एम्बुलेन्स सेवा कसलाईः नागरिक कि पहुँचवालालाई?


रातिको ठ्याक्कै १२ बजे एउटा नयाँ नम्बरबाट फोन आयो।  फोन उठाँउ कि नउठाँउ भन्ने दोधारमै घण्टी बज्दा बज्दै काटियो।

फेरि अर्को पटक पनि  त्यही नम्बरबाट फोन आयो। अहिले भने पहिलो पटकमा नै फोन उठाएँ।
हेलो!

‘बैनि मेरो छोरा सार्है बिरामी भयो एम्बुलेन्स बोलाईदिनु न।’

हत्तपत्तिएको आवाज एउटै घरमा भाडामा बस्ने छिमेकी दाइको रहेछ। उनले त्यति भनेर फोन काटें अनि म दगुर्दै उनको कोठामा पुगें।

छिमेकीको १२ बर्षका छोरा दुख्यो दुख्यो भन्दै निकै छटपटाइरहेका रहेछन्। अचानक उनको स्वास्थ्य विग्रिएपछि उनले एम्बुलेन्स बोलाउन मलाई गुहारेका रहेछन्। मैले पनि समय खेरा नफालि मोबाइलमा सुरक्षित एउटा एम्बुलेन्सको नम्बरमा फोन लगाएँ। तर सम्पर्क हुन सकेन। ती बालक छट्पटाइरहेका थिए तर यता भने फोन नै लागेन।

नजिकैको एउटा अस्पतालको ल्यान्ड लाइनमा पनि फोन गरें। जति घण्टी गएपनि फोन उठेन। उता ती बालक उस्तै छट्पटाइरहेका थिए। उनको त्यो अवस्था सहि सक्नु थिएन।

दाइले फोन नलागेको देखेपछि हतास हुँदै भने,‘बहिनी लौन केही उपाय लगाउनु पर्यो।’मैले प्रहरीको फोन गर्न उचित ठानें। धन्न प्रहरीबाट एउटा एम्बुलेन्सको नम्बर पाएँ।

फाने गरें तर उठेन। लगातार ३ पटक गरेपछि फोन उठ्यो,‘हेलो’।

मैले भनें,‘दाइ लौन अस्पताल जानु पर्यो। बच्चा विरामी भयो।’ तर उनले आफु बिरामी पुर्याएर बल्ल खाल्टे आईपुगेको बताउँदै आउन नभ्याउने बताए।

मैले अरु कुनै एम्बुलेन्सको ड्राईभरको नम्बर मागें तर उनले थाहा छैन भन्दै फोन काटिदिए।

बल्ल बल्ल भेटेको एउटा एम्बुलेन्सले पनि आउन नभ्याउने बताएपछि मेरो बिकल्प नेपाल टेलिकमको १९७ नम्बर बन्न पुग्यो।
त्यहाँबाट अर्को नम्बर दिईयो। त्यो जिल्ला जनस्वास्थ्य कार्यलयको रहेछ।

फोन गरेको उठ्यो। अलि ढुक्क जस्तो भएँ र भनें,‘एउटा बच्चा निकै बिरामी छ। एम्बुलेन्स पठाईदिनुस् न है।’
तर मैले कुरा सुनाइनसक्दै फानेबाट प्रश्न आयो। ‘तपाई को बोल्नुभएको?’

मैले भनें,‘म बिरामीको आफन्त।’

यति भनिसक्दा नसक्दै फोन काटियो। मेरो यो प्रयास पनि असफल भयो।

सायद उनले सोधेको ठाउँमा म सिडियो, एसपी, नेता, पत्रकार अथवा जिल्लाका उच्च ओहोदाका ब्यक्ति भएकी भए हस हजुर भन्ने जवाफ आउँथ्यो हो। तर म सामान्य सर्वसाधरण थिँए।

फेला नपरेको एम्बुलेन्स र बच्चाको छटपटाहट सहन नसकेर भनें, ‘दाइ तपाई बच्चालाई तातो कपडा लगाईदिनुस् म स्कुटरमा हस्पिटल पुर्याईदिन्छु।’

