हे प्रिय, तिम्रो स्वतन्त्रता!


 

पहिलो परिदृश्यः

हिउँदको बिहान आकाश पुरै खुलेको थियो। आकाश स्वच्छ निलो थियो। माथि फर्केर हेर्दा हकिङ्गको कल्पना भन्दा टाढासम्म आँखा पुर्‍याउन सकिन्थ्यो। कुहिरो थिएन। पूर्वीय क्षितीजबाट तिव्र गतीमा आएका घामका किरणले मलाई उछिनेर भाग्दै गर्दा पश्चिमको समथर भूभागमा फुल्दै गरेका धानका बालामा छचल्किरहेका सितका थोपा मोतीदाना जस्तै टल्कि रहेका देखिन्थे।

दक्षिण तिरको परिवेश पनि उस्तै मनमोहक थियो। कतै–कतै धान फुलेर बाला लागिसकेका हुनाले काँचो धानका सुगन्धले नाकका फोरालाई अझै प्रफुल्लित पारिरहको थियो। धानका काठे जातहरू– मसिनो, अनदि, मनसुली, बतीसरा, कहीकतै बासमती र जेठोबुढोका हावासँग घोलिएर बहेका सुगन्धमा मादकता मिसिएको थियो।

 

उत्तर तिर दौडिरहेका घामका किरण पहाडी भेगमा उम्रिएका रुख बिरुवा बिचका छिद्र पारहुँदै सेताम्मे हिमशृंङ्खलामा ठोक्किएर परावर्तन हुँदाको दृष्य पनि बढो मनमोहक थियो।

यस दृष्यले जोसुकैलाई उथल–पुथल नपारी रहन सक्दैनथ्यो। घामका किरणसँगै आफू पनि तेज रफ्तारमा तराईको फाँटबाट दौड्दै पहाडका कान्लालाई चुमु र सुन्दर हिमश्रृङ्खलाहरुलाई आलिङ्गन गरौं जस्तो लाग्थ्यो। कल्पदै थिए– नेपाल भूमी स्वर्ग हो। शान्त हो। सानो हो तर पनि विशाल हो। भाग्यमानी मनुष्यले मात्र यो भूमीमा जन्म लिने अवसर पाउँछ।

यत्तिकैमा मेरो नजर म उभिरहेको आली मुनी हुल बाँधेर आएका काला कमिलाका तातीमा पुग्यो। हिउँद याममा खेतबारीमा प्रसस्त फट्याङ्ग्रा पाइने र कमिलाको फट्याङ्ग्रा राम्रो आहार हुनाले कमिलाहरु एकआपसमा मिलेर फट्याङ्ग्रालाई आफ्नो गुडतिर मेहनतका साथ ओसारिरहेका थिए।

माउ कमिलाहरु अघि–अघि थिए। बचेरा कमिलाहरु माउ कमिलालाई पछ्याउदै थिए। सबै कमिलाहरु फट्याङ्ग्रालाई आफ्नो सम्पूर्ण शक्ति, बुद्धि र विवेक लगाएर तान्दै थिए। दृष्य बढो उत्सुकतापूर्ण थियो। यस्तो लाग्थ्यो प्रकृतिले कमिलालाई बाच्नको लागि यथेष्ट कला दिएकी छन्। कमिलाहरु आफ्नो कलालाई सम्पूर्ण जोस र जाँगरका साथ प्रयोग गर्दैछन्।

मेरा एक वाचाल मित्र आइपुगे। उनीसँग गोरो छाला भएका एक विदेशी पनि थिए। मित्रले भन्दै थिए,‘यी विदेशी नेपालका गरिब–दुःखी बालबच्चाको सेवाको लागि कयौं वर्षदेखि आफ्नो देश छोडेर यतै छन्। यस गाउँदेखि केही पर रहेको सच्चाई भनिने आश्रमको पनि यिनले रेखदेख गर्छन्। उनको  बसोबास त्यही सच्चाई भवनमा छ।’

ती विदेशीले पनि कमीलाको ताती देखे। कमीलाले बल्ल–तल्ल ओसारीराखेको फट्याङ्ग्रा देखे। उनलाई कमिलाको ताती देखेर सायद डर, रीस, लोभ वा माया के लाग्यो? भन्न सकिएन। कमिलालाई सहज बनाउने भन्दै फट्याङ्ग्रालाई समाती अघील्तिर हुत्याइदिए। कमीलाहरु जो आफ्नै संसारमा रमाईरहेका थिए, आफ्नै कर्ममा विश्वास राख्थे, गुडछेउ पुर्‍याउन लागेको फट्याङ्ग्रो छोडेर तितर–वितर भए।

