वाम एकता: कम्युनिस्टहरूको विघटन कि विलय?


अहिले नेपालमा वाम एकताको नाममा ठूलो हुण्डरी नै आएको छ। स्थानीय तहको निर्वाचनपश्चात् एमाले र माओवादी केन्द्रबीच चुनावमा तालमेल गरेर निर्वाचनमा सहभगी भएसंगै उक्त गठबन्धनले झन्डै दुईतिहाइको हाराहारीमा मत परिणाम ल्याए।

त्यससंगै अहिले नेपाली राजनीति बाम ‘गठबन्धनमय’ बनेको छ। विभिन्न रस्सा–कसीको बीच, अहिले हुन लागेको वाम एकतालाई कतिपयले शंका तथा सत्ता प्राप्तिको मोहको रुपमा टिप्पणी गरेका छन् भने कतिपयले यसलाई राष्ट्रिय आवश्यकता भनेका छन्। यसपटक नेपाली जनताले एकपटक कथित नेपाली कम्युनिस्टहरुलाई सत्ताको ‘चाबी ’ सुम्पिएका छन्। उक्त जनाधेसलाई उनीहरुले कसरी प्रयोग गर्छन् त्यो त हेर्न बाँकि नै छ। तर केही समय अघिज्ञसम्म एक अर्काको चर्को आलोचना गर्ने साथै उनीहरूकै शब्दमा ‘लम्पसारवादी’ र ‘खोक्रो राष्ट्रवादी’का बीचमा फिल्मी शैलीमा हुन लागेको भनिएको एकताले एकप्रकारको तरङ्ग त पैदा गरेको छ नै, संगसंगै राजनीति सम्भावनाको खेल पनि हुन सक्छ भन्ने सन्देश पनि दिन खोजेको देखिन्छ।

गत वर्षमात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको पोलिटब्युरो बैठकमा बरु पार्टी विघटन गरौँ भन्ने अभिव्यक्ति दिएका थिए। साथै उनको कुरालाई होमा हो मिलाउँदै अन्य पोलिटब्युरो सदस्यले यसलाई कसैले रोक्न नसक्ने बताएका थिए। त्यहाँ बोल्ने अन्य नेताले समेत अहिले आएर, विचारमा ठूलो विचलन आएकाले अब माओवादी केन्द्र रूपान्तरण हुन सक्ने अवस्था छैन भन्ने गरेका छन्। उक्त बैठक भएको वर्ष दिन पनि बित्न नपाउँदै अहिले एमाले र माओवादी मिल्नेकुरा आएको छ, यो केवल संयोग मात्र नभएर योजनाबद्ध थियो भन्नेकुरा तथ्यहरूले प्रमाणित गर्दै गएको देखिन्छ।

रुसी क्रान्तिको किस्सा

सन् १९१७ अक्टोबरमा लेनिनको नेतृत्वमा रुसमा सर्वहारा वर्गले राज्यसत्ता हातमा लिएका थिए, जसलाई अक्टोबर क्रान्ति भनिन्छ। यसको नक्कल गर्दै विश्वका कयौँ मुलुकमा पार्टी तथा संघर्ष भए। रूसमा र अन्य देशमा कम्युनिस्ट शासकहरूले लगभग १० करोड मानिसको ज्यान लिए। साथै, अन्य लाखौंलाई राजनीतिक सफाया गरियो। तर स्थापनाको ५ दशक नबित्तै तत्कालीन सोभियत संघ र पूर्वीयूरोप कसरी विघटनतिर गए?

नेपालमा पनि हजारौँको बलिदानी भएको जनजाहेर नै छ। आज माओवादी र एमाले विघटनको चुरो कुरा केमा निहित छ? अब उक्त पार्टीहरू कसरी विघटनतिर उन्मुख हुँदै गइराखेका छन्? अनि कसरी उनीहरू यो बाटोमा गइराखेका छन्? यसको उत्तर खोज्न जरुरी भइसकेको छ।

अर्को प्रसङ्गमा संशोधनवादको चरित्र र त्यसको स्वरुपबारे माओले भनेका थिए, ‘संशोधनवाद र पूँजीवादमा कुनै भिन्नता हुँदैन। संशोधनवाद अन्ततः पूँजीवाद नै हो।’ रुसमा स्टालिनको निधनपछि त्यही भएको थियो।

खु्रश्चेभदेखि बे्रझनेभ हुँदै गोर्वाचोभसम्म आउँदा सोभियत रुस रुपमा कम्युनिस्ट मुलुक तर सारमा पूँजीवादी मुलुकमा पतन भइसकेको थियो। पूँजीवादीहरूका एजेन्ट गोर्वाचोभको ग्लास्तनोस्त (खुल्लापन) र पेरेस्त्रोइका (आधुनिकीकरण)को सिद्धान्तले नाममा कम्युनिस्ट सोभियत रुस पुँजीवादको हावाले सम्पूर्ण रुपमा प्रदुषित भइसकेको थियो। धेरै पूँजीवादीले सन् १९८९र ९० तिर आएर मात्र कम्युनिस्टको सोभियत सत्ता ढल्न पुगेको विश्लेषण गरेका थिए, तर सारमा त्यो विश्लेषण सत्य थिएन।

