स्मृतिमा जन- आन्दोलन

तस्बिरःदीपेन्द्र बज्राचार्य


लगभग हजार दुई हजारको मकै भटमास, काँक्रो , खर्बुजो, बदाम/चटपटे खाई सकिएको थियो होला। अन्तरैपिच्छे पानी पिउने दारीवाल लुरे कवि अर्जुन पराजुलीका कविता पनि कन्ठै भैसकेका थिए।

मानव अधिकारवादी पहेला साधु कृष्ण पहाडीदेखि सदावहार लाल लेखक खगेन्द्र संगौला हुँदै चट्याङ मास्टरसम्मै आएर पनि बोली सकेका थिए। जनआन्दोलन/ जनआन्दोलन भनिएको मकै मेलामा आउन र बोलाउन बाँकी कोहि थिएनन्।

छुटेको/उब्रिएको कोहि थिएन। ८० वर्षिय छाँयादेवी आमैदेखि ८ वर्षका गन्धर्व  बालकसम्मले कोशिश गरिरहेकै थिए। तर, घण्टाघरले कुरो सुनेर केही हलचल गरेको थियो होला, तर नारायणहिटीका अग्ला पर्खाल उताको सत्ता ढुक्कसँग मस्तराम सुतेको थियो। त्यसको कानमा बतास लागेकै थिएन।

नारायणहिटीको सत्ताले नटेर्नू/ नपत्याउनुको कारण थियो-सात दलका बुढाहरूप्रति जनतामा तीब्र बितृष्णा। संसदीय बजार सबै बुढाहरू पटकपटक बेचिएका थिए। पटकपटक किनिएका थिए। तिनको बजार मूल्य सबैलाई ज्ञात थियो।

ती उभिएको नैतिक धरातल स्खलित थियो। तिनकै कारणले सिंहदरबार बद्नाम कोठी जस्तो भएको थियो। त्यो कोठीको गल्ली भएर हिँडेका सबै थिए, सबै नेता बद्नाम भइसकेका थिए। तिनको नैतिक ताकत दुई खुट्टा टेकेर उभिन नसक्ने हालतमा थियो।  आन्दोलनको नेतृत्व गर्नसक्ने कुरै भएन।

त्यसैले बद्नाम बुढाहरु खोपीबाट, विज्ञप्ति निकाल्थे। चेतावनी दिन्थे। घोर भत्सर्ना गर्थे। उता रिपोर्टस क्लब तिर जान्थे बरू, तर मकैमेलामा खासै आउँदैन थिए। आफ्नो ठाँउमा जोसिला विद्यार्थी नेताहरू पठाउँथे। अनि बल्लतल्ल बुढाहरुले खाली गरेको मञ्च टेकेर विद्यार्थी केटाहरू जोसिएर चिच्याउँथे।

‘रेजा शाहा पल्लबीको हालत बनाई दिन्छौं।’

‘लुईस चौंधौंको ताल बनाई दिन्छौं।’

‘प्रतिगमन सच्चिएन भने, आन्दोलनको आँधिबेहेरी ल्याईदिन्छौ । तिमी भाग्न नि पाउदैनौ, रूसका अन्तिम जार नोकोलसको जस्तो स्थितिमा पुर्‍याई दिन्छौं।’

आज नि त्यही। त्यही भन्नाले उहीँ दारीवाल कविता र उही चट्याङ मास्टरका चट्याङ। कृष्ण पहाडीका दर्शन र खगेन्द्र संग्रौलाका वचनवाण। भोलि नि त्यही। त्यही भन्नाले जार बनाई दिन्छौ र रेजा बनाई दिन्छौं भन्ने केटाहरुका हावादारी भाषण! पर्सि नै त्यही। निकोपर्सी नि त्यही। मंसिरमा त्यही। माघमा त्यही। फागुनमा त्यही। यो वर्ष नि त्यही। अर्को वर्ष नि त्यही।

