म,सौरभ र सविन मात्र बाँकी रह्यौं।

‘नजिकै चौर छ भने जाऊँ। यहाँ बसिराख्न झन् खतरा हुन्छ,’ सौरभले भन्यो। उसको बाइक पार्क गरिरहेको ठाँउबाट निक्कै तल पुगेर लडेछ।बाइक उठाउन गएन।

‘सानो गौचरण मैदान नजिकै छ, त्यहीँ जाऊँ,’ मैले भनेँ। भास्सिएको र डराएको आफ्नो बोली सुनेर अचम्म लाग्छ।

‘जाऊँ अफिसको चाबी लगाएर आऊ उसो भा,’ उसले भन्यो।

डर लागिलागि भर्‍याङ चढेँ। हरेक पाइला उक्लिँदा खुट्टा झन् काँप्यो।  ममाथि भएकै बेला फेरि आयो भने! सोचेरै डर लाग्यो। ल्यापटप खोलेँ। विष्णु दाइले पट्याउन मात्र भ्याउनुभएको रहेछ। खोल्दा बजिरहेको सौनक भट्ट पुन: कराउँछ। म झसंग हुन्छु।

हत्पत ल्यापटप बन्द गरी झोला टिपेर दौडिएँ। हेल्मेट देखे पनि बोकिनँ। निरन्जन सरको होला सोचेको थिएँ तर सौरभको रहेछ।

म बाहिर आउँदा सौरभको बाइक उठिसकेको थियो। अरू केटाहरूले उठाइदिएछन्। ट्याङ्किको बाहिरी कभर फुटेर भित्रसम्म कुच्चिएको थियो।

हतास, निराश र डराएका मान्छेहरूको भिड। तस्बिरः सुरज सुवेदी

सानो गौचरण गयौं। मानिसहरू मैदानभरी जम्मा भईसकेका। रोड नजिकैको पर्खाल र टहरा भत्किएछन्। पहिलोपटक देखेको क्षति त्यही हो।

मैदानभित्र पसेपछि अलि ढुक्क भयो। परकम्पन आइरहेको छ। भूकम्प फर्किएको भन्दै मानिसहरू हरेक परकम्पनमा चिच्याईरहेका छन्। नजिकैकी एक दिदी आफ्नी सानी छोरी चेपेर रोईरहनुभएको थियो। उहाँ अर्धवेहोस् जस्तै हुनुहुन्थ्यो।

आकाशमा हवाइजहाज‍हरु घुमेका घुम्यै। सायद एयरपोर्ट पनि बन्द भयो होला। कस्तो समयमा आइपुगेछन् प्लेनमा चढेका मान्छेहरू।

म फोन लगाउन थालिसकेको छु। कसैलाई फोन लागेन। फोन लगाउनुपर्ने ठाउँ धेरै छन् तर कहीँ लागिरहेको छैन।

सौरभले ट्वीटर खोल्यो। अपडेट दिन थाल्यो। ‘धरहरा डाउन रे’ ऊ चिच्यायो। अनि क्षतिको विवरण भन्दै गयो। यो पनि, त्यो पनि, अनि अरू कतिकति। काठमाडौंका लगभग सबै साँस्कृतिक सम्पदामा क्षति पुगेको समाचार उसले सुनायो।

अनि पो झन् डर लाग्यो। हामीले भोगेको भन्दा ठूलो भूकम्प त धेरैतिर गएछ। सबै ठाउँमा गएछ जहाँ म कुनै न कुनै शनिबार पुगेको थिएँ।

‘म्यासेज गईराछ’ सौरभले भन्यो।

सविनको फोनमा व्यालेन्स छैन। रिचार्ज पनि भएन। ऊ पनि मेरै फोनबाट सम्पर्क गर्न खोजिरहेको छ।

पटकपटकको परकम्पनले मुटु ठाउँमा ल्याउन दिएको छैन। चौरमा मानिसहरू देखाउँदै छन्। अलिअलि धाँजा फुटेजस्तो छ।

सौरभ भिडको न्युज अपडेटर भयो। ट्वीटरमा धमाधम खबर आइरहेका छन्। प्रभावित जिल्ला बढिरहेका छन्। विश्वभरबाट नेपालको लागि प्राथना हुन थालिसकेको छ।

