सिंगापुरबाट नेपालले सिक्नुपर्ने पाठ


अहिले नेपालमा व्याप्त रूपमा चर्किएको आवाज हो विकास, सम्वृद्धि र रोजगारी। यसकारण नै नेपालमा अनेकौ राजनितिक आन्दोलन र संघर्ष हुँदै अहिलेको अवस्थासम्म आइपुगेको छ। सम्वृद्धिको लडाइको लागि नै नेपालका हजारौं वीर सपुतहरूले जीवनको आहुति दिएका हुन्। चाहे त्यो १९९७ सालको जहानियाँ राणा शासनको अन्त्यको लागि भएको आन्दोलन होस्। या २००७ , २०१७, २०३६, २०४६, २०६२/६३ साल होस्। सबैको एउटा नै मूल मर्म थियो ( राजनैतिक स्थायित्व प्राप्त गरी नेपालमा सम्वृद्धिको श्रीगणेशाय गर्ने।

तर नेपालले सोचेजस्तो आशा गरेको सम्वृद्धि पाउन सकेन। त्यसको दुर्भाग्य भनौं , अहिले करिब ४३ लाखभन्दा बढी देशको मेरुदण्ड मानिने युवाहरू विदेश पलायन छन्।

कुनै पनि मुलुकको युवाशक्ति त्यो देशको मुख्य आय श्रोत नै हो, तर बिडम्बना दूध दिने लैनो भैंसी पराइले कौडीको भाउमा प्रयोग गरिरहेको छ। यो हाम्रो तितो यथार्थ हो। हुन् त मनसुनका गह्रौं थोपाहरू भीमकाय पहाडका टाकुरा र चट्टानमा जबसम्म ठोक्किएर हण्डर खाँदैन, तबसम्म वर्षातको रूपमा जमिनमा बज्रिन सक्दैन। त्यसपछि मात्र यो सुन्दर धर्तीले वर्षातमार्फत हराभरा पाउँछ। यसै सन्दर्भमा वाम सरकारले अहिले मुलुकको बागडोर सम्हालेको छ । वर्तमान सरकार सत्तामा पुग्नु उनीहरूले ठूलो सपना देखाएर होइन। उनीहरूले आफ्नो घोषणा पत्रमा भनेका थिए-हामी स्थिर सरकारमार्फत मुलुकमा विकास र सम्वृद्धि दिने छौं।

उक्त घोषणा पत्र नै ओलीको लागि सत्ता प्राप्तिको भर्यांङ्ग बनेको छ। यसबाट प्रस्ट हुन्छ नेपाली जनता विकास, सुशासन र सम्वृद्धिको लागि विचलित छन्।

यो आलेख तयार पार्नुको मुख्य कारण नेपालले कसरी सम्वृद्धिको बाटोमा फड्को मार्न सक्छ भन्ने कुरामा सिंगापुरको विकाससँग तुलना गर्नु हो।

एउटा असल शासक लि क्वानले मलेसियाबाट टुक्रिएको सानो टापुलाई एकै पुस्तामा कसरी अहिले विश्वको मानचित्रमा अविकसित राष्ट्रबाट कसरी एक विकसित राष्ट्र बनाए ? लिले सन् १९९० सम्म ३० वर्ष मुलुकलाई नेतृत्व दिएका थिए। उनले एसियाकै गरिब द्विपीय राष्ट्र सिङ्गापुरलाई कसरी समृद्ध र बलियो आर्थिक केन्द्रका रूपमा रुपान्तरण गरेका थिए? एकजुट भए एकै पुस्तामा मुलुकले काँचुली फेर्न सक्छ भन्ने यो नेपालीको लागि गतिलो सन्देश हुन सक्छ। साथै, गम्भीरता पूर्वक लिने हो भने उक्त कुरा ओली सरकारको लागि अवश्य पनि प्रेरणाको श्रोत बन्न सक्छ। के उनले सिंगापुरबाट पाठ सिक्लान्? सिंगापुरको सम्वृद्धिको कथालाई सटिक रूपमा यहाँ चर्चा गरौं

