अमेरिकाको टेक्सासमा ब्लु बनेट फूल फुल्दा!


फूलको विशेषता वा स्वभाव नै फुल्ने हो। बास्ना र सुन्दरता छर्ने हो। जंगल.बाटो, फूलबारी र कॉडाबीच फुलिदिन्छ। महल र झुपडी दुवैमा हॉसिदिन्छ। कोही आओस वा नआओस, कसैले उसको सुभाष लियोस वा नलियोस,बस फुलिरहन्छ। मुस्कुराई रहन्छ। अरुलाई आनन्दित बनाईरहन्छ।

फुल्नु भनेको कुनै पनि जीवनको उत्कर्ष हो। बिउबाट विरुवा हुदै फूलेपछि त्यो जीवन परिष्कृत भयो। सुगन्ध छर्‍यो र सबैलाई आकर्षित गर्‍यो। त्यसैले होला नारायण गोपालले गाएको कालजयी गीतमा ‘म त लाली गुराँस भएछु बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु…’भनेर गीतकार कविले भनेका छन्।

कतिपय फूलका छुट्टै विशिष्टता र पहिचान हुन्छन। नेपालको लाली गुरॉस, जापानको साकुरा वा चेरी, बेलायतको गुलाब, फ़्रान्सको कमल जस्तै प्रिय र प्रसिद्ध छ टेक्सासमा बसन्तमा फुल्ने जंगली ब्लु बनेट (Blue bonnet) फूल। आजभोलि अमेरिकाको टेक्सासका रनबन र मानिसहरुका मनहरुमा ढकमक्कै फुलेको छ टेक्सास राज्यको राष्ट्रीय फूल (state flower) ब्लु बनेट ! यस्को बैज्ञानिक नाम Lupinus texensis हो ।

अधिकांश फूलहरु निलो रंगका भएपनि अन्य रंगहरुमा पनि र मुख्यतया अरु पॉच प्रकारमा यस प्रजातिका रंगिबिरंगी प्राकृतिक वनफूलहरु जस्तै Lupinus subcarnosus, L. havardii, L. concinnus, L. perennis, L. plattensis) ब्लु बनेटको सुन्दरताले बसन्तमा टेक्सासका हाईवे छेउ, चरन र वनजंगलहरु मनमोहक हुन्छन । मार्चको दोस्रो हप्ता देखि फूल्न थालेर अप्रिलको दोस्रो हप्ता सम्ममा उत्कर्षमा पुग्ने वा फक्रिने यो फूलको मुस्कानले स्वर्गमय देखिन्छन वनजंगल, पार्क उद्यान, बाटोघाटो अनि कतिपय घरका ब्याकयार्ड र आँगनहरु समेत र मन पुलकित बनाएर रमाउछन मानिसहरु यो मौसममा।

मानिसहरु टेक्सासको पहिचानसंग जोडिएको छ भनेर गर्व गर्छन यो वनफूल प्रति। ब्लु बनेट फूलको नामबाट विभिन्न स्थानको नामांकन, बिभिन्न ठॉउमा लाग्ने यससंग संबन्धित मेला,पर्ब र कविता, गीतसंगीत साथै व्यापारिक ट्रेडमार्कहरु समेत देख्न र अनुभव गर्न सकिन्छ यहॉ।

टेक्सासका राजमार्ग र सडकहरुको सुन्दरता क़ायम राख्न यो फूललाई राज्य र जनस्तरबाट संरक्षण र संबर्द्धन गरिएको कुरा प्रत्येक वर्ष संबन्धित निकायले विभिन्न जंगली प्रजातिका फूल, बोटबिरुवाहरु रोप्न र हुर्काउन गरेको प्रयासबाट बुझ्न सकिन्छ। साथै विभिन्न विश्वविद्यालयहरुका वनस्पतिशास्त्री र फूलप्रेमीहरुको अध्ययन अनुसन्धान र अवलोकनमा समेत ब्लु बनेट प्रयोग गरिन्छ।

टेक्सासको आन्तरिक पर्यटन प्रबर्द्धनमा त यस्को योगदान कम छैन। मार्चको पहिलो सप्ताह पछि बसन्तको बिदा र विशेष गरेर शनिबार र आइतबार छुट्टिका दिन हिडडुल गर्ने मानिसहरु सवारी रोकेर हाईवेका छेउछाउमा फूलेका ब्लु बनेट फूल हेर्न र तस्बिर खिच्न व्यस्त देखिन्छन ।