‘७.८ रे, गोरखाको वारपाक गाउँ केन्द्रबिन्दु बनाएर,’  सौरभले भूकम्पको रेक्टर स्केल भन्यो। काँपेको स्वरमा थप्यो, ‘हजारौं मानिस मरे होला यार।’

घरमा फोन लाग्यो। बुवाले उठाउनु भयो। धन्न केही भएको रहेनछ।

फोन नलागेका जतिलाई म्यासेज गरेँ।

पाँचौं पटक होला ठूलो झड्का दिएर तर्सिएपछि तीनजनाले सेल्फी खिच्यौं। सविनले नाम दियो, ‘द लास्ट सेल्फि। बाँचियो भने अपलोड गरौँला।’

मैले धरहरा र त्यहाँ भएका मानिसलाई सम्झिएँ। कति जनाको समय बन्द भयो होला। अनि अन्य स्थानमा निधन हुने मानिसहरू नि।

समाचार सुन्दै गएपछि सुरुमा ठूलो आएन भनिरहेको मेरो मनले भन्यो, ‘भयानक भूकम्प आयो।’

म देशभर हुन सक्ने सम्भावित क्षति सम्झेर दुखी भएँ।

‘अब के गरौं?’ सौरभले सोध्यो।

‘धरहरा जाउँ। उद्धारमा सघाऔं,’ सविनले भन्यो।

अफिस गएर हेल्मेट लिएर आयौं र बाटो लाग्यौं।

एउटा बाइकमा तीनजना छौं। ट्राफिकको डर छ। बाटोभर मानिस छन् । कुनै कुनै दगुरिरहेका बाइक देखेर लाग्छ उनीहरू परिवारलाई भेट्न हतार गरिरहेका छन्। निरन्जन सर र विष्णु दाइ जस्तै।

बाटोमा लडेका घर देखिन थालेका छन्। एम्बुलेन्सको स्वर बाक्लिन थालेको छ। ट्याक्सीहरू पनि घाइते लिएर दगुर्दै छन्। भर्खर सम्हालिन लागेको काठमाडौं पुन अस्तव्यस्त भएको छ।

पछाडि बसेको भएकाले शंकरदेव अगाडिबाट पुरानो बसपार्क छिर्न हात दिएर बाटोमा सिग्नल माग्छु। उताबाट तीव्र गतिमा ट्याक्सी आइरहेको छ। हामी अगाडि जान खोजेको देखेर उ बेस्सरी हर्न ठोक्छ। हामी रोकियौं। त्यसले त छट्पटाईरहेका घाइते बोकेको रहेछ। उसलाई रोक्न हात दिएकोमा ग्लानि हुन्छ।

भृकुटीमण्डपमा बाइक राखेर सिधै धरहरातिर गयौं। बाटोमा गाडी छैनन्। मानिस मात्र छन्। सबै त्रसित। साङ्ग्रिला प्रकाशनका मणि दाइ पनि सँगै आए।

आकाशे पुल चढ्यौं। सधैँ त्यहाँबाट देखिने धरहरा छैन। शहिदगेटबाट पनि देखिँदैन। कतैबाट देखिएन।

एक वर्ष अगाडि विमला दिदी आएकोबेला धरहरा चढेको थिएँ। त्यत्रो अग्लो। माथिबाट तल हेर्दा आङ नै सिरिङ्ग भएको थियो। सबभन्दा माथि शिवको मूर्ति थियो। एक जना पुजारी सुतिरहेका थिए। उनलाई देखेर मैले कल्पना गरेथेँ , ‘यदि भूकम्प आयो भने यी के गर्लान्?’

उनको अनुहार सम्झन खोज्छु तर याद आएन। हुनसक्छ भग्नावशेषमा कतै पुरिए।

धरहरा मुनि पुग्न सकिएन। भिड थेगिनसक्नु। स्वयमसेवक साँङ्लो बनेर उभिएका छन्। उद्धार कार्य भइरहेको छ। प्रहरी र एम्बुलेन्सको चर्को साईरन। वातावरण शोकाकुल। त्यस अवस्थामा हेर्नकै लागि भित्र छिरेर उद्धार कार्यमा असर पुर्‍याउन मन लागेन। हामी बसन्तपुर जान हिँड्यौं।

