आहा! ती पोष्टकार्डले भरिएका नयाँ वर्षहरू


धान कुटे चामल, चामल कुटे पिठो,

हेर साथी तिम्रो माया चिनी भन्दा मिठो।

 

निन्द्राले भन्दैन हल्लिने खाट,

भोकले भन्दैन बासी भात,

प्रेमले भन्दैन जात र भात ।

ती दिनहरू

नयाँ वर्ष आउन एक साता अघिनै पोस्टकार्डमा यस्ता सायरीसहित नयाँ वर्षको शुभकामना कोरिन्थे। सायरीहरू कपि पेस्ट नै थिए। अनि, स्कुलमा मन मिल्ने साथीहरुलाई प्रदान गरिन्थ्यो । शुभकामना आदानप्रदान गर्ने माध्यम नै पोस्टकार्ड थियो।

बजारका प्रत्येक पसल पसल नयाँ पोस्टकार्डले भरिन्थे। दश रूपैयामा दर्जन कार्ड पाइने जमानाको कुरा गर्दै छु म। ती कार्ड सबै भारतीय हिरो हिरोईनका नै हुन्थे। श्रीदेवी, दिब्या भारती, रेखा, सलमान, अमिताभ….यी सबैको नाम तिनै पोस्टबाट थाहा पाएकी थिएँ।

नेपाली हिरोहिरोइनका तस्बीरसहितका पोस्टकार्ड त बीस रूपैया दर्जन पो पर्थे, साह्रै महँगा। विद्यार्थीसँग न पर्याप्त पैसा नै हुन्थ्यो न चाहेको जस्तो गर्न सम्भव नै हुन्थ्यो। त्यसैले पनि बजारभरी छरपस्ट देखिने भारतीय कलाकार भएका पोस्टकार्ड विद्यार्थीको रोजाईमा पर्थे। त्यतिबेला नै नेपालले भन्दा भारतले पोस्टकार्डमा आफ्ना कलाकारका तस्बीरहरु प्रकाशित गरेर नेपाली बजारमा प्रचार गरिरहेको हामी भुराभुरीलाई के थाहा?

बरू तीनै कलाकार टिभीमा देख्दा ऊ त फलानो कलाकार पो हो भनेर नाम जानेकोमा गर्व गर्थिम्। म भने नेपाली तथा भारतीय कलाकारका तस्बीरका पोष्टकार्ड किन्दिनथेँ। मलाई राष्ट्रियताबारे थाहा भएर यसो गरेकी थिईनँ। मलाई त फूल मन पर्थ्यो, बजारभरी डुलेर फूल भएका मात्र किन्थेँ, दश रूपैया दर्जनमै।

नयाँ वर्षको खर्च भन्दै बुवाले दिएको ४०–५० रुपैया फूलवाला पोस्टकार्डले नै सक्थेँ। मग मग बास्ना आउने ती नयाँ पोस्टरमा चिल्लो चेलपार्क मसीले मिलाइ मिलाई चम्किला अक्षरमा शुभकामनासहित माथिका साहरी लेख्दा त्यो मन आफैं हरर भएर भरिन्थ्यो।

पाउने साथीको मन झन कति हलक्क उड्दो हो, अहिले पो लोभ लाग्छ। भोलिपल्ट किताबको पेजमा राखेर फलानालाई दिनु भनेर अर्को साथीको माध्यमबाट पुर्याइन्थ्यो । नयाँ वर्षको अघिल्लो दिनसम्म यस्तो आदानप्रदान चल्थ्यो।

भोलिपल्ट नयाँ वर्षको पहिलो दिन, स्कुल बिदा हुने। बिदाको दिनमा आफूले पाएका  शुभकामना कार्डहरू खोलेर हेर्‍यो अनि, आफ्नो अनुहार ऐनामा हेर्दै तीनै कलाकारसँग दाँजेर मसस्क मस्किदाँ….आहा …दिन त तिनै राम्रा भन्न लाग्ने।

कसैले नेपाली पोस्टकार्ड दिएछ भने, ओहो! कस्तो महंगो दिएछ, माया पो गर्दो रै’छ भनेर दंग पर्‍यो। केटीले केटीलाई नै दिन्थे, केटाले केटालाई नै। १० कक्षामा पढ्दा भने केटाकेटीमासमेत कार्ड आदानप्रदान हुन थालेको थियो। कोही कसैले अलि स्पेशल ग्रिटिङ्स कार्ड दिएछ भने केटाकेटीमा लभ पर्‍यो भनेर अनुमान लगाउने हाम्रो जमाना कम्ता गज्जबको थिएन।

यति मात्र कहा हो र? बाहिरी वातावरण हेर्‍यो, जताजतै कलिला पालुवा पलाउँदै गरेका रूखहरू, सितल मौसम, कोइली चरीको मधुर श्वर यी सबै चिजहरुको संयोजनले नयाँ वर्षलाई नै स्वागत गरिरहेको जस्तो आभास मिल्थ्यो।

