युद्वको चपेटामा सिरियाली जनता


सिरियाको गृहयुद्वमा विश्वका शक्ति राष्ट्रहरू प्रत्यक्ष मिसिँदा कतै विश्वयुद्व नै हुने त होइन भन्ने आशंका उब्जिन थालेका छन्।

पेट्रोलियम पदार्थको प्रचुर भन्डार मात्र होइन रणनीतिक भौगोलिक अवस्थालेसमेत विश्व शक्ति राष्ट्रका लागि सिरिया महत्वपूर्ण छ।

केही दिन पहिले अमेरिका, बेलायत र फ्रान्सले सिरियाका निश्चित सैनिक  अखडामा आक्रमण गर्दै आफूहरूलाई प्रत्यक्ष सिरियाको युद्वमा संलग्न गराइसके। तर, अप्रत्यक्ष  रूपमा यी देशहरु सिरियाको युद्वमा धेरै पहिलेदेखि संलग्न थिए।

अर्को तर्फ रसिया र ईरानले सुरूदेखिनै राष्ट्रपति बसार अल आसादलाई प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गरिरहेका छन्। अहिले विकसित नयाँ घटनाक्रमले विश्व जगतलाई फेरि सिरिया तर्फ ध्यान आकर्षण गरेको छ। योसँगै सम्भावित खतरानाक युद्वको संकेतसमेत दिएको छ।

सन् २०११ मा ट्यूनिसियाबाट सुरू भएको आन्दोलन मध्यपूर्व र उत्तर अफ्रिकी देशहरू लिबिया, इजिप्ट, यमन, सिरिया र बहराइनलगायत धेरै देशहरुमा फैलिन पुग्यो। अरब स्प्रिङको नामले चिनिने उक्त आन्दोलनको फलस्वरुप लिबिया, इजिप्ट र यमनका तानाशाह ढल्न पुगे। बहराइन, कुबेत, मोरक्को, अल्जेरिया, लेबलान, जोर्डनलगायतका देशको आन्दोलन दबाइयो र मत्थर हुन पुग्यो। सिरिया र यमनमा सोही आन्दोलन परिवर्तन हुँदै गृहयुद्वमा परिणत भयो र आजसम्म यी देशहरुमा युद्व जारी छ।

सिरियाको  गृहयुद्व अब गृहयुद्व मात्र रहेन। विश्व शक्ति राष्ट्र सामेल भएर डरलाग्दो युद्वको रूप लिन सक्ने अवस्थामा पुगेको छ। यमनको युद्व पनि सिया र सुन्नी मुस्लिमहरुको लडाईँको केन्द्र बनिरहेको छ।

सन् १९७१ मा हाफेज अल आसादले राष्ट्रपतिको पद हत्याए र उनी आफू नमरून्जेल सन् २००० सम्म शासन गरिरहे। उनको निधनपछि उनैका छोरा बशार अल आसाद राष्ट्रपति चुनिए।

सिरियामा लगभग १३ प्रतिशत जनसंख्या रहेको अलवाइटे समूहबाट (सिया समूह) आएका हाफेज अल आसादले सन् १९७३ मा सिरियाको संविधानमा परिवर्तन गरे। संविधानमा पूर्ण धर्मिक निरिपेक्षता लागू गर्दै राष्ट्रपति हुन मुस्लिम हुनुपर्ने कानुन खारेज गरेपछि बहुसंख्यक सुन्नी अरब मुस्लिम (जसको जनसंख्या ७५ प्रतिसतको हराहारीमा छ)  आसादको  बिरूद्धमा  जिहाद छाडे।

पटक पटक हाफेज अल आसादको सत्तापलट गर्ने प्रयासहरु नभएका होइनन् तर, सुरक्षा अङ्गमा अलवाइटे जातिको पकड भएकाले त्यो सम्भव भएन। आसाद परिवार धर्मिक मामिलामा नरम हुनु नै सुन्नी अरब मुस्लिमहरुको मुख्य दुश्मनको रूपमा दर्ज भएका थिए।

मुस्लिम ब्रदरहुडलगायत अन्य सुन्नी समुदायहरुले निरन्तर आसाद्को विरूद्धमा संघर्ष गरि रहे। तर, आसाद परिवार अन्य मामिलामा निकै क्रुर थिए, जनतालाई कुनै राजनीतिक स्वतन्त्रता थिएन र छैन, कुर्द समूहको आवाज कहिलै सुनिएन, बहुसंख्यक सुन्नी अरब मुस्लिमलाई पेल्ने नीति नै थियो त्यो अर्थमा आसाद परिवारले एक कडा तानाशाहको रुपमा राज्य चलाइरहेको थियो र छ पनि।

