रारा: कस्तो पर्यटन, के को प्रवर्द्धन


कर्णाली प्रदेश सरकारले २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्ष घोषणा गरेसँगै तथा सो अभियानलाई साथ दिन प्रधानमन्त्री केपी शर्मा ओलीले तमाम तामझामको साथ वैसाख १ गते प्रदेशमन्त्री परिषदको बैठकसँगै राराबाट देशबासीको नाममा सम्बोधन गरेका छन्।

अविकास, गरिबी, पछौटेपनले ग्रस्त र राज्यको चरम उपेक्षाको शिकार भएको यस कर्णाली प्रदेशको लागि पर्यटनको विकास समृद्धि र एक्सपोजर हासिल गर्ने एक सशक्त माध्यमको रुपमा लिनु आबश्यक र सान्दर्भिक त छ तर लगभग ‘भर्जिन’ रुपमा रहेको रारा (कर्णाली) पर्यटनलाई कुन रुपमा विकास गर्ने भन्ने बारेमा प्रस्ट बहस र अध्ययन आवश्यक छ।

रारा : अनुपम सौन्दर्य , अनन्त सम्भावना

राराको सौन्दर्य अभूतपूर्व छ, अनुपम छ। शब्दबाट बयान गर्न सकिने कुरा हैन राराको सौन्दर्य। यो  मनले अनुभूत गर्ने चिज हो र अनुभूति पनि मन अनुसार फरक फरक हुन सक्छ। नामले पनि राराको अनुपम सौन्दर्यलाई आफूमा लुकाएको छ कि भनेर करिव एक वर्षअघिको रारा यात्रामा धेरै स्थानीयसँग ‘रारा’ शब्दको अर्थ सोधेको थिएँ, तर धेरैलाई नामको अर्थ खासै थाहा रहेनछ।

बाटोमा भेटिएका एक बयोवृद्ध ररालीले भनेको चाँही चित्त बुझ्यो-‘आकाशको तारा, स्वर्गकी अप्सरा, धर्तीको चाँही रारा’

राराको अलौकिक सौन्दर्य दर्शनलाई पर्यटनको मध्यममा आर्थिक विकासको साधन बनाउने अनन्त सम्भाबना कर्णालीबासीको लागि उपलब्ध छ। तर, पर्यटन विकास कसरी गर्ने पर्यटनसँगै भित्रिने प्रदूषण, संस्कृतिक अतिक्रमण, अनि बिबेक बिहिन ब्यापारिकरण कसरी रोक्ने भन्ने कुराको प्रस्ट मार्ग चित्र अगाडि राखेर मात्र पर्यटन र विकासको कुरा गर्नु उपयुक्त हुन्छ।

हालको पर्यटन : साहसिक पर्यटक  र ‘स्पोन्सर्ड’ कर्मचारीहरुको जमघट

करिब २ वर्ष पहिले नाग्मा घाट (जुम्ला-मुगु जिल्लाको सिमाना) देखि मुगुको गमगढीसम्मको बाटो सुचारु भएसँगै रारा तालमा आन्तरिक पर्यटकहरुको आगमन वृद्धि भएको हो।

सो भन्दा अघि हवाई मार्गबाट मात्र जोडिएको उक्त जिल्लामा प्लेनबाट आउने पर्यटकको संख्या हालको तुलनामा नगन्य नै थियो। सडक मार्गबाट मुगु जिल्ला जोडिए पछि आज भोलिको अनुकुल सिजनमा काठमाडौँ, बुटवल, नेपालगन्जलगायतका स्थानबाट रारा घुम्न आउने पर्यटकको मोटरसाइकल समूहहरू, रिजर्व जिप, बसहरु प्रशस्त देख्न पाइन्छ।

