आँखा बन्द गर्‍यो बा आउने, खोल्यो सबै बिराना लाग्ने


आँखाभरी आँसु भरिन थालेपछि आँखाले पनि प्रष्ट देख्न छाड्छन्। आँखाका किनारमा बिस्तारै आँसु उम्रिन थाल्यो। बाटो पनि बिस्तारै बिस्तारै धमिलो देखिन थाल्यो।

मैले बाटोमा रातो धुलो उडाउँदै हिँडिरहेका सबै मान्छे कमिला जस्ता मात्र देख्न थालेँ। एक्लै रूँदै सुर्खेत बजार तलमाथि चहार्दै दौडिरहेको बालकलाई देखेर कति मान्छेले रमिता मानेर हेरे होलान्। कतिले ‘कठै! बच्चो हराए’छ’ भन्ने सोचे होलान्। कतिले ‘पाउन जान्नेले स्याहार्न किन नजानेको पनि भने होलान्’ भन्ने मिथ्यापूर्ण तर्क गरेर मलाई हेर्दै मनोरञ्जन लिए होलान्।

बिहानदेखि मध्य दिनसम्म चुनावताका सुर्खेत बजारमा तल्लो कुना र माथ्लो कुना गर्दा मसँग ठोकिएका सयौ मान्छेहरुमध्ये कसैले पनि ‘के भयो?’ भनेर सोधेनन्।

सुर्खेत नपुगुन्जेल बाटोमा कसैले रोकेर ‘कहाँ जान लागेको?’ भनेर सोध्लान् भन्ने त्रास थियो। सुर्खेत पुगेको अर्को दिन बिहानदेखि कसैले रोकेर ‘के भयो?’ भनेर सोधिदिए हुन्थ्यो भन्ने मात्र लागिरहन थाल्यो। तर, कसैले सोधेनन्। सुर्खेतमा मध्य दिउसोँबाट मेरो बाटो हरायो।

पोहोर साल बाले मेरा औंला समातेर हिँडाएजस्तै सुर्खेतमा मेरो औंला समाइदिने मान्छे खोज्न थालेँ। तर, अह… कोहि भेटिएनन्। दिन छिप्पिँदै जान थाल्यो। भोक थकाइ र प्यासले शरीर लुलो हुँदै जान थाल्यो। दिन ढल्कदै जान थालेपछि ‘अब बेलुका कहाँ बस्ने होला’ भन्ने डर उम्रिन थाल्यो।

मान्छेको नाम निसान नभएको जंगलको बाटोहुँदै रातबिरात एक्लै हिँडेर आएँ। त्यहाँ डर लागेन। अब मान्छेको भीडमा पुगेपछि झन डर लाग्न थाल्यो।

सुर्खेतको मध्य बजारभरी ग्रावेल बिछाइएको कच्ची बाटो थियो। गाडी, रिक्सा, साइकल र ठेलागाडाले उडाउने धुलोले बजार ढाकेको थियो। धुलोले बाटोमा हिँडने मान्छेको रङ फेरिएको थियो।

सायद २०५१ साल मंसिरको चुनाव मुखैमा आएको थियो। ‘यसपाली फलानो पार्टीले पक्का जित्छ, फलानो पार्टीले हार्छ,’ यस्तै गफका कर्‍याङकुरूङ आवाज कानमा आएर ठोकिन्थ्ये।

बाटोको वारी र पारी रहेका घरका भित्ताहरू चुनावी प्रचारले भरिएका थिए। गाडी, साइकल, ठेलागाडा झालेमाले झण्डाले सजाइएका थिए। तल्लो कुना माल्लो कुना गरिरहने रिक्सामा राखिएको ठूलो बुढो बिरामी रेडियो (पछि मात्रै मैले यो माइक र छ भन्ने बुझे) ले चर्को आवाजमा बारम्बार यामलाल कँडेलको नाम बजाइरहन्थ्यो।

राजनीति बुझ्नु मेरो चासोको विषय हुँदै होइन। राजनीति बुझेर बुझ्न सकिने विषय पनि रहेनछ। उमेरसँगै परिपक्कता बढ्दै गएपछि आजकल सम्झन्छु -राजनीति सामान्य मान्छेहरुले गर्ने विषय होइन, राजनीति सबैले बुझ्नैपर्ने विषय पनि होइन र राजनीति सबैले गर्ने विषय पनि होइन।

