मदिरामुक्त अमेरीकाको ईतिहास र मदिरामुक्त नेपालको कल्पना


अपराध र भ्रष्टचार कम गर्न, सामाजिक समस्याहरुको समाधान गर्न र स्वास्थ्य र स्वच्छता सुधार गर्न भन्दै अमेरीकाले संबिधानको १८ औ संशोधन मार्फत जनवरी १९२० देखी मदिराको (रक्सी, बियर, वाईन लगायत मदिरा जन्य पेय पदार्थ) उत्पादन, ढुवानी, आयात तथा बिक्रि बितरणमा निषेध लगायो । यसलाई अमेरीकामा “नोबल प्रयोग” भनिएको थियो र अमेरीकी ईतिहासमा उक्त समयलाई बिशेष कालखण्ड मानिन्छ । संशोधनले धार्मिक, घरायसी तथा औषधिको रुपमा मदिरा प्रयोग गर्न भने छुट दिएको थियो । उक्त संशोधनले देशमा मदिरा उत्पादक, ब्रोकर, थोक तथा खुद्रा व्यापारीको ईजाजतपत्र खारेज गरेको थियो ।

प्रारम्भिक लक्षण सकारात्मक देखिएको थियो, मदिराजन्य गिरफतारीमा कमि आएको थियो, मदिरा सेवनमा ३० प्रतिशतले कमि आएको अनुमान गरीएको थियो । तर, जो मदिरा पिउन चाहन्थे उनिहरु पहिला भन्दा अत्याधिक धेरै पिउन थाले । मदिरा निषेधका पछाडि चार कारण थिए । पहिलो, जब अमेरीका १९१७ मा पहिलो बिश्व युद्धमा प्रबेश गर्यो त्यसले राष्ट्रिय स्तरमै मदिरा नपिउने मनस्थितीको बिकास भएको थियो । दोस्रो, मदिरा निषेध गर्दा महत्वपुर्ण अन्न बाली खास गरी जौको उपलब्धता बढ्ने अनुमान गरीएको थियो । तेस्रो, मदिराको प्रयोग भगवानको आश्थाको प्रतिकुल गईराखेको भन्ने बुझाई थियो र चौथो, देशका युवाहरु युद्धमा होमिईराखेको बेला केहि अमेरीकनहरु मदिरामा रमाउनु नैतिक थिएन ।

मदिरा निषेधको निर्णयले जनस्तरबाट ब्यापक समर्थन पायो र महिलाहरुले खुलेरै यसको स्वागत गरे । महिलाहरु किन पनि बढि खुसी थिए भने मदिराले परीवार तथा दम्पतीको सम्बन्धमा नकारात्मक असर गरीरहेको थियो । तर, एउटा ठुलो तप्का भने यसको बिरोधमा थियो र यो निर्णय कुनै पनि हालतमा सफल नहुने तर्क गरीरहेका थिए । उनिहरुको तर्क थियो, संबिधान परिक्षण गर्ने दस्ताबेज होईन ।

मदिरा निषेधको कानुन पास भएसँगै, कपडा, घरका सामान, घरजग्गा कारोबार, सफ्ट पेय पदार्थ, अंगुर जुस लगायतको ब्यापारमा ठुलो सुधार आउने अपेक्षा गरीएको थियो । अमेरीकनहरु नयाँ तरीकाले अल्कोहल बिनाको मनोरञ्जन गर्दछन् र ब्यापार फस्टाउँछ भन्ने नाचघर तथा रेष्टुरेन्टहरुको अपेक्षा थियो । तर, अपेक्षा अनुसार कुनै पनि क्षेत्रमा सुधार आएन । धेरै नाचघर तथा रेष्टुरेन्टहरु धरासायी भए । हजारौको संख्यामा मानिसहरु बेरोजगार भए ।