बसन्तपुरको नौ तले दरबार पनि देखिएन। हामी कलेजका साथी घुम्न गएका थियौं। दिनभर नवौं तलामा बसेर फोटो खिचेका थियौं। तर अब केही पनि रहेन। भग्नावशेष भयो। ती आँखिझ्याल कतै पुरिएछन्। मायालु जोडीहरू लुकाउन खोज्थे आफूलाई खाँबामा। शनिबार, कति थिए होलान् कुरा गरिरहेका।

भर्खर काठमाडौं आएकाहरु घुम्न जाने ठाँउ थिए ती। सहरबाट सबभन्दा नजिकका ठाउँ। म पहिलो पटक जाँदा कति रोमान्चित भएको थिएँ। सयौं थिए होलान् त्यसरी रोमान्चित हुनेहरु यसपल्ट।

संग्रहालयमा राखिएका बहुमूल्य सामान, कता पुरिए ?

तिनलाई रुग्न बसेका मानिस कता भागे होलान्।

भक्तपुर दरबार स्क्वायरमा त झन् केही दिन अघि मात्र पुगेका थियौं। ती सग्ला सम्पदाको के हालत भयो होला।

मन भरिएर आयो। ती सम्पदा मात्र थिएनन्, मानिसहरू पनि थिए। देशका विगत, वर्तमान र भविष्य थिए।

सोच्दासोच्दै हात खुट्टा गले। भृकुटीमण्डप नै फर्कियौं। चिया खान बसेकाबेला बिराटनगरबाट सरोजजीको फोन आयो।

‘सर, घाइते धेरै छन्। काठमाडौंँमा अब रगतको आवश्यकता बढ्न सक्छ। पूर्व तयारी गरौं।’

उनको बोली सामान्य छैन। त्यहाँ पनि सेयरिङ डे भइरहेको बेला कम्पन भएको थियो।

तुरुन्तै सल्लाह गर्यौं, ब्लड बैंक अगाडि गएर मानिसलाई रक्तदान गर्न वा तयार रहन प्रेरित गर्ने। रक्तदाताको नाम पनि टिप्ने।

सविन र सौरभले अङ्ग्रेजी वर्णमाला भएको चार्ट किनेर र त्यसको पछाडि लेखेः यो आपतको समयमा जो कोहीलाई रगतको आवश्यकता पर्न सक्छ। तपाईं आफ्नो फोन नं/ नाम र रक्त समूह हामीलाई टिपाएर यो उद्धार कार्यमा सहयोग गर्नुहोला।

त्यसलाई ब्लड बैंक अगाडिको पर्खालमा टाँसेर र बाटो हिँड्ने मानिसलाई बोलाएर सचेत गराउन थाल्यौं।

रक्तदाताको नामावली संकलन गर्दै साथीहरू। तस्बिरः सुरज सुवेदी

सिजन दाहाल र विदुर कटुवाल पनि पारिपट्टि देखिए। उनीहरु पनि हामी जस्तै के गर्न सकिन्छ भनेर आएका रहेछन्। आखिर हामी सबै उस्तै त छौं। सामाजिक सेवाले तानेर एकैठाँउ ल्याइहाल्छ।

तीन घण्टा लगभग काम गर्दा ३०० भन्दा बढी रक्तदाताको नाम सङ्कलन भयो। उनीहरूले जतिबेला परे पनि रक्तदान गर्न आउने भने।

भोलि पुन: भेट्ने सल्लाह गरेर छुट्टियौं।

‘आज मेरो घर जाउँ है तिमी पनि’ सौरभले भन्यो। मैले मानेँ।

दिनभरको भूकम्प र परकम्पन झेलेकाले खुट्टा अनौठोसँग गलेछन्। भित्र कतै पुगेर कटकट खाइरह्यो।

वरपरका मानिस सबै बारीमा सुत्ने तरखर गरिरहेका थिए। राती ठूलो भुइँचालो आउँछ भन्ने हल्लाले फेसबुक ढाकेको थियो। त्यसले गर्दा कसैलाई पनि घरभित्र पस्ने आँट दिएन। सौरभको घरदेखि पल्लो घर तत्काल बस्न नहुने गरी चर्किएछ।

रात पर्दै गएपछि डर यस्तो लागेको छ कि ट्वाइलेट जान पनि निक्कै बेर सोच्नु पर्यो।

हामी भने जे परे पनि परोस् भनेर भित्रै सुत्यौं।

मार्ने वा बचाउने अब भगवानको हातमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.