वाम पिरतीको कच्ची धागो

फाइल तस्बिर।


के.पी. ओलीको नेतृत्वमा केही महिनाको रोमान्चकारी ‘लिभिङ टुगेदर’पछि ब्रेकअप भएका मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र यतिबेला फेरी कहिल्यै नछुट्टिने गरी एक हुने प्रकृयामा छन्।

सम्बन्ध तोड्दा, उनीहरूले एक अर्कोलाई गरेको सत्तोसराप सम्झने हो भने अहिलेको एकता प्रयासप्रति मान्छेहरूलाई विश्वास नलाग्न सक्छ तर निन्दा र स्तुतिका सन्दर्भमा कम्युनिष्ट संस्कार बुझ्नेहरूका लागि भने अस्ति भर्खरको ‘विलाप’ र अहिलेको ‘मिलाप’ दुवै विषय अनौठो लाग्दैनन्।

उतिबेला, आफ्नो साथ छोडेर अरूसंगै सत्ताको घरजम गर्न पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई संसदको रोस्ट्रममा उभिएर तत्कालीन प्रधानमन्त्री के.पी. ओलीले अस्थीर भुकुण्डो जस्तै भएको भनी कटाक्ष मात्रै गरेनन्, मित्र (प्रचण्ड)को च्यातिएको मन तुन्ने काममा बिहान, दिउँसो, बेलुका हर समय खर्चिए पनि आफू सफल नभएको भावानात्मक मन्तव्य समेत दिएका थिए। ओलीले अरूणा लामाको गीत उधृत गर्दै मन फाटेर सम्वन्ध विच्छेद गरेका प्रचण्डको फाटेको मन सिलाउने प्रयासमा एकातिरबाट सिलायो, अर्कोतिर फाट्ने, अर्कोतिरबाट सिलायो फेरी नयाँ ठाँंमा फाट्ने गरेकोले आफूले हार खाएको बताएका थिए।

यसो त यी दुई नेताहरूको विगतको सार्वजनिक सम्बन्ध पनि त्यति मिठास पूर्ण देखिँदैनथ्यो। प्रचण्डलाई ओली कहिले बांदरँंग तुलना गर्थे भने कहिले नांगो आराजक साँढेसंग। उता प्रचण्ड पनि के कम र? ओलीलाई भारतीय दलालदेखी कुनै गुदी नै नभएको तथा उखानटुक्काको सहारामा रमाउने संशोधनवादी एवं विसर्जनवादी फोहोरको डङ्गुरसम्म भन्थे।

भर्खरै सम्पन्न संघीय एवं प्रादेशिक निर्वाचनको मुखैमा यी नेताले दुनियांलाई छक्क पार्ने गरी चुनावी तालमेलको कुरा मात्रै गरेनन् एउटैमालामा उनिएर पार्टी एकताको तयारी अन्तिम रूपमा पुगेको घोषणा पनि गरे।यसरी केही समयअघि मात्रै टुटेको ‘लिभिङ टुगेदर’ फेरी जोडिने र त्यो पनि शरीर दुईवटा भएपनि भावना एउटै भएको प्रेमभाव देखाएपछि स्वभाविक रूपमा वाम एकताका पक्षधरहरूमा उत्साह छायो र परिणाम स्वरूप निर्वाचनमा अपेक्षकृत नतिजा पनि प्राप्त भयो।

अब, भावि सरकार निर्माणका लागि अहिले देखिएको शक्ति सन्तुलन अनुशार ‘रात रहे अग्राख पलाए’ उखान चरितार्थ नभए केही समय भित्रएमालेका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय सरकार बन्नेछ । साथै, यसपटक थप सात वटा प्रदेश सरकार समेत गठन हुने छन्। चुनावअघि गरेको बाचा जस्तै एमाले माओवादी एकता हुने हो भने प्रायः सबै प्रादेशिक र केन्द्रीय सरकार उनीहरूकै बन्ने कुरामा दुईमत छैन।

यद्यपि कांग्रसको समर्थनमा मधेशवादी एवं अन्य साना दलहरूको समेत सहयोग लिएर माओवादी अध्यक्ष प्रचण्डलाई आगामी पँंच वर्ष सरकारको नेतृत्व गर्न प्रस्ताव गरिएको बजारहल्ला सुनिए पनि दुई प्रमुख पार्टी एमाले र माओवादी एकिकरणको प्रयासमा रहेको हुनाले उक्त बजारहल्लाले खासै महत्त्व पाएको छैन।

तर पनि यस वाम एकताप्रति फेरी शंका उत्पन्न भएका छन्। पृष्ठभूमीमा हेर्ने हो भने यो एकता प्रकृयामा एमालेका केही सिमित नेताहरूको बडो चलाखीपूर्ण अभिव्यक्ती बाहेक सिंगो कार्यकर्ता पंक्तीमा खासै उत्साह देखिँदैन। सामाजिक संजाल लगायतका मिडियाहरूमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरू बीच जती हुटहुटी देखिन्छ एमालेतर्फ उति सारो छैन यसलाई अधार मानेर एकता प्रयास तुहिने, तर्क गर्ने हरू पनि छन। तर एक किसिमको मनोविज्ञान बनिसकेको हुनाले नेताहरूलाई पछि हट्न भने सजिलो छैन ।

