उसले भन्यो- दिदी मेरो कथा पनि लेखिदिनुस् न!


ऊ कुनै बेला मेल्वर्न बस्थ्यो तर आजकाल उ मेल्वर्नबाट धेरै टाढा तर भिक्टोरीया राज्यभित्रै एउटा गाउँमा बस्छ।

न्यू इयरको दिन थियो। साँझ ५ बजेतिर म उसलाई भेट्न फेडरेशन स्क्विायर आएँ। टि.भीको स्क्रिन अगाडि ऊ मलाई नै कुरेर बसिरहेको थियो। रातो कोठे सर्ट लगाएको छु, कालो झोला भिरेको छु भनेकोले मलाई उसलाई चिन्न त्यति गाह्रो भएन।

हामी टेक व्ये कफी लिएर खोलाको किनारातिर गफ गर्न गयौँ।

उसलाई भेटेपछि लाग्यो म उसले भनेझैँ दिदीकै उमेरको त थिइनँ तर पनि उसले उसको दुःख सुनाउन नै भएपनि मलाई दिदी सम्बोधन गर्दा खुसी नै लाग्यो। ठुस्केर उसको बारम्बारको दिदी सम्बोधनप्रति कुनै आपत्ति पनि जनाइनँ।

चार वर्षपछि न्यू इयरको इभ मेल्वर्नमा हेर्न आएको रे ऊ। मनमा रमाइलो भए पो आकाशमा पड्केको दृश्य फूल बर्सेको जस्तो लाग्थ्यो तर मनमा छटपटि हुँदा त्यो आवाज मनमा बारुद पड्केको हुर्दोरहेछ दिदी। ’ उसको भावना थियो त्यो।

हामी खोलको किनाराको छेउको चउरमा बस्यौँ। त्यति दूरीमा बस्दा पनि उ बोलिरहँदा उसको श्वासबाट चुरोटको अमिलो गन्ध आइरहेको थियो।

मेल्वर्न आएको बेला दिदीलाई भेट्न मन लागेर भेट्न फोर्स गरेको।’ डिस्टर्ब त भएन नि दिदी ?

उसको आँखामा बेग्लै भाव थियो। उसलाई धेरै कुरा भन्नु थियो त्यो भन्दा पनि उसको कुरा सुनिदिने मान्छे उसलाई चाहिएको थियो। तर उ नै दोधारमा परिरहेको थियो कि कुरा कहाँबाट शुरु गरुँ, कुरा कसरी पोखाउँ ?

मैले नै सामान्य गफबाट सुरुवात गरिदिए।

अहिले के गर्दैहुनुहुन्छ ?

कन्ट्री साइडमा एउटा क्याफे छ हो त्यसैमा काम गर्छु ’

ओके, अनि मैले बिर्सिए, नेपालमा घर कहाँ भन्नुभएको थियो रे ?

बनेपा दिदी’

तपाइँले मलाई केही सुनाउन मन लाग्यो भन्नुभएको थियो। भन्नुस् न। मैले अलि धेरै भूमिका नबाँधि सिधै सोधे। धेरै अगाडि उसले मेरो सेतोपाटीमा नै छापिएको कठै अष्ट्रेलिया भन्ने लेख पढेको रहेछ। उसले मलाई फेशबुकमा त्यतिबेला नै म्यासेज पठाएको थियो। दिदी, कुनै दिन मेरो पनि कथा लेखिदिनुस् है ? म मेल्वर्न आएको बेला भेट्छु नि भनेको थियो उसले अनि त्यही वाचा पुरा गदै थियो त्यसदिन।

माफ गर्नुहोला दिदी, म महिलाहरुको आँसुलाई तिरस्कार गरेको त होइन तर महिलाहरुले झारेका छिनछिनको आँसुलाई पुछ्दाँपुछ्दै यो समाजमा बस्ने बुद्धिजीवि मानिसहरुले पनि हामी पुरुषहरुपनि महिलाकै कारणले भित्रभित्रै धेरै रोएका छौ है भनेर देख्नै छाडिसक्यो। यो भन्दा भन्दै उसले मलाई हेर्दै कति पुरुष पीडितको मात्रै कथा लेख्नुहुन्छ, यसो हामी महिला पीडितहरुको पनि कथा लेख्नुस् न भनेर जिस्काइरहेको थियो। उसले जिस्काएर भनेको यो शब्द एउटा झटारो थियो। मलाई व्यङ्ग्य हानिरहेको थियो।