मलाई दुःख लाग्यो। ती मैं हुँ भन्ने गोरेले प्रकृतिले दिएको विशिष्ट कला र गुणमा कमिलालाई रमाउन दिनुपर्थ्यो। ढिलो–चाँडो आफ्नो आहरा कमिलाले गुँडमा पुर्‍याउँथे। ती गोरेले जानेनन्। आफ्नो र अरूको स्वतन्त्रता छुट्टाउन सकेनन्। गोरे पापी हुन्। गोरे अधर्मी हुन्। यस्तै व्यवहारले तीनको आत्मालाई कदापी शान्ति मिल्ने छैन।

मेरा रंगिन किरणहरू, धानखेत, तराई, पहाड र हिमश्रृंखलासँग जोडिएका रोमान्टिक क्षणहरू यी दुई आडम्वरीको आगमनले धुमील भए। अब आइन्दा यिनीहरुलाई कहिल्यै नभेट्ने कसम खाँदै अर्को यस्तै नयाँ बिहानीको प्रतीक्षामा घर फर्किएँ।

दोस्रो परिदृश्यः

आजभन्दा लगभग साढे दुई वर्ष अगाडि पिता बन्ने सौभाग्य मिल्यो। सिजरीयन सेक्सन पछि आमाको पेटबाट बच्चा निकालियो। डाक्टर र नर्सले बधाई दिँदै बच्चाकी  हजुरआमाको काखमा बच्चा सुम्पिए। बडो खुसी र उत्सुकताका साथ मैले बच्चालाई काखमा लिएँ। मलाई दिव्य महसुस भयो। स्वर्गीय आनन्द मिल्यो। आनन्दको आनन्द, शब्दमा वर्णन गर्नै नसकिने आनन्द मिल्यो।

बच्चालाई सुम्सुमाए। बच्चाका पुक्क परेका गाला, ओठ छामेँ। निश्चल मांशपिण्डबाट निस्कीएको तेजस्वी, जीवन्त मुस्कानलाई उल्लाहदीत भावले महसुस गरेँ। अनी मैले थाहा पाएँ– मेरो बच्चा स्वतन्त्र जन्मिएको छ। उसमा कुनै विकारको विकास भएका छैनन्। ऊ अहंकार, रिस, राग, बैमनस्य र लोलुपतारहित छ। ऊ स्वच्छन्द छ। आफु हुर्किएको कला, संस्कृति र परिवेशमा आफ्ना जीवनका अवहेवहरुलाई बिना कुनै रोकतोक, बिना कुनै संदेह जीवन्त तुल्याउन चाहन्छ।

यस क्रममा मेरा जीवन भोगाइका अनेकौ ज्वारभाटा बुनिएर मस्तिष्कमा आए। यस्तो स्वतन्त्र जन्म धारण गरेको जीवलाई स्वतन्त्रता दिन सक्दिनकि भनेर म विचलित भएँ।

‘आमाकै कोखमा रहिराखेर सधै भरी यसले एम्नियोटीक फ्लुडमै स्वतन्त्र विचरण गरिराखे पनि राम्रो हुने थियो नि’, भन्ने समेत कल्पना गरेँ। त्यो सम्भव थिएन। अनि कसम खाएँ-तिमीलाई तिम्रो परिवेशको स्वतन्त्रता म अवश्य दिलाउँदछु भनेर। तिमी र तिमी जन्मे हुर्किएको, तिमीले चाहेको परिवेश विरुद्ध हुने कुनै पनि अतिक्रमबाट तिमीलाई जोगाउँछु।

यो चुनौती आज सबै बाबु–आमामा भएको महसुस हो। नेपालको राजनीतिक कमजोरी, कर्मकाण्डीको हेपाई, गरिबी, र अशिक्षाको फाइदा लिँदै यहाँको धर्म, कला, संस्कृति र समग्र परिवेशमाथि बाह्य पाखण्डीको, विशेष गरेर धर्मका नाममा, व्यापक अतिक्रमण भईरहेका छन्। यसका लेखा–जोखाका तथ्यांक हामीसँग प्रसस्त छन्।