अब दिन झनझन छिप्पिँदै जान थाल्यो। सुर्खेत ‍झर्नेबेला रातामाटाको ओरालोमा अघिल्लो दिन राति चप्पल चुटिएको थियो। बाटोमा फालेको प्लाष्टिकको झोलालाई डोरी बनाएर जोडेको थिएँ। ग्रावेल गरिएको ढुंगा र माटोमाथि दौडिँदा दौडिँदै वाटा चप्पललाई हिजो जोडेको प्लाष्टिकको डोरी फेरि चुटियो।

चप्पल हातमा समातेर भौतारिन थालेँ। सुर्खेतको विरेन्द्रचोकदेखि बसपार्कसम्म कम्तिमा एक दर्जन चोटी ओहोर-दोहोर गरे हुँला। कसैले एक शब्द सोधेनन्। मैले कसैलाई सोध्ने हिम्मत गर्न सकिनँ।

आँखा बन्द गर्‍यो बा आँखामा आउने। खोल्यो सबै बिराना लाग्ने।

मलाई सुर्खेतको पिपल चौतारा पुग्नु थियो। बासँग भारत जाने बेला यही पिपल चौतारोमा हामी बास बसेका थियौं। यो चौतारोमा कोही छन् कि भन्ने आस लागिरह्यो।

यही पिपल चौतारो खोज्न एक दर्जन भन्दा बढी पटक विरेन्द्रचोक र बसपार्क ओहोर-दोहोर गरेँ। विरेन्द्रचोकबाट दाहिने फर्किदा देखिने पिपल चौतारो मैले ठम्याउन सकिनँ।

रोएर आँखा सुनिएका थिए। कात्तिक महिनामा नदिको पानीमाथि डुबुल्की मारेर हिँडेको बालक। गाला छाम्दा खस्रो लाग्ने गरि गाला फाटेका थिए। पानी पर्दा पनि चर्‍याउँने गरि ओठ फाटेर चिरिएका थिए। कच्ची बाटोमा उडेको धुलोले अनुहार छोपिएको थियो। हातमा चप्पल समातेर स्वर नसुकुन्जेलसम्म आवाज निकालेरै रोइरहे।

अब बिस्तारै भोक लाग्न थाल्यो। प्यासले घाँटी सुक्न थाल्यो। विरेन्द्रचोकको छेउनेर पानीको धारो थियो। पानी पिउन धारोनेर पुगेँ। हरिया, पहेला, निला, काला प्लाष्टिकका ग्यालेन र सिल्भरका गाग्राको लाइन लगाइएका थिए। धारोमा पालो कुरेर बसेका महिलाबीच पनि चुनाव र राजनीतिकै  गफ चलेको थियो।

देश र राजनीतिको गफ भइरहेको भीडमा मैले पानी माग्न सक्ने हिम्मत जुटाउन सकिनँ। कसैले सोध्ला र ‘पानी पिउने’ भनौला सोचेर धारोनेर उभिरहेँ। कसैले सोधेनन्। एक दुई वटा ग्यालेन भर्न बाँकि हुँदै धारोमा पानी सुक्यो। शायद १२ बजेपछि धारो बन्द हुन्थ्यो क्यारे।

धारोमा पानी आउन बन्द भएपछि सबैजना फर्के। मैले ‘कसैले नदेख्न गरी’ पानी भर्दा ग्यालेन र गाग्रोबाट बाहिर पोखिएको पानीमा घोप्टो परेर ओठ भिँजाए। ‘लौन पानी सुकिसके छ। यस्तो फोहोर पानी किन पे’को?’ पछाडिबाट कर्कस महिलाको स्वर कानमा ठोकियो। भर्न बाँकि रहेको एउटा ग्यालेन उनैको रहेछ।

उनी फेरि फतफताइन् ‘किन फोहोर पानी पिएको?’

मैले कुनै जवाफ फर्काउन सकिनँ। हातमा चप्पल समातेको, धुलोले मुख छोपेको, रोएर आँखाका डिल सुनिएका, कहिँ कतैबाट म कुनै प्रश्नको जवाफ फर्काउन सक्ने अवस्थामा थिइनँ। म एक्लो भँए भन्ने कुराको बाहेक अरू ख्याल गर्न सक्ने अवस्थामा म थिइनँ।

म त्यहाँको स्थानीय होइन भन्ने पत्तो लगाउन ती महिलालाई केही मिनेट पनि लागेन। ‘घर कहाँ तिम्रो?’ जुम्ला भन्न नपाउँदै मेरा आँखाबाट तरर… आँसु पोखिए। म ती महिलालाई हेरेर रोएँ। ती सुखका आँसु थिए। ‘तिम्रो घर कहाँ हो?’ भनेर सोधेपछि बगेका सुखका आँसु। घरबाट हिँडेको तीन दिन पछि म यति बिछिप्त र एक्लो भएछु। कसैले तिम्रो घर कहाँ हो भन्दा पनि रून आउने भएछ।

‘कसरी सुर्खेत आइपुगेको?’

