के कांग्रेस हारेकै हो?


को आम निर्वाचनसँगै नेपाली राजनीतिले एउटा मोड लियो। लामो अन्तराल संक्रमणकाल अब समाप्तितिर अग्रसर छ। शान्त र सम्पन्न नेपालको सपना अब साकार हुनुपर्छ। र, यो कामको बिँडो अरु कसैको होइन नेपाली आफैँले उठाउनुपर्छ। अपेक्षा गरौँ पक्का यसो हुनेछ। बोलीमा देखिएका र देखाइएका सपनाहरु मिथ्या हुनेछैनन्। यथार्थमै परिणत हुनेछ।

संघीय गणतन्त्र नेपालको संविधान जारी भयो। सोचेभन्दा धेरै शान्तिपूर्ण तवरले चुनाव भयो। स्वाभाविक छ जितहार पनि भयो। मताधिकारको माग गर्नेले मतको निर्णय मान्नैपर्छ। र यो पाला अपेक्षाकृत जनमत नै आएको हो। कसैले अस्विकार गर्ने कुरा थिएन, भएन पनि। नेपालमा लोकतन्त्रको विजयारोहण एवं अविराम पृष्ठपोषण गर्ने दल नेपाली कांग्रेस हो। लोकतान्त्रकालीन नेपालमा सबैभन्दा बढी जनमत संगालेको र सबैभन्दा बढी शासन सम्हालेको दल नेपाली कांग्रेस हो। त्यो नेपाली कांग्रेस यो निर्वाचनको परिणामपछि दोस्रो स्थानमा झर्यो। परिणाम अनपेक्षित थिएन। नेपाली कांग्रेसका लागि

यसपटक परिस्थिति सहज थिएन। प्रतिपक्ष सुधारोन्मुख, सुसंगठीत एवं आक्रामक थियो। थप सत्ता साझेदारीमा रहेको ठूलो घटक प्रतिपक्षीसँग गठजोड गर्न पुगेको थियो। प्रतिपक्ष नेकपा एमालेसँग सत्तारुढ माओवादी केन्द्रले अप्रत्याशित रुपमा गठन्धन गर्यो। राजनीतिमा ‘धोका’ भन्ने शव्दले कुनै माने राख्दैन शायद। तर, यस्ता साझेदारीमा न्यूनतम इमान्दारीको भने अवश्य अर्थ हुन्छ। यही इमानको उँचनीचबाट नेकाका लागि प्रतिकुलता जन्मिएको हो। थप अन्य कारणहरुले यस प्रतिकूलताका लागि मलजल गरेको हो। तथा, आफ्ना उपलव्धीलाई जनतासमक्ष पुर्याउन नसक्नु, सांगठनिक कमजोरीलाई सुधार्न नसक्नु, गुटपरस्तीबाट उक्लिन नसक्नु, अन्तरघातको पुरानो रोगको रोकथाम नहुनु र आक्रामक हुनुपर्ने बेलामा रक्षात्मक हुनपुग्नु। यसका बावजुत नेकाले पाएको मत शानदार हो। जबकी स्थानीय चुनावसँगको मत तुलना गर्ने हो भने मतान्तर अझै धेरै हुनुपर्ने थियो।

जे होस्, नेपाली कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने आदेश दिए। ‘कम्युनिष्ट’लाई मिलेर शासन गर्ने जिम्मेवारी र अवसर मिलेको छ। प्रकृयाको समापनसँगै कांग्रेसले सत्ता बहिर्गमन गर्छ। सात दशकसम्म लोकतन्त्रका खातिर संघर्षरत बलिदान गरेको दल हो, नेपाली कांग्रेस। सत्ता छोडेर बस्नुपर्ने परिस्थिति पहिलोपटक आएको होइन नेपाली कांग्रेसलाई। कांग्रेसको मूल राजनीति विश्वास भनेकै जनमतको कार्यान्वयन हो।

अहिले कांग्रेसलाई सत्ता छाड्ने दवाव दिइँदैछ। ऊमाथि सत्तालोभको आरोपसमेत लगाउन लागिएको छ। निर्वाचनको समाप्तिसँगै ‘कामचलाउ’ भैसकेको वर्तमान सरकारको जिम्मेवारी नवनिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु नै हो। तर, अहिलेको स्थितिमा सत्ता कस्लाई सुम्पने? संसदले पूर्णता लिइसकेको छैन। प्रतिनिधि सभाको परिणामपछि कांग्रेसले सरकार बनाउने संभावना हाललाई देखिँदैन।

त्यो स्थिति राष्ट्रिय सभाको निर्वाचनपछि पनि नआउने स्पष्ट छ। तर हुन्छ चाहिँ के? कसले बनाउँछ सरकार? कसैको एकल बहुमत आउँछ? अथवा तालमेल गठवन्धनको सरकार बन्छ? यावत प्रश्नहरूको जवाफ संसदको पूर्ण स्वरुपबाट मात्र पाउन सकिन्छ। वा एमाले र माओवादी केन्द्रको कथित एकीकरणले मुर्त रुप लिएको अवस्थामा पाउन सकिन्छ? त्यसैका लागि ‘कुर्नु’को विकल्प छैन।