अतिक्रमणको खुलेर प्रतिवाद गर्नुनै हाम्रा धरोहर, कला, संस्कृति र हाम्रो पहिचानलाई स्वतन्त्रता प्रदान गर्नु हो। हाम्रा भावी पीडिको सुरक्षा गर्नु हो। नत्र हामीलाई बाह्य अतिक्रमणले नीर्जिब बनाइदिनेछ। हाम्रा आफ्ना मुल्य मान्यतामा जीउन पाउनुनै हामी मानवको नैसंर्गिक अहम् हो। हाम्रो स्वतन्त्रता हो। जीवन जीउनुको मज्जा हो।

भ्रुण विज्ञान र वंशाणु विज्ञानको अध्येता भएकोले पनि होला मैले मेरो प्रीय शिशुलाई अझ बढी स्वतन्त्र देखेँ। भ्रुण बन्न आमाबाट डिम्ब र बाबुबाट शुक्रकिटको मिलनको आवश्यकता पर्छ। डिम्ब र शूक्रकिट दुबै नितान्त स्वतन्त्र जैविक पदार्थ हुन्। डिम्बमा आमाका गुण र शुक्रकिटमा बाबुका गुण बच्चामा सार्न प्रत्येकमा २३-२३ वटा क्रोमोजोम हुन्छन्। यसरी मानिसको सबल भ्रुणका कोषहरूमा जम्मा ४६ वटा क्रोमोजोमहरू हुन्छन्।

वंशाणु विज्ञानले आमा बाबुबाट बच्चामा सर्ने धेरैजसो गुणहरु सामाजिक भन्दा पनि बढि जैविक हुन्छन् भन्दछ। कुनै पनि व्यक्तिमा सामाजीक गुणहरु समाजसँगको उठबससँगै विकास हुन्छन्। मतलव-असल समाज, असल गुण। खराव समाज, खराव गुण।

क्रोमोजोम अतिनै शुक्ष्म दुई वटा त्यान्द्राबाट निर्मित डिएनए (डिअक्सिराइबोन्युक्लिक एसिड) बाट बनेको हुन्छ। डिएनए न्युक्लियोटाइडबाट बनेको हुन्छ। न्युक्लियोटाइड नाइट्रोजन बेस, फस्फेट र डिअक्सिराइवोज सुगरहरु मिलेर बन्छ। वंशाणु विज्ञानको अति नै महत्वपूर्ण जैवीक पदार्थ नाइट्रोजन बेस ४ प्रकारका हुन्छन्– एडिनिन, थाइमिन, ग्वानिन र साइटोसिन । यसरी निर्मित डिएनएका साना साना अंशहरुद्धारा जिन बन्दछन्।

जिन आमा बाबुका जैविक गुणहरु बच्चामा सार्ने सबैभन्दा साना जैविक इकाई हुन्।  ह्युमान जिनोम प्रोजेक्टका अनुसार मानिसमा लगभग ३५,००० जिनहरु पत्ता लागिसकेका छन्। बस्तुतः जिनले नै जीवको निर्माण गर्छन्। जिनको निर्माण स्वतन्त्र छ। ४ प्रकारका नाइट्रोजन बेसहरू एडिनिन र ग्वानिन अनी थाइमिन र साइटोसिनका जोडिहरु जिन निर्माणको लागि जुनसुकै क्रममा डिएनएमा रहन सक्छन्। यो नाइट्रोजन बेसको स्वतन्त्रता हो। त्यसैले जिन निर्माण स्वतन्त्र छ। जस्ता जिन पनि बन्न सक्छन्।

यसरी निर्मित जिनले जस्ता जीवहरु पनि निर्माण गर्न सक्छन्। त्यसैले जीव निर्माण स्वतन्त्र छ। मतलब मानिस स्वतन्त्र जन्मिएको छ। राज्य, धर्म, नियम, कानुनको अधिनमा बसीराख्नुपर्ने जैविक धर्म मानिसलाई जिनले दिएको छैन। मानिस स्वतन्त्रताको पर्याय हो। मानिसले आफ्नो निर्णय आफैं गर्न पाउनुपर्छ। यो मानिसमा निहीत जैविक विशिष्टता हो।