तर दाइले मानेनन् र भने,‘त्यसरी उफ्रिएको बच्चालाई स्कुटरमा अर्को दुर्घटना हुँन सक्छ बरु कुनै बोलेरो बोलाईदिनुस्।’
उनको सुझाव ठिकै लाग्यो मलाई। एकजना छिमेकीको सामान बोक्ने एउटा पिटपिटे थियो। फोन गरेर बोलाएँ। तुरुन्तै आइपुग्यो।
१ घण्टाको प्रयासमा पनि एम्बुलेन्स नपाएका हामीले अन्ततः आँफैले ब्यवस्थापन गरेर बिरामी हस्पिटलसम्म पुर्यायौं।

ती बाललकको आमावुवाले बल्ल शान्तिको सास फेरे।

राति कोठामा फर्केपछि मलाई निन्द्रा लागेन। रातीको १ बजे सबैतिर चकमन्न छ। तर मेरो मनमा भने धेरै खैलाबैला मच्चियो।
कति प्रयास गर्दा पनि एम्बुलेन्ससँग सम्पर्क नुहुनु र फोन सम्पर्क भएका ब्यक्तिहरुको प्रतिक्रिया, त्यो बाबुलाई भएको पिडाले मलाई निदाउन दिएन।

विरामी हुँदा पनि समयमा एम्बुलेन्स नपाइने आफ्नो देशको हालत देखेर विरक्त लागेर आयो। मनमा धेरै हलचल र अशान्ति भएपछि मैले ल्यापटप खोलें र आफ्नो आवेग शान्त बनाउ केही शब्द लेख्न थालें। लेख्दा लेख्दै पनि ती बिरामी बच्चाको सम्झना आयो। बच्चाको अवस्था कस्तो होला? भनेर सोच्न थालें।

आफ्नी १८ महिनाकी छोरीलाई छाडेर अस्पताल पुग्ने अवस्था मेरो थिएन । भोलिपल्टको अफिस र कामको सोचाईले म जबरजस्ती निकै बेरपछि निदाए।

एम्बुलेन्स, डाक्टर, प्रहरी मानिसलाई अफ्ठ्यारो पर्दा नै त चाहिने हो। त्यति प्रयास गर्दा पनि नपाईएको एम्बुलेन्स मैले अरु ३ घण्टा सम्पर्क गरेको भएपनि पाँउदिन थिए सायद। मैले यही निष्कर्ष निकालें। किनकी एम्बुलेन्स नपाउनु संयोग थिएन हाम्रो देशको नियति थियो।

संयोगले केही समयपछि कार्यालयमा अस्पताल बिकास कोषका अध्यक्ष सुवास कार्की एउटा काम लिएर आउनुभएको थियो। मैले उहाँको नाम सुनेकी थिँए। तर चिनजान थिएन। कुरा हुँदै जाँदा उहाँले आफु अस्पताल बिकास कोषको अध्यक्ष भनेर चिनाउनुभयो। मलाई पनि के खोज्छन् कानो आँखा भनेजस्तै भयो। एम्बुलेन्स नपाउँदाको दुख उहाँलाई सुनाएँ।

उहाँले त्यो अवस्था स्विकार्दै भन्नुभयो,‘अब त्यस्तो परे मलाई फोन गर्नुस् न है’।

उहाँको कुरा सुनेर म फेरी एकोहोरिँए।

‘म त केहि परे उहाँलाई फोन गरौँला। तर निकै दुरदराजका सर्बसाधारणहरुले समस्यामा कसलाई फोन गर्ने?’ यही प्रश्न मेरो दिमागमा धेरै बेर खेलिरह्यो।

सर्बसाधारणलाई सेवा दिने भनिने एम्बुलेन्स सेवा परेको बेला सर्बसाधारणको पहुँचमा छन् त?

सिन्धुली जिल्लामा १६ वटा एम्बुलेन्स छन्। सदरमुकाममै ६ वटा संचालनमा छन्। तर म जस्ता सर्वसाधरण अझै पनि एम्बुलेन्स सेवाको पुहँचमा किन हुँदैनन्।

अब भन्नुस् ती एम्बुलेन्स कसको पहुँचमा छन्?

सर्बसाधारण नागरिकको की पहुँचवालाको?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.