मदिराबिना भोज चल्दैन र!


‘तीन वटा टुवोर्ग बियर किन्दा एउटा सित्तैमा…।’ अंग्रेजी नयाँ वर्षको अघिल्लो साँझ दरबारमार्ग र ठमेल आसपास घुम्दा हरेक होटल, रेष्टुरेन्टमा यो सूचना ठूलाठूला अक्षरमा टाँगिएको देखियो। स्वदेशी तथा विदेशी नागरिक त्यसमा पनि युवायुवतीको बाक्लो उपस्थिति देखिन्थ्यो यी ठाउँहरूमा।

भर्खरका युवाहरू निष्फीक्रिसँग नयाँ वर्षको स्वागतमा लागिरहेका थिए। ओठ निचोर्दा दुध निस्कने उमेरका युवाहरूका हातमा पनि विदेशी मदिराका बोत्तलहरू पुगिसकेका थिए। युवा मात्रै होइन युवतीहरू पनि युवासँग प्रतिस्पर्धा गर्न स्वतन्त्र भएर मदिरा पिइरहेका थिए। यी दृश्य देख्दा मनमनै सोचिरहँे– अरु कुरामा आरक्षण चाहिए पनि मदिरा खान महिलालाई आरक्षण चाहिने रहेनछ।

महंगा विदेशी ब्रान्डका मदिरा सेवन नगरीकन नयाँ वर्ष मनाउन सकिँदैन? मदिरा र मासुका परिकार यस्ता अवसरमा कति खपत हुन्छ भनेर यकिन तथ्यांक निकाल्न असम्भव छ। तर देखिएको सत्यता के हो भने मदिराविना कुनै खुसी चल्दैन हाम्रो समाजमा। व्यापारीले त जसरी हुन्छ आफ्नो ब्यापार बढाउने दाउ पर्खिरहेका हुन्छन्, उपभोक्ताले एउटा सित्तैमा पाउने लोभमा पैसा मात्रै खर्च गरेका छैनन् स्वास्थ्यपनि खराब बनाइरहेका छन्। हरेक शुभकार्यको लागि मदिरा अनिवार्य तत्व जस्तै भइसक्यो, हामी परिवारका सदस्यहरू दरबारमार्गदेखी ठमेलका हरेक गल्लीगल्ली चहार्दै रमाइलो नियाल्यौँ।

साँझ झमक्क परे पनि उज्यालो धपधपी बलिरहेको थियो। अँध्यारोको कुनै गुन्जायस थिएन, केही त खाऔँ भन्दै सुप खाएर दृश्य हेर्याैँ, माहोल देख्दा बाहिर खान मन लागेन घरमा आएर पकाएर खायौँ सबैजना जम्मा भएर खान पाउँदा त्यसै रमाइलो हुन्छ। मदिराविना पनि हामीले मनग्यै रमाइलो गर्याैँ।

गत मंसिरमा एकजना साथीले आफ्ना सहकर्मी साथीहरूलाई आफ्नो बिहेको निमन्त्रणा कार्ड बाँडे। उनको बिहेको कार्ड हातमा पर्नासाथ साथीहरु कानेखुसी गर्न थाले, निमन्त्रणा त आयो तर बिहे भोजमा जाने कि नजाने? बिहेको कार्ड थमाउने साथी आफैँ साकाहारी हुन, उनका बुवा पुरोहित आमा कृष्ण प्रणामी, घरमा माछामासु पूर्ण रुपले बर्जित छ, पुरै परिवार शाकाहारी छ। साथीभाइ सबैजना मासु र मदिराका भक्त छन् कार्यालयमा पनि उनी प्रायः एक्लै पर्छन् खानपानको मामलामा। ‘आफ्नो साथी त हो बिहेमा नजाऊँ भने आएनन् भनेजस्तो ठान्ला जाऊँ भने खानपान मिल्दैन, त्यही शुद्ध दालभात खान के पाटीमा गइरहनु? ‘मासु, रक्सी भए पो पार्टीको मज्जा आउँछ। यो बाहुनको भोज नै काम नलाग्ने’ एकजना साथीले छेड हानिहाले।’

अर्को साथीले मुख फोरेरै भने ‘हामी तिम्रो बिहेमा आउँछौ, हाम्रो बानी तिमीलाई थाहा छ खानपानको व्यवस्था अलग्यै भएपनि हुनुपर्छ। रक्सी , मासु खान पाइँदैन भने खल्लो भइहाल्छ नि’ … कार्ड दिने साथी अन्यौलमा परे जवाफ दिन सकेनन्। ‘म व्यवस्था गर्नु तिमीहरू आउनुपर्छ’ तत्कालको लागि चित्त बुझाइदिए तर मनमा अनेकन तर्कना मडारिन थाले। ‘रक्सी, मासु नभइकन साँच्चिकै भोज, भतेर चल्दैन? विवाह, व्रतबन्ध, पास्नी, सेमिनार, जन्मदिन, साथीभाइ भेटघाट जे हुँदापनि रक्सी नभइनहुने?