यसैले मेरो बाबु! तिम्रो स्वतन्त्र जीवन जीउने स्वतन्त्रता माथिको हस्तक्षेप मलाई मान्य छैन। राज्यका, धर्मका, समाजका तथाकथित नियम, कानुन र कुरितीहरुले तिम्रा कलीला हातगोडा बाँधिने प्रयास गरिनेछन्। तिम्रो स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रयास गरिनेछन्। यो मलाई कदापी मान्य हुनेछैन। तिम्रो स्वतन्त्रताको लागि म सधै पहरेदार बन्नेछु। तिमी खुला आकाशमुनी पुलकित हुँदै स्वतन्त्र सयर गर।

अरुलाई नोक्सान नपुर्‍याइ आफ्नो स्वतन्त्रताको पूर्ण उपभोग गर। तिमी राज्य, धर्म र कानुनमाथिका स्वतन्त्रताको उपभोग गर। संसार तिम्रो हो। सारा यावत प्रकृति तिम्रो हो। राज्य, धर्म र कानुनका साघुँरा घेराहरुले तिमीलाई अन्धो र लंगडो बनाउँछन्। यसैले म कामना गर्दछु तिमी यी चीजहरु भन्दा माथीको स्वतन्त्रताको महशुस गर, स्पर्श गर।

तेस्रो परिदृश्यः

हे प्रीय! मेरा केही अझै अन्य अनुभव तिमीसँग साट्न मन लाग्यो। तिम्री हजुरआमाको कोखबाट प्राकृतिक छटाले भरीपुर्ण सुन्दर गाउँमा मेरो जन्म भयो। तिम्रा हजुरवुवा र आमाले मलाई मैले तिमीलाई दिन खोजे जस्तै स्वतन्त्रता दिनुभयो। हाम्रो सानो घर खेतै खेतको बीचमा पर्थ्यो। नाबालक अवस्थामा ती खेतका आलीमा कुसीलकोटा खोज्दै स्वतन्त्र सयर गरेका दिनहरु, वर्षातमा घर नजीकैका कुला–कुलेसाहरुमा नग्न भई छप–छप पौडीएका दिनहरु, गर्मीयाममा बिहानको स्कुल छुटे पछि नजीकैका जंगल–बगैचाहरुमा काफल गेडी खोज्दै घुमेका दिनहरु मलाई अझै झल–झल याद आउँछन्। बाबु ! हामी धेरै स्वतन्त्र थियौ।

दसैं नजिकिँदै बिहानको मन्द चिसो हावाका झोकाहरू घर अगाडि खेतका आलीहुँदै आगनमा आएर मलाई स्पर्ष गर्दा शरीर फूरुङ्ग भएको हिजो मात्र जस्तो लाग्छ। साथी संगीसँग लिङ्गे पीङ बनाउने भन्दै घर घरमा लठ्ठा बाट्ने पट्वा र लिङ्गा किन्ने पैसा उठाउँदै हिँडेका रमाईला दिनहरुको याद अझै ताजै छ। उनै दिनहरुले मलाई लोभ्याई राख्छन्। फेरि पनि उही दिनहरुमा फर्कौं–फर्कौं लाग्छ।

महाअष्टमीका दिनमा तिम्री हजुरआमाले बनाएर दिएको चोपीलो भुटुवा सम्झँदा अझै मुख रसाएर आउँछ। जुनेली रातमा पीपलको बोटमुनी पिङ्गका लठ्ठामा झुन्डिदै अलि–अलि बोसो टासिएको भुटुँवा चपाउँदाको रसानन्द मलाई केहीले दिएन।

टिकाको दिनमा तिम्रा हजुरवुवा र आमाका हातबाट नयाँ लुगा लगाउँदै टीका र जमराका साथमा आर्शीवाद लिन पाउँदा आफूलाई धन्य ठान्थेँ।

त्यसै गरी तिहारमा तिम्रा प्रीय हजुरवुवासँग बसेर काग, कुकुर, गाई जस्ता प्राकृतिक जीवहरुको पूजा गर्दा मलाई यती आनन्द लाग्दथ्योकि आनन्दका ती भावहरु तिमीसँग व्यक्त गर्न शब्दको अभाव परिरहेको छ।

देउसी भैलोको के कुरा गरौ र? मेरो प्रीय बाबु ! रातभर शितले चिसाम्मे हुनेगरी कात्तिकमा गाउँघरका मखमली फूलले ढकमक्क छाएका आगनमा देउसी गीत गाउँदै, नाच्दै उफ्रँदा म आफूलाई मृगको पाठो भएर हरियो घाँसे मैदानमा चर्दै उफ्रदै गरेको महसुस गर्थेँ।