रूसमा स्थापनाको ५ वर्षकै अन्तरालमा कम्युनिष्ट पार्टी विभाजनको शिकार बन्यो। लेनिनको नेतृत्वमा बोल्सेभिक र प्लेखानोभको नेतृत्वमा मेन्सेभिक– पार्टीका रुपमा सोभियत कम्युनिष्ट पार्टीमा विधिवत् विभाजनपछि कम्युनिस्ट आन्दोलनमा नयाँ बहसको प्रारम्भ भयो। लेनिन संगठित र अनुशासित कम्युनिस्ट पार्टी चाहन्थे। तर, प्लेखानोभ खुकुलो संगठनात्मक प्रणाली चाहन्थे। अन्ततः लेनिनको पक्षमा बहुमत र प्लेखानोभको पक्षमा अल्पमत देखा पर्यो। त्यसयता भावात्मक रुपमा बोल्सेभिक क्रान्तिकारी र मेन्सेभिक सुधारवादी शक्तिका रुपमा विश्व कम्युनिष्ट आन्दोलनमा परिचित छन्।

ठिक त्यस्तै, सय वर्षअघिको रूसमा जस्तो स्थिति विकास भइरहेको थियो ठीक सय वर्षपछिको अक्टोबर महिनामा नेपालका कम्युनिस्ट पार्टीहरू माझ त्यस्तै रणनीतिक चलखेल चलिरहेको थियो। जनयुद्धपछि शान्ति प्रक्रियामा आउँदा प्रचण्ड–बाबुराममा देखा परेको संशोधनवादी विचार र लाइन जब जब्बर रुपले देखा पर्यो, त्यो वास्तवमा उनीहरूको संशोधनवादमा छलाङ थियो। डा. भट्टराईलाई त अहिले आफूलाई कम्युनिस्ट भन्न पनि लाज लाग्छ। उनी वास्तवमा कम्युनिस्ट कहिले थिएनन् र वास्तविकता अहिले आएर ओकलेको देखिन्छ।

नेपाली कम्युनिस्टको इतिहास

वि.सं. २००६ सालदेखि २०१९ सम्म एउटै कम्युनिस्ट शक्तिका रुपमा रहे पनि तेस्रो महाधिवेशनपछि नेपाली कम्युनिस्ट आन्दोलन दर्जनौं समूहमा विभाजित भयो। तेस्रो महाधिवेशनपछि विभाजित कम्युनिूट घटकहरू विभिन्न शक्तिमा विभाजित हुँदा उनीहरूको आफ्नै इतिहासको विरासत मात्रै छैन, स्कुलिङ र इतिहासको मूल्याङ्कनका सन्दर्भमा पनि आ–आफ्नै धारा छन्।

फरक–फरक कोणबाट राजनीतिक संघर्षमा होमिँदा प्राप्त गरेका उपलब्धी र समस्याहरू फरक कोणबाटै संश्लेषित भएका छन्। तिनीहरुको एकीकृत समीक्षा र उचित संश्लेषणविना एकताले सार्थक रुप लिन सक्दैन। नेपाली कम्युनिस्ट आन्दोलनमा अवसरवाद, दक्षिणपन्थी संशोधनवाद, आधुनिक संशोधनवाद र नवसंशोधनवादको रूपमा प्रकट हुँदै आएको छ । विश्व कम्युनिस्ट आन्दोलन हुँदै नेपालमा एमालेदेखि, माले, मसाल हुँदै एमाओवादीसम्म आउँदा उनीहरूभित्र पूँँजीवादी विचार बोकेका पार्टीका मान्छे हुन् भने बाहिर रुपमा कम्युनिस्ट खोल आढेर देखा परेका लिङ्गरहित कम्युनिस्ट हुन्। न पुँजीवादी न त कम्युनिस्ट।

कोओर्डिनेसन केन्द्र, माले–माक्र्सवादी हुँदै एमालेमा विकसित भएको नेकपा (एमाले)को ऐतिहासिक विश्लेषण र चौम, मशाल, एकता केन्द्र हुँदै माओवादीका रुपमा विकसित भएको माओवादी केन्द्रको ऐतिहासिक विश्लेषणमा धेरै ठूलो राजनीतिक खाडल देखिन्छ। तत्कालीन कोर्डिनेसन केन्द्र चौमभन्दा क्रान्तिकारी थियो। यसले चौमलाई सुधारवादी, दक्षिणपन्थी शक्ति ठान्थ्यो। चालीसको दशकको आसपास मशालले तत्कालीन मालेलाई क्रान्तिकारी सिद्धान्तबाट च्यूत भएको शक्ति ठान्दथ्यो। २०४६ सालको जनआन्दोलनपछि माले–माक्र्सवादीबीच भएको एकताले बनेको एमाले तत्कालका लागि राजतन्त्रको वैधानिक सीमाभित्र रहेर राजनीतिक प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुग्यो। यता मशाल, विद्रोही मशाल, चौम र सर्वहारा श्रमिक संगठनको एकताबाट बनेको एकता केन्द्र संसदीय चुनावलाई उपयोग गर्दै जनयुद्धको आधार तयार पार्न जुट्यो।