त्यसैको परिणामस्वरुप सिया बाहुल्य राष्ट्र ईरान र लेबननी हेजबुल्लाह समूहले सिरियन राष्ट्रपति बशिर अल आसादको पक्षमा खुलेर लागे भने टर्कीलगायत अन्य सुन्नी बाहुल्य राष्ट्र आसादलाई सत्ताच्यूत गर्ने प्रयास गरिरहे।

सन् २०११ को मार्चबाट सुरु आसादबिरूद्धको आन्दोलन केही साता शन्तिपूर्ण थियो। आन्दोलनकरीको माग पूर्ण प्रजातान्त्रिक ब्यवस्था मात्र थियो। राजधानीलगायत देशका प्रमुख शहरमा तिब्र फैलिएको आन्दोलन बिस्तारै हिंसात्मक हुँदै गयो।

आन्दोलनको माग पनि परिवर्तन हुँदै आसादको बहिर्गमन हुन पुग्यो। केही हप्तामा नै सिरियन सरकारको दमनबाट १००० भन्दा धेरै आन्दोलनकारीको मृत्‍यु भयो। १५० हाराहारीमा सुरक्षाकर्मीको ज्यान गयो।

बिस्तारै केही सैनिक टुकुडी सत्ता बिद्रोह गर्दै आसाद सरकारको पक्ष छाडेर आन्दोलनकरीसँग समाहित भए। बिद्रोह गरेका सैनिकले फ्री सिरियन आर्मी भन्ने समूह गठन गर्दै अन्य छरिएका बिद्रोहीलाई एकीकृत गर्दै ठूलो समूह गठन गरे। त्यसपछि सरकारविरूद्ध हतियारको युद्ध सुरू गरे।

हतियारसहितका बिद्रोहीले छिट्टै केही ठूला शहर कब्जा गरेपछि सिरिया आन्दोलनले गृहयुद्वको रूप लियो।

अहिले फ्री सिरियन आर्मीमा २६ भन्दा बढी बिद्रोही समूह समाहित छन्। अर्को तर्फ कुर्द, आइसिस र  अलकाइदा समर्पित नुस्रा फ्रन्ट छुट्टा छुट्टै लडाईँ लडिरहेका छन्।

सन् २०१४ मा आइसिसको सिरिया र इराकमा तिब्र उदयपछि सिरियाको धेरै भूभागमा उनीहरूको कब्जामा थियो। टर्कीले फ्री सिरियन आर्मीका केही टर्क मुस्लिम समूहलाई हतियारसहित सहयोग गरिरहेको थियो र छ पनि।

अमेरिका, बेलायत र अन्य पश्चिमी देशले आइसिस विरूद्ध लड्न तुलनात्मक रुपमा नरमपन्थी सुन्नी बिद्रोही समूहलाई हतियार आपूर्ति गरिरहेका छन्।

टर्की, सिरिया र इराकको सीमानामा बाहुल्यता रहेका कुर्दिश बिद्रोही पनि छुट्टै कुर्दिस्तान राज्य स्थापित गर्न लामो समयदेखि हतियारसहित्  लडिरहेका छन्।

कुर्दलाई टर्कीले आफ्नो देशका बिद्रोही पिकेके गुरिल्लासँग साँठगाँठ रहेको भन्दै उनीहरुबिरुद्ध टर्क मुस्लिमलाई भिडाइरहेको छन्।

यसरी सिरियामा अहिले बहुपक्षीय लडाईँ जारी छ।

ईरान, रसिया र लेबनानी हेज्बुल्लाह समूहको समर्थनमा सिरियन सरकार, कडा मुस्लिम शासन लागू गर्ने लक्ष्यका साथ लडिरहेको आइसिस, राष्ट्रपति आसादलाई सत्ताच्यूत गरेर आफ्नो सरकार ल्याउन खोज्ने फ्री सिरियन आर्मी (जो मुख्य बिद्रोही समूह हो), अल काइदा समर्पित नुस्रा फ्रन्ट र उसका सहयोगी समूह र छुट्टै राज्य स्थापनाको लागि लडिरहेका छन्।

कुन समूह कुन ठाँउमा कतिखेर कोसँग लडाईं लडिरहेको हुन्छ छुट्ट्याउन सकिन्न्। आइसिस बिरूद्ध सबै समूह एकजुट जस्तै छन् र अब सिरियामा आइसिस लगभग पराजित भइसकेको छ।

