संस्कृति र विकृति


पेशाले म शिक्षक हुँ । नेपालकै प्रमुख पर्यटकीय शहर पोखराको एक सामुदायिक विद्यालयमा पढाउँछु ।भनिन्छ ‘कक्षाकोठा समाजको प्रतिबिम्व हो ,जस्तो समाज छ त्यस्तै स्वरुप कक्षा कोठामा देखिन्छ ।’मेरो विद्यालयमा अध्ययन गर्ने धेरैजसो बालबालिकाका बाबु—आमा छैनन्, कसैको सौतेनीआमा ,कसैको सौतेलो बाबु, कसैका दिदी अभिभावक कसैका हजुरबा–हजुरआमा अभिभावक, धेरै त अघोषित घरेलु बाल मजदुर र बुझ्दै जाँदा यी सबै कारणको जड चाँहि मदिरापान ।

एक अनुसन्धान अनुसार नेपालका गरिब मजदुरले पनि आफ्नो आम्दानीको १५ प्रतिशत रकम मदिरापानमा खर्च गर्छन् । ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्न धौ धौ हुने वर्गले समेत जब आफ्नो आम्दानीको १५ प्रतिशत रकम मदिरामा लगानी गर्छन् तब परिवारमा आर्थिक अभावसँगै झैझगडा र पारिवारिक विखण्डनको क्रम सुरु हुन्छ र त्यसको प्रत्यक्ष प्रभाव ती अभिभावकका बालबालिकाहरुमा पर्न जान्छ ।

जसका कारण यस्ता बालबालिकाको पढाइको स्तर अन्य बालबालिकाको तुलनामा खस्किदै जान्छ । परिवारै विखण्डन हुनेगरी,समाज र राष्ट्रलाई नकरात्मक प्रभाव पार्ने यस्तो मदिरापानको सुरुवात चाँही हाम्रै संस्कार र संस्कृतिबाट हुन्छन् । भाङ,धतुरो,गाँजा चुरोट जाँड रक्सिलाई हाम्रो समुदायमा हुने कतिपय चाडपर्वमा संस्कार र संस्कृतिको बहानामा जथाभावी प्रयोग गरिदा भविष्यका सुनौला कर्णधार बालबालिका दिनहुँ दुव्र्यसनीमा फसिरहेका छन् ।

हामी २१ औं शताब्दिसम्म आइसक्यौ, परिवर्तन चाहन्छौ भनिरहन्छौ । तर संस्कृतिको नाममा सदियौंदेखि चलि आएका यस्ता केही विकृतिलाई त्याग्न सक्दैनौ जसका कारण समाजमा संस्कृतिको नाममा विकृति मौलाइरहेको छ ।एकातर्फ हामी बालअधिकार र कानुनका कुरा गरिरहँदा अर्कातर्फ समाजमा महिला हिंसा पारिवारिक विखण्डन र अपराध बढाउने प्रमुख कारक मदिराजन्य पदार्थको उत्पादन विकी्र वितरण र प्रयोग प्रति कति सचेत छौ ?भन्ने प्रश्न पनि हामीतर्फ नै तेर्सिन्छ ।

औषधी र चामल किन्ने रकमको आधाभन्दा बढी हिस्सा त हामीले मदिरा मै लगानी गरिरहेका हुन्छौ । छिमेकी मुलुक भारतले विहार प्रदेशमा मदिराको विक्रि वितरण र उपभोगमा पूर्ण रोक लगाइरहँदा नेपालले भने त्यही भारतबाट सबैभन्दा धेरै मादक पर्दाथ आयात गरिरहेको छ ।राज्यले मदिराजन्य पदार्थको आयातबाट भन्सारमा राम्रै राजस्व संकलन गर्यो होला त्यो आफ्नो ठाउँमा छ । तर त्यसले समाजमा कस्तो असर गरिरहेको छ यसतर्फ पनि ध्यान जानु जरुरी छ । मदिरापानकै कारण परिवार एवम् समाजमा विकृती र विखण्डन दिन प्रतिदिन बढ्दै गइरहेको छ । एच.आइ.भी, क्षयरोग ,सडक दुर्घटना,घरेलु हिंसा ,हत्या, मुट्ुरोग र कलेजोको क्यान्सर बढदै जानुको प्रमुख कारक मदिरा हुँदै आए पनि हाम्रो ध्यान त्यता जान सकिरहेको छैन जुन दुखद् कुरा हो ।

एक अध्ययन अनुसार नेपालमा मदिरा सेवन गर्ने मानिसहरु १८ देखि ३० वर्ष सम्मका ८० प्रतिशत र १५ देखि ६० वर्ष उमेर समुहका झन्डै ६७ प्रतिशत छन् भने नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ लाई फर्केर हेर्दा मदिरा सेवनकै कारण आफ्नै श्रीमान्बाट झन्डै ७० प्रतिशत श्रीमतीहरु भौतिक र यौन हिंसाबाटै पीडित छन् ।नेपालमा केही समुदायभित्र मदिराजन्य पदार्थलाई आफ्नो संस्कारसँग जोडेर शुभ —अशुभ कार्यमा प्रयोग गरिन्छ ।,संस्कारकै नाममा विभिन्न चार्डपवमा मदिराजन्य पदार्थको प्रयोग र वितरणमा राज्यको समेत समर्थ देखिन्छ ।हामी यतिबेला शिवरात्रीको माहोलमा छौ । भगवान शीवप्रति आस्था एवम् विश्वास जगाउँदै प्रसादका रुपमा गाँजा , भाङ धतुरोलाई विभिन्न खाद्य एवम् पेर्य पदार्थमा मिसाएर खाने ,पिउने चलन हाम्रो समाजमा अझै यथावत छ । शिवरात्रिकै दिनबाट कति युवायुवती मदिराको लतमा फस्दै जानेहुन् यसतर्फ हाम्रो ध्यान गएको खै ?जबसम्म हामीले मनाउने चाडपर्व, संस्कार र संस्कृतिभित्रका विकृतिलाई हामी त्याग्न सक्दैनौ तबसम्म हामी हाम्रा पुस्तामाझ यस्ता चाडपर्व, संंकार संस्कृतिलाई गौरवका साथ कसरी हस्तान्तरण गर्न सक्छौ ?

अतःस्वच्छ ,सभ्य समाज र राष्ट्र निर्माणका लागि हामीहरुले यस्ता चाडपर्व र संस्कार र संस्कृतिका नाममा भएका विकृतिहरुलाई त्यागेर राम्रा पक्षलाई मात्र अँगाल्नुपर्छ र राज्यले पनि यस्ता मदिराजन्य पदार्थको प्रयोग ,विक्री ,वितरण र आयातमा निर्मित नीति नियमलाई कडाइका साथ लागु गर्नुपर्छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.