तन्त्र र मन्त्रद्वारा प्रभावित लोकतन्त्र र बालुवाटारको कालो बोको!


सत्ता र शक्तिको अविच्छीन्न उपभोग गर्न पाउने अभिलाषाका साथ पाकिस्तानमा राष्ट्रपति रहँदा असिफ अली जर्दारीले हरेक दिन एउटा कालो बोको ‘कुर्बानी’ दिन लगाएको समाचार उतीबेलाका छापाहरूमा निकै चर्चा पाएको थियो।

यता, भारतमा पनि पूर्वप्रधानमन्त्री ईन्दिरा गान्धीदेखि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीसम्मका नेताहरू सत्ता र शक्तिको लागि शक्ति पिठमा बली दिनेदेखि नागा बाबा,साधु सन्त एवम् तान्त्रिक गुरूको चरण स्पर्श गर्न दौडिने गरेको खबर सुन्न र पढ्न पाइन्छ। ईन्दीरा युगमा उनको निकटताका कारण बिहारका तान्त्रिक धीरेन्द्र ब्रह्मचारीको बोलावाला छोई नसक्नु थियो रे।

नेपालका राजाहरूमा पशु पंक्षी बली दिने कुराले निक्कै महत्व पाउने गर्थ्यो। त्यसका साथै तन्त्र मन्त्र र धाँमी झाक्रीको सहारा पनि राजाहरूले निक्कै लिने गरेका हुन्थे। कतिसम्मको विश्वास भने पछिलो समय ‘काली बाबा’को प्रभावमा तत्कालिन राजा ज्ञानेन्द्रले अलच्छिन लागेको भनेर नारायणहिटी बगैंचाका रूखहरू ढाल्न लगाएका थिए रे।

धेरै पहिलेका कुरा छोडौं, कांग्रेसका निवर्तमान सभापति सुशील कोईरालादेखि शेरबहादुर देउवासम्म तन्त्र-मन्त्रको प्रभाव निक्कै देखिन्छ। गुरू कमलनारायण आचार्यले सुशील कोईरालालाई यती प्रभाव पार्थे कि उनको सिफारिसमा ‘भक्त’ हरूलाई सांसद पददेखि अन्य राजनीतिक नियुक्तीसम्म दिने गरिन्थ्यो।

कांग्रेस नेताहरूमा प्रधानमन्त्री एवम् पार्टी सभापती शेरबहादूर देउवा तन्त्र-मन्त्र एवम् ज्योतिषीलाई विश्वास गर्ने कुरामा अरूभन्दा एक कदम अगाडि छन्। भर्खरै सम्पन्न निर्वाचनको प्रचार प्रसार दौरान उनले ज्योतिषीको हावला दिँदै आफू मुलुकको प्रधानमन्त्री सात पटक बन्ने बताएका थिए।

कतिपयले त्यसलाई प्रधानमन्त्रीले गरेको मजाक भनेर अर्थ्याए पनि। तर, बिगत क्रान्तिकारी छविको भए पनि वर्तमानमा भने देउवाले तन्त्र-मन्त्र एवम् ज्योतिषीको ज्यादा भरपर्ने गरेको कुरा कसैबाट छिपेको छैन। दुबै हातका अधिकांश औंलाभरी औंठी एवम् जन्तर मन्तर, त्यसैका उपज  हुन्।

त्यसो त कांग्रेस नेता मात्रै होईनन्, यो सवालमा आफूलाई क्रान्तिकारी एवम् प्रगतिशील भौतिकवादी दाबी गर्ने कम्युनिष्ट पनि कम छैनन्।

कम्युनिष्टहरूको आदर्श एवम् मार्ग दर्शन भनेकै कार्ल मार्क्सद्वारा लिखित घोषणा पत्र नै हो। जहाँ मार्क्सले धर्मलाई मानव स्वास्थ्यमा सबैभन्दा नकरात्मक प्रभाव पार्ने लागूपदार्थ अफिमसँग तुलना गरेका छन्। नेपाली कम्युनिष्टहरू पनि आफूलाई मार्क्सवादी ठान्छन्। तर ब्यवाहारमा उनीहरू पनि मार्क्स कै शब्दमा अफिम खाएर लठ्ठीने होडबाजीमा अग्र पंक्तिमा देखिन्छन्। उनीहरूले केवल कार्ल मार्क्सको तस्बिर भित्तोमा झुण्ड्याएर मात्रै कम्युनिष्ट हुनुको ‘धर्म’ पुरा गरेको देखिन्छ।

