मर्सिडिज मासिए


‘तिमीहरुले मर्सिडिज चढेका छौ’?

‘दैनिक चढ्छम’।

जवाफ सुनेर प्रश्नकर्ता साथी जिल्लिन्थ्यो र हामीले कुनै ढाँटको श्रृंखला बुनिरहेको ठान्थ्यो। साँच्ची मर्सिडिज धेरैलाई चढ्न र छुन समेत स्वप्न हुँदा सार्वजनिक सवारी मै मर्सिडिज बेन्जका मिनिबस चढेर हुँइकिनु कम गर्वको कुरो थिएन।

हरेराम हरे कृष्ण फिल्ममा झैं जगल्टे ह्वाङ्गलाङ्ग ठूला लुगा लाउने विदेशीहरु जसलाई हामीले हिप्पी भनेर पछि चिन्यम् तिन कै देन थिए यी गाडीहरु जुन अहिलेको नियम आउनुभन्दा अगाडि तीसौं वर्ष गुटुटु गुडे। नियम भनेको सरकारले २० वर्षभन्दा माथिका गाडीहरुलाई सडकबाट विश्राम दिन गरेको निर्णय हो जसले यी बसहरुलाई सडकबाट हुत्यायो। हेर्दा अलि पुरानो जस्तो देखिने यी बसहरु आफैमा इतिहासका पन्ना थिए।

सत्तरीको दशकमा यी गाडीहरु युरोपबाट इरान, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै काठमाण्डौं आइपुगेका थिए।  यिनका साथी भ्यागुता जस्ता बिटल्स कारहरु पनि थिए। ती हिप्पीहरुले फर्किदा कौडीका मूल्यमा यी गाडीहरु यहाँका ब्यापारीहरुलाई छाडेर गए। अहिले सिन्डिकेटका कुरा हावी भएका समयमा अझ बढी सान्दर्भिक हुन्छ यो प्रसङ्ग। सरकार, स्थानीय निकाय कसैका बलमा नभई विशुद्ध रुपमा हिप्पी पर्यटकका देनका भरमा राजधानी काठमाडौंले गतिलो सार्वजनिक सवारी तेतिखेर पायो।

अहिले हामी खर्च गर्न सक्ने पर्यटक कहाँबाट कसरी ल्याउने भनी विभिन्न कार्यक्रमहरु गरिरहेका छौं। त्यो बेला गाडी गुडाउँदै आएर गिफ्ट दिएर फर्किनेका बाहुल्यता थियो भने अहिले तेही गिफ्टमा चढ्न मरिहत्ते गर्नेका। यो नै हामीले पर्यटनमा गर्नुपर्ने कामहरुलाई दिशावोध गर्न पर्याप्त छ। सायद हामीले एकपछि अर्को उपलब्धीका पछि दौडिँदै गर्दा भएकालाई टिकाइ रहन सकेनौ। खैर यो लेखाइ पर्यटनमा केन्द्रित नभएर गाडीमा केन्द्रित गर्न खोजिएको हो।

गाडी त यहाँका नेपालीका हातमा पर्यो अनि त्यसलाई गुड्ने बनाउन अर्को गाह्रो। फेरि गाडी नेपाली सडकका लागि ठ्याक्कै मिलेका। भित्र बस्ने र उठ्ने गरी एकैपटक पचासौंले यात्रा गर्ने साधन बन्यो त्यो फिरङ्गी गाडी।

रत्नपार्कबाट कीर्तिपुर, भक्तपुर, पाटनका रुटमा यिनले कति बोके लेखाजोखा गरि साध्य छैन। अनि कन्डिसन सदैव राम्रो, थोरै संभारमा धेरै रामरी पो कुद्थे त यी, बेलाबेला बाटामा बिग्रिएर अलपत्र परेको अनुभव हामी धेरैका नभएका चाँहि होइनन्। आजका धेर सार्वजनिक सवारीका ड्राइभरहरुले यिन कै छहारीमा सिकेका थिए गाडी हाँक्न। बिस्तारै भारतीय गाडी भित्रिन थाले। नयाँ चम्किला गाडीका अगाडि यी मर्सिडिज गाडी फोहोरी देखिए तर काम उस्तै चुस्त भलै केहीमा गियर चेन्ज गर्दा आवाज चाँहि बिछट्टै अप्रिय आउने गर्थे।

चालकका कुरो के थियो भने नयाँमा भन्दा बोक्ने क्षमता र खर्चका अनुपातमा काम गराई यीनमै धेर थियो। र हरेक वर्ष कुनै सिजनमा सुनिने २० वर्ष पूराना गाडी चलाउन नपाइने नियम ती चालकलाई तेती आतिनुपर्ने विषय लाग्दैन थिए। उनीहरुमा एक किसिमको आत्मविश्वास थियो केही समय पछि यी नियमका कुरा सेलाउनेछन् जसरी विकासका कुराहरु सेलाउँथे बिगतमा। तर यसपालि समय अलि क्रुर नै भयौ उनीहरु माथि। ती गाडी जसमा ती चालकहरु कैयौं रात कटाए आज उनीहरु कै आँखा अगाडि टुक्र्याइरहेको हेर्न विवश भएका छन्। गाडी पनि वर्कशपले पचास हजारमा मुस्किलले लिईरहेको बुझियो।

निश्चय पनि सार्वजनिक सवारीमा चल्ने गाडी नीजि भन्दा पनि चुस्त दुरुस्त हुनैपर्छ। बिटल्स कार जति पुरानो उति महङ्गो भएको हामीले सुनेका, बुझेका छौं। गाडीले धेरै हिउँद कटाए भनेर गलहत्याउने कुरो सोह्रै आना गलत छ। जसरी कुनै निश्चित कामका लागि बनेका कुरा अन्यमा काम नहुन सक्छ ठीक त्यसरी नै नयाँ हुँदैमा तिनले सार्वजनिक सवारीका निमित्त सम्पूर्ण आवश्यकताहरु पूरा गर्ने ग्यारेण्टी पनि त छैन नि। इतिहास बोकेका गाडीलाई एउटा निर्णयले धपाउँदा एक कालखण्ड प्रति अन्याय भएको ठहरनेछ। हिप्पी कालको झझल्को बोकेका यी मर्सिडिज भावी पूस्ताले देख्न पाऊन्,  कम्तिमा पर्यटनका विद्यार्थीहरुका लागि भएपनि यी बाचून् संग्रहालयमा सही।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.