महिला शसक्तिकरणको आवाज उठाउन किन जरुरी छ, अधिकांश पढेलेखेको महिलाहरु अहिले पनि घरेलु हिँसाबाट पीडित छन् , अहिले पनि समाजमा नारीशक्ति र क्षमतालाई नजरअन्दाज र सहभागिता नदिएको घटना आदिइत्यादिलाई विषयकेन्द्र बनाएर किन महिलाहरुको पीडा लेख्छु म र यो जरुरी पनि किन छ भन्ने कुराको विवेचनात्मक उत्तर उसलाई त्यतिखेर मजाले दिन सक्थे तर त्यतिखेर म यसको उत्तर दिएर उसँग बादविवाद गर्ने पक्षमा पनि थिइन। म त उसको कुरा सुन्न आएको थिए। उसको पनि पीडा महसुस गर्न आएको थिए त्यसैले पनि मेरो आफ्नो कुरा भन्दा उसको कुरा सुन्न अति आवश्यक थियो त्यतिखेर।

“मलाई जीवनदेखि केही गुनासो छैन। अब न मलाई नेपाल फर्कनु छ , न त अब फेरि विवाह गरेर जीवन अब अघि बढाउनु नै छ। ठिकै छ अहिलेसम्म चलिरहेको छ जीवन हेरौँ कहिलेसम्म चल्छ।” उसको कुराले पुष्टि गथ्र्यो कि उसलाई जीवन जीउनुमा केही मज्जा नै छैन। जन्मी हालेँ यसो नमरिन्जेल बाँचिदिउँन त भन्ने भाव थियो।

दुवै हातखुट्टा नभएको मान्छेले त समाजमा गर्वको साथ बाँचेर देखाएको छ तर तपाइँ जस्तो हट्टाकट्टाले झन् यस्तो भन्न मिल्छ ? म अलि शक्तिको साथ उसलाई हौसला दिन्छु।

उ मलाई हेर्दै –अहिले अष्ट्रेलियामा इलिगल छु दिदी, भिसा सकिएको दुई वर्ष भयो। के सोचेँ, के भयो”

म झसङ्ग भएँ। मैले अलि आत्तिदै भने “यसरी इलिगल बस्नुहुदैँन नि। कि नयाँ भिसा अप्लाई गरेर बस्नुपर्छ ? केही उपाय गरेको भए पनि हुन्थ्यो ? कि नेपालनै गएर बसे हुन्छ। यसरी अर्काको देशमा डरैडरमा लुकेर बस्नुभन्दा आफ्नो देशमा कामै नगरे पनि स्वतन्त्र तरिकाले बाँच्नु राम्रो होइन र ? ”

उ खिस्स हाँस्छ र भन्छ “आजकाल बल्ल बल्ल महिनामा एकपटक चाँहि घरमा फोन गर्छु। आमालाई धेरै सम्झन्छु। आजकाल चाँहि आमाले यति भए पनि भन्नुहुन्छ– भो भो भो अब फर्केर आइज कान्छा। त्यसरी भिसा सकेर बस्नुपर्दैन। पुलिसले समातेर जेल लग्यो भने तँलाई म त यहाँ ठाडै मर्छु नि। तर बुबाको पुरुषदम्भले अझैँ पनि भनिरहनुहुन्छ– तैँले जीवनमा केही गर्ने भइस्। पीर पार्न जन्मेको रहेछस्। समुदायमा मेरो कत्रो इज्जत छ। कि नेपाल फर्कने भए अलिअलि पैसा बोकेर आइज नत्र केही वर्ष लुकेर बसेर भए पनि भिसाको चाँजोपाँजो मिला। हामीलाई एकचोटि पनि अष्ट्रेलिया नबोलाई फर्कन्छस्, के भन्छ समाजले’। बुबाको समाज र मेरो नालायकपन। यो छट्पटिले पनि सताउँछ एकदमै। ”