सिंगापुर उदयको त्यो किस्सा

मलेसिया र सिंगापुर दुबै देश बेलायती उपनिवेशको नियन्त्रणमा थिए। जसमा सिंगापुरमा बेलायतले नेभी सेनाको बेस क्याम खडा गरेको थियो र ली क्वान ब्रिटिस साम्राज्यको अन्त्यको लागि मलेसियासँग मिलेर आन्दोलन गर्ने र सिंगापुर मलेसियासँग विलय गराउन चाहन्थे।

पछि, बेलायती उपनिवेशले आफ्नो नियन्त्रण छोडेर फिर्ता समेत भयो र सन् १९६३/१९६५ सम्म सिंगापुर मलेसियामा विलय समेत भयो तर लि को उदेश्य पुरा भएन। सिंगापुरमा मलायाका तुलनामा चिनियाँहरू अधिक थिए, तीन चिनियाँ बराबर एक मलाया। क्वालालम्पुरका मलाया राजनीतिज्ञहरू सिंगापुरमा बढ्दो चिनियाँ जनसंख्याबाट त्रस्त थिए। त्यो डर चिनियाँ राजनीतिक विचारधाराको पनि थियो, जसले पुरै टापु र प्रायद्वीपलाई भयमा राखेको थियो। उक्त भयबाट मुक्ति पाउन क्वालालम्पुरका नेताहरूले कम्तीमा मलेसियाभित्रै चाहिँ मलायाको बहुमत सुनिश्चित गरिराख्न र कम्युनिस्ट विचारबाट टाढै रहन चाहे।

त्यसकारण मलेशियाका तात्कालीन प्रधानमन्त्री टुंकु अब्दुल रहमान उक्त विलयलाई आफ्नो राजनीतिक भविश्य धरापमा परेको ठान्दथे यसैबीच, सेप्टेम्बर १९६३ मा सामान्य विवादमा चिनियाँ र मुस्लिम समुदायकोबीच झडप सुरू भयो, र उक्त झडप विशाल जातीय दंगामा परिणत भयो। हजारौं मरे र परिणाम स्वरुप मलेसियाली संसद्ले सिंगापुरलाई छुट्याइदिने प्रस्ताव पारित गर्यो। यसरी सन् १९६५ अगस्ट ९ मा सिंगापुर औपचारिक रूपमै मलेसियाबाट छुट्टिएर एक अलग राष्ट्र बन्न पुग्यो।

त्यसपछि, ली क्वानलाई उक्त कुराले आघात पुर्यायो। किनभने उनी सिंगापुर मलेसियामा नै रहेको हेर्न चाहन्थे।

जातीय दंगाले मुलुक तहसनहस भैसकेको र करिब ३० लाख जनता अनधिकृत रूपमा बसोबास गरिरहेका कारण उनी सिंगापुर मलेसियाबाट छुट्टिएर बसोस् भन्ने पक्षमा थिएनन्।

दुई ठूला मित्रवत् सम्बन्ध नभएका छिमेकीहरू मलेसिया र इन्डोनियाबीचमा रहेको यो नगर राज्य बडो कष्टप्रद रूपमा सास फेर्दै थियो। विकासको वेग बढाउन न प्राकृतिक स्रोत थियो न आवश्यक पूर्वाधार नै। न सरफाइ थियो न पर्याप्त पिउने पानी। चुनौतीको पहाडबीच लि क्वान सिंगापुरको प्रधानमन्त्री बने। उक्त समय फ्याकिएको देशलाई उठाउनु उनको मुख्य चुनौती थियो।

उनले अन्तर्राष्ट्रिय सहयोग खोजे। तर त्यतिबेला उनको अनुरोध कसैले सुनेन, सिंगापुरलाई जे गर आफैं गरको स्थितिमा छोडियो। त्यसपछि उनले सब भन्दा पहिले इजराइलबाट सैन्य सामग्रीको खरिद गरि राष्ट्रिय सेना गठन गरी राष्ट्र निर्माणको लागि पहिलो कार्य सुरू गरे।