प्रतिबन्धको सबैभन्दा गम्भीर प्रभाब सरकारी कर राजस्वमा पर्यो । न्युयोर्क राज्यमा, राजस्वको लगभग ७५ प्रतिशत मदिरा करबाट प्राप्त हुने गर्दथ्यो । मदिराको प्रतिबन्धसँगै यहाँको बजेट आय करमा निर्भर रहनु पर्यो । यस प्रतिबन्धमा रहेका “लुपहोल” को बिपक्षीहरुले दुरुपयोग गरे । डाक्टरको सिफारिसमा औषधिको रुपमा फार्मेसीहरुले वाईन बेच्न पाउने प्राबधानको दुरुपयोग गर्दै मदिरा संचालकहरु योजनाबद्ध तबरमा फार्मेसी दर्ता सुरु गरे र मदिराको कालोबजारी गर्न थाले । फलस्वरुपः प्रतिबन्धको समयमा न्युयोर्क राज्यमा तिन गुणा बढि फार्मेसीहरु दर्ता भए । औषधिको लागी आबश्यक वाईन सरकारले उत्पादन गर्दथ्यो । धार्मिक उद्देश्यको लागी मदिरा किन्न अनुमती दिइएकोले हजारौको संख्यामा मानिसहरु चर्च तथा सभाघरहरुमा सदस्य भए जो मदिरा खरीद गर्न सक्दथे । अर्कोतर्फ घरमा प्रयोग गर्ने उद्देश्यले घरमा मदिरा बनाउन बन्देज नलगाएकोले अधिकांश अमेरीकनहरु घरमा मदिरा बनाउन बिज्ञ भए । मदिरा निषेधको कानुन अक्टोबर १९१९ मा पास भई ११ महिना पछि जनवरी १९२० देखि लागु भएको थियो, यो अबधिमा अमेरीकनहरु ठुलो मात्रामा मदिरा घरमा भण्डारण गरेर राखे ।

कानुन पालना गराउने सन्दर्भमा समेत मदिरा प्रतिबन्धको प्रभाब नकारात्मक पर्यो । प्रहरी अधिकारी तथा प्रतिबन्धित कानुन पालना गराउने एजेन्सीहरु नै पैसाको प्रलोभनमा परी कालोबजारीलाई मलजल गरे । अबैध मदिराको ब्यापारले लाखौ अमेरीकनहरु अपराधी पेसामा संलग्न भए । अदालत, जेलघरले अपराधि धान्न सक्ने अबश्था रहेन र अमेरीकी ईतिहासमा पहिलो पटक न्यायिक प्रणाली सम्झौतामा परिणत भयो । अपराधिक गतीबिधिमा संलग्न लाखौंको संख्यालाई अदालत तथा जेलमा पाल्न र मदिराको नियन्त्रण गर्न ठुलो मात्रामा देशको ढुकुटी रित्तियो र आर्थिक रुपमा राज्यहरु तथा देश संकटमा पर्न थाल्यो । सन् १९२० को दशकको अन्य सम्म गिरोह हिंसा तथा अन्य अपराधिहरुको संजाल निणन्त्रण भन्दा बाहिर जान थाल्यो ।

मदिरा उत्पादक तथा बिक्रेताहरु युवाहरुलाई आकर्षण गर्न निःशुल्क खाना, जुवा, वेश्यावृत्ति र अन्य अनैतिक गतिबिधि र सेवाहरु प्रदान गरी उत्पे्ररीत गर्ने प्रयास गरे । यस्तै किसिमका अनैतिक गतीबिधिले प्रहरी अधिकारी तथा एजेन्सीहरुलाई प्रभाबमा पार्ने कोशिष गरे । ठुलो संख्यामा अबैध मदिरा उत्पादन, बिक्रि तथा अबैध पेय केन्द्रहरु संचालन भए । सबैभन्दा कुख्यात उदाहरण “शिकागो ग्याङस्टर अल क्यापोन” थियो, जसले अबैध मदिरा उत्पादन तथा बिक्रिबाट बार्षिक ६० मिलियन अमेरीकी डलर कमाउने गर्दथ्यो । उनिहरु सहरमा आबश्यक मदिरा उत्पादन गरीदिएका थिए र प्रत्येक समुहले बिभिन्न ठाउँको जिम्मा लिएर काम गरीरहेका थिए ।