शुुभकार्यको लागि अनिवार्य तत्त्व नै बन्यो मदिरा’ उनी इन्तु न चिन्तु बने। आफू सरिक नभएपनि छुट्टै रेष्टुरेन्टमा दश जना साथीको लागि एक कार्टुन रक्सी र मासु सहित खानपानको व्यवस्था गरिदिए। साथीहरू रक्सी खान नपाए बिहेमै नआउने भए के गर्नु? मदिरा र मासुको व्यवस्था सहितको भोज छ भन्नपर्ने अवस्था आयो उनले वास्तविकता उजागर गरे।

यी साथीका सहकर्मीहरू मात्रै होइन सहरमा मदिराप्रेमीको संख्या पछिल्लो दिनमा निकै बढेको छ। ‘बाहिर त अरुले देख्नेगरी खाइँदैन घरमै श्रीमान श्रीमती बसेर त खाइन्छ, कहिलेकाँही रमाइलो गर्नुपर्यो नि’ महिलाहरू खुलेआम भन्छन्। मदिरा लत हो कि अनिवार्यता? शुभकार्यको बहानामा होस् या दुःखको क्षण बिर्साउने दाउमा मदिरा बेस्सरी खपत भइरहेको छ।

मदिराकै कारण कतिपयका मिलेका घरबार बिग्रीएका छन्, परिवारमा हिंसा फैलिएको छ, वैमनस्यता बढेको छ त्यो भन्दा ठुलो कुरा आफ्नै शरीरको कलेजोमा प्रत्यक्ष असर परेको छ स्वास्थ्य कमजोर बन्दै गएको छ तरपनि शिक्षित पुस्ता नै मदिराको ठुलो खपत गर्ने ग्राहक बनेको छ। नेपालमा दैनिक ३५ हजार लिटर विदेशी मदिरा भित्रिने गरेको तथ्यांक छ। गत वर्षको तथ्यांक अनुसार १ करोड २८ लाख लिटर मदिरा नेपालमा भित्रिएको थियो। करिब तीन दर्जन मुलुकबाट भित्रिएको मदिराको मूल्य दुई अर्ब २० करोड हाराहारीमा रहेको बताइन्छ।

आ.व ०७१/०७२ मा मात्रै एक अर्ब ७३ करोडको मदिरा नेपालमा आयात भएको थियो। नेपाली बजारमा मात्रै करिब साढे चार लाख रुपैयाँसम्मको विदेशी मदिरा पाइन्छ। व्यवसायीका अनुसार आयातितभन्दा करिब तीन गुणा बढी मदिरा स्वदेशमै उत्पादन हुन्छ। दुधभन्दा बढी रक्सी खपत हुन्छ काठमाण्डौंमा, यसबाट पनि अनुमान गर्न सकिन्छ उपभोक्ता कुन चिजप्रति बढी लालायित छन् भनेर।

घरका आफूभन्दा ठूला आफन्तको सिको गर्दै कलिला बालबालिका समेत मदिराको लतमा फसेको देखिन्छन्। यसले भोलिका कर्णधार बालबािलको मानसपटलमा कस्तो असर गर्ला ? मदिरा नखाने मान्छे भेटाउनु भनेको चामलमा बियाँ भेटाउनुजस्तै भइसक्यो। समाजसेवाको पवित्र कार्यक्रम आयोजना गर्दापनि सहभागीहरु रक्सी, मासु छ कि छैन पहिल्यै आँखा तन्काउने गर्छन्। चुनाव आउँछ मतदाता रक्सी र मासुमै बिक्छन्। चाडवाड आउँछ मान्छेलाई खाने बहाना चाहिन्छ रक्सी र मासुमै रमाउँछन, सुभकार्य गर्नुपर्यो रक्सी र मासुकै खपत। मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटनाका श्रृखंला बढेपछि २०६८ सालदेखी मापसे गरी सवारी चलाउन रोक लगाइयो। मापसे चेकिङमा कडाइ भएसँगै सवारी दुर्घनामा पनि उल्लेख्य कमी आएको प्रहरीको ठम्याइ छ।

अहिलेको शिक्षित युवापुस्ता आफ्नो शरीरको समेत ख्याल नगरी मदिरामा लठ्ठ भएको देख्दा भोलिको पुस्ता कस्तो बन्ला भनेर अनुमान लगाउन कठिन छैन। खाँदै नखानु भनेर बनाइएको पक्कै होइन तर मदिरा बिना भोज नचल्ने, कार्यक्रमनै नहुने शैली अपनाउनु चाँही तर्कसंगत भएन नि!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.