ऊ यो कुरा भनिरहँदा छट्पटिरहेको थियो। ऊ कुरा भन्दैथियो। “मेरा साथीभाइहरु कति फर्किए। त्यहाँ गएर राम्रो व्यवसायी बनेका छन्। राम्रो राम्रो कम्पनीमा जागीर पनि खाएका छन्। बुबाआमाले नआइजे भन्दा भन्दै पनि गएर, मेहेनत गरेर, नाम, दाम दुवै कमाएर आमाबुबालाई पनि खुसी र गर्व महसुस गराएका छन्। तर म यी सबै हुन नसकेको एउटा छोरो, अझ भन्नुपर्दा एउटा नालायक छोरो। ” उ आवाज ठुलठुलो गर्दै बोलिरहेको थियो। म उसको कुरा सुन्न आएको थिए सुनिरहेको थिए।

“दिदी म यहाँ आएको एक हप्तामा नै फर्किन खोजेको थिएँ। तर धेरै कुराले रोक्यो। बुबालाई फोन गर्थे , बुबा काम, पढाईको धेरै तनाव हुँदो रहेछ यहाँ बस्न सकिदैन जस्तो छ , फर्किनछु नि भन्दा बुबाले काँ बाबु समाजले के भन्छ, अस्ति भर्खर झन् त्यस्तो धुमधामसँग विदेश पठाएको अहिले नै आयौ भने हाम्रो खलकको नै नाक काँटिहाल्छ नि। आमा बुबा त मान्नुहुन्न तपाइँ सम्झाउनु न भन्दा आमाले पनि हुन त हो बाबु त्यत्रो ऋण खोजेर पठाएको त्यो नतिरि एक दुई पैसा वचत नगरी कसरी आउने ? तेरो ठुलोबुबाको छोरो अस्तिभर्खर गएको, पैसा पठाएर यता बाहुले घडेरी किनिसक्यो रे।” त्यतिखेर मेरो भावनाई बुझिदिएको भए अहिले बुबाले त होइन आमाले नेपाल आइज भन्दा हाँसो लाग्दैनथ्यो होला।

हरेक रात धेरै कुराले मलाई हिनताबोध हुन्थ्यो। आफू छोरो मान्छे भएकोमा धिक्कार न मन लाग्थ्यो बरु छोरी मान्छे भएर जन्मेको भए यतिधेरै तनाव हुँदैन कि जस्तो लाग्यो। न पढाई राम्रो भयो , न काम नै राम्रो पाए, न कमाउन सक्यो, न बुबाआमालाई अष्ट्रेलिया घुमाउन पायो , न वैवाहिक जीवन बचाउन सकियो , न जीन्दगीमा केही बन्न नै सकियो।

मैले जीवनमा पहिलो पटक एउटा केटा मान्छेको मुखबाट छोरी नभए नजन्मेकोमा पश्चताव भएको सुने। उसलाई लाग्दो रहेछ छोरी मान्छेलाई छोरा मान्छे भन्दा अलि सजिलो हुन्छ रे। उसले छोरी मान्छेलाई यसरी हलुकासँग लिएर बोलेकोमा आपत्तिपनि जनाइन मैले किनकि म उसको त्यो वेगमा बोलिरहेको कुरालाई सुनिमात्रै होइन बुझिपनि रहेको थिए। कहिलेकाँहि हामी पनि भावुक हुँदा केटा मान्छे भएर जन्मेको भए यती धेरै पीडा हुँदैनथ्यो नि भन्छौ नि होइन र ?

वास्तवमा ऊ आमाबुबाले आफ्नो भावना नबुजिदिएको कुरा भन्दा पनि अर्को बज्रपात सुनाउन आएको थियो। अष्ट्रेलियामा काम र पढाई सँगसँगै लान खोज्दा उसलाई साह्रै गाह्रो भइरहेको रहेछ। त्यसैबीचमा नेपालबाट एउटा केटी नर्सिङ्ग पढ्न यहाँ आइछ। केही महिनाकोे चीनजानमा उनीहरु बीच धनिष्ठ प्रेम हुन थालेछ र लिभिङ्ग टुगेदर पनि बस्न थालेछन्। जीवन सहज हुन्छ भन्ने हेतुले उनीहरुले घरमा पनि नभनी सुटुक्क पेपरम्यारिज पनि गरेछन्। ऊ आफू डिपेन्डेन्टमा बसेर केटी पढ्न थालिछ। उसको भनाइ अनुसार पचास हजार डलर त उसको पढाइलाई मात्रै खर्च गर्र्यो रे। केटीको अरू डिमाण्डमा खर्च गरेको त कुनै हिसाबनै छैन भन्दै थियो। पीआर पाएपछि मात्रै आमाबुबालाई अष्ट्रेलिया घुम्न बोलाउने सोचले गर्दा आमाबुबा कतिचोटि घुम्न आउन मन गर्दा पनि बोलाएन भन्दै थियो। तर पछि उनीहरुको विभिन्न कारणले गर्दा सम्बन्धमा चिसो आउन थालेछ। केटीको अरु कुनै केटासँग सम्बन्ध हुन थालेको उसले थाहा पाएछ। त्यसैबीचमा यदि आफूमा केही कमजोरी भन, मैले के कुरामा सुधार गर्नुपर्छ भनेर सोध्दा पनि उसले उल्टै शंका गरेको भनेर झगडा गर्न थालेछ।