ठुलो मात्रामा मदिरा अबैध रुपमा क्यानडा, म्याक्सिको तथा युरोपबाट आयात हुन थालिसकेको थियो । अबैध मदिराको उच्च मुल्यले अन्तत मध्य तथा उच्च बर्गलाई  कुनै असर गरेन भने काम गर्ने वर्ग र गरीबलाई मात्र मदिरा निषेध गरेको जस्तो देखिन थाल्यो । धेरै नयाँ पिडिले कानुनको वास्ता गर्न छोडे । अमेरीकनहरु पिउन चाहन्थे र निषेधको समयमा पिउने महिलाको संख्या अत्याधिक बढ्यो । महिलाहरु नै मदिरा निषेधको बिरोध गर्न थालिसकेका थिए । जुन उद्देश्यका साथ मदिरामा प्रतिबन्ध लगाईएको थियो ति उद्देश्यहरु पुरा त भएनन् नै उल्टै भ्रष्टचार, हत्या, हिंसा, अराजकता, चोरी, अपराध, कालोबजारी, महङ्गी बढ्यो । अन्ततः उक्त निर्णय लामो समयसम्म टिक्न सकेन र सन् १९३३ मा मदिरामा लगाईएको प्रतिबन्ध संबिधानको २१ औ संशोधन मार्फत फुकुवा गरीयो । अमेरीकी ईतिहासमा यो नै पहिलो संशोधन थियो जुन एउटा संशोधनलाई अर्को संशोधनले खारेज गरेको थियो ।

मदिरा निषेध कानुन सफल नहुनुका पछाडी छ वटा कारणहरु थिए । पहिलो, कानुन पालना गराउने एजेन्सीहरु १५०० को संख्यामा थिए जुन प्रार्याप्त थिएन । दोस्रो, अमेरीकाको अन्य देशसँगको सिमानाको आकारले एजेन्सीहरुलाई मदिराको अबैध कारोबार रोक्न असम्भब थियो । तेस्रो, एजेन्सीहरु नै भ्रष्टचारमा सामेल भए र कालोबजारीलाई सहयोग गरे । चौथो, मुख्य समस्या धेरै अमेरीकनहरु नै मदिरा निषेधको समर्थन गर्न छोडे र अबैध रुपमा पिउन थाले । पाँचौ, धेरै ग्याङ्गस्टारहरु अपराधिक गतिबिधिबाट पैसा कमाउन थाले र । छैंटौ, मदिरा निषेधको बेला पहिला भन्दा संगठित अपराध तथा हत्याहिंसा अत्याधिक धेरै भयो ।

तथ्याङ्कलाई हेर्ने हो भने नेपालको प्रति ब्यक्ति प्रति बर्ष शुद्ध मदिराको प्रयोग २ लिटर छ जबकि सबै भन्दा बढि बेलारुसको १७.६ लिटर छ । अमेरीका, जापान, चिन, भारतको प्रति ब्यक्ति मदिरा खपत क्रमशः ९.२, ७.२, ६.७, र ४.३ लिटर छ ।

अफगानिस्तान, बङलादेश, बु्रनेई, ईरान, कुबेत, लिबिया, साउदि अरब, सुडान, यमन, पाकिस्तान लगायतका देशहरुमा मदिरा निषेध छ । प्रायः यि देशहरु मुस्लिम बाहुल्य देशहरु हुन् । हाम्रै छिमेकी राष्ट्र भारतका गुजरात, मनिपुर, मिजुराम, बिहार लगायतका राज्यहरुमा मदिरा निषेध छ । हामी भारतका राज्यमा भएका मदिरा निषेधलाई बाहिरबाट हेरी सफल वा असफल भन्न सकिदैन र त्यसको लागी केहि बर्ष पर्खनु नै बेस हुन्छ ।

