नपढेको डाक्टर


ताप्लेजुङको लेलेप गाउँबाट सदरमुकाम फुग्लिङ पुग्न कस्सेर हिँड्न सक्नेलाई ठ्याक्क एक दिन लाग्छ। विस्तारै आराम गर्दै हिँड्नेका लागि दुई दिन।  बीस वर्षअघि मैले त्यहीबाट कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाका लागि आफ्नो जागिरे जीवनको सुरूवात गरेको थिएँ।

आयोजनाको मुख्य कार्यालय लेलेप गाउँमा थियो। दुर्गम स्थान र खेतीपाती खासै नहुने भएकाले अन्न, तरकारी, नुन तेल सबै सदरमुकामबाट बोकाएर महिना दिनको रासन जोहो गर्नु पर्थ्यो।

लेलेपबाट फुग्लिङ जाँदा बाटोमा बास बस्ने र खाने होटलहरू फाट्ट फुट्ट थिए तर कुनै ब्यवस्थित थिएनन्।

एक दिन राति बास बस्नुपर्ने पिरलोले हिँडेको एकै दिनमा फुग्लिङ पुग्ने गरी बिहानै ६ बजे लेलेपबाट ओरालो लागेँ। त्यस दिन यति धेरै हिँडिएछकि दिउँसो १२ बजेनै हाङ्देवाको उकालो पुगेँछु।

हाङ्देवाको ठाडो उकालोको बिचमा बाटो मुन्तिर एउटा घरमा पानी पिएँ र एकछिन बिश्राम गरेँ।

मध्य असारको महिना, अत्यन्त गर्मी थियो। घरपटी दिदीले करूवामा पानी दिईन्। गर्मीले भुतुक्क भएको अवस्थामा ती दिदीको अनुहारनै नहेरी मैले त्यो करूवाको पानी कल कल पिएँ। एक करूवा पानीले त्यस गर्मीमा जीवनजलको काम गरेको थियो।

अब पुनः उकालो लाग्नुपर्ने थियो, त्यहाँबाट अर्को एक घन्टामा फुग्लिङ पुग्न सकिन्थ्यो।

हिँड्ने बेलामा ती दिदीलाई बाहिर बोलाएँ, पानीको लागि धन्यवाद भनी आफ्नो ब्यागप्याक ठीक पार्दै थिए, मेरो नजर ती दिदीको अनुहारमा पर्‍यो। दिदीको अनुहार त घाउले पुरै पाकेको रै’छ। त्यो घाउ देखेर भर्खरै पिएको पानीनै बाहिर निस्केला जस्तै भयो।

उनको नाकदेखि मुनी मुख र चिउँडोको वरीपरी घाउ पाकेर पिप बगेको थियो। बगेको पिप पुछेर उनको ब्लाउजसमेत भिजेको देखिन्थ्यो।

हिँड्न ठीक परेर बोकेको ब्यागप्याकलाई फेरि बिसाएँ र भुईमै राखेँ। उनलाई सोधे-के भएको? डाक्टरकोमा देखाएको छ कि छैन आदि।

उनले कुनै औषधि उपचार गराएको रहेनछ। गाउँको धामीले उपचार गर्दै रहेछन्। त्यहाँबाट एक घन्टामै फुग्लिङको अस्पताल पुग्न सकिन्छ, किन नगएको भन्ने जिज्ञासामा उनले आफू गरिब भएको र औषधि गर्ने पैसा नभएर जान नसकेको बताईन्।

‘मसँग फुग्लिङ हिँड, म औषधि गराएर फर्काइदिन्छु’, मैले भने। दुई छोरीहरू स्कुल गएका र दुई साना छोराहरू काखमा रहेकाले उनी म सँग जान मानिनन्। उता, उनका श्रीमान भारी बोकेर जिविका निर्वाह गर्दै आएकाले सात दिन पछि घर फर्कने रहेछन्।

यी दम्पत्तिले गरिबिका कारण शिर लुकाउन नसक्ने भएकाले खेतको हेरचाह गर्ने सर्तमा एक गाउँलेले घर बनाएर बस्न दिएका रहेछ्न्।

चार जना साना नानीकी आमा यी दिदीको अवस्था देखेर मलाई अत्यन्तै चिन्तित बनायो। उपचारका लागि केहि पैसा दिएर उनलाई कुनै फाइदा हुने थिएन। म प्रायः हिँडडुल गर्दा तथा आयोजनाको कामले गाउँमा कार्यक्रम गर्दा आफूसँग प्राथमिक उपचारका लागि प्रसस्तै औषधि बोकेर हिँड्ने गर्थेँ।