सामान्यतः कम्युनिस्ट पार्टीको टुटफुट वा एकीकरणको आधार वैचारिक तथा सैद्दान्तिक हुने गर्दछ। तर यसपटक वैचारिक पक्षमा केही बहस नै गरेको पाइएको छैन। माओवादी विचारधारा नै नमान्ने एमाले र बहुदलीय जनवाद भनेको प्रतिकृयावादीहरूले खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रपन्चको अर्को रूप हो भनेर टिप्पणी गर्ने माओवादीले अहिलेसम्म कुन वैचारिक सिद्दान्तको जगमा बसेर एकता गर्न लागेका हुन्। उदेकलाग्दो कुरा त यो छ कि यतीबेलाको बहस त राष्ट्रपति, प्रधानमन्त्री एवं सभामुख जस्ता पदहरूको बाँडफाँडमा पो केन्द्रीत देखिन्छ।
झट्ट हेर्दा यी दुई कम्युनिष्ट पार्टी भएकोले एकता गर्न कुनै अप्ठ्यारो नहुनु पर्ने हो । तर यिनीहरूको बिगत हेर्ने हो भने सिद्धान्त, वर्ग–विश्लेषण,सङ्गठन र सङ्घर्षका रुपहरूमा थोरै समानता र धेरै भिन्नता भेटीन्छन्। पूर्वी नेपालको झापा सशस्त्र सङ्घर्षको पृष्ठभूमिबाट आएको तत्कालीन माले०४६ सालको परिवर्तन पछि मार्क्सवादीसंग मिलेर एमाले भएको थियो।

१९९० को दशकमा एकपछि अर्को गरी कम्युनिस्ट सत्ता ढल्न थालेपछि लोकतन्त्रको विश्वव्यापी लहरलाई राम्रोसँग ठम्याउन सकेका क्षमतावान् नेता मदन भण्डारीको नेतृत्वमा दलको कार्यनीति एवं कार्यदशालाई कम्युनिस्टहरूको परम्परगत नौलो जनवादी लाइनबाट बहुदलीय जनवादमा रूपान्तरण गरिदिएको थियो। ठीक यसैबेला देखि एमालेले आफ्नो सैद्धान्तिक आधारबाट माओ विचारधारा पूर्ण रूपमा हटाएको हो। यसपछि रूपमा जे भने पनि सारमा एमाले पूर्ण रूपमा संसदीय राजनीतिमा अभ्यस्त तथा लोकतान्त्रिक छवी बनाएको पार्टी हो।

तर, माओवादी केन्द्रको जन्म भने नेकपा (चौथो महाधिवेशन समूह)ज्ञबाट भएको हो। निरंकुश राजतन्त्र र पन्चायती बर्बर शासनकालमा पनि लोकातन्त्रको लागी लडीरहेको नेपाली कांग्रेसलाई प्रमुख शत्रु मानेर राजनीति गरेका चौथो महाधिवेशनका नेता मोहनविक्रम सिंहले स्वयं नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई गद्दार करार गरेका थिए। मशाल, एकता केन्द्र हँुदै माओवादी केन्द्रको नाम सम्म आइपुग्दा पुष्पकमल दाहालको नेतृत्वले पुष्पलाल उपर गरेको गद्दारको टिप्पणीलाई सच्याएको पाइएको छैन।उता एमाले भने पुष्पलाललाई पार्टीको संस्थापक महासचिवको रूपमा सम्मान गर्दछ।

इतिहास हेर्ने हो भने एमाले र माओवादी केन्द्र दुवैको माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा सैद्धान्तिक आधार, सशस्त्र सङ्घर्ष बाटो र एकदलीय शासन प्रणालीको लक्ष्य भएको पाइन्छ । तर पछिल्लो समयमा एमालेको लोकतन्त्रप्रतिको इमान्दारितामा शंका गर्ने ठाउँ छैन।

यस्तो पृष्ठभूमीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले पार्टी एकताको चरणमा छन्। एकता गर्नुपर्दा र छुट्टै बस्नुपर्दाका कारणहरू पक्कै पनि उनीहरूले केलाउलान्। तापनि सिद्दान्तलाई पछाडि छोडेर पदीय भागबण्डाको अधारमा मात्र एकताको बहस केन्द्रीत गर्दा यो फगत मनोगत आधारमा निर्वाचन जित्ने प्रोपोगाण्डा सहित पिटाइएको हल्ला मात्रै हो कि भनेर शंका गर्नेहरू पनि उलेख्य नै छन्।

वस्तुत, प्रेम र घृणालाई संगसंगै लिएर हिँड्न खप्पिस प्रचण्ड नेतृत्वले एमालेसंग पदीय बाँडफाँडको एकता मात्रै गरेर सुख पाउने छैनन्। स्वभाविक छ, एमाले अब लोकतान्त्रिक संस्कारबाट पछि हट्न सक्ने छैन, बरू प्रचण्डले कम्युनिज्म ल्याउने सपना देखाएका कार्यकर्तालाई एमालेमा मिसाउँदा खुबै चित्त बुझाउनु पर्नेछ। कार्यकताहरू पनि एकापसमा हात मात्रै होइन मन समेत मिलाएर बस्न सक्ने वातावरण बनाउने चुनौती छ।

हिजोको द्वन्द्वको घाउले पोल्न सक्छ तापनि नेतृत्वले सुझबुझपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्दछ। अन्यथा, पदका लागि मात्रै एकता घोषणा गरियो भने पनि त्यो एकता कच्ची धागोले सिलाएको कपडा जस्तै हुन सक्छ। जतिबेला पनि टुट्न सक्छ। अर्थात, ओलीले भनेझैं एकातिरबाट सिलायो अर्को्तिरबाट च्यातिँदै जाने संभावना रहिरहन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.