आवश्यक्ता अनुसार सामुदायीक रेडियोहरू मर्ज गर्नुपर्छ


सन् १९८५ मा इटालिका वैज्ञानिक मार्केोनिले विकास गरेको रेडियो तरङ्ग अहिले विश्वका सवै मुलुक र अधिकाशं भूभागमा पुगिसकेको छ।

अमेरिकाको पेन्सिलभानिया राज्यबाट सुरू भएको रेडियोको इतिहास अहिले विश्वव्यापी भएको छ। फेब्रुअरी १३ अर्थात आज विश्वका अन्य मुलुकसँगै नेपालमा पनि रेडियो दिवस मनाइरहँदा नेपालका रेडियोको बारेमा केही चर्चा गर्नु आवश्यक छ।

नेपालमा रेडियो

वि.स. २००७ सालमा राणाविरोधि आन्दोलन चलिरहँदा विराटनगरको जुटमिलबाट प्रजातन्त्र रेडियोको नाममा सुरू भएको रेडियो प्रशारण प्रजातन्त्र स्थापना पछि सिहंदरबारमा सारियो र नेपाल रेडियोको नाममा प्रशारण सुरु भएको थियो। रेडियो नेपाल, नेपाल रेडियोको नाममा प्रशारण सुरु भएको पनि ६५ वर्ष पुगेको छ। २०५४ सालमा नेपाल वातावरण पत्रकार समूहले रेडियो सगरमाथा प्रशारणको अनुमति लिएसँगै अहिले नेपालमा प्रशारण हुने रेडियोको संख्या ५०० नाघेको छ। सामुदायिक रेडियो प्रशारक सघंमा  आवद्ध हुने सामुदायीक रेडियोको संख्या मात्रै ३०० कटेको छ।

नेपालमा रेडियोको प्रभावकारिता

नेपाल जस्तो अल्प विकशित मुलुकमा सूचना र सञ्चारको प्रभावकारी माध्ययम बनेको छ रेडियो। हिजो रेडियो नेपाल, अलइन्डिया रेडियो र विविसिमा भरपर्ने स्रोता अहिले आफ्नै आवाज आफ्नै गाउँघरको रेडियोबाट सुन्नसक्ने भएका छन्। गोरू हराएको सूचनादेखि मेला पातका सूचनासम्म, आरनको विज्ञापनदेखि सोहृ श्राद्धसम्मको सूचना दिने काम सामुदायीक रेडियोले गरिरहेका छन्।

सञ्चार माध्ययमले गर्नुपर्ने शिक्षा, सूचना, मनोरञ्जन, अभिप्रेरणा र सामाजिकिकरणका कार्यहरु निरन्तर रुपमा गर्दै आइरहेको छ। त्यसका साथै सञ्चार माध्ययमको मुख्य काम जनताको कुरा सरकारलाई अथवा नीति निर्माण तहमा बसेकालाई सुनाउने र नीति निर्माण तहमा रहेकाले गरेका कार्य जनतालाई जानकारी गराउने सेतुको कार्य रेडियोहरुले गरिरहेका छन्।

अझ रेडियोमा केन्द्रित कुरा गर्दा व्यापारीक रेडियोको तुलनामा सामुदायीक रेडियोले महत्वपूर्ण भूमिका खेलिरहेका छन्। समुदायको आवाज प्रतिविम्वत गर्न सामुदायीक रेडियोहरु महत्वपूर्ण सारथी बनेका छन्, सामुदायीक रेडियो समुदायका मानिसहरुको दुःख सुखका साथी बनेका छन्।

रेडियोले  बिहान भालेको झिसमिसेदेखि बेलुका निन्द्रा नपुर्‍याञ्जेलसम्म साथ दिइरहेका छन्। मानिसहरु स्वभावैले आफ्नो नजिक भएको घटनाक्रम देख्न चाहन्छ, पढ्न चाहन्छ र सुन्न चाहान्छ। त्यसको लागि पनि सामुदायीक रेडियो महत्वपूर्ण साधन बनेका छन्।

अझ विपद्को समयमा रेडियोले खेलेको भूमिकालाई नजरअन्दाज गर्न सकिदैन। २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको समयमा होस वा तराईमा आएको वाढीको समयमा जनताको सूचनाको हकलाई प्रत्याभूत गराउने शसक्त माध्ययमको रुपमा नेपालका रेडियोले आ-आफ्नो भूमिका निर्वाह गरे।

भूकम्प गएको समयमा त नेपालका सामुदयिक रेडियोले बारीको पाटामा बसेर समेत जनताको सूचनाको भोकलाई मेटाउने काम गरे। यसकारण पनि सञ्चारका अन्य माध्ययमको तुलनामा रेडियोहरुको महत्वपूर्ण रहेको कुरामा २ मत छैन ।