यसरी बिभिन्न समूहसँग लड्नुपर्दा पहिलेदेखि सिरियन सरकारलाई रसायनिक हतियार र सामूहिक हत्या गरेको आरोप लाग्ने गरेको थियो।

संयुक्त राष्ट्र संघको अग्रसरतामा सन् २०१२ र २०१५ मा शान्ति वार्ता गराउन भन्दै युद्धबिराम समेत भयो। तर, सिरियन सरकारले बिद्रोहीले कब्जा जमाएका क्षेत्रमा नरसंहार गरेको आरोप सहित् युद्ध बिराम तोडिए।

सुरूको केही वर्ष बिद्रोही समूह फ्री सिरियन आर्मी (जसलाई आइसिस बिरुद्ध लड्न अमेरिका र पश्चिमी देशहरुले हतियार सहयोग गरिरहेका छन्) ले लगातार एकमाथि अर्को जित हासिल गर्दै सिरियाको धेरै शहर कब्जा गरेका छन्।

राष्ट्रपति आसाद बिद्रोहीले कब्जा गरेका शहरमा रसिया, ईरान र लेबनानी हेज्बुल्लाहको सहयोगमा भीषण आक्रमण जारी राखेका छन्।

आइसिसको उदयसँगै सन् २०१३ को सेप्टेम्बरदेखि फ्री सिरियन आर्मीले कब्जा गरेका धेरै शहर तथा गाँउहरु आइसिसको कब्जामा पुगे।

अर्कोतर्फ कुर्दहरू आफ्नो भूभागको रक्षा र थप भु-भागमा कब्जा गर्ने प्रयास स्वरूप आइसिससँग लडाईँ जारी राखे। त्यो क्रममा आइसिसलाई टर्की सरकारको भित्री रूपमा सहयोग थियो भनिन्छ।

यसै क्रममा राष्ट्रपति आसादले सन् २०१४ मा राष्ट्रपतिको चुनाव घोषणा गर्दै आफू पुनः उक्त चुनावमा उम्मेदवार बने। नाम मात्रको उक्त चुनाव सबै बिद्रोहीले बहिष्कार गरे। ८८ प्रतिशत मतसहित् आसाद पुनः राष्ट्रपतिमा निर्वाचित भए।

त्यसपछि आसाद बिद्रोहीमाथि थप आक्रमक रुपमा प्रस्तुत भए। आसादका सेनाले बिद्रोहीका कब्जामा रहेका शहरमा लगातार हवाइ र जमिनबाट भीषण आक्रमण गरे। लाखौं निर्दोश जनताले ज्यान गुमाए। करोडौ जनताले आफ्नो थलो छाडेर शरणार्थी बने।

अहिलेसम्म सिरिया युद्वमा चार लाख सत्तरी हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन। १ करोड १० लाख जनता आन्तरिक र बाह्यय शरणार्थी बनेका छ्न्।

यसअघि पनि राष्ट्रपति आसादका सेनाले रसायनिक हतियार प्रयोग गरेको आरोप लागेको थियो। तर, यो पटक दौमा भन्ने ठाँउमा रसायनिक हतियारको असर निकै घातक रहेको र सिरियान सरकारले यस्ता हतियार पुन: प्रयोग गर्न सक्ने भन्दै अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रूपमा सिरियाका निश्चित निशानामा आक्रमण गरे।

उनीहरूका अनुसार आसाद सरकारले अब फेरि रसायनिक हतियार निर्माण गर्न केही वर्ष लाग्ने गरी त्यस्ता संरचना ध्वस्त पारिएका छन्। आसाद्लाई सत्ताच्यूत गर्ने मनसायले यो आक्रमण नगरिएको तर, अन्तर्राष्ट्रिय रुपमै प्रतिबन्धित रसायनिक हतियारको प्रयोग रोक्न आफ्नो कर्तब्य रहेको यी देशहरुले बताए।

अर्को तर्फ सिरिया, ईरान र रसियाले यो आरोपको खारेज गरे। रसियाले भनेको छ-यो आक्रमण अवैधानिक छ र गठबन्धनले त्यसको मूल्य चुकाउनुपर्ने छ।

यसरी प्रमुख शक्ति राष्ट्रको चेपुवामा सिरियाली जनता पिसिएका छन्। निर्दोश जनताले ज्यान गुमाउनु परेको छ।

अहिले यसरी प्रमुख शक्ति राष्ट्र एक आपसमा आमने सामने हुँदा सारा विश्वमा त्रास फैलिरहेको छ। आशा गरौं युद्व फैलिने अवस्था नआओस।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.