मेरो प्रीय ! मेरो कला संस्कृतिले मलाई यती ऊर्जा, यती ज्ञान, यती जीवनप्रती मोह र जीवनका शुक्ष्म दर्शनहरु बुझाउन सहयोग गरी राखेका छनकि यसको मापन सम्भव छैन। दशैं र तिहारको कुनै धार्मिक आधार उतीवेला मलाई वास्तै थिएन। यती थाहा थियोकि वर्षमा एक–एक पटक आउने दुबै पर्बले मज्जा लिएर आउँदछन्। मज्जा दिएर जान्छन्।

गजवको थियो हाम्रो कला संस्कृतिको शुक्ष्म मौलिकता। यसैले मेरो बाबु! यी हाम्रा कला संस्कृतिमाथिका अतिक्रमण मलाई सैह्य हुने छैन। तिमीसँग, तिम्रो लागि यी मौलीक कला संस्कृतिको जर्गेना गर्ने र सुदूर भविष्यसम्म, पृथ्वी रहेसम्म बचाई राख्ने प्रण गर्छु।

यी दुई पर्वमात्र कहाँ होर, मेरो श्यामल! तीज, गाई जात्रा, इन्द्र जात्रा, छठ, कुमारी पूजा, ठूली एकादशी, ल्होसार, सरस्वती पूजा, माघे संक्रान्ति, महाशिवरात्री, फागु पुर्णिमा (होली), घोडे जात्रा, राम नवमी, जनै पूर्णिमा आदि सबैसबै पर्बमा हामी केटाकेटी उत्तीकै उल्लाहदीत हुन्थ्यौं।

हाम्रा रसायुक्त कला संस्कृतिप्रति मनैदेखि आभार हुन्थ्यौ। धन्य हुन्थ्यौ। उसै बेलादेखी कामना गर्दथ्यौ कि हाम्रा यी सबै जीवन्त पर्वहरू सदियौं यस धर्तीमा रहिराखुन्। बाचिराखुन्। यिनमा कसैका खराब नजर नपरून्।

हे प्रीय! विज्ञानको अध्ययन र दार्शनिक चिन्तनले मलाई राज्यका सीमा, धर्मका नीति नियम, कानुनहरु कदापी उपयुक्त लागेनन्। यी सबै झुठा लागे। मेरा नजरमा विश्व ब्रम्हाण्ड बराबर छ। सम्पूर्ण मानब जाति, त्यती मात्र कहाँ हो र? सम्पूर्ण जीव जाति बराबर छन्। सम्पूर्ण मानव सेवा नै मेरा लागि सवैभन्दा ठूलो धर्म हो। सत्य र निष्ठा नै सर्वोत्कृष्ट कानुन हुन्।

अन्य सवै टाठा–वाठाहरुका दाउपेच लाग्छन्। उनीहरुले गरिब, निमुखा वर्गमाथि राज गर्ने भर्‍याङ्ग लाग्छन्। हे महान आत्मा! तिमी त्यस्ता सबै साघुँरा चीजबाट माथि उठ्नू।

 

निस्वार्थ मानवहित, जीवहित कार्य गर्नू। कसैलाई दुःख नदिनू, नलुट्नू, नफसाउनू, झुठ नबोल्नू, नठग्नू, आडम्बर नदेखाउनू। सधै सत्यको प्रयोग गर्नू। यस्ता गुणहरुले तिमीलाई स्वतन्त्रता दिनेछ।

हे प्रीय ! सुन्दैछु र देख्दैछु, आजकल हाम्रा संस्कृतिमाथि, हाम्रा कला र गौरवमाथि, हाम्रा आर्दश र धरोहरमाथि आडम्बर र खोक्रा लोलुपहरूबाट खुलेआम अतिक्रमण हुने प्रयासहरू भइराखेका छन्। तिहारमा हामीले पूजा गर्ने गाई काट्न उनीहरु उद्धत छन् रे। तिमी ढुक्क होउ, म वाचुन्जेल यो कदापी हुन दिनेछैन।