नयाँ वर्षको दिनमा मिठो मसिनो खाए वर्षभरी नै खान पाईन्छ, राम्रो लाए वर्ष भरी नै लाउन पाइन्छ भनेर मिठो मसिनो खाने र राम्रो लाउने चलन थियो। त्यसै गरिन्थ्यो । यद्यपी यो चलन अहिले पनि उत्तिकै छ। त्यति मात्र हो र? नयाँ वर्षका नयाँ दिनहरूसँगै आफ्ना पाइलाहरू कार्यतालिकामा हिडाउँने भनेर कार्यतालिका पनि बनाईयो। तर, त्यो कार्यतालिकामा कहिल्यै हिड्न सकिएन्।

कार्यतालिका समेत बनाउन उत्साहित हुनु भनेको नयाँ वर्षले अनुभूत गराएको जाँगर र उत्साह नै थियो।

ती दिनहरु फेरिए अब। दिन मात्र होइन महिना पनि फेरिए, महिना मात्र कहाँ हो र? डेढ दर्जन बढी पात्रोहरू पनि फेरिए। मान्छेका मनहरु फेरिए। नयाँ वर्ष मनाउने शैलीहरू फेरिए। लेख्ने सायरीहरु फेरिए। ती पोष्टकार्डका दिन त झन कता गए गए।

अहिलेको पुस्तालाई पोष्टकार्डका दिनहरू पढ्दा, सुन्दा झन अचम्म लाग्ला। केही कुराले केही कुरा बिस्थापित गरिदिने हो भने त्यो इतिहास बन्दोरहेछ। पोस्टकार्ड दिनहरू अब इतिहास बन्दै गए। पोष्टकार्ड सायद बजारमा नै पाइदैनन्। किन्नेले नकिने पछि बजारमा नहुने नै भयो। कहिकतै पाइहाले पनि प्रिन्टिङ डिजाईन र विषयबस्तु फरक रूपले उत्पादन भएका होलान्। जे भनेनि, जमाना पोस्टकार्डको रहेन अब। समय फेरिएको छ, समाज आधुनिक बनेको छ।

रत, समाज सूचना र सञ्चारको प्रतिस्पर्धामा उत्रिएको छ। मान्छेले विज्ञान र प्रविधि अनि सूचना र सञ्चारको माध्यमबाट आफ्नो जीन्दगी चलाउन सजिलो बाटो बनाईरहेका छन्। जुन एकदमै सकारात्मक परिवर्तन हो। नयाँ वर्षका शुभकामना एकअर्कामा साट्न पोस्टकार्ड खोज्न जान पर्दैन अब। हाम्रा अगाडि थुप्रै विकल्पहरू छन् शुभकामना साट्न। फेसबुक, ट्विइटर, इन्टाग्राम, स्काईप, विच्याट, भाइवरलगायतका सामाजिक सञ्जालहरुमात्र हैन फोन, म्यासेज, इमेल जस्ता थुप्रै माध्यमहरु छन् जसबाट हजारौं साथीभाई, आफन्त, छरछिमेक, नातागोता, परिचित, अपरिचित सबैलाई एकैपटक क्षणभरमै शुभकामनाका शब्दहरु पुर्‍याउन सकिन्छ।

जसबाट रकम र समयको बचत गर्न सकियो। भलै यसरी शुभकामना व्यक्त गरिदाँ एकअर्काबीचमा आत्मियता जोडिएन भन्ने सवाल पनि उठिरहेको छ। रेडिमेड सन्देशहरूले आत्मियता नजोड्नु स्वाभाविकै हो । फेरिएका दिन पनि कम्ता रमाईला छैनन्। पोस्टकार्डे दिनमा अहिलेको बढलिदो प्रविधिको युगमा यसरी घरमै बसीबसी, अनलाईनमा कार्ड छानीछानी शुभकामना दिन पाईएला भन्ने त सोचिएको पनि थिईएन। त्यसैले पनि यी दिनहरु झनै रमाईला छन्0।

नयाँ वर्ष ३६५ दिन पुगेपछि हरेक पल्ट फेरिन्छन्। नयाँ साल आउँछन्, अनि जान्छन् त्यसैगरी। यो क्रमले आज २०७४ साल समेत पुरा गरिरहेको छ।  यसरी आउने र जाने नयाँ वर्षमा हामीले भने थुप्रै हर्ष, उमंग र उल्लासको अनुभूत गर्न सक्ने वातावरण सिर्जना गर्छौ। नयाँ भन्ने शब्दै मिठो, शब्दै राम्रो।

यतिबेला नयाँ वर्ष २०७५ सुरु भएको छ। बजारमा प्रकाशित भएका नयाँ पात्राहरूलेसमेत साल फेरिएको जनाउ दिइरहेका छन्। अब त हाम्रा घरका भित्ताहरू नयाँ नयाँ पात्रोले रंगिन हुनेछन्।

