रमितेहरूको समाज


सानो छँदा गाउँमा एक जना हजुरआमा साह्रैं माया गर्नुहुन्थ्यो, पाकेका अम्बा, आँप दिनुहुन्थ्यो। हामी मज्जाले खान्थ्यौं। अम्बा यस्ता थिए कि हेर्दै लोभ लाग्दा, काटेर हेर्दा भित्री भाग रातो हुने खाले। आँप पनि ठूला ठूला, एउटा समात्दा दुई हात चाहिने। चार कक्षामा पढ्ने म। एकदिन स्कुल जाने बेला बाटैमा आएर मलाई तीन वटा अम्बा दिनुभयो। मैले व्यागप्याकमा हालेँ। आजलाई खाजा भयो भनेर दंग परेँ। दश पाईला अघि नपुग्दै एक जना दिदीले मेरो हात च्याप्प समातिन् र भनिन, ‘ओइ, त्यो बुढीले दिएको अम्बा किन ल्याको, त्यो त बोक्सीनी हो, जाँदु गरेकी छ।

अब तिमी मर्छेउ।’ झस्केँ म, अलिकति डर  लाग्यो, नबोली अगाडि हिँडे। रिसेस टाइममा ममीले हालिदिएको भुटेको चनासँगै अम्बा निकाले। खाम कि नखाम् भो। खाउ त त्यो दिदीले तँ मर्छेस् भनेकि छन्, नखाउ त यस्ता लोभलाग्दा। मन थाम्न सकिनँ, खाएँ। त्यसदिन रातभरी निद्रा परेन मर्छु कि भनेर। भोलिपल्ट सकुशल भएकोमा खुसी लाग्यो। अर्कोदिन म हजुरआमासँग आफैं अम्बा माग्न गएँ। बुढी खुसी भएर ६ वटा दिएर पठाईन्।

तीज सुरू हुने मौसम थियो। गाउँका केही दिदीबहिनी ममीलाई तीजमा कता पूजा लाउने? पञ्चमीमा कता नुहाउन जाने? किनमेल गर्न कहिले निस्कने? भनेर छलफल गर्न जम्मा भएका थिए। त्यहि बेला एउटा कालो बिरालो आँगनमा देखियो। एक जना अन्टीले मलाई अम्बा दिने हजुरआमा बोक्सी भएको त्यो बिरालो उनैको रुप भएको सुनाउनुभयो। अरू कुरा त मैले त्यत्ति बेला बुझिनँ तर मेरो १० वर्षे उमेरको दिमागले ती अम्बा दिने हजुरआमा कसरी बिरालो बनिन् एकछिनमै? भन्ने कुराले भने छोयो। अचम्ममा परेँ। बोक्सी भनेको के हो थाहा नभए पनि ती हजुरआमा म्याजिक गर्न सक्ने क्षमताकी रैछन् भनेर मनले मान्यो। सानोमा बुवाले म्याजिक देखाउँछ’ भन्दै माँझी औलालाई यताउता सारेको जस्तो गर्नुहुन्थ्यो।  कसरी औठी लाको औंला कहिले यता र कहिले उता गर्छ भनेर अचम्म मान्थिम्, बुवा त साच्चिकै ठूलो मान्छे जस्तो लाग्यो। ती हजुरआमा पनि ठूलै लाग्न थाल्यो। त्यहि दिन साँझ खाना खाने बेला ममीलाई सोधेँ, ‘ममी त्यो हजुरआमा कसरी बिरालो बन्नु भयो? म नि त्यस्तै म्याजिक सिक्न पर्‍यो के, चाहेको बेला चरा बन्यो भुर्ररर उडेर जहाँ मन लाग्यो त्यहि गयो, चाहेको बेला बिरालो बन्यो अनि मामा घरमा राखेको दुध पेटभरी खायो….।’ ममी म सँग अलि धेरै रिसाउनुभयो, ‘के भन्छे यो? मान्छे पनि बिरालो बन्छ र? नचाहिने कुरा….।’