भाषण र दोहोरी, चट्याङ र कविता, प्रवचन र धम्की सुन्दा सुन्दा रत्नपार्क माथिको आकाश र वरिपरिका बोटबिरूवालाई पनि झर्को लाग्न थालिसकेको थियो। बरू शाही शासन नै ठीक, यी बारमासे आन्दोलनकारी यहाँबाट गईदिए हुन्थ्यो भनेर ती मौन पुकारा गरिरहेका हुन्थे।

हुँदाहुँदा आदरणीय दाजुभाइ तथा दिदिबहिनीहरु दोहोरो अंकमा झर्न थाले।  मञ्चमा उही सभाका, सभापति महोदय, मञ्चमा आसिन वरिष्ठतम् महानुभाबहरु र भट्याउने उद्घोषक मात्रै बाँकी रहने स्थिति आईपर्‍यो। तर पनि केटाहरूले आन्दोलनको आँधीहुरी ल्याउने र ज्ञानेन्द्र शाहालाई रेजा शाहा पल्लबी बनाईदिने कुरा गर्न छोडेका थिएनन्।

***

यता नारायणहिटी खुसी थियो। अझ दंग थियो भनौं। दंगदास नै भनम्न। दुईचार जना उरन्ठेउला केटाहरूका उडन्ते भाषण र गणतन्त्रका एकदुई भित्ते लेखनले उसलाई खासै फरक परेको थिएन। पर्ने कुरा पनि भएन। त्यसैले उसका आफ्नै खालका दिनचर्या थिए। बहुदलीय व्यवस्थाका कमजोरीहरुको घोडा चडेर ऊ दिनभर घुम्थ्यो। र त्यही कमजोरीको सिरक ओडेर राति सुत्थ्यो।

भोलिपल्ट उठेर ज्योतिष परामर्श गर्थ्यो। जोगी परामर्श गर्थ्यो। ज्योतिष र जोगी नारायणहिटीका महाराजलाई उल्का उल्का परामर्श टक्र्याउँथे।

‘महाराज चुरेमाईलाई मुसाबली दिनपर्छ, सब ठीक हुन्छ।’

‘महाराज शक्तिपिठहरुमा कालो बोको काट्न पर्छ । माताका प्रतापले बहुदल भस्म हुन्छ।’

अनि जसोजसो बाहुन बाजे, उसै उसै स्वाहा! भनेजस्तो नारायणहिटी मुसा बली दिन चुरेमाई पुग्थ्यो। शक्तिपिठहरुमा काला बोकाहरु सहिद हुन्थे। त्यसबाट उब्रेको समय बहुदले नेताको अखण्ड निन्दामा बित्थ्यो।

नेता सराप्नु, व्यवस्था सराप्नु ,आफ्ना गौरवशाली पुर्खाको बेला न कुबेला भजन गाउनु र सराद गर्नु, यसो गर्दागर्दै नारायणहिट्टीलाई शंकाको लाभ दिन तोकिएको समयसीमा समाप्त भई सकेको थियो। तर, नारायणहिटी अखण्ड निन्दाको घोडाबाट उत्रिएन।

न अरूका कमजोरीको सिरक फ्याकेर ब्युझ्यो। ऊ दिनभर ब्यस्तसँग डुलिरह्यो। रातभर मस्तसँग सुतिरहयो।

अलिकति कहीँ कतै केही गडबड होला जस्तो भयो कि जोगी र ज्योतिष छदै थिए। तिनैलाई भेला गर्‍यो। चिना देखायो। हात देखायो। कृपापूर्वक अभिनन्दन ग्रहण गर्दियो। हिन्दु सम्राटको पगरी गुथाइमाग्यो । परामर्श लियो। बोको काट्यो। मुसो चढायो।

केही महिना अफ्रिका बिचरण गर्‍यो।  बहुदले बुढा नेताले साह्रै गनगन गरे भने बोलएर रातो चियाका साथमा दर्शन भेट बक्स्यो। आधा जति प्रतिगमन सच्याएर पठाईदियो।