त्यसपछि उनीहरुबीच दिनहुँ झगडा हुन थालेछ। उसको अनुसार केटीलाई आफूले गर्दा उसको पीआर हुँदैछ भने यसको अगाडि किन झुक्ने भन्ने रहेछ र उसलाई पनि आफू त केटा मान्छे यसको दिनरातको कचकच किन सहने भन्ने भएछ।

एकदिन अति भएपछि उसले केटीलाई एक झापड हानेछ र कपालमा समातेर भित्तामा हुतइदिएछ र केटीले पुलिसलाई बोलाइहालेछ। पुलिस घरमा आउनुभन्दा अगाडि मलाई माफी दे, तेरो जीन्दगीबाट आजैदेखि जान्छु तर पुलिसलाई त्यस्तो केही नभन भनेपछि पछि पुलिस आएपछि केटीले नै पुलिसलाई कुनामा लगेर खै के के भनेछ अनि उसलाई लास्ट वार्निङ्ग भनेर पुलिस गएछ।

अनि के भयो रु मैले सुस्त सोधे

“त्यस दिनको भोलिपल्टै म नेपालबाट ल्याएको एउटा सुटकेसमा सामान राखेर घर छोडेर हिडेँ। केही महिनापछि डिभोर्स पेपरमा साइन गर्न क्यानबेरा गए। उसले आफ्नो त्यही ब्वाइफेण्ड पनि ल्याएकी थिइन्। त्यसको मुख हेर्ननै मन लागेन तर दुवै जना खुसी देखिन्थे। बरु पीआरको लोभ नगरी त्यहीसँग जा भनेर पठाइदिनुपर्ने रहेछ। तर, दिदी अहिलेसम्म म यही सोचिरहेछु–आखिर म सँग हुँदाहुँदै किन उसको ब्वाइफ्रेण्ड भयो ? के कमी गरे मैलै।

त्यसको कारण विभिन्न हुन सक्थयो तर त्यतिखेर यो कुराको विश्लेषण गरिन मैले।

ए फेरि भन्दै थियो “म त छोरो मान्छे नि। अनि हाम्रो समाजले छोरो मान्छे भएर रुनु हुदैँन भनेकै कारण आजसम्म यो मुटुमा हजारौँ पीडा बोकेर डुलिरहेको छु। खै आँसु नै झदैन मेरो, रुनै आउँदैन अनि समाजले कसरी मलाई निर्दोष भन्छ। जबसम्म मेरो आँसु झदैन तबसम्म म स्वास्नी पिट्ने अपराधीनै भइरहन्छु।

खोलाको किनारमा हाँसहरु टाउको डुबाउँदै निकाल्दै गरि खेलिरहेका थिए। उ एकटकले त्यो हाँसहरुलाई हेरिरहेको थियो। म पनि एकछिन केही बोलिन, अब जाऔँ होला धेरैबेर भयो भनेर म उठेँ। उपनि आफ्नो कालो ब्याग बोकेर उठ्यो।

मैले भने “एकचोटि घरमा फोन गर्नुस् , फोन आमालाई होइन बुबालाई नै गर्नुस् अनि डाँको छोडेर रूनुस्। बरु नेपाल जान ट्राभल डकुमेन्ट बनाउन म सहयोग गरौला। ”

यतिभन्दा पनि उ केही बोलेन। एकछिनपछि हामी त्यहाँबाट छुट्टियौ। उसले भनेको कुरा मनमा धेरैबेर गुन्जिह्यो, आँसु नखसाल्नेहरु पनि धेरै रोएको हुन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.