त्यहाँ चीनबाट बसाइँ सरि आएका व्यक्तिहरूको वर्चस्व नै थियो। त्यस लगायत सिंगापूरका स्थानीय, मलाय र भारतीय मुलका तमिल थिए।उनले मलेसियासँग भएको जातीय दंगाबाट पाठ सिक्दै ‘रेसिज्म’ को अन्त्य गरे।

यहाँका बोलचालका भाषा मलया, चिनियाँ र तमिल थिए। उनले सबै क्षेत्रमा बग्रेजी भाषालाई नै प्राथमिकतामा राखे। त्यसको बिरोध बढ्यो तर उनी आफ्नो निर्णयबाट पछि हटेनन् किनकी लीलाई देश विकासको लागि विदेशी लगानी भित्र्याउन अति आवश्यक थियो।

अलग–अलग जातीय संस्कारमा रहेका व्यक्तिलाई विभेदरहित समाजमा रुपान्तरण गर्न उनको लागि तरबारको धारमा हिँडे सरह भएता पनि उनले  सबैलाई समान अवसर दिए साथै रोजगारीमा योग्यतालाई प्रमुख आधार बनाए। बेलायती उपनिवेशले कायम राखेको रोजगारीमा गोराहरूको वर्चस्व वरियता समेत खतम गरे। उनले कामको आधार नै मेरिट को आधारमा हुने पद्दतिको विकास गरे।

विश्वका वुद्धिजीविहरू र प्राविधिकहरूलाई आकर्षित गर्न अनेक व्यवस्था मिलाए। बजारको नियमअनुसार लगानीकर्ताहरू आकर्षित गर्न लीका लागि सर्तहरू थिए। वातावरण सुरक्षित र भ्रष्टाचारमुक्त, करको दर कम, युनियनहरूको हस्तक्षेप हुनु नहुने। यस्तो अवस्थामा प्रधानमन्त्री लीलाई लाग्यो, यी सबै कुरालाई सम्भव बनाउन सिंगापुरका नागरिकले आफ्नो स्वतन्त्रताका कैयौं प्रावधानहरूलाई निश्चित समयका लागि भुल्नुपर्छ। र, लागूपदार्थको व्यापार गर्ने र ठूलो भ्रष्टाचार गर्नेलाई मृत्युदण्ड दिइनुपर्छ।

त्यसपछि कामहरू यसैअनुसार हुँदै गए। एउटा अन्धकारमय देशलाई अहिले उनले आर्थिक चमत्कार गरेका छन्।

यहीँ आर्थिक चमत्कारले अहिले सिंगापुरमा ८००० बढी बहुराष्ट्रिय कम्पनीहरूले लगानी गरेका छन्। भ्रष्टाचारमुक्त र अनुशासित सिंगापुर नै उसको पहिचान हो।

सिंगापुरलाई यति विकसित कसरी बनाउनुभयो? भन्ने प्रश्नमा लिले भन्ने गरेका छन्, पहिलो नम्बरमा सरकारको जासूसी संयन्त्र राम्रो बनाउनुस् । दोस्रो नम्बरमा जहिले पनि मध्यमार्गी बाटो लिनुस् । तेस्रो नम्बरमा भ्रष्टाचारमाथि शून्य सहनशीलताको नीति अगाल्नुस् । बूढा सरकारी कर्मचारीलाई बिस्तारै पाखा लगाएर नयाँ र ऊर्जावानलाई ठाउँ दिनुस्। तिनलाई राम्रो तलब दिनुस्।

अनि उनी अगाडि थप्छन् ‘चुनाव चाँहि बरोबर कसरी जित्ने? भन्ने प्रश्नमा उनको उत्तर छ, ‘मैले जनतालाई कहिल्यै ढाटिन, झूटो आश्वासन दिइँन’गर्न सक्ने कुरा मात्र गरें। भनेको कुरा पुरा गरें। यसले ममाथि उनीहरूको विश्वास बढायो। मैले जुन कुरामा कहिल्यै विश्वास गरिनँ, त्यसलाई मैले बढाइचढाई जनतालाई भनिनँ । जनतालाई विस्तारै थाहा भयो, म इमान्दार छु र भनेको कुरा पनि सचेत छु।’