***

देश डरलाग्दो गृहयुद्वको भूमरीमा फसेको छ। जताततै हाहाकार र कोलाहल छ। बाँदरमुढे र दोरम्बामा मानबता मरिरहेको छ।  मान्छे मर्नु र मारिनु सामान्य भन्दा सामान्य घटना भएको छ। एम्बुस, दोहोरो भिडन्त, आक्रमण, प्रत्याक्रमण बेहोर्नु नपरेको दिन छैन।

रक्ताम्य र त्राहिमाम वर्तमानबाट उम्केर कतै जाउ, जाने कुनै ठाउँ छैन। यता देशको अवस्था यस्तो छ। उता एक किलोमिटरको भौगोलिक दूरीमा रहेका नारायणहिटी र रत्नपार्क आ- आफ्नै रत्यौलीमा मग्न नाचिरहेका छन्। तिनले देखाएका रमिता देख्नुदेखि सकेपछि र भोग्नु भोगी सकेपछि जनता दिक्क भए।

तिनको अयोग्यता र अक्षमताले नागरिक वाक्क भए। अनि लु भएन अब भनेर तिनले पहल कदमी आफ्नो हातमा लिने निर्णय गरे। तिनले एकसाथ शान्ति स्थापना गर्ने र निरंकुशता परास्त गर्ने अठोट लिए। ३ वर्ष नारायणहिटीलाई शंकाको लाभ दिएर हेरेका थिए। नारायणहिटीको ताल देखेर ती रत्नपार्क तर्फ फर्किए। नहुनु मामा भन्दा कानो मामा नै ठिक। अब कानो मामा जस्ता राजनीतिक दललाई काँधमा बोकेर ती सडकमा ओर्लिए।

संसारको इतिहासमा जनताको नेतृत्वमा, नेता पछाडि लागेर भएको यो एउटा अदभूत जन-आन्दोलन थियो।

***

२०६२ चैत २४ गते बिहीबारका दिन जनता अगाडि लागे । तिनले स्पष्ट रूपमा नारायणहिटीका महाराजसँग एउटा माग राखे। सरकार! हाम्रो नासो फिर्ता पाउँ। फिर्ता नगरे ब्याजसहित असुलउपर गर्नेछौं।

तिनले नारायणहिटीलाई मात्रै भनेनन्। राजनीतिक दल र बिद्रोहीलाई पनि भने- अन्तिम पटक मौका दिन्छौं, कान समाएर उठबस गर र आन्दोलनमा आउ।

जनताको सामुहिक सर्त दुबैले माने। तिनले पञ्चखत माफी पाए। तर महाराजधिराजले जनताका कुरा सुनेनन्। बरू हर्जना स्वरुप राजसंस्था नै तिरेर नारायणहिटी छोडेर हिड्ने दिशातर्फ अगाडि बढे।

सिंगो देश सडकमा उत्रिएको छ। शहर, चौक, गल्ली, गाउँ सबै आन्दोलित भएका छन्। बृद्ध,अपांग,अशक्त कोहि घरमा छैनन्। सबका सब सडकमा छन्। महाराजका कारिन्दा कर्फ्यू आदेश जारी गर्छन्। जनता गुरूरू सडकमा निस्कन्छन्।

थामेर थामी नसक्नुभयो। रोकेर रोक्न सक्ने स्थिति रहेन। तर पनि नारायणहिटीका महाराज ध्यानस्त मुद्राबाट बाहिर आएनन्। तिनले युगको आवाज सुन्न सकेनन्।

अलि अघिसम्म महाराजधिराज गाउँ गाउँ पुगेका हुन्थे। शहर शहरको भ्रमणमा हुन्थे। सर्वसाधारणका कुरा सुन्थे। खादा ओड्थे । फूल गुच्छा ग्रहण गर्थे। अनि मुसुक्क हाँसेर, हात जोड्दै बुझेँ, बुझेँ भन्थे।

