बहकिएको बहस


कुरो सामाजिक सञ्जालकै हो। गत साता एउटा कुरामा सामाजिक सञ्जाल अझ भनौं ट्विटरमा अप्रिय बहस, अनावश्यक ध्रुवीकरण र कित्ताकाट भयो। विवाद २ जनाबाट शुरू भयो।

विनु सुवेदीले काठमाडौंको कुनै स्कुलले छोरीको भर्ना फारममा बाबुको फोटो टाँस्नै पर्ने र बाबुकै आम्दानीको स्रोत खुलेको कागज हुनुपर्ने बाध्यात्मक व्यवस्थाको विरोध गर्नुभएको थियो।

त्यसलाई डाक्टर र लेखक रामेश कोइरालाले बकम्फुसे कुरा भनिदिनुभयो र रंग हेरेर नुहाउन दिएनन् वा वर्ण हेरेर चिया ख्वाएनन् भने झैं सार्वजनिक खपतको लागि मात्र भनिएको झैँ अर्थ लाग्ने गरी ट्विट गर्नुभयो।

त्यसपछि पक्ष र विपक्षमा बहसले तीव्र रफ्तार समात्यो। शायद ट्विटरमा भिडेरमात्र पार नलाग्ने ठानेर होला, रामेशले एउटा ब्लग  नै लेख्नुभयो।

त्यसको प्रतिउत्तरमा फेरि विनु सुवेदीको लेख बाह्रखरीमा छापियो।

यो बहसमा मलाई उदेक लागेको कुरा के हो भने तथ्यमा धेरैजना गएकै थिएनन्। विनुको पक्षमा बोल्नेहरूले रामेशलाई पितृसत्तावादी, महिलाबिरोधी, महिला अधिकार विरोधी आदि भनिरहे भने विनुलाई त डलरवादी, अधिकारवादी, ह्यानत्यान, अपाच्य गाली नै पनि ‌ओकल्न भ्याए।

तर प्रश्नको चुरो कुरो के थियो भने १ कक्षामा भर्ना गर्दा नै बाबुको फोटो टाँस्नुपर्ने बाध्यता गराउने विद्यालय कुन हो? त्यत्तिकैमा डिएभी स्कुलको फारम आयो जहाँ आमाबाबु दुवैको फोटो टाँस्नुपर्ने बाध्यात्मक छ। तर यसलाई डाक्टर रामेशले पनि एउटा भारतीय विद्यालय भनेर नजरअन्दाज गरिदिनुभयो। तर त्यो भारतीय विद्यालय त यहीँ जावलाखेलमा रहेको, नेपाली विद्यार्थीलाई नेपाली पाठ्यक्रम नै पढाउने विद्यालय पो हो त।

म सधैँ भन्ने गर्छु व्यक्तिको लागि लोकतन्त्र वा प्रजातन्त्र भनेको समान छनोटको अवसर पनि हो। यस्तोमा त्यो विद्यालयमा यस्तो व्यवस्था छ भने ‘अर्कोमा पढाउ न त, किन निहुँ खोज्नु’ भन्न मिल्दैन। त्यसैले समस्या एउटा मात्रै विद्यालयमा छ भने पनि त्यसलाई सुधार्न लाग्नुपर्छ जुन दिशातर्फ यो बहस जान सकेन।

यो किन भयो? यसका लागि सामाजिक मिडियाको विशेषतामा जानुपर्छ। यसका धेरै फाइदा छँदाछँदै नकारात्मक पक्ष के देखिएको छ भने जब मानिस सामाजिक सञ्जालको बहसमा उत्रिन्छ उसले आफ्नो अडान छोड्दैन। आफ्नो अडान उपयुक्त छैन भन्ने लाग्यो भने पनि उसले सच्याउँदैन, बरू प्रतिरक्षाको लागि अडान झन्झन् कसिलो बनाउँदै जान्छ। यसले गर्दा बहस झन् ध्रुविकृत हुन्छ र व्यक्तिगत अहम् (इगो) को लडाइँको तहमा पुग्छ। ‍

यस्तोमा सत्यतथ्य पत्ता लगाउने सहज बाटो पनि बिर्सिइन्छ। जस्तै माथिकै उदाहरणमा बिनुले पनि विद्यालयहरुको नाम भनेर वहसलाई सही गति दिनसक्थिन्। त्यसो भएको भए यो अनावश्यक र अनुचित प्रावधान सच्याउन विद्यालयहरुलाई बाध्य पार्न सकिन्थ्यो।

अथवा रामेशले पनि सिधै मेन्शन गरेर सोधेर सत्यतथ्य पत्ता लगाउन सक्नुहुन्थ्यो। यसरी एउटा महत्वपूर्ण बहस व्यक्तिगत आरोपप्रत्यारोपमा गएर टुङ्गियो, र एउटा महत्वपूर्ण विषय ओझेल पर्‍यो।

यसका लागि कम्तीमा हामी सबैले सत्यतथ्य पत्ता लगाउने बाटो छँदाछँदै आफ्नो तर्क राखिहाल्ने हतार नगर्दा राम्रो हुन्छ। मैले पढाउँदा वा पत्रकारिताका तालिमहरूमा बर्ट्रान्ड रसेलको एउटा भनाइको सधैँ प्रयोग गर्छु जुन यहाँ पनि सान्दर्भिक देख्छु। उनले भनेका छन् ‘एरिस्टोटलले भने कि पुरुषको भन्दा महिलाका दाँत कम हुन्छन् जबकि उनी २ पटक विवाहित हुन् र आफ्नै श्रीमतीको मुख खोलेर हेरेर यो भनाइलाई पुष्टि गर्ने लेठो गरेनन्।’

तसर्थ सम्भव भएसम्म तथ्यमा प्रवेश गरेर बहस गर्दा सबैलाई राम्रो र बहस पनि उपयोगी हुनसक्छ। अझ पत्रकार वा विचार निर्माताहरुले त यो तर्फ झन् ध्यान दिनुपर्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.