कहिल्यै नहेरेको आमाको मुख

आमाको मुख हेर्नेदिन विषेश


आमा! आज तिम्रो मुख हेर्ने दिन। तिमीलाई कुन आकार प्रकारमा, कुन स्वरूपमा सम्झने हो मैले बुझ्न सकेको छैन। वर्षमा एकचोटी आउने यो ‘आमाको मुख हेर्ने’ सिंगो दिन मलाई निराकार लाग्छ।

मलाई थाहाँ छ, आमा विना यो संसार चल्ने पनि थिएन र चल्ने पनि छैन। आमाको सम्मानमा यो दिनलाई विशेष दिन मनाइएको होला। तर, मलाई माफ गर्नू आमा, मलाई आमाको मुख हेर्नेदिनले रिगंटा लगाउँछ। र, चुपचाप ऐनाको अगाडि पुगेर निराकार आमाको नाममा आखाँ रसाउँछन्।

कहिल्यै कसैको अगाडि नखोलेका यीँ कुराहरु आज मैले लेखेको छु। र चाहन्छु कुनै माध्यमबाट तिम्रो आत्मासम्म पुगोस्।

श्रद्धान्जली दिनलाई एउटा फोटो मात्र भए पनि सिंगो आमा भए बराबर हुँन्थ्यो होला जस्तो लाग्छ। तर, एउटा कोरा तस्बिरसम्म छैन मसँग। न, कि मेरो मासनपटलमा तिम्रो चित्र नै छ।

म सँग मात्र होइन, कहिँकतै कसैसँग पनि छैन तिम्रो तस्बिर। त्यसैले मैले कसरी आमाको मुख हेर्नू। त्यसैले मलाई हरेक साल यो तिथिले चिमोट्ने गर्छ आमा!

तिमी कस्ती थियौ, तिम्रो आकार प्रकार केहि थाहाँ छैन मलाई। सामाजिक सञ्जालमा आमाका नाममा कोरिएका अक्षर र पोतिएका हरेक आमाहरुको फोटोमा म तिम्रो चित्र खोज्ने गर्छु। आकार प्रकार विहिन चित्र कहिल्यै भेटिने छैन मलाई थाहाँ छ र, पनि खोज्न छाडेको छैन।

तिम्रो सुत्केरो मृत्यु हो रे। तिमी मरेको केहि दिनपछि बच्चो पनि मर्‍यो। कती सामान्य सत्य!

आज म बसेको देशमा सुत्केरीलाई दिइने सेवा र उपचार सम्झदाँ मेरो मन कुडिएर आउँछ। ऐँठन हुन्छ। तिम्रो मृत्यु कति पिडादायी थियो होला। आफू मर्नेवेला पनि बच्चोलाई दुध कसले देला भन्ने चिन्ताले तिमीलाई सताएको थियो रे। तिमीसँगै बच्चो पनि बचेन आमा!

तिमी कदापी ३६ वर्षमा मर्ने थिइनौ। त्यो अकाल मृत्यु थियो। तर, तिम्रो कर्म र हाम्रो भाग्यमा यहि लेखिएको थियो। तिमीले टारेर र हामीले चाहेर हुने केहि होइन रहेछ। मृत्युलाई बुझ्ने भएपछि मैले तिमीलाई सम्झेका वेला मेरो मन बुझाउने बाटो यही हो।

तिम्रो अनुहार सम्झनलाई धेरैचोटी ‘फ्ल्यास ब्याक’ मा जाने प्रयास गरेको छु। तर, तिम्रो लासलाई घरबाट उठाउँदाको ‘ब्लाक एण्ड ह्वाइट’ तस्बिरभन्दा अगाडि जान सकेको छैन। ‘आमालाई किन घरबाट उठाएर लगेको’ भन्दै तिम्रो पछाडि दौडिएको एउटै मात्र पहिलो र अन्तिम ‘मेमोरी’ बाहेक तिमी मसँग कहिँकतै पनि छैनौ आमा। शायद तिमी जताततै छौ, त्यसैले मैले कहीँ कतै देखेको छैन तिमीलाई।

संसारमा आमा नभएको छोरो म मात्र एक्लो होइन, आमाको तस्बिर नभएका सन्तान तिम्रा मात्र होइन। र, पनि मलाई मेरो कथा, मेरो दुःख, मेरी आमा किन उत्तिविधि सर्वोत्तम लागेको होला?

आमा, तिमी मरेको दिन म जत्ति दुःखी थिए, त्यो भन्दा बढी खुसी भएको थिएँ १३ दिनको भात खुवाउने दिनमा। तिमी मरेको १३ दिनमा म किन त्यत्तिविग्न खुसी भएको थिएँ भन्ने प्रश्नको जवाफले मान्छेहरु अवाक् होलान्।

गाउँमा भात खान कि विवाहको भतेर हुनु पर्थ्यो कि मरेको १३ दिन। तिमी मरेको १३ दिनमा हाम्रो वारीको डिलमा हामीले धित मरुन्जेल भात खान पाउने भएका थियौ। त्यसैले म खुसी भएको थिएँ।

मृत्युलाई बुझ्न सक्ने भएको थिइनँ त्यसैले तिमी मरेको पिडाले दाइलाई जति धेरै डाम्यो मलाई डामेन। तर, तिमी मरेको दुःखमा भात खान पाउने खुसीले भने जीवन पर्यन्त डामीरहने छ मलाई।

तिम्रो मृत्युको लगभग पाँचवर्षपछि मैले पनि तिम्रो घर त्यागे। तिमी र बाले जोडेका ४ वटा खेत सकेजति बाले कमाए, बाँकी अधियाँ दिए। तिमी मरेपछि तिम्रो पसिनाले ठडिएको पाँचफिट अग्लो ३ कोठाको घर मलाई ओडार जस्तो लाग्यो। आमा नभएको घर के घर हुन्थ्यो। त्यसैले मैले पनि घर छोडेर हिँडे।

तिमी मरेर गएपछि पखेटा काटिएको बचेरो जस्तो भएको थिएँ। थाहा छैन, कसरी लत्रिदैँ खोलानाला, पहाड, तराई र जंगलहरु पार गरेँ।

९ वर्षको उमेरमा घर त्यागेर हिँड्न सक्ने आँट आउँदैन। गुमाउनु पर्ने केही बाँकी नरहेपछि मान्छे बेलगाम बन्दोरहेछ। त्यही बेलगामको घोडा चढेर आज यहाँसम्म पुगेको हुँ। र, सम्झिन्छु, तिमी कहिँकतै कुनै न कुनै रुपमा मसँगै छौ, त्यसैले म यहाँसम्म पुगेको छु।

देशभन्दा टाढा पुगेपछि आमा र माटोको मायाले बढी पोल्ने रहेछ। माटोको चित्र जताततै भेटिन्छ आमा, त्यसैले देशको धेरै न्यास्रो लाग्दैन तर, तिम्रो अनुहारसम्म थाहा छैन मलाई त्यसैले तिमी नहुनुको पीडा बढ्ता हुन्छ।

तिमी कतै कहीँ वायुमण्डलमा छौ र मेरा शब्दहरु तिमीसम्म तरंगीत भइरहेका छन् भने मलाई एक पटक सपनामा आएर तिम्रो अनुहार छरेर जानू। म सपनामा नै भएपनि ‘आमाको मुख’ हेर्ने छु ।

नोटः यो ब्लग हामीले आमाको मुख हेर्ने दिन पारेर पुनः प्रकाशन गरेका हौ।- सम्पादक

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.