उनको पार्टी पिपल एक्सन पार्टी (पीएपी) ले सबै स्वतन्त्र श्रमिक युनियनलाई बन्देज लगाउँदै एउटै छाता संगठन बनायो, नेसनल ट्रेड युनियन कंग्रेस (एनटीयूसी)। जसमाथि सरकारको पूर्ण नियन्त्रण थियो। राष्ट्रिय, राजनीतिक वा कर्पोरेट एकतामाथि चुनौती सिर्जना गर्ने जोकोहीलाई बिना कुनै ढिलाई जेल हाल्न थालियो। स्वतन्त्र प्रेस र प्रतिपक्षीमाथि लगाम लगाइयो। मुलुकको कानून क्रूर भए पनि लगानीमैत्री भएकाले त्यसले अन्तर्राष्ट्रिय लगानीकर्तालाई निकै आकषिर्त गर्यो। छिमेकी मुलुकहरूमा राजनीतिक र आर्थिक वातावरण अस्थिर थियो। यस्तो अवस्थामा लीले सिंगापुरको वातावरण भने स्थिर र पूर्वानुमान गर्न सकिने बनाए। सिंगापुर उत्पादन उद्योगका लागि यसै पनि सही ठाउँमा थियो। पारवहनका लागि सही लोकेसनमा पर्ने यो मुलुकमा बन्दरगाह प्रणाली पहिल्यै स्थापित थियो।

लीले जहिले पनि विकासको लागि अन्य देशहरूले सफल प्रयोग गरेको विकासका मुद्दाहरूको अनुसरण गर्दथे। उनले जापान, इजरायल दक्षिण कोरियाली नेताहरू उनीसँग पनि सल्लाह माग्थे। उनको उत्तर हुन्थ्यो, ‘तिम्रो देशमा भ्रष्टाचार सबैभन्दा ठूलो समस्या हो।’ यो सुन्ने बित्तिकै सन् १९९२ मा कोरियाली राष्ट्रपति किम योङ सामले आफैँले नियुक्त गरेका तीनजना मन्त्रीहरू भ्रष्टाचारमा मुछिएको पाउने बित्तिकै बर्खास्त गरे भने कैयौं वरिष्ठ न्यायाधीश तथा सेनाका वरिष्ठ अधिकारीहरूलाई जेल हाले। उनले नै पूर्व राष्ट्रपतिहरूलाई भ्रष्टाचारको अभियोगमा जेल हाले ।

लिको अनुभवले भन्छ, वैश्विक व्यापार र उद्यममा आफ्नो नाउँ चम्काउनु छ भने वैश्विकस्तरकै व्यापार प्रणाली, अर्थप्रणाली, पारदर्शीताजस्ता कुरामा ध्यान दिनुपर्नेछ। यसो गर्न नसक्दा समाज प्रतिस्पर्धी हुँदैन र अप्रतिस्पर्धी समाजले वैश्विक खुला समाजसँग भिड्न सक्दैन। एकपटक लडिसकेपछि उसलाई उठ्न गाह्रो हुन्छ किनभने अरुले बजार कब्जा गरिसकेका हुनेछन्।

सिंगापुर विकासको अर्को बाटो गैरआवासीयहरू पनि रहेछन् भन्ने उदाहरण सन् १९८९ मा चीनबाट पनि लिले देखे। त्यो बेला तियानानमेन काण्ड घट्यो। यस काण्डले चीनमा बढेको अमेरिकी र अन्य लगानी स्वाट्टै घट्यो। चीनको अर्थतन्त्र डामाडोल होलाजस्तो देखियो। तर यहीँ बेला गैरआवासीय चिनियाँहरूले हङकङ, मकाउ, ताइवान तथा अन्य देशबाट आएर त्यहाँ लगानी गरे। जुन बेला विदेशीहरू आफ्नो लगानी बोकेर भागाभाग गरिरहेका थिए, त्यही बेला गैरआवासीय चिनियाँहरू लगानी बोकेर छिरिरहेका थिए। संकटका बेलाको लगानीले ठूलो काम गर्‍यो। हेर्दाहेर्दै विदेशीभन्दा चिनियाँहरू धनी भए।