‘भागेर..’

हिजो अस्ती बाटोमा ‘भागेर आएको हो कि?’ भनेर सोध्नेहरूसँग म तर्किएर ‘होइन’ भन्दै साना खुट्टालाई अझ गति दिएर दौडिन्थ्ये। २४ घण्टाभित्रै मान्छेको अवस्था र पस्थितिमा कति धेरै वदलाव आउने र छ नि! ती महिलालाई मैले ‘भागेर आएको हुँ’ भन्ने जवाफ दिनै सुरक्षित ठानेँ। ‘भागेर आएको’ भन्ने मेरो जवाफले ती महिला झन सतर्क बनिन्।

‘आम्मै एक्लै जुम्लाबाट कसरी आ’को त?’

यो प्रश्नको जवाफ मैले फर्काउन सकिनँ। बस! मैले आँसु मात्र बगाइरहेँ। ‘आइज मँसग’। ती महिलाको पछाडि नलाग्नुको अर्को बिकल्प मसँग केही बाँकी थिएन। आमा जता गयो त्यतै पछ्याइरहने अनुशासित बालकजस्तै हातमा हरियो खाली ग्यालेन बोकेकी ती महिलाको पछि पछि लागेँ।

ती महिलाले मैले खोजिरहेको पिपल चौतारोको नजिकैको टहरोनेर लगिन्। बासँग आउँदा राति सुतेको पिपल चौतारो बल्ल चिनेँ। तर चौतारोमा एउटा पनि मान्छे देखिनँ। च्यातिएको कालो प्लाष्टिक, पुराना चामलका बोरा, खर र चुरोटका कार्टुन च्यातेर छापेको टहरोभित्र ती महिला पसिन् र प्लाष्टिकको हरियो गिलासभरी पानी ल्याएर बाहिर आइन्।

‘ल… पानी पे…’

मदर टेरेसा भन्छिन् -‘तिमिले कति दियौ त्यो महत्वपूर्ण होइन, तिमिले कति प्रेमले दियौ त्यो महत्वपूर्ण हो।’ मैले यत्रो वर्षपछि सम्झनसक्ने गरि मेरो सम्झनामा बसेकी ती महिलाको अनुहार अब शायदै मेटिनेछ। उनले पिलाएको त्यो एक गिलास पानीलाई मैलै ‘पानी’ कै रूपमा मात्रै सम्झिरहेको छैन। ती महिलाले मलाई दिएको माया, करूणा र प्रेम जब सम्झन्छु तब लाग्छ ‘दिनलाई’ मान्छेसँग केही हुनु पर्दैन। मान्छेभित्र रहेको प्रेम र एक गिलास पानीले मात्रै मान्छेको चोला फेरिन्छ।

ती महिलाले टहरो अगाडि तीन वटा ढुँगा ठड्याएर भान्छा बनाएको थियो। उनको चुलो छेउमा एउटा पुरानो कालो डढेको फलामको कराईँ थियो। एउटा किटली थियो। दुई वटा हरियो र रातो कलरको सानो प्लाष्टिकको प्लेट थियो। खानेकुरा उनको चुलो वरिपरि मैले केही देखिनँ।

‘भोक लाग्यो?’ महिलाले सोधिन्। मेरो अनुहारमा हो भन्ने जवाफ थियो। ती महिला हाँस्दै उनी बस्ने टहरोको पारीपट्टी बाटोमा खिद्रिमिद्री बेच्न राखेका दोकानतिर लागिन्। म पानी सकिएको हरियो प्लाष्टिकको गिलास समातेर उनलाई हेरिरहे।…. क्रमशः

यो पनि हेर्नुहोस्-

भाग-४ -‘त्यसैले त अस्तिको दिन घरबाट भागेर हिँडे’

भाग-३- दिदी तेरा देवर दिवाना…

भाग-२- नौ वर्षको उमेरमा घर छोडेर भागेको मलाई जब साथीले पनि छोड्यो…

भाग-१ – घर छोडेर भागेको दिन

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.