रंगशालामै अड्किएको नेपाली क्रिकेट


जिम्वावेमा सम्पन्न विश्वकप क्वालीफायरमा आवश्यक न्युनतम खेल जितेर अन्तर्राष्ट्रिय एकदिवसीय खेलको मान्यता पाएसँगै नेपालमा एकाएक बढेको क्रिकेटको चर्चित शब्द हो रंगशाला।

नेपालको अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पछि धेरै नेपाली क्रिकेट प्रेमीको सामाजिक सञ्जाल हेर्ने हो भने लाग्छ सायद एउटा स्तरीय रंगशाला नभएर नै नेपाली क्रिकेटको विकास नभएको हो। एकदिवसीय मान्यतासँगै अहिले सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरूको एक सुत्रीय माग छ – क्रिकेट रंगशाला।

लाग्छ नेपालमा एउटा स्तरीय स्टेडियम भएको भोलिपल्ट विश्व नम्बर एक क्रिकेट टोली नेपाल भ्रमणमा आउनेछ र नेपालले आफ्नै रंगशालामा खेलिएको विश्व नम्बर एक टोली विरुद्धको सम्पूर्ण खेल जित्नेछ।

नेपाली क्रिकेट फ्यान्सहरूमा रंगशाला यति प्रिय बनेको छ उनीहरु चाहन्छन् नेपालको प्रधानमन्त्री आफैंले भारत जादा नेपालमा रंगशाला बनाइदिन भारतलाई आग्रह गरून् र आफ्नो लाचारी प्रस्तुत गरून्। आफ्नो देशको प्रधानमन्त्री लाचार देखिनेमा धेरै नेपालीलाई कुनै चिन्ता छैन तर बस् चाहिएको छ एउटा क्रिकेट रंगशाला त्यो पनि भारतले बनाइदिएको।

तर नेपाली क्रिकेटको वर्तमान आवश्यकता र वास्तविकता भने धेरै फरक छ। नेपाललाई अहिले रंगशालाको भन्दा पनि क्रिकेटको आवश्यकता छ। कुनै पनि देशको क्रिकेट बलियो हुन त्यस देशको घरेलु क्रिकेट बलियो हुनपर्छ। तर नेपालमा भने घरेलु प्रतियोगिता नै छैन भन्दा पनि केहि फरक पर्दैन।

सीमित मात्रको टी ट्वान्टि फर्म्याटको क्रिकेट र कहिले काही आयोजना हुने राष्ट्रियस्तरको एकदिवसीय क्रिकेटले नै मात्र घरेलु संरचनालाई पूर्णता दिन्छ भन्ने हुँदैन। त्यसैले नेपालमा अहिले रंगशालाको भन्दा पनि घरेलु संरचनाको क्रिकेटको सबैभन्दा धेरै आवश्यकता छ।

जसरी देशको क्रिकेटको लागि घरेलु क्रिकेट महत्वपूर्ण जग हो त्यसरी नै बलियो घरेलु संरचनाको लागि विद्यालयस्तरको क्रिकेट सबैभन्दा महत्वपूर्ण जग हो। तर सीनियर लेभलको घरेलु संरचना नै नभएको हाम्रो देशमा विद्यालय लेभलको क्रिकेटको अवधारणा मात्र प्रस्तुत गर्दा पनि धेरैलाई हाँस्यास्पद लाग्न सक्छ।

तर वास्तविकतामा भने राम्रो विद्यालय क्रिकेटको विकास नभएसम्म बलियो घरेलु क्रिकेटको परिकल्पना गर्न सकिँदैन र बलियो घरेलु संरचना विना नेपाली क्रिकेटको विकास असम्भव नै छ।

एक दिवसीय मान्यतासँगै अब नेपालमा एकदिवसीय क्रिकेटमा मात्र ध्यान दिने हो भने अबको चार वर्षपछि नेपालको अवस्था त्यही हुन्छ जुन अहिले हामी भन्दा अगाडि एकदिवसीय मान्यता पाएका हङकङ र पिएनजीको भएको छ।

रंगशालामा केन्द्रित रहेर घरेलु संरचनाको लागि बेलैमा ध्यान नदिने हो भने २०२९ मा फेरि एकदिवसीय मान्यता पाएकोमा खुसी हुनपर्ने नेपालको अवस्था आउँदैन भन्न सकिदैन। त्यसैले अहिले नेपालले रंगशालामा गइरहेको ध्यानलाई मोडेर घरेलु क्रिकेटमा ध्यान केन्द्रित गर्न आवश्यक छ।

अहिले सीमित मात्रामा सञ्चालित भइरहेको केही प्रतियोगिता हेर्ने हो भने ती प्रतियोगिताबाट नयाँ खेलाडी आउन मुश्किल छ। राष्ट्रिय रुपमा परिचित भइसकेका अन्डर १९ र सीनियर क्रिकेटरहरुले मात्र खेलिरहेने प्रतियोगताबाट तत्कालको लागि त नेपाली क्रिकेटमा केहि सुधार होला तर भविष्यमा यसरी नेपाली क्रिकेटको अवस्था बलियो हुँदैन।

भविष्यका नेपाली राष्ट्रिय क्रिकेटरहरू अहिले विद्यालयहरुमा छन् जसले न कही आफ्नो क्षमता देखाउन पाएका छन् न कोही कसैले उनीहरुको खेल हेरि आवश्यक सुधारको लागि सिकाइरहेका छन्। भविष्यका नेपाली राष्ट्रिय क्रिकेटरहरु अहिले सिक्ने उमेरमा छन् तर उनीहरुले क्रिकेट सिक्न पाएकै छैनन्।