वि.सं. २०४८ को आम निर्वाचनपछि एकता केन्द्र संसदलाई उपयोग गरेर जनयुद्धको उठान गर्ने दिशामा अगाडि बढ्यो भने एमाले संसदीय प्रजातन्त्रको सुदृढीकरणको अभ्यासमा लाग्यो। यसपछि राजनीतिक संघर्ष र दृष्टिकोणमा अझै ठूलो राजनीतिक दुरी देखा पर्यो। २०२८ सालको झापा विद्रोहलाई एमाले बामपन्थी भड्काव ठान्दथ्यो भने जनयुद्धमा होमिएको माओवादी झापा विद्रोहलाई आफ्नो आधारबिन्दु ठान्दथ्यो। यही वैचारिक मतभेद एमाले र माओवादी केन्द्रबीच आजपर्यन्त कायमै छ। यसको नयाँ ढङ्गले समीक्षा र संश्लेषण नगरेसम्म पार्टी एकताले सार्थकता प्राप्त गर्न सक्दैन।

जसले कम्युनिस्ट आदर्शलाई हृदयदेखि नै स्वीकार गर्छ र त्यो प्राप्तिको लागि आफूलाई पूर्ण रुपले समर्पित गर्दछ, त्यो सच्चा कम्युनिस्ट हो। इतिहासको नजिर हेर्ने हो भने पहिले कट्टर मार्क्सवादी बनेर मार्क्सवादी धाराभित्र घुसेका र दार्स्निक बिचलन आएका ल्युशाओ ची, देङ शाओपिङ सम्मका संशोधनवादका हिमायतीहरूले उक्त दर्शनको खिल्ली उडाए।

ठीक त्यस्तै, अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सैद्धान्तिक, वैचारिक र राजनीतिक प्रश्नमा ठूलै मतभेद रहँदै आएको छ। तर सन् १९५६ मा तत्कालीन रुसी कम्युनिष्ट पार्टी र चीनियाँ कम्युनिष्ट पार्टीबीच चलेको वैचारिक विवाद जस्तै एमाले र माओवादी केन्द्रबीच चलेको थियो। पार्टी जन्मने र निर्माण हुने विचारले हो न कि व्यक्तिगत लालच र मोहको कारणले।

नेपाली कम्युनिस्टको सैद्घान्तिक धरातल कमजोर हुनुका पछाडि धेरै कारण छन्। यसको कारण प्रस्ष्ट पार्दै नेपाली कम्युनिस्ट दर्शनका ज्ञाता तथा लेखक हस्त बहादुर के.सी लेख्छन्( पहिलो हो पेटि बुर्जुवा चिन्तन वा निम्न पूँजीवादी चिन्तन। निम्न पूँजीवादी चिन्तन क्रान्तिकारी कम्युनिस्ट बन्न र सैद्धान्तिक धरातल उँचो उठाउन ज्यादै बाधक हुन्छ। टपरटुँइयाँ जानेकाको भरमा आफूलाई धेरै जानेको र बुझेको ठान्ने प्रवृति। थोरै बुझेपछि धेरै जानेको कहलाउने जुन प्रवृत्ति हामीसित छ, यो नै हाम्रो सैद्धान्तिक धरातललाई माथि उठाउने बाटोमा तगारो बन्दै आएको छ। उनी अघाडी थप्छन्– सैद्धान्तिक धरातल कमजोर भएकै कारण व्यक्तिगत लाभ, प्रतिष्ठा र पदलोपुताको कारण पार्टीी विभाजन हुने र एकता पनि हुने जुन प्रक्रिया छ यो मार्क्सवाद(लेनिनवाद(माओवाद को सैद्धान्तिक धरातल अर्न्तर्गत पर्दैन।

२०५४ सालमा एमाले विभाजित भयो र माले बन्यो र फेरि २०५८ सालमा माले एमालेमा विलय भयो। त्यहाँ कुनै सैद्धान्तिक धरातल थिएन। खाली पद, प्रतिष्ठा र पदलोपुताको कारण विभाजन भएको पुष्टि हुन पुग्यो। २०५९ असारमा एकीकृत नेकपा माओवादीमा विभाजन आयो र नेकपा माओवादी बन्यो। यहाँ पनि पद, प्रतिष्ठा र पदलोपुताको कुरा नआएका होइनन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.