यीसँगै स्मार्ट फोन सेटहरूमा पात्रोका एप्सहरु आउनलोड हुनेछन् । नयाँ साल फेरिनसाथ एस्पहरु अपडेट हुनेछन् । यत्तिले मात्र पुग्दैन् अब, सँगसँगै हामीले हाम्रो मनलाई पनि अपडेट गर्नुपर्ने बेला आएको छ।

समय एकदमै बलवान छ । जुन पर्खिैदैन्, फर्किदैन् पनि। नपर्खने र नफकर्ने समयको चापसँग आफ्ना चाँपहरु बढाउन कोशिश गर्ने हो भने त्यसले व्यक्तिगत जीन्दगीलाई जति सुन्दर र सक्षम बनाउँछ त्यसको दोब्बर सिंगो राज्यलाई सक्षम बनाउने क्षमता राख्छ। किनकि, राज्य भनेकै नागरिकको कानुनी इकाइ हो।

नयाँ वर्षमा शुभकामनामा एकअर्कामा साट्ने, परिवारबीच वा साथीभाइबीचमा बसेर मिठो लाउने र राम्रो खाने दिनका रूपमा बर्षौदेखि मान्दै आएका छौं।  बढलिएको समाज र फेरिएको चेतनास्तरको जमातले अब नयाँ वर्षलाई यत्तिमा मात्र सिमित गर्न चाहन्नन्। नयाँ वर्षलाई एउटा खुसीको उत्सवका रुपमा मात्र नभई व्यक्तिगत कार्यशैली, व्यक्तिगत बानीव्यहोरा, गरिदै आएका सम्बन्धलगायतका विषयमा  व्यक्तिगत मूल्याकंन गर्दे आत्मसमिक्षा गर्ने दिनका रुपमा समेत लिन थालिएको छ।

यसलाई संस्कृतिका नाममा भएको सकारात्मक परिवर्तन भनेर मान्न सकिन्छ। जसले आफ्ना नराम्रा बानीलाई सुधार्न सकियोस् । ताकी आफ्नो कार्यशैलीमा सुधार ल्याउन सकियोस्। बिग्रिएका सम्बन्धहरुलाई सुधार्न सकियोस्। अघिल्लो वर्षलाई गहन ढंगले मूल्याकंन गरेर आफ्ना जीन्दगीका आयामलाई सकारात्मक परिवर्तन गर्न सकियो भने वर्षहरु थप रोमान्चक र सफल भएको अनुभव गर्न सकिन्छ।

बितेका वर्षमा आफूले के गरेँ? किन गरेँ? कसरी गरेँ?  भनेर नराम्रा कामको बारेमा आत्मसमिक्षा गर्ने मात्र होइन्, राम्रा अनि सफलता प्राप्त भएका क्षणहरु सम्झने, प्रगतिका अध्यायहरू पढ्ने दिनका रुपमा समेत नयाँ वर्षको पहिलो दिनलाई विकास गर्ने हो भने दिनले सबैमा रोमान्चकता प्रदान गर्नेछन्।

नयाँ वर्षले सबैमा खुसी ल्याउन सकोस्, शान्ति दिन सकोस्, भन्ने कामनासहित हामी शुमकामना व्यक्त गर्छौं । नयाँ वर्षले खुसी दिने होईन् यसमा खुसी प्राप्त गर्न सकिने वातारण कसरी बनाउने? भनेर व्यक्तिमा भर पर्ने कुरा हो।

यो वर्ष त मलाई फापेन, यस्तो उस्तो दुःख पर्‍यो, राम्रो साल रहेनेछ….भनेर हामी वर्षलाई गाली गरिरहन्छौं ।  म भित्रको खुसी ‘म’ ले नै दिने हो, अरु तँ त भन्ने कुरा हुन्। अर्थात नयाँ वर्ष त दिन हो, महिना हो, साल हो। यी दिनहरुलाई कसरी व्यवस्थित, सफल र खुसी राख्ने भन्ने व्यक्तिमा नै भर पर्छ।

त्यसैले, नयाँ वर्षको नयाँ दिनदेखि हामीले आफूलाई ‘राम्रो’ बनाउने प्रणमात्र गर्न सक्यौं भने त्यसले घरपरिवार, छरछिमेक, साथीभाइ, इस्टमित्र, समाज, राष्ट्रमा समेत सकारात्मक सन्देश दिन सफल हुनेछ।

अन्तिमममा भन्नै मन लाग्यो, नयाँ वर्षमा खुसी र हाँसेका मनहरुले दुखी र रोएका मनहरुलाई हँसाउन सक्ने वातावरणको सिर्जना गरि त्यसको अनुभूति गर्न सकियोस्, देश विदेशमा रहेका सबैलाई मंगलमय शुमकामना।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.