एकछिन म बेचैन भएँ र आफूसँग भएका केही प्राथमिक उपचारका औषधि सम्झिएँ। त्यस दिन सदरमुकाम जाँदै गरेकाले सकिएका औषधि त्यही किन्ने विचारले आफूसँग बचेका केही औषधी मात्र बोकेको थिएँ।

मैले ब्यागप्याकबाट औषधिको पोको निकाल्दै घाउ सफा गर्ने निलो झोल र घाउमा लगाउने पाउडर औषधि निकालेँ। प्राथमिक उपचारका लागि आवश्यक औषधिको लिष्ट र प्रयोग विधि सबै डाक्टरले लेखेर मलाई दिएका थिए।

डाक्टरको लिष्ट हेरेँ, लिस्टमा पाकेको घाउका लागि खाने एन्टीबायोटिक औषधी पनि रहेछ।

आफू डाक्टर थिइनँ, त्यसैले उनलाई एन्टीबायोटोक औषधि दिन डर लाग्यो। मैले दिएको एन्टिबायोटिकले भोलि उनलाई केही भइदियो भने? म दोधारमा परेँ।

त्यसै बिच लेलेपका एक जना स्कुले सर पनि आई पुगे। उनी फुग्लिङ तर्फ लम्कदै थिए। मैले बोलाएँ, ती दिदीको अवस्थाका बारेमा जानकारी गराए। एन्टिबायोटिक दिने वा नदिने भन्ने छलफल भयो। हुन त एन्टिबायोटिकलाई साधारण औषधि पसलमा खुल्ला बिक्री हुन्थे तर जोखिम किन लिने भनेर आपसी छलफल गरिएको थियो।

भोलि जे होला त्यो टर्ला तर, त्यस दिन ती दिदीको उपचारनै मेरो प्राथमिकतामा पर्‍यो। मैले आफ्नो कर्तब्य पुरा गर्ने निधो गरेँ। त्यस दिन म नपढेको एउटा गाउँले डाक्टर हुन र आफ्नो कर्तब्य निर्वाह गर्न बाध्य भएको थिएँ। एकछिनपछि उनकी जेठी छोरी स्कुलबाट आईन्।

आमालाई सहयोग गर्न सक्ने बाह्र वर्षकी रहिछिन्। तातो पानी तताएर ल्याईन्, औषधिले दिदीको पाकेको घाउ सफा गरिदिएँ, घाउमा नेस्पोरिन पाउडर लगाएँ र एउटा एन्टिबायोटिक खान दिएँ।

दिनमा तीन पटक घाउ सफा गर्ने, औषधि लगाउने र एन्टिबायोटिक खाने सल्लाह दिँदै म त्यहाँबाट बिदा भएँ।

बाहिर निस्कदा सूर्य अस्ताउन लागेको थियो। आधा घन्टा पश्चात सलल बग्दै गरेको हाङदेवाको पहिरो छिचोल्दै फुङ्लिङ तर्फ तेर्सो उकालो चढेँ। फुग्लिङ पुग्दा झमक्क रात परेको थियो। राति होटलमा बास बसियो, ती दिदीलाई फेरि सम्झिएँ, उनको आर्थिक अवस्थालाई सम्झिएँ, उनका भरिया श्रीमानलाई सम्झिएँ, उनका केटाकेटी सम्झेँ, सदरमुकाम छोएको त्यस गाउँलाई सम्झिएँ, त्यो हाङ्देवाको पहिरोलाई सम्झिएँ। अनि सम्झे-एउटै देश भित्रका नागरिक र समान अधिकार पाएकाबिचमा किन यस्तो धनी र गरिबको अन्तर? गाउँ र शहरबीच किन यस्तो खाडल? एउटै देश भित्र किन सुगम र दुर्गम, आदि।

भोलिपल्ट आयोजनाको काम सकी पर्सी पुनः लेलेप फर्कने योजना थियो। अचानक विशेष कामले फुग्लिङबाट काठमाडौं जानुपर्ने खबर आयो।

फुग्लिङबाट एक घन्टाको ठाडो उकालोमा पर्छ- सुकेटार एयरर्पोर्ट। त्यसताका सुकेटारबाट विराटनगरको उडान हुन्थ्यो। तर, फ्लाईट भरपर्दो थिएन, कहिले प्लेन आउथ्यो, कहिले बिचबाटै फर्कन्थ्यो।