नेपालमा सामुदायीक रेडियोहरुको सङ्ख्यामा मात्र वृद्धि भएको छैन यसले गुणात्मक फड्को पनि मारेको छ। धादिङको किसानहरु लक्षित कृषि रेडियो होस वा पाल्पाको रेडियो मदनपोखरा, चितवनको रेडियो माडि, महिलाहरुले मात्र सञ्चालन गरेको रेडियो मुक्ति होस वा दलितहरुले सञ्चालन गरेको रेडियो जागरण होस नेपालमा नमुना रेडियोको रुपमा छन्।

सामुदायीक रेडियोका चूनौतिहरु

नेपालमा सामुदायीक रेडियोहरुको सङ्ख्यामा त उल्लेख्य वृद्धि भएको छ, त्योसँगै रेडियोमा चुनौति पनि थपिदै गएका छन्। पहिलो सविंधानसभाको निर्वाचन पछिको समयमा राजनीतिक प्रतिस्पर्धाको आधारमा रेडियो खोल्ने क्रम तिव्र भयो, जसका कारण एउटा सानो सहरमा पनि धेरै रेडियो स्टेशनहरु स्थापना गरिए। रेडियो स्टेशनको सङ्ख्या धेरै तर सिमित श्रोत र साधन , दक्ष जनशक्तिको अभाव, विजुलिको समस्या जस्ता कारणहरुले गर्दा सामुदायीक रेडियोहरुको अवस्था दिनानुदिन धराशायी बन्दै गइरहेको छ।

त्यसो त नेपालमा अझै पनि स्पष्ट रेडियो नीति बनेको छैन। रेडियो नीतिको अभावको कारण स्वघोषित आफूलाई व्यापारीक वा सामुदायीकको रुपमा व्याख्या गरिरहेको अवस्था छ।

विज्ञापन वजारको अभावले र अस्वस्थ प्रतिस्पर्धाले सामुदायीक रेडियोहरु समस्यामा छन्। रेडियोको व्यापार विस्तार गर्ने भनेर खोलिएका विज्ञापन एजेन्सीले समेत सामुदायीक रेडियोहरुलाई ठग्ने काम गरीरहेका छन, एकातिर अत्यन्त सस्तो मुल्यमा विज्ञापन बजाउनुपर्ने अर्कोतर्फ बेलामा भुक्तानि नदिने समस्याले आक्रान्त छन् सामुदायीक रेडियोहरू।

यी माथिका त वाह्य कारण भए , सामुदायीक रेडियोको बारेमा सोच्दा अब हामीले रेडियोले दिने कन्टेन्टको बारेमा पनि सोच्नुपर्ने वेला भएको छ। हामी नाममा आफूलाई सामुदायीक दाबी गरिरहँदा दिने विषयवस्तु कत्तिको सामुदायीक छन् त? हामीले दिने विषयवस्तु समुदायका मानिसले कत्तिको रूचाएका एकपल्ट आफूलाई नियाल्नुपर्ने भएको छ।

विषयवस्तु र स्थानीय सहभागतिको आधारमा अब नेपालका सामुदायिक रेडियोले काम गर्नुपर्ने बेला भएको छ। त्यतिमात्रै होइन अहिलेको रेडियोको मुख्य समस्या भनेको बिना आधार र भौतिक पूर्वाधार बिना खुलेका रेडियो हुन्। जसले नेपालमा रेडियोको सङ्ख्यामा त उल्लेख्य वृद्धि गर्‍यो तर गुणात्मकतामा अझै पनि ध्यान दिन सकेको छैन।

यो विश्व रेडियो दिवशसँगै राज्यले स्पष्ट रुपमा रेडियो नीति तयार पारी सामुदायीक रेडियोको वर्गिकरण गरी केही अनुदानको व्यवस्था गर्नु जरूरी छ। राज्यले त्यसरी नीति बनाउँदा आवश्यक्ता अनुसार रेडियोहरु मर्ज गरेर व्यवस्थित रुपमा रेडियो सञ्चालन गर्न चाहानेलाई एउटा आधार निर्माणको काम आजको आवश्यक्ता हो। अस्वस्थ प्रतिस्पर्धा होइन, आवश्यक्ता अनुसार एक अर्कामा मर्ज हुँदै नेतृत्वमा स्थानीय सहभागिता र स्थानीयस्तरले खोजेको सामाग्री उत्पादन र प्रशारणमा जोड दिएर प्रतिष्पर्धाको भावना हटाइ रेडियोबाट स्वच्छ समाजको निर्माण गर्न सकौं। रेडियो दिवसको शुभकामना।

लेखक धादिङको सामुदायीक रेडियोको स्टेसन म्यानेजर हुन्

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.