६० वर्ष अघिसम्म दक्षिणपूर्वी एसियाको नगरराज्य सिंगापुर पुरै अविकसित थियो। प्रतिव्यक्ति आम्दानी ३ सय २० अमेरिकी डलर पनि थिएन। यतिसम्म गरिबी व्याप्त थियो कि यसको निराकरण गर्नको लागि सन् १९६० मा राष्ट्रसंघले डच अर्थविद् डा अल्बर्ट विनसेमिसलाई समेत खटाएको थियो। सिंगापुरको अध्ययन गरेपछि उनले त्यतिबला बडो विरक्तलाग्दो टिप्पणी गरेका थिए, एसियाको अँध्यारो कुनास्थित सानो गरिब बजार। त्यसको पाँच दशकपछि आज सिंगापुरको बजार न गरिब छ, न सानो नै। जीडीपी (पीपीपी) का आधारमा विश्वको तेस्रो ठूलो प्रतिव्यक्ति आय यही देशको छ, करिब ७८ हजार डलर।

फोर्ब्स म्यागजिनका अनुसार हरेक ६ मध्ये एक घरको नगद बचत कम्तीमा दश लाख अमेरिकी डलर छ। अर्थात्, हरेक छैटौं घर मिलिनियर क्लब मा पर्छ। गत दशकमा मात्रै

आफ्नै व्यवसाय भएका सिंगापुरीहरूको संख्या दुई गुना बढेको छ। उद्यमी प्रतिव्यक्तिका हिसाबले यो देश विश्वमै दोस्रो स्थानमा पर्छ, अमेरिका पछि।

वास्तवमा हामी नेपाली गरिब होइन, गरिबी हाम्रो सोचाईमा छ। हाम्रो इतिहासको पाना पल्टाउने हो भने हामी कहिल्यै पनि हात फैल्याउने हुँदै होइन। कुनै समय बेलायतलाई सहयोग गर्न हैसियत राख्न सक्ने हामी अहिले किन यो अवस्थामा आइपुग्यौ? सोच्नुपर्ने कुरा यो हो। समय बित्दै गयो, दुनियाँ परिवर्तन भए। तर हामी ज्यूँका तिउँ रह्यौ।

४०० वर्ष अगाडि बनेका साँस्कृतिक सम्पदा हाम्रा यसका चिनारी हुन्। प्राचिनकालमा बनेका ऐतिहासिक सम्पदाहरू कति चोरिए, कति बेचिए, त्यसको लेखाजोखा गरेर साध्य नै छैन।

दुनियाँले समयलाई चिने, समयअनुसार परिवर्तन गर्दै लागे तर हामी भने जहाँको त्यहिँ नै रह्यौं, जसले गर्दा अनेक देशमा नेपालीको हैसियत तेस्रो दर्जा जस्तो बनेको छ। यो कुरा हामीमा कहिँ कतै छिपेको छैन।

करिब ७० वर्ष अघिसम्म कोरिया र नेपालको प्रतिव्यक्ति आय करिब–करिब बराबरी थियो। तर अहिले हेरौं, उसले नेपाली मजदूरको लागि नेपाली दूतावासमा पत्राचार गर्छ, हाम्रो भने काठमाडौंमा भीडलाई नियन्त्रण गर्न नसकेर प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्छ। यो हो हाम्रो वास्तविक भोगाई। जबसम्म हामी यी तमाम कुराबाट माथि उठ्न सक्दैनौं, तबसम्म यस प्रकारको बिलासिताले हामीलाई गिज्याउँछ। त्यसकारण, सिगापुरको सम्वृद्धिको कथाले के सन्देश दिन्छ भने यदि असल नेतृत्व र गन्तव्य भयो भने मुलुक गरिबीको सिकार बन्न पर्दैन । यस सन्दर्भमा नेपालले पनि सिंगापुरबाट पाठ सिक्न पर्ने देखिछ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.