धेरै ब्लु बनेट फूल्ने क्षेत्रहरुमा सपरिवार, साथीभाई र प्रेमी प्रेमिकाहरु क्याम्पिन्ङ्ग र पिकनिक गर्न निकै लामो दूरिबाट वा अन्य राज्यहरुबाट पनि भ्रमण गरेर नाचगान र खानेपिउने गरी रमाउँछन् र काममा विदा नमिल्नेहरु समेत आफ्नै कार्यस्थल वा कार्यालयको नजिकैका पार्क र वरिपरि फूलेका ब्लु बनेट फूलहरुसंग बसेर लन्च खाने र तस्बिर खिच्ने गरि प्राकृतिक सौन्दर्यको आनन्द लिन्छन् ।

सपरिवार,आफ्ना बालबालिका र पाल्तु जनावारहरुको समेत ब्लु बनेट फूलमा तस्बिर खिचेर कलात्मक फ्रेममा सजाएर घरमा राख्न र सामाजिक संजालमा सेयर गर्न अमेरिकनहरु पनि निकै शौखिन छन। यो पंक्तिकार स्वयं पनि प्रत्येक वर्ष परिवार र साथीभाईसंग एकदिन यो फूल र प्रकृतिसँग रमाउने गरेको छ।

बाहिरी ऑखाले र मनले हाम्रै हिमाली भेगको लाली गुंरास,पहाडी खण्डको टांकी फूल, तराई फाटको तोरी फूल र हाम्रा वनपाखामा फुल्ने प्याउली र सुनाखरी खोजेपनि चेतनाको ऑखाले यिनै ब्लु बनेटमा ति फूलहरु फूलिरहेको हेर्ने र रमाउने प्रयास गर्दैगर्दा मनले फेरि भन्छ “फूलको आँखामा फूलै संसार!”र खुशी थपिन्छ ह्दयमा।

फूलको चर्चा गर्दैगर्दा अमेरिकीहरु फूल,बोटविरुवा र हरियालीका पारखी हुन्छन भन्न कन्जुस्यॉई गर्नु हुदैन। प्राय: सहरहरुका प्रत्येक घरले एक वा दुई छायाँ वा शितल दिने बोटविरुवा रोपेर हुर्काउनु पर्ने नीति नियम,अधिकांश घरहरुमा फूलबारि र बरबगैचा अनि प्रत्येक टोल र छिमेकको नजिकै पार्क उद्यानहरु, सड़क छेउमा बोटविरुवा र तिनिहरुको संरक्षण संबर्द्धनमा जनता र स्थानीय सरकारले गरेको काम र हरियाली कायम राख्न, वातावरण सुन्दर बनाउन गरेको प्रयास उल्लेखनीय छ।

अन्त्यमा ब्लु बनेटले छर्ने सौन्दर्यता र आनन्द कालो गोरो, एसीयन अमेरिकन, धनी, गरीब, ठूलो, सानो, ख्याती प्राप्त, सामान्य व्यक्ति सबैलाई एकैनासको छ। विभेदकारि छैन र फूलले विभेद गर्दैन पनि। त्यस्तै सबैमा यो फूल हेर्ने,उस्को समिपमा जान चाहने ईच्छापनि उस्तै छ सत्यम् शिवम् सुन्दरम् जस्तै। यो अस्तित्वको सृजना र प्रकृतिको नियम विचित्रको छ । हरेक प्राकृतिक चिजहरुको स्वभाव अद्वितीय र सुन्दर छ।

यो ब्रम्हाण्ड, यो चराचर जगतलाई अनुभुत गर्ने हो भने, अन्तरमुखी भएर चेतनाको भित्री नयनले हेर्ने भने परमात्मा यहि छ, स्वर्ग यहि छ । सत्य यहि छ। प्रेम करुणा यहि छ। चिरस्थायी आनंद यसैमा छ। खाँचों छ त केवल यो अस्तित्व र जीवनको बिज्ञान र रहस्य बुझ्ने दिव्यचक्छु, चेतना र ज्ञानको अनि यो जीवन सुन्दर र प्रेमिल बनाउने कलाको!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.