धन के कमाउनु, मलामीपो कमाउनु!

अन्तिम संस्कारका दिन शाक्य परिवारद्वारा आयोजित श्रदाञ्जलि सभामा राखिएको स्वर्गीय कमला शाक्यको तस्बिर । तस्बिर: विकासराज न्यौपाने


‘वाओ…, व्ह्वाट अ क्राउड!’ आफ्नी जीवन संगिनी, कमला शाक्यको अन्तिम यात्रामा सहभागीको भीड देखेर कृतज्ञ, तर, भावुक हुँदै स्वयम्भुले आफ्नो मन्तव्य यही वाक्यबाट सुरू गरे।

डालस नेपाली समुदायकी एक सच्चा समाजसेवी कमलाको अन्तिम श्रद्धञ्जली अर्पण गर्न उपस्थित जनसागर देखेर लाग्थ्योकि, मृत्यु होस् त यस्तो! आँखामा हालेर पनि नबिझाउने कमला अब सदा सदाका लागि बिदा भइसकेकी छिन् भन्ने कटु सत्य स्वीकार्न कसैले पनि सकेको थिएन। तर, एकले अर्कालाई सहानुभूतिको धागोले बाँधेर राखेका थिए। त्यही धागोले बाँधेर राख्यो स्वर्गीय कमलाका पति, स्वयम्भु, र उनको परिवारलाई।

विगत केही समय देखि गर्भासय (युटेरस) क्यान्सरसँग लडिरहेकी कमलाको मृत्यु गत बुधवार, अप्रिल १८ तारिखका दिन भएको थियो। पछिल्लो एक वर्ष त कमलाका लागी अत्यन्त पिडादायक थियो। क्यान्सरले दिने दुखाई चिकित्सा विज्ञानले दिने ‘पेन किलर’ भन्दा पनि भारी भए पछि आफ्नी जिवनसंगिनीको पिडा देखेर रुनु बाहेक अरू कुनै विकल्प थिएन स्वयम्भुका लागी। “हामीले लाख कोसिस गर्‍यौ, निष्ठुरी दैवले चुँडेर लग्यो ,तर अहिले उनी पिडा मुक्त भएकी छिन् ” स्वयम्भु भक्कानिदै भन्दै गए।

प्रियसीले सदाभरका लागि बिदा लिएपछि टुटेको स्वयम्भुको संसारलाई उनको परिवार, आफन्तजन र समुदायको माया र स्नेहले जोडेर राख्यो। त्यही मायाको सहारामा स्वयम्भुले आफूलाई परिवार, आफन्तजन र समुदायले लगाएको गुण प्रति अनुग्रहित हुँदै भने- ‘धन के कमाउनु, मलामी पो कमाउनू, मेरो परिवार ठूलो रहेछ।’

आफ्नो देश, समाज, परिवार छोडेर हामी सात समुन्द्रपारिको अर्को संसारमा छौं। यहाँ दिन हुँदा हाम्रा आफ्नाहरू नेपालमा निद्रामा हुन्छन्। उडेर जान या आउन पनि दुई दिन लाग्छ। दाजु भाइ, दिदी बहिनी, इष्ट-मित्र सबथोक छोडेर नेपालीहरूले विदेशमा आफ्नो नयाँ दुनियाँ बनाएका छन्। उत्तम दुनियाँको उत्कृष्ट नमुना देखियो डालसमा गएको शुक्रवार। समुदाय उर्लेर आयो- स्वयम्भुको पिडामा मलहम लगाउन।

विदेशमा आफ्नो अनुसारको दुनियाँ कसरी बनाउन सकिन्छ भनेर सायद कमला र स्वयम्भुलाई राम्ररी थाह थियो। कसैसँग आग्रह भएन, कसैसँग पूर्वाग्रह रहेन। समाजले सम्झेका बखत हाजिर भए शाक्य दम्पती।

धन -सम्पत्ति जोडे या जोडेनन्, त्यसको हिसाब कसैले राखेन। तर, मलामी कमाएको हिसाब भने सिङ्गो डालसले राख्यो।

सामान्यतया, हामी आम नेपालीहरू झिना- मसिनाकुराहरुमा अल्झेर एक आपसमा कटुता र बैमनश्यता उत्पादन गर्छौ- जुन व्यक्तिगत रूपमा अनि समाजका लागिसमेत अनुत्पादक र हानिकारक हुन्छ। तथाकथित ‘पद’ प्राप्तिका लागि जीवन र भोगाइको सिमानालाई नाघेर हामी अनगिन्ती निर्णयहरू लिन्छौ जो अत्यन्त छोटो समयका लागि हुन्छन्।

जितेर पनि हारिने युद्वको धकधकिले विदेशको नेपाली समुदायलाई ग्रस्त छ। यो यथार्थलाई बुझेर पनि नबुझेको झैँ गर्ने समुदायका ‘अग्रज’हरूलाई लागेको रोगले पिरोलेको छ विदेशको अधिकांश नेपाली समुदाय।

सेवामा ‘मैले के पाउँछु’ भन्ने एउटा मात्र प्रश्नलाई हटाइदिने हो भने त्यो धर्म बन्छ, पवित्र कर्म पनि त्यसैको नाम हो। कमलाले डालसको समुदायलाई, कुनै प्रचारको रहर बिना, लगाएको गुणले नै गर्दा होला, उनको अन्तिम बिदाइमा शोकमा नहुने कोही थिएनन्।

आफू सुत्ने ओछ्यान् नै बिर्सेर क्षणिक न्यानोपनका लागि देखाइने ‘मुतको न्यानो’ ब्यावहारबाट सात कोष टाढा थिए शाक्य दम्पती। त्यसैको परिणाम स्वरूप होला, उनले सात समुन्द्र पारी पनि एक भव्य परिवार तयार पारे।

उसो त अब कमला फर्केर आउने छैनन्। १४ वर्षीय छोरा श्रेयस र ८ वर्षकी छोरी बोधीलाई आफूभन्दा बढी माया गर्ने पति,स्वयम्भुको काखमा एक्लै छोडेर गएकी कमला उनको परिवार प्रति समुदायले देखाएको मायामा पहिलेभन्दा बढी सायद ढुक्क होलिन्। सोच्दिहुन् – ‘मैले छोडे पनि मेरा परिवारलाई माया गर्ने ठूलो परिवार हामीले जोडेका रहेछौ।’

विगत ६ महिनाभन्दा बढी समयदेखि नेपालमा आफ्नो सम्पूर्ण ब्यबहारलाई अलपत्र पारेर अमेरिकामा बसेका स्वयम्भुका दाजु भाउजूको अविरल बगेको आँशु र उनीहरूको त्याग देखेर कमला आफूलाई यति धेरै माया गर्ने परिवारले बाचुञ्जले मात्र नभई मरिसके पछि पनि दिएको साथ प्रति धन्य हुँदै भगवान्सँग पुकारीरहेकी होलिन् -‘ दैव, मलाई फेरि त्यही परिवार देऊ।’

जन्मेपछि त मर्नु निश्चित छ। समयको यो प्रहार नत रोकेर रोकिन्छ, नत छेकेर छेकिन्छ नै। मृत्युमा कसैको नियन्त्रण नभए पनि मृत्यु पश्च्यात सहभागी हुने मलामीको सङ्ख्या भने हामी बाचुञ्जेल गर्ने कर्ममा निहित छ।

यो छोटो जीवनलाई अझ छोटो बनाउने तत्वहरुले अल्झिनुभन्दा बाचुन्जेल र पछि उत्सव बनाउने कर्मको खाँचो हामी धेरैको जीवनमा छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.