टिभिमा देखाइने अन्तर्राष्ट्रिय खेलहरु अविभावकको गाली सहेरै हेरेर त्यसबाट लिएको सिमित ज्ञान मात्र नेपालका भावी अन्तर्राष्ट्रिय क्रिकेटरहरूको लागि पर्याप्त छैन भने अर्को तर्फ केही क्रिकेट एकेडेमीहरू मार्फत पाएको ज्ञान मात्र पनि पर्याप्त छैन।

क्रिकेट एउटा खेल हो र खेल सिक्न मैदानमै उत्रनुपर्छ । मैदानको प्रेसर, म्याच कन्डिसनको प्रेसर आफ्नो समर्थकहरूको चाहनाको प्रेसर र त्यसलाई ह्याण्डल गर्ने ज्ञान टिभिमा हेरेर वा एकेडेमिमा सिकेर पाइने छैन र यसको लागि केही सिक्ने उमेरमा नै खेलाडीहरुलाई मैदानमा उतारिनुपर्छ जुन अभ्यास हामीले गरेकै छैनौ।

एकेडेमीमा सिकेको ज्ञान विद्यालय लेभलको प्रतियोगितामा प्रयोग गर्न पाउने अवस्था नेपाली विद्यालयका भाईबहिनीहरुले पाएको एक दशकमा नेपालले विश्व क्रिकेटमा बलियो उपस्थिति देखाउन सक्छ। छिमेकी देश भारतमै हेर्ने हो भने विश्व क्रिकेटका महान् हस्ती सचिन तेन्दुलकर पनि विद्यालय क्रिकेट हुँदै मुम्बई रणजी टिममा पुगे र त्यहीबाट १६ वर्षको उमेरमा नै भारतीय राष्ट्रिय टिममा परे। त्यही उमेरमा विश्व क्रिकेटका महान् खेलाडीहरूको सामना गरे।

तर नेपालमा केही अपवाद बाहेक १६ वर्षिय खेलाडीको परिकल्पना भन्दा धेरै बाहिरको कुरा हुन्छ यति छिटै राष्ट्रिय टोलीमा पर्ने सपनाहरु अझ भनौ नेपालमा सपनामा पनि कसैले यो सोचेको हुँदैन। त्यसैले नेपालमा अहिले रंगशाला भन्दा पनि विद्यालय लेभलको क्रिकेटको आवश्यकता धेरै छ।

विद्यालय तहको कुरा गर्दा केही साता लगाएर सम्पन्न गरिने छोटो फर्म्याटको प्रतियोगिताले मात्र पनि विद्यालय तहको क्रिकेट प्रतियोगितालाई पूर्णता दिँदैन। नेपालले विद्यालय तहमा दुई वा तीन दिवसीय क्रिकेटको सुरुवात तत्कालै नगर्ने हो भने भविष्यमा पनि नेपाली क्रिकेट राम्रो संरचनाको अभावमा गुज्रिरहेको हुन्छ। वर्तमानमा हामीले नेपाली क्रिकेट खेलाडीहरूको सबैभन्दा ठूलो समस्याको रुपमा खेलको दौरान स्ट्राइक रोटेटलाई लिन सकिन्छ र यसको समाधान सुरुवात बाट नै यसको अभ्यास बाहेक अरु कुनै माध्यमबाट सम्भव छैन।

वर्तमान खेलाडीहरुले आफ्नो सिक्ने उमेरमा नै स्ट्राइक रोटेट गर्न सिकेको भए आज नेपालले यो समस्या भोग्ने थिएन। त्यसैले भविष्यमा पनि नेपाली क्रिकेट यही समस्यामा नहोस् भन्नको लागि भविष्यका क्रिकेट खेलाडीहरुले अहिले नै स्ट्राइक रोटेट सिक्नुपर्छ र उनीहरुलाई सिकाइनुपर्छ। त्यसको लागि विद्यालय तहमा नै दुई वा तीन दिवसीय खेलहरु खेलाइनुपर्छ र उनीहरुलाई खेलकै क्रममा सिकाइनुपर्छ। मैदानमा नै खेलिने प्रत्यक्ष खेल नै क्रिकेटको लागि अभ्यास र ज्ञानको सबैभन्दा ठूलो माध्यम हो र नेपालले भविष्यको लागि अहिले नै तयारी गर्नुपर्छ।

अर्को तर्फ विद्यालय क्रिकेट निरन्तर हुन जरूरी छ। एक साता वा महिनामा सकिने प्रतियोगिताले निरन्तर क्रिकेटको अभ्यास दिँदैन त्यसैले निरन्तर खेल खेलिरहने अवस्था आए विद्यालय तहबाट नै राम्रो र कुशल क्रिकेट खेलाडीको जन्म हुन्छ जसले भविष्यमा नेपालले विश्वमा बलियो क्रिकेट उपस्थिति देखाउन सक्छ।

विद्यालय क्रिकेटसँगै धेरै भन्दा धेरैले अवसर पाउने गरि विकसित गरिएको सीनियर घरेलु संरचना तयार गर्ने हो भने नेपाली क्रिकेटले आउने दशकमा विश्वक्रिकेटमा आफ्नो दरिलो उपस्थिति कायम गर्ने निश्चित छ तर यदि अहिले हाम्रो ध्यान रंगशालामा मात्र कायम गर्ने हो भने हामीसँग आउने दश वर्षमा प्रसस्त रंगशाला त होला तर त्यस रंगशालामा खेलिने क्रिकेट भने हामी सँग नहुन सक्छ।

त्यसैले नेपालले अहिले तत्काल विद्यालय क्रिकेटमा आफ्नो ध्यान फर्काउन जरूरी छ र त्यसको लागि कुनै ठूलो र स्तरीय रंगशालाको मात्रै आवश्यकता भने हुँदैन।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.