अन्तमा

हे प्रीय ! वेदान्तचार्य शङ्कराचार्य भन्छन्– ‘जगत झुठो हो। ब्रह्मा साँचो हो। ब्रह्मा अनादि अनन्त छ। जीवात्मा ब्रह्मा हो। यो सारा ब्रम्हाण्ड ब्रह्माबाट सृजीत छ। सवै तत्वहरु अन्तमा ब्रह्मामानै बिलीन हुन्छन्,’ त्यस्तै श्रीमद्भागवत गीतामा अर्जुन भन्छन्– ‘हे गोविन्द ! म न विजय, न राज्य, न सुख चाहन्छु। युद्धमा शत्रु पक्षमा सबै मेरा आफन्त छन्। यिनीहरुलाई मारेर आर्जेको यो राज्यको सुख भोग गरेर मैले के पो गर्नू’, प्रतिउत्तरमा श्रीकृष्ण भन्छन्– ‘हे अर्जुन! आत्मा न कहिल्यै जन्मन्छ, न मर्दछ। बाह्य देह मात्र नाशवान छ।”

त्यस्तै इसाई धर्म ग्रन्थ वाइवल भन्छ– ‘भगवानले जम्मा ६ दिन लगाएर दिन, रात, पृथ्बी, बोटबीरुवा, जनावर र अन्तमा मानिसको सृजना गरे।’

इश्लामीक धर्म ग्रन्थ कुरानको पनि यस्तै आशय छ– “अल्लाहले ६ दिनमा ब्रम्माण्डको सृजना गरे।” तर महर्षी जैमिनी भन्छन्– “ब्रम्हाण्डको सृष्टि ईश्वरले गरेका हैनन्। यो एउटा अदृश्य र रहस्यमय शक्तिबाट सम्भव भएको हो।”

 

अल्र्वट आइन्स्टाइन ब्रम्हाण्ड र जीव जगतको उत्पत्तिका बारेमा द्विविधामै रहे। स्टेफन हकिङ्ग, रिचार्ड डकिन्स, क्रिस्टोफर हिचेन्सहरु ब्रम्हाण्ड र जीव जगतको सृष्टि ईश्वरले गरेका होइनन् भन्छन्। तस्तै इभोलुसन सिद्धान्त भन्छ– “जीवको उत्पत्ति व्रम्हाण्डको उत्पत्ति भएपछि विभिन्न पदार्थहरुको मिश्रणबाट सम्भव भएको हो। पहिला न्यूट्रोन र प्रोटोन मिलेर हाइड्रोजन बन्यो, दुई हाइड्रोजन मिलेर हेलियम बन्यो। यसरी कयौं तत्वहरु बन्दै गए। यही क्रममा अक्सिजन बन्यो। हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यो। पानी बने सँगै एककोषीय जीव, वहुकोषीय जीव र अन्तमा मानिसको उत्पत्ति भयो।”

बिग वैंग सिद्धान्त भन्दछ– “सारा ब्रम्हाण्डको उत्पत्ति एक परमाणुबाट भएको हो। लगभग १३.७ अर्ब बर्ष पहिले अत्यन्त बढी घनत्व र गरम एक शुक्ष्म परमाणु महाविस्फोट  भएर ब्रम्हाण्डको उत्पति भयो। त्यस पश्चात् ब्रम्हाण्ड बिस्तार हुँदै गएर आजको ब्रम्हाण्डको आकार लियो। यो फैलदो छ।”

तर व्ल्याक होल सिद्धान्त भन्दछ– “भौतीक तत्वहरु खुम्चिदा छन्। मतलब संसार खुम्चिँदो छ।”

हे प्रीय! यी सबै बिबिध सिद्धान्तहरुबाट स्पष्ट हुन्छकि ब्रम्हाण्डको र जीवनको स्पष्ट नियम हालसम्म कसैलाई थाहा छैन। संसार लहै लहैमा घिस्रिएको छ। आडंबरी र पाखंडीहरु तुच्छ चिजको खोजीमा रौसीएका छन्। उनीहरु कदापी जीवनको सत्यम् शिवम् सुन्दरम् पक्ष छुट्टयाउन सक्ने छैनन्।

म तिमीसँग यती मात्र भन्छु– “तिमी सधै आफ्नो स्वतन्त्रतामा जिई रहनेछौ र म तिमीलाई तिम्रो स्वतन्त्रता दिलाउन लढिरहनेछु।”

(लेखक मणिपाल विश्वविद्यालय, कर्नाटकमा मानिसको शरीर संरचना विज्ञान (ह्युमान एनाटोमी) मा विद्यावारिधि शोधकर्ता पनि हुन्।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.