पुरुष खलपात्र नै हुन् त?


‘तपाईँलाई त क्या ढुक्क छ है सबै काम गर्ने छँदैछिन्, महिलाको काम तपाईँलाई के भेउ हुन्छ र, कति काममा दलिन पर्छ।’

‘हो है,गाह्रो छ घरपरिवार अफिसको ब्यालेन्स मिलाउन, के के गर्नुपर्छ तपाईँले?’ महिला सहकर्मीलाई साथ दिदैँ क्याजुअल प्रश्न गर्छु।

‘उही त हो, खाना पकायो, छोराछोरीलाई खान दियो, स्कूल पठायो, अफिस आयो ।’

हो, यी चिज गर्न गाह्रो छ, अनि कुशलतापूर्वक सम्पन्न गर्न धेरै संयमता चाहिन्छ । सुन्दा सरल लाग्ने यी घरेलु कुराले घर र अफिस मै तनाव सृजना गरिदिन्छन् कुनै समयमा एक हावी हुँदा। यी टिप्पणी सुनिसकेपछि छुस्स सम्झिन्छु माथि साथीले भनेका कामहरु सम्पूर्ण रुप मै नगरे पनि नियमित त मैले नि गरिरहेको छु ।

समय बद्लियो । अझ ठूलो छलाङ हान्यो भन्दा नि गल्ती भनेको नठहरिएला यदि यी विश्लेषण प्रविधि र संचारका बारेमा गरिएको भए । सोचमा सोही अनुपातको छलाङ्ग त भएन नै घिस्रे हिडाँई पनि भएन ।

हाम्रा बुवा छोरोछोरीका बारेमा उतिकै माया अनि चिन्ता गर्थे र अझै नि गर्नुहुन्छ । एक मौका यस्तो पर्‍यो किस्कूल पढ्दा खाना रामरी नखाएर स्कूल आएको दिन, घरबाट आमाले बुवालाई स्कूल खाना पुर्‍याउन भन्नुभएछ । निरक्षर आमाको अगाडि साक्षर बुवा अलिक स्मार्ट अनि स्कूलमा मज्जाले कुरो गर्न सक्ने भएर आमाले पठाउनुभएको होला । पुगेर बुवाले छोराको लागि खाना ल्याएको बताउनुभयो । उताबाट यो नाम गरेको कति कक्षामा पढ्ने भनेर सोध्दा एकछिन अल्मलिएर गलत कक्षा भनी खाना छोडी आउनुभएछ।

आज यस्तै प्रकृतिको केस त अक्षम्य भई नै गयो, बच्चाका स्कूले कार्यक्रमका मिति मात्रै बिर्सदा वा तलमाथि भन्दा घरवालीको ठूलो हप्काई खाइन बेर छैन । हो यी कुरामा समयले रफ्तार पक्ड्यो गुटुगुटु । तर समय हुँदा पनि घरका लागि बेफुर्सदी हुने हाम्रा हजुरबुवा, घरका कुरामा अलिक समेटिने तर कहाँ के भेउ नराख्ने बुवा कै पुस्ता सरह आज पनि हामी खल पात्र भइरह्यौ जसले घरका कुरा वास्ता गर्दैन, धेर समय अफिसमा बिताउँछ अनि छोराछोरी परिवारलाई समय दिँदैन ।

आठ वर्षे छोरोले बुवा वुमन्स डे मा बिदा छ, खै त मेन्स डे भन्दा मसँग उत्तर छैन । घरका काम कुनै एक लिङ्ग विशेषको हैन न त कमाउने बाहिरको काम हो भनेर सोलिड विश्वास राख्ने मजस्ता धेरै पुरुषलाई पुरुषको हरपलको दानवीकरणले पक्कै विथोलेको छ, पिरोलेको छ । अझ अफिसका कुरै बेग्लै। ‘आज अलि काम छ,बेलुकासम्म बस्नु छ है’ हाकिम मसँग निस्फिक्री यो कुरो भन्न सक्छन् तर समकक्षी महिलालाई अफ टाइमका अनुरोध कम हुन्छन् वा बिल्कुलै हुँदैनन् ।

काठमाडौं खाल्डो मै जन्मी हुर्किदाँ सदा एक हुल नै प्रश्नहरु मनमा रह्यो जुन धेरै अर्थमा जवाफ बिहिन नै छन् । आज पनि धेरै ठाउँमा नारी दिवस भन्ने बित्तिकै पुरुषका बद्ख्वाइ गर्ने पर्वका रुपमा मात्र किन भइरहेका? कुनै स्थानका कुनै पुरुष पात्रले घटाएको घटनाको सराप मैलै अनि समस्त पुरुषहरुले कहिले सम्म पाइराख्नु पर्ने?

यी प्रश्नसँगै जोडिएका अनेक अरु टर्निङ्ग पोइन्टहरु । संविधानले ब्यवस्था गरेको महिलाका लागि समावेशी कोटामा पायक पर्ने ठाउँका सभ्रान्त वर्ग कै महिला पुर्‍याइराख्दा हामीले जसलाई समावेश गर्न खोजेम् ती परे त? अनि तेही छेडोबाट आएको पुरुषको दानवीकरणको हिस्सा कहिलेसम्म भइराख्नुपर्ने, जवाफ दिईरहनुपर्ने?

महिलासँगै डर, संकोच जस्ता कुरो जोडिन्छ, पढ्न पाइन्छ । अनि अलि अघि बढ्ने जतिमा जोडिने कुरो अठोट र बिद्रोह । ती सम्पूर्णहरुमा स्यालुट र अलिकति समभावको अपेक्षा । देश पितृसतात्मक भन्न छोडेका छैनम् र गाली पनि उत्तिकै छन् । वर्किङ्ग वुमनसँगै वर्किङ्ग मेनले पनि दुवैको स्पेसलाई मानेको छ, श्रीमतिले अफिसबाट आएर साना छोराछोरी हेर्ने, खाना बनाउने गरिराख्दा खुट्टा हल्लाएर टिभी हेर्ने वा मोवाइल चलाउने श्रीमान्हरु यो ब्लगले मात्र घटेको नभनी संख्या मै पक्कै घटेका छन् ।

अन्तिममा सानो जिज्ञासाः महिला भएर काम बढी गर्नु परेको र अफिस पनि भ्याउन गाह्रो भन्दै खुइए गर्ने साथीहरुले आफ्नो श्रीमानलाई उनी जस्तै आफू पनि उत्तिकै घरका लागि काम गर्ने, कमाउने भए पछि सबै चिजमा बराबर हिस्सेदारी हुने बुझाउन सक्नु भो त? चाहे ती घर बाहिर बिताउनु पर्ने समय होस् वा घरमा बच्चा हेरेर ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.