नेपाल प्रति ब्यक्ति मदिरा खपत हुनेमा १९१ देश मध्ये १४९ मा पर्दछ । नेपालको प्रति ब्यक्ति मदिरा खपत अत्यन्तै कम हो तर मदिराको सेवन सहि समय, ठाउँ र अबश्थामा हुन नसक्दा यसले समाजमा नकारात्मक असर पारीराखेको छ । म सानो कक्षामा पढ्ने स्कुलमा एक जना गुरु हुनुहुन्थ्यो जो मदिरा सेवन नगरी स्कुल आउनै नसक्ने । त्यस्ता कति गुरुहरु होलान् नेपालमा र उनिहरुले अबोध बालबच्चालाई के सिकाईराखेका होलान । एकजना मसँगै काम गर्ने साथि थियो, उ मदिरा सेवन नगरेसम्म आफ्नो हाकिमलाई फोन गर्नै नसक्ने । यस्ता कति कर्मचारी होलान नेपालमा जो मदिरा सेवन गरेर कार्यालय आउने । मदिरा सेवन गरी श्रीमती, बालबच्चा तथा परीबारलाई पिटने, थर्काउने तथा समाजमा अराजकता मच्चाउने समाचार त बेलाबेलामा आईरहन्छन् । केहि ब्यक्तिलाई मदिराको यस्तो सनक चढ्दछ कि उ सार्बजनिक सम्पती तोडफोड गर्दै हिड्छ । एक पटक बुटवलबाट काठमाण्डौं बसमा यात्रा गर्दै थिए, सँगैको सिटको यात्रुले मादक पदार्थ सेवन गरेको रहेछ, मलाई काठमाण्डौ पुग्न ठुलै सकस पर्यो । कति यस्ता यात्रु होलान् देशमा जो दिउँसै मदिरा सेवन गरी सार्बजनिक यातायात तथा सार्बजनिक स्थलमा अरुलाई अशान्त बनाईराखेका हुन्छन् । मदिरा सेवन गरी सबारी साधन चलाउँदा कति यात्रुले अकालमा ज्यान गुमाईरहनु परेको छ । कति होटल होलान् जो सडकको छेउमा पासो थापेर सवारी चालकलाई मदिरा सेवन गराउने । मासु पसल, कपडा पसल, फलफुल पसल, तरकारी पसल, जुत्ता पसल, किराना पसल, चिया पसल, होटल, कुनै पसल छैन होला जहाँ मदिराको ब्यापार नहोस् । यि हुन मदिराका दुरुपयोग । यो हो सुधार गर्नु पर्ने पक्ष ।

मदिरामुक्त अमेरीकाको परिणामबारे उल्यख गर्नुको कारण नेपाललाई मदिरामुक्त बनाउनु हुँदैन भन्ने पक्कै होईन । यसको उदेश्य मदिरामुक्तले ल्याउन सक्ने जोखिम नियन्त्रणको तरारी बिना गरीने निर्णय दिर्घकालीन हुन सक्दैनन् भन्ने हो । यसले आर्थिक, सामाजिक, साँस्कृतिक तथा कानुनी रुपमा भबिश्यमा ल्याउन सक्ने सकारात्मक तथा नकारात्मक परिणामको गहन अध्ययन र बहस जरुरी छ, ताकि एक पटक गरीसकेको निर्णय छिन भरमा फिर्ता लिन नपरोस् । प्रसङ्ग नेपाललाई मदिरामुक्त गर्ने वा मदिरा ब्यबस्थित गर्ने भन्ने हो । मुख्य प्रश्न अधिकांश नेपाली नागरीकले मदिरा निषेधमा समर्थन गर्लान कि नगर्लान भन्ने हो । यदि उनिहरुले समर्थन गरेनन् भने यसले घुषपैठ, भ्रष्टचार, महँगी र कालोबजारीलाई मलजल गर्ने छ । हामीसँग भारतले नेपालमा नाकाबन्दि लगाएको बेलाको दृष्टान्त ताजै छ । जब नागरीकलाई ग्यास तथा पेट्रोलको सहज आपुर्ती हुन सकेन उनिहरु बाध्य भएर कालोबजारीलाई साथ दिन तयार भए किनकि यो उनिहरुको बाध्यता थियो । नागरीक तयार हुँदा मात्र यसको कार्यान्वयनमा सहज हुनसक्दछ । अर्को समस्या भारतसँगको खुल्ला सिमाना हो र भारतबाट अहिले पनि मदिरा नेपाल आयात हुने गर्दछ । के मदिरा निषेध पश्चात खुल्ला सिमानाबाट हुन सक्ने घुसपैठ रोक्न सकिएला ? देशको भ्रष्टचारको अबश्थाको त्यति धेरै चर्चा गर्नु नपर्ला । के कारोबारीलाई साथ दिई राज्यका संयन्त्रको अबैध पैसा कमाउने धन्दा रोक्न सकिएला ? के यसको कार्यान्वयन पश्चात अपराधिक गतीबिधि, सामाजिक हिंसा, घरायसि हिंसा तथा भ्रष्टचारमा कमि आउला ? कानुनको नियमन गर्न कस्तो संयन्त्र बनाउँला ? मदिराको निषेधले नेपालको पर्यटन क्षेत्रमा कुनै असर पर्ला कि नपर्ला ? यि प्रश्नहरु अनुत्तरीत हुनु हुँदैन ।

