वाम एकतामा देखिएको जबज र माओवाद बहस


प्रतिनिधि सभा र प्रदेश सभाको निवार्चन परिणामपश्चात् नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी तालमेल पार्टी एकतासम्म पुग्ने अवस्थामा छ। चिया पसलदेखि चोक चौतारीमा एमाले र माओवादी केन्द्र एकताको विषय चर्चा परिचर्चा हुनु स्वाभाविक छ। यसैले यी ठूला दुई दलहरूको एकतासंग देशको भविष्य जोडिएको छ।

एकता हुँदै अगाडिको राजनीतिक यात्रा तय हुँदा यी दुई पार्टीको भविष्य उज्ज्वल हुने मात्र होइन नेपालमा दिगो राजनीतिक व्यवस्था कायम हुने र नेपाली जनताले स्थायी सरकार पाउने छन्। जुन सरकारबाट जनताले प्रत्यक्ष अनुभूति हुने खालको विकास निमार्ण प्राप्त गर्नेछन्। सरकार गठन ढिलो र विघटन छिटो हुने विगतको राजनीतिक अवस्थाबाट आजित नेपाली जनताले यस पटक वाम गठबन्धनलाई आगामी पाँच वर्ष सम्मका लागि विश्वास गरिसकेका छन्।

अहिले नेपालको राजनीतिमा दुई पार्टीको वाम गठबन्धन प्रतिनिधि सभामा अत्याधिक सिट सहित पहिलो हुन सफल भएको छ भने सात वटा प्रदेश मध्ये छ वटा प्रदेशमा बहुमतको सरकार निमार्ण गर्न सक्ने भएको छ। वास्तवमै संघीयताको विधिवत कार्यान्वयनको पहिलो निवार्चनमा संघ र प्रदेशको सरकार संचालनमा नेतृत्व तहमा पुर्याउनु नेपाली जनताले वाम गठबन्धनलाई ठूलो अवसर प्रदान गरेका छन्।

संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान २०७२ लागू भएपछिको यो संघ र प्रदेश सभाको पहिलो एतिहासिक निर्वाचन हो। जसमा नेपाली जनताले प्रत्यक्ष मतदान गरी आफूले खोजेको शासन व्यवस्थाका लागि रोजेको नेतालाई अमूल्य मत मार्फत अनुमोदन गरेका छन्। सम्पन्न निवार्चनमा जनताको पहिलो रोजाइ वाम गठबन्धन र त्यसका उम्मेद्वार बनेका हुन्।

चुनावमा वाम गठबन्धनले जारी गरेको संयुक्त घोषणा पत्रमा सबै भेग, क्षेत्र, समुदाय,सबै उमेर समुह र सबै बर्गका जनताका मनका कुरा घोषण पत्रमा समेट्न सक्नु र ती कुराहरूलाई लागू गर्न सक्छौं भन्ने एकताको बलियो आधार प्रस्तुत गर्न सक्नु नै वाम गठबन्धनको सफलताको मुख्य आधार बन्यो।

स्थानीय तहको निवार्चमा देशका अधिकांश स्थानमा एमाले र माओवादी केन्द्र प्रमुख प्रतिस्पर्धी भई निवार्चनमा प्रतिस्पर्धा गरेको ताझा अनुभव र के.पी शर्मा ओलीको नेतृत्वमा संयुक्त सरकार हुँदा राष्ट्रियता र राष्ट्र निमार्णमा पुर्याएको महत्त्पूर्ण भूमिका गठबन्धले जनतसामू प्रष्ट राख्न सफल भएकाले निवार्चनमा वाम गठबन्धन जनताको मत प्राप्त गर्न सफल भएको छ। त्यस्तै नेपालका ठूला दुई कम्युनिष्ट पार्टी एक भई लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरी जनताको मन जित्न जनताको आँगनमा जाँदा वास्तवमै जनताले कम्युनिस्टलाई एक ठाउँमा उभिनका लागि पुरस्कार स्वरुप अहिलेको मतदान गरेका हुन्।

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना कालदेखि एक मात्र कम्युनिस्ट पार्टी निर्माण गर्ने र नेपालमा रहेका सबै खाले बाहिरी हस्तक्षेप र आन्तरीक उत्पीडनको अन्त्य गर्ने उद्देश्य राखे पनि त्यो हुन सकेन। नेपालमा २००६ साल देखि हाल सम्म दर्जनौं कम्युनिस्ट पार्टी, सयौं नेताहरू उत्पादन भए। केही व्यक्तिबाहेक अधिकांशले नेताले न पार्टी संचालन गर्न सके न त एकिकृत कम्युनिस्ट पाटी निमार्ण गर्न सके।

नेपालको कम्युनिस्ट आन्दोलन कमजोर र रक्षात्मक भइरहेका बेला २०४९ सालमा नेकपा एमालेका तत्कालीन महासचिव क. मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन मात्र नभई संसारको कम्युनिस्ट आन्दोलनकको गहीरो र वस्तुनिस्ठ अध्ययन गरी मार्क्सवादको जगमा नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरी नेपाली कम्युनिस्ट आन्दोलन अगाडी बढाउने काम भयो।

जनताको बहुदलीय जनवादको प्रतिपादनपछि नेपालमा कम्युनिस्टप्रति हेर्ने र बुझ्ने जनताको दृष्टिकोण फरक भएको छ। सेनाको विकल्प लाल सेना, हतियारका विकल्प हतियार। सरकारको विरुद्ध विकल्प छाया सरकार निर्माण भए। त्यसलाइ जबजले पुर्णरुपमा गलत सावित गरिदियो।

क्रान्त्रि बन्दुकले मात्र होइन सडक, सदन र जनताको एकता र प्रतिवद्धताले पनि राज्य सत्ता परिर्वतन गर्न सकिन्छ भन्ने कुरा जबजले सत्य सावित गरिदियो। राज्यको संरचना र समाजको चरित्र अनुसार राजनीतिक दलको क्रान्तिको कार्यक्रम र कार्ययोजना भएन भने उपलब्धी कम र क्षति धेरै हुन्छ। त्यसैले मदन भण्डारीले भनेका छन्, ‘सिद्धान्त जीवनका निम्ति बन्नुपर्छ सिद्धान्तका निम्ति जीवन होइन।’ माकर्सवाद सत्य हो तर त्यसको प्रयोग र विकास विद्यमान देशको वस्तुस्थितिमा निर्भर हुन्छ।

जबजले यो भनिरहँदा त्यसबेला देखि फरक मतको बहानामा एमालेभित्र मेन्सेविकको भूमिका पार्टी भित्र निवार्ह गरी राखेकै छन्। नेपालको राजनीति जबजको बाटो र सिद्धान्तमा हिँडिरहेको छ। नेकपा एमाले र माओवादी केन्द्रको एकता जबजकै धरातलमा हुँदा मात्र दिगो र स्थायी हुने हो। यो सबै स्वीकार्य बनिरहँदा जबजको औचित्यमाथि प्रश्न गर्ने तथाकथित विद्धताको नाममा पद र प्रतिष्ठाको खेलोमेलो बाहेक अरु केही होइन।

नेपालको आर्थिक रुपान्तरणमा सामाजिक एकता र राजनीतिक स्थायित्वका लागि जनताको बहुदलिय जनवाद नै प्रमुख सिद्धान्त हो। यसकै पुष्ठभूमिमा दुई पार्टीको एकता हुनुपर्दछ। संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान लागूपछिको यो पहिलो आम निवार्चनमा नेपाली जनताले दिएको मत वाम गठबन्धनलाई दिगो एकताको लागि हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.