सुकेटार उचाईमा रहेकोले अचानक कुहिरो आएर एकतर्फी रन वे ढाकिदिनाले प्लेन आएर पनि ल्यान्ड गर्न नसकी फर्कने गर्थ्यो।

यस पंक्तिकारले धेरै पटक प्लेन ल्यान्ड गर्न नसकेर फर्कनु परेको पीडालाई भुल्दै पुनः सुकेटारको एक घन्टाको उकालो चढने निधो गर्‍यो। प्लेन समयमै आउने सुकेटारका मेनेजरले जानकारी गराए। त्यसको एक घन्टा पछि प्लेन त आयो, तर आकासमा चार पटक चक्कर मारेर पुनः विराटनगर फर्कियो।

एक घन्टा अगाडि सुकेटारको मौषम एक दम राम्रो थियो, घमाईलो थियो। तर, एक घन्टापछि सुकेटारको मुन्तिरको कावेली नदीबाट बाफ जस्तै कुहिरो आएर पुरै सुकेटार एयरपोर्टलाई ढाकी दिएपछि प्लेन ल्यान्ड गर्न नसकी फर्किएको थियो।

सुकेटारले पुनः मलाई निरास बनाएको थियो। म पनि फुग्लिङको ओरालो लागेँ। फुग्लिङमा खाना खाई कावेलीको ओरालो समाते, बेलुका कावेलीमा बास बसी भोलि बिहानैको बसबाट बिर्तामोड अनि विराटनगर हुँदै प्लेनबाट काठमाडौं पुगेँ।

काठमाडौंबाट पन्ध्र दिनपछि पुनः विर्तामोडहुँदै फुग्लिङ आईपुगेँ।

त्यस दिन रात परेकाले फुग्लिङमा बास बस्नुको बिकल्प थिएन। ती दिदीलाई कहिले भेटौं र तिनको हाल खबर सोधौं भन्ने हतारो भइनै रह्यो। भोलिपल्ट बिहानै फुग्लिङबाट लेलेपतर्फ ओरालो लागेँ।

बाटाभरी ती दिदीका बारेमा कुरा खेलीरहे, उनको झझल्को आईनै रह्यो।

काठमाडौंमा हुँदा डाक्टरसँग सम्पर्क गरेको थिएँ र उनको अवस्थाका बारेमा जानकारी गराएको थिएँ। डाक्टरले त्यही एन्टिबायोटिक ठीक रहेको र त्यसले अरू इन्फेक्सन हुन रोक्ने र घाउ निको हुने जानकारी दिए। यो सुनेर मलाई धेरै खुसी लाग्यो र चिन्तित मेरो मन केहि शान्त भएको थियो।

उनले घाउमा लगाउने थप औषधि र पछि नबल्झियोस् भनेर प्रयोग गर्ने अन्य औषधीहरू पनि दिएका थिए।

फुङ्लिङको ओरालोपछि आधा घन्टामा हाङदेवाको त्यो भिमकाय पहिरो छिचोल्दै ती दिदीको घर पुगेँ। दिदी मुसुस्क मुस्कुराउँदै मलाई नमस्ते सर भनेर छेउमा सुकुल ओछ्याउँदै बस्न आग्रह गरिन्।

त्यस दिन शनिबार परेकाले सबै नानीहरू आँगनमा खेलिरहेका थिए। उनका श्रीमान पनि घर फर्किएका रहेछन्। सर , घाउ त निको भयो नि, हेर्नुस् त! उनले खुसीहुँदै पहिलो मुस्कान छोडिन्।

स-परिवारका साथ हँसिलो अनुहारमा देखिएकी दिदीको मुखको घाउ निको भएछ, नाक मुनीको भागमा घाउले बनाएको आलो कालो दाग प्रष्ट देखिदै थियो।

ती दिदीको खुशी र चम्किलो अनुहार देखेर मेरो पोलेको मन शान्त भएर आयो। उनको मुखको दाग आलो र निकै ठूलो थियो।

मैले ल्याएको औषधि सबै झिकेर उनलाई दिएँ र तत्काल लगाउने र खाने औषधिका बारेमा जानकारी गराएँ।

ब्यागप्याकबाट केटाकेटीका लागी ल्याएको केही चकलेट र लुगाको पोको जिम्मा लगाउँदै त्यहाँबाट लेलेपतर्फ प्रस्थान गरेँ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.