‘दिउँसो त्यो अन्टिले किन त्यस्तो कुरा गरेको त?’ ममी अलि नम्र भएर भन्नुभयो, “हेर छोरी, ती अन्टिलाई खासै ज्ञान छैन्, जस्ले जे भन्यो त्यहि पत्याउँछिन्। त्यस्ता कुरा कसैले गर्दा नसुन्नु, नपत्याउनु, मान्छे मान्छे नै हो…..।”

ममीको मान्छे मान्छे नै हो भन्ने कुराले मनमा म्याजिक बन्ने रहर पनि सधैका लागि हरायो।

उमेरसँगै बोक्सी शब्द दिमागमा झन नोटिस हुन थाल्यो। कहिकतै कसैले बोक्सी शब्द निकाल्दा ममीले भनेका कुरा भन्न पाए हुन्थ्यो जस्तो लाथ्यो। उमेर बढ्यो, कलम र कापी रोजे अनि सन्चारमाध्यम छानेँ। जति बुझ्दै गरेँ उती धेरै बोक्सी शब्द सुन्न थालेँ। बोक्सीको आरोपमा फलानो ठाउँमा यति वर्षकी छोरी, युवती, आमा, हजुरआमा कुटिइिन्, यातना पाईन्, मारिइन् भन्ने समाचारले अखबारका पानाहरू भरिन्थे, टेलिभिजनका स्क्रिनहरु रंगिन्थे। म पनि यो बाट अछुतो रहन सकिनँ, थुप्रै पटक यस्ता समाचारले सञ्चारमाध्यमका पानाहरु भरेँ। अन्धविश्वासका नाममा भइरहेका यस्ता घटनाले हटेर महिला यातनारहित जीवनमा जिउन सक्ने वातावरणको सिर्जना होस् भनेर थुप्रै थुप्रै पटक शब्दहरु खर्चेँ। नेपालका दूरदराज गाउँमा मात्र होइन राजधानीमा समेत बोक्सीको आरोपमा महिलाले यातना भोगिरहेका घटनालाई सार्वजनिक गर्न थुप्रै चुनौतिहरु झेलिएको थियो।

राष्ट्रिय समाचार समितिमा २०६६ सालमा वर्षभरी छापिएका आलेखमध्येबाट बोक्सी विरुद्ध मैले लेखेको ‘असम्यता र अन्यायको यो पराकाष्ठा’ शीर्षकको आलेखलाई पुरस्कृतसमेत गर्‍यो। लाग्यो, जुन उद्धेश्यले कलम उठाईरहेकी छु त्यसले समाजलाई केही सकारात्मक सन्देश दिइरहेको छ। त्यो प्रंससापत्र अहिले पनि घरको भित्तामा झुण्डिएको छ। झुण्डिएको प्रंससापत्रले आज मलाई जिस्काइएहेको अनुभव भईरहेको छ। भित्तामा हेर्छु अनि आफैंप्रति दया लागेर आउँछ, आफैंप्रति माया लागेर आउँछ, आफैंप्रति घृणा जागेर आउँछ। आठ वर्षपछि आएर पनि हाम्रो समाजमा बोक्सी भन्ने समस्या अझ विकराल बन्दै गइरहेको छ।

कैलालीकी किशोरी राधा चौधरीको भिडियोसहितको समाचारले फेरि उही विषयमा फर्किन पर्दा हाम्रो आधुनिक र सभ्य भनिएको समाजप्रति टिंठ लागेर आउँछ। हामी आफैंले बनाएको समाजको संरचनालाई हामी आफैंले अमानवीय र असभ्य बनाईरहेका छौ भनेर सर्म लाग्छ।

राधाको घटना पहिलो होईन ,अन्तिम पनि हुन सक्दैन् अझै। किनकि हामीले बनाएको समाजको संरचनालाई भत्काउन सजिलो छैन्। कथित बोक्सीको आरोपमा थुप्रै महिलाले जिउँदै जल्नु परेका, अमानवीय व्यवहार भोग्नु परेका समाचार बाहिर आईसकेका छन्।

चितवनमा एक जना वृद्धालाई जिउँदै जनाएको घटना बिर्सिएर काभ्रेकी लक्ष्मी नेपालीलाई यही बोक्सीको आरोपमा कुटपीट गरि ज्यानै लिने यही समाज होईन्? उनी समाजमा शिक्षक भनेर चिनिएका व्यक्तिबाटै मरासन्न हुने गरी कुटिएकी थिईन्।