कठिन अनि लामो बाटोको पर्वाह नगरी सडक यात्रा बाट रारा घुम्न निस्कने सबै पर्यटकहरुलाई साहसिक नै मान्नुपर्छ। उल्लेखित प्रकारका पर्यटक बाहेक  अफिसियल काम काजको सिलसिलामामा कार्यालयको ‘स्पोन्सर्ड’ खर्चमा गाडीमा, प्लेनमा रारा पुग्ने कर्मचारी पनि प्रशस्त भेटिन्छन्।

हाल रारामा पर्यटकका लागि दुई वटा होटल सञ्चालनमा छन्, ती होटेलमा दैनिक करीब एक सय पर्यटक अट्ने क्षमता छ। सिजनको समय रारा घुम्न आउने पर्यटकको लागि गास, बासको ब्यबस्था सकसपूर्ण छ। यस्तो अवस्थामा घोषित रारा-कर्णाली भ्रमण वर्षमा ५ लाख पर्यटक रारा भित्र्याउने लक्ष्य अति महत्वाकांक्षी देखिन्छ। तर, पर्यटकको सुविधा विस्तारको लागि रारा क्षेत्रमा अन्दाधुन्द भौतिक पुर्बाधार विस्तार भएमा त्यो पनि उत्तिकै प्रत्युत्पादक छ।

 रारा पर्यटन :केही सुझाब

राराको पर्यटनको मुख्य चुनौती भनेको नै स्थानीयता, पर्यावरणलाई यथास्थितिमा कायम राख्दै पर्यटकका लागि थप सेवा र सुविधा कसरी विस्तार गर्ने र पर्यटनको विकासलाई स्थानीयबासीको आर्थिक सामाजिक विकाससँग कसरी समानुपातिक बनाउने भन्ने नै हुनुपर्छ। बदलिदो समयसँगै पर्यटकका रूची र विशेषताहरु पनि फरक हुँदै गएका छन्। परम्परागत ‘सुविधा भोगी’ पर्यटकहरु ‘एडभेन्चर सिकार’,‘डिजिटल नोम्याड’(शान्त, एकान्त प्राकृतिक स्थानमा बसेर इन्टरनेट मार्फत स्वतन्त्र रुपमा सूचना प्रबिधि क्षेत्रक काम गर्ने)  हरूमा रुपान्तरित भैरहेको हालको परिस्थितिमा  यसका लागि आफूले महसुस गरेका केही सुझावहरू बुँदागत रुपमा उल्लेख गरेको छु। ।

  • रारा निकुन्ज क्षेत्रमा होटेललाई बढावा नदिई मुर्मालगायतका गाउँहरुमा पर्यटकलाई होम स्टे सेवा उपलब्ध गराउने र सोका लागि गाउँलेलाई सहुलियत ऋण उपलब्ध गराउने। सुविधासम्पन होटेलहरुको निर्माण एयरपोर्ट तथा सदरमुकाम गमगढी क्षेत्रमा गर्ने।
  • रारा निकुन्ज क्षेत्र सुरू हुने स्थानदेखि रारा तालसम्म राम्रो गोरेटो, घोडेटो तथा अपाङ्गता भएका व्यक्तिहरुलाई समेत सहज हुने गरी “व्हिलचिएर” समेत चलाउन मिल्ने बाटो निर्माण गर्ने र पदयात्रा, घोडा यात्रा, बोटिङलाई प्रोत्साहन र प्रबर्द्दन गर्ने र सो कार्यहरुमा स्थानीयहरुलाई प्राथमिकता दिने।
  • रारा क्षेत्रमा उच्च गति र गुणस्तरको इन्टरनेट सेवा सुलभ रुपमा उपलब्ध गराई ‘डिजिटल नोम्याड’ हरुको लागि आकर्षक गन्तब्यको रुपमा विकास गर्ने।
  • पर्यटकहरुको सहज पहुँचका लागि सडक मार्ग र हालको एयरपोर्टको स्तरोन्नति तथा आधुनिकीकरण गर्ने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.