ए बुझेकै रहेछन् जस्तो लाग्थ्यो। तर होइन रहेछ। महाराजधिराजले राजनीति उस्तो बुझेको देखिएन। बरू खोपी भित्रका आफ्नै नन्दी भृङ्गी, जोगी, साधु र ज्योतिषको घेरा भित्रबाट राजनीतिक भन्दा पनि तान्त्रिक समाधान खोजे जस्तो देखियो।

बेलैमा राजनीतिक निकास नदिएपछि यता सडकले गणतन्त्र माग्न थाल्यो। उनी तन्त्र र मन्त्र, हनुमान चालिसा र कालो बोको मन्साएरै आन्दोलन रोकिन्छ भनेर अरू कटिबद्ध भएर त्यसमा भिँडिरहे।

समय र सम्भावना रहँदासम्म ध्यान गरेर बसिरहे। जनताको आन्दोलन नारायणहिटीको मुल गेटमै आईसकेपछि ब्युँझिदा ढिलो भइसकेको थियो। आन्दोलनका राप र तापले जोगी, ज्योतिष, नन्दी, भृङ्गी सबैले कुलेलाम ठोकिसकेका थिए। अनि नारायणहिटी भित्र महाराजधिराज एक्ला भइसकेका थिए।

तै पनि २०६३ वैशाख ८ गते महाराजधिराजले केही गर्न खोजे। के गर्न खोजे भन्दा, एउटा ललिपपे वक्तब्य निकालेर आन्दोलनरत जनतालाई लट्याउन खोजे। ‘जनताको नासो जनतालाई नै भयो। लु सरकार बनाउ। मोज गर,’ भन्ने आसयको वक्तव्य आयो।

नारायणहिटीबाट सत्ताको पासो फ्याक्ने बित्तिकै दलका आँखा चनाखो भइहाले। नियत धर्मरायो। के गर्ने भनेर निमित्त नायक जस्ता नेताहरु आन्दोलनको मैदानबाट मिटिङ गर्न तिर लागे। सारा कुटनीतिक समुदाय पनि सक्रिय भयो। तिनले एक स्वरमा, ‘लु मौका यही हो, उपयोग गर्नपर्छ गिर्जाउ भन्न थाले।’

करण सिंह र मोरियार्टी भातपानी छोडेर आन्दोलन टुंग्याउन तिर लागे। तर यो आन्दोलन विसुद्ध जनताको आन्दोलन थियो। जनताको सामूहिक मनोविज्ञानले नेतृत्व गरेको आन्दोलन थियो। नेताहरू त केवल निमित्त नायक मात्रै थिए।

मिटिङ र चलखेलको सुइँको पाउने बित्तिकै आन्दोलन नारायणहिटीबाट कोईराला निवास महाराजगन्ज तर्फ सोझियो। ‘शाही घोषणा धोका हो। आन्दोलन रोक्न पाईदैन,’ भन्दै कोइराला निवास घेराउमा पर्‍यो।

जनताको पछाडि नहट्ने मुड बुझेपछि निमित्त नायकहरू फेरि एकपटक जनतासँगै सडकमा उभिन आईपुगे। एकैस्वरमा तिनले महाराजलाई नाइँ भने र आन्दोलन अरु शशक्त बनाउनतिर लागे।

‘प्यारा देशबासीहरू! नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको, नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित भएको तथ्यलाई हृदयगंम गर्दै….

थप तीन दिन जनताले सडकमा आन्दोलन गर्दै बलीदान दिएपछि महाराजधिराज राजहठ त्याग्न र जनताको माग सम्बोधन गर्न बाध्य भए।

उनले संसदको पुनःस्थापन गरिदिए। १५ वैशाख २०६३ का दिन पुनःस्थापित संसदको पहिलो बैठक आह्वान गरिदिए। अनि बल्ल राजा सबै शासकीय कार्यब्यापार जनताका प्रतिनिधिलाई सुम्पिएर फुर्सदिला भए। अनि केही वर्षपछि आम जनसाधारण भए।

यो पनि हेर्नुहोस्

सम्झनामा जनआन्दोलन: १९ दिनका १९ तस्बिर

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.