अन्त्यमा, नेपालमा मदिराको प्रयोग भन्दा दुरुपयोग बढि भएको र यसले परिवार तथा समाजमा नकारात्मक असर गरेको छ भन्नेमा दुई मत रहेन । मदिराको उत्पादन, बिक्रि बितरण तथा उपयोगमा उचित मापदण्ड बनाई अगाडि बढनु उपयुक्त हुन सक्दछ । यसको लागी पहिलो सुधार, मदिरा बिक्रिको लागी अनिबार्य लाईसेन्स लिनु पर्ने प्रावधान बनाउनु पर्दछ र मदिरा बिक्रि गर्नेले मदिरा बाहेकका सामान बिक्रिमा रोक लगाउनु पर्दछ । निश्चित उमेर तोकि कम उमेरकाले मदिरा खरिद तथा बिक्रि गर्न निषेध गर्नु पर्दछ । मदिरा खरीद गर्नेले अनिबार्य फोटो सहितको उमेर खुल्ने परिचय पत्र देखाउनु पर्ने बाध्यता गर्नु उपयुक्त हुन्छ । महिनामा एक ब्यक्तिले कति सम्म किन्न पाउने भन्ने नियम बनाउन सकिन्छ । स्थानिय स्तरमा उत्पादन हुने मदिराको छुटटै मापडण्ड बनाई अनिबार्य उत्पादन लाईसेन्स लिनु पर्ने ब्यबस्था गर्न सकिन्छ । सार्बजनिक स्थलमा (स्कुल, यातायात, हस्पिटल, पार्क, मठमन्दिर लगायत) वा समाजमा अशान्त हुने गरी मदिरा सेवन गर्नेलाई हदै सम्मको जरिवाना र कार्बाहिको ब्यबस्था गर्नु पर्दछ । भारतको गोवामा जस्तै नेपालका केहि स्थानहरु मदिरा बिक्रि तथा उपयोगमा खुल्ला राख्दा यसले आन्तरीक वा वाहय पर्यटकलाई बढावा दिन सक्दछ । “मदिरा खुल्ला” ठाउँ भनेर प्रत्येक बर्ष फरकफरक ठाउँलाई तोक्न सकिन्छ ।

मदिराको उत्पादन, बिक्रि तथा उपयोगलाई ब्यबस्थित र सभ्य बनाउन तर्फ ध्यान दिनुपर्दछ । भारतको बिहार राज्यलाई आधार मानि नेपालमा मदिरा निषेध गर्न सकिन्छ भन्नु काल्पनीक मात्र हुन्छ ।

मदिरामुक्त नेपाल जोखिमपुर्ण देखिन्छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.