विगतमा आठ महिना लामो समयसम्म ‘काम चलाउ’ नै चलिरहेको नजीर पनि छ। अहिले निर्वाचन आयोगलाई अक्षेपित गर्ने काम पनि सुरू भएको छ। प्रधानमन्त्रीलाई धारेहात लगाउन पनि थालिएको छ। यो हतारको काम भएको छ। जहाँसम्म निर्वाचन आयोगको सवाल छ, उसलाई कुनै विवादमा तान्नु जरुरी छैन। निर्वाचन आयोगले जान लागेको सरकारसँगको सहकार्यमा कुनै षडयन्त्रको तानाबाना बुनेको शंका बेकार छ। शंका गर्नुपर्दा त वर्तमान निर्वाचन आयोग प्रमुखलाई नियुक्त गर्नेसँग जोडेर शंका गर्न सकिन्छ।

अयोधीप्रसादको बफादारीताकै कुरा गर्ने हो भने उनको वफादारी नेपाली कांग्रेस र शेरबहादुर देउवाभन्दा आफूलाई नियुक्त गर्न माओवादी केन्द्र र पुष्पकमल दाहालप्रति हुनुपर्ने हो। यसै मेसोमा राजनीतिको पासा सदैव आफ्नो पक्षमा पार्न सिपालु प्रचण्डको भूमिका यतिखेर दृष्टिगत गरिनु बान्छनीय छ। वर्तमानमा उनको अभिष्ट के हो? यसमा अनुमानको खेती गर्नुभन्दा राजनीतिले स्वस्थ एवं नियमित गति मिलोस् भनि शूभेच्छा बढी जायज हुनेछ। सिक्काको अर्को पाटोमा सत्ता बाहिर जान लागेको दल नेपाली कांग्रेस छ। नेकाले अब के गर्छ? वा के गर्नुपर्छ? पंक्तीकार आफू स्वयम् नेकासँग सम्बन्धित भएको कारण यतातिर केन्द्रीत हुनु बढी आवश्यक ठान्दछ।

नेपाली कांग्रेससँग गौरवशाली इतिहास छ। कालजयी व्यक्तित्वहरुको मुर्धन्यता छ। विपी विचारको विराशत छ। लोकतान्त्रिक समाजवाद मुलमा रहेको त्यो विचारले वर्तमान कालमा सर्वोच्चता राख्दछ। आज सबै धारहरुको दिशा त्यतैतिर गइरहेको देखिन्छ। जुन गन्तव्य विपीले सात दशक अघि नेपाल र नेपालीलाई देखाउनुभएको थियो। तर वहाव छैन,  भूमरीमात्र छ। हामी संघर्ष, संघर्ष अनि फेरि संघर्षमै जेलिइरहेका छौँ। हाम्रा प्रत्येक संघर्षका परिणति प्राप्ती नै छ। तर, हामीले त्यो प्राप्तीलाई जगेर्ना गर्न सकेका छैनौँ। आफ्नो आदर्श र मूल्यबाट हामी पटक पटक चिप्लिएका छौँ। म, नेतृत्वलाई ‘च्यूत’ भएको मान्दिन। तर, चुकेको भने अवश्य छ।

आजको आवश्यकता सायद यही चुकको निदान र समाधान हो। कतै नेकाले समय र साथी चिन्न नसकेको पो हो कि? अन्यथा कांग्रेसमा योग्य र इमान्दार व्यक्तिहरुको कमि छैन। खाँचो छ त केवल यस्तो विराट व्यक्तित्वको, जसले सबैलाई समेट्न सकोस्। आफू, आफन्त र आफ्नो गुट अनि स्वार्थभन्दा माथि उठ्न सकोस्। यस्तो व्यक्तित्व बाहिरबाट आउँदैन। आफूभित्रैबाट परिस्कृत र परिमार्जित भएर निस्कनुपर्छ। व्यक्तित्वकै मन्थनबाट व्यक्तित्व निस्कन्छ। यसका लागि साथ–सहयोग र विश्वास आवश्यक हुन्छ। सह–अस्तित्वलाई स्विकार्नुपर्छ। सामुहिकतालाई अंगाल्नुपर्छ। चरित्र र व्यवहारमा सुधार हुने हो भने अध्यावधि कांग्रेस बिग्रिएको छैन।

विपीको विचार, सुवर्णको समर्पण, गणेशमानको संकल्प, किसुनजीको सादगी र गिरिजाबाबुको समय सापेक्ष सोच र शैलीका साथ अघि बढ्नुपर्छ। नेपाली कांग्रेस कहिल्यै हार्दैन।

बिट मार्नुअघि एउटा सुखद प्रसंग, नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकास शर्मालाई नियुक्त गरिएको छ। किशोर अवस्थादेखिनै लोकतान्त्रिक आन्दोलनमा समर्पित नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष शर्मा शिष्ट एवं शालीन, निष्ठावान्, कर्मठ, बौध्दिक एवं जुझारु युवानेताका रुपमा परिचित छन्। नेपाली कांग्रेसका आम कार्यकर्ताले उनी र उनीजस्ता तेस्रो पुस्ताप्रति ठूलो आशा र भरोसा राखेका छन्।

राष्ट्रियसभामा एउटा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नेपाली कांग्रेसबाट छानिएका र निर्वाचित हुन लागेका युवा अनुहारहरूले पनि आम कार्यकर्ताको यो भरोसालाई जीवित बनाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.