२०६६ सातको चैततिर राजधानी काठमाडौंसँग जोडिएको ललितपुरकी कल्लीकुमारी विकलाई पनि बोक्सीको आरोपमा मरणासनन्न हुनेगरी कुटपिट गरी अमानवीय व्यवहारसमेत गरिएको घटना सार्वजनिक हुँदा चर्चाको विषय बनेको थियो। उनी शिक्षिका विमला लामाबाट कुटिइन्। अहिले आएर पनि थुप्रै कल्लिकुमारीहरुले अमानवीय हिसाबले शारीरिक तथा मानसिक यातना खेपिरहेका छन्। एउटी आईमाईले अलि चासो दिएर कसैको घरमा हेरिन भने उनलाई बोक्सीको आरोप लगाउने समाज हाम्रै हो। कसैको साईत परेन, कसैको गाई वा भैसीले दूध दिएन्, कसैको बारीमा तरकारी सप्रने, घरमा कोही बिरामी भयो, कसैको निधन भयो भने महिलालाई नै बोक्सीको आरोप लगाएर यातना दिने समाज तपाई हामी बसेको होईन् र? अरूलाई मरणासन्न हुने गरी कुटपिट गर्दा हामी रमिते बनेर रमाउँने समाज तपाई हामी बसेको नै होईन र?

कथित धामी झाँक्रीले भनेकै भरमा राधा, कल्लीकुमारीजस्ता नेपालका कैयौँ महिला बोक्सीको आरोपमा शारीरिक तथा मानसिक यातना भोग्न बाध्य छन्। यसैको आरोपमा उनीहरू सामाजिक वहिष्कारको शिकारसमेत हुने गरेका छन्। जुन स्वतन्त्र भएर बाच्न पाउँने व्यक्तिगत अधिकारको सरासर उल्लंघन हो। कथित धामी, झाँक्रिलाई विस्थापित गर्न गाउँ गाउँमा स्वास्थ्य क्षेत्रको विकास विकल्प छैन। यसतर्फ सरकार जिम्मेवार हुनैपर्छ।

विश्व एक्काइसौँ शताब्दीको विज्ञान र प्रविधिको प्रतिश्पर्धात्मक युगमा अघि बढिरहेको छ। तर नेपाली समाज भने भूत–प्रेत, धामी–झाँक्री, बोक्सीजस्ता रुढीवादी सोचबाट अझै ग्रस्त छ। समाजका यस्ता कुरीतिबाट पीडित हुनेमा भने अझै पनि किन महिलाहरू नै पर्छन् भत्रे प्रश्न अझैसम्म अनुत्तरित नै छ। यस्ता कुकृत्यमा शिक्षक शिक्षिकाजस्ता शिक्षित व्यक्ति नै संलग्न पाइनुले नेपालमा यो सोच अशिक्षाका कारण मात्र उत्पत्र हुने गरेको छ भत्र सकिने अवस्था छैन।

समाजिक सोच र व्यक्तिका व्यवहारका कारण घटनाहरु दोहरिरहेका छन्। यसका लागि प्रत्येक व्यक्तिले आफ्नो मानवीय व्यवहारमा नै परिवर्तन गर्न अत्यावश्यक छ।

समाज मान्छेले नै बनाएको संरचना हो, जस्तो चाह्यो त्यस्तै बनाउन सक्छ, भत्काउन पनि सक्छ। नेपाली समाज अन्धविश्वासमा यसरी गाँजिएको छ कि जसबाट जरा निकाल्न ठूलै बल, बुद्धि, विवेक, क्षमता चाहिन्छ। ठोस कार्यक्रम, योजना तर्जूमा र त्यसको कार्यान्वयनले मात्र हुँदैन् कडा कानुन र यसको तत्काल कार्यान्वयन र अनुगमन  हुन’ अहिलेको माग हो। नत्र फेरि समाजमा रमितेहरु बढिरहनेछन्, छोरीहरुले अकालमा ज्यान गुमाईरहने छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.