यदी मार्क्सले भने झैं धर्मलाई अफिम नै मान्ने हो भने कम्युनिष्टहरूका लागि बली प्रथा एवम् पूजा पाठ मठ–मन्दिर, गुम्बा, गिर्जा, मस्जिद र सिनागोग आदि स्थान एवम् कृयाकलापले कुनै महत्व नराख्नु पर्ने हो। तीर्थ–ब्रतको पनि कुनै माने नहुनु पर्ने हो।

पञ्च र कांग्रेस जस्तै नेपालका कम्युनिष्ट नेताहरू पनि तान्त्रिकमा विश्वास गर्ने देखिएका छन्। उनीहरूले नयाँ पद बहाली गर्दा, साईत हेराउँछन् अनि नयाँ प्रधानमन्त्रीको रूपमा सरकारी निवास, बालुवाटार छिर्दा भब्य पूजाआजा, होम होमादी मात्रै गर्दैनन्, शत्रुको नाश एवम् शक्ति प्राप्तिको कामना गर्दै कालो बोको बलीसमेत दिने गरेका छन्।

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि पछिल्ला कम्युनिष्ट प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, झलनाथ खनाल, केपी ओली र माधव नेपाल सबैले प्रधानमन्त्री हुनासाथ पूजाआजा गरेर मात्र सरकारी आवास छिरेका थिए। प्रचण्डले सपथ लिँदा भगवानको नाममा नभनेर जनताको नाममा भने पनि निवास छिर्दा पूजाआजाको परम्परा तोड्न सकेनन्।

विगतमा, कम्युनिष्ट, कांग्रेस अनि पन्च, सबै प्रधानमन्त्रीले कालो बोकाको बलि दिएर प्रधानमन्त्री निवास प्रवेश गरेका हुन्।  यस अर्थमा केही अपवादलाई छोड्ने हो भने सिद्धान्त त कम्युनिष्टहरू आफूलाई द्वन्द्वात्मक भौतिकवाद मान्ने माक्र्सवादी दाबी गर्छन् तर उनीहरूको रूप भने अरू जस्तै धर्मभीरू र कर्मकाण्डी नै देखिन्छ।

शिंहासनमा रहँदा वा नरहँदा पूर्वराजा ज्ञानेन्द्रले मन्दिर चहारेको एवम् शक्तिपिठमा भाकल पूजा गरेको दृश्य देख्दा राजनीतिशास्त्रका विद्यार्थीहरूलाई खासै अनौठो नलागे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री हुँदा गरेको भैँसी पूजाले अचम्मित बनाएको हुनुपर्छ।

कुन विश्वासले प्रचण्ड भैंसी पूजा गर्न बारा पुगे कुन्नी तर उनको पद भने भैंसी पूजा गरेको केही हप्ता मै चैट भयो। उता अर्का पूर्व प्रधानमन्त्री माधव नेपालले आफू प्रधानमन्त्री हुँदा पुण्य कमाउन भनेर पनौतीको एउटा खोलामा डुबुल्की हाल्न मात्रै पुगेनन् तिरुपति बालाजीको तीर्थाटन गर्नसम्म भ्याए।

चाहे जे सुकै होस प्रकारान्तरले मानिस राजनीतिको जुनसुकै बाटो हिँडे पनि अन्तिम अभिष्ट भनेको सत्ता एवम् शक्ति प्राप्त गर्नु नै हुनेरहेछ।

त्यसका लागि अपनाईने हथकण्डाको तथा शक्ति प्राप्तपछिको नौटंकीको कुनै आदर्श नहुने रहेछ।

राजपा नेता राजेन्द्र महत्तो, राप्रपा नेता कमल थापा एवम् माओवादी नेता कृष्ण बहादूर महरा, एमाले नेता माधव नेपाल र पूर्वराजा ज्ञानेन्द्र शाहले झै “माता सरू अचार्य” सँग भाग्य हेराएर मात्रै नयाँ कामको शुरूवात गर्छन् भन्ने कुरा छापाहरूमा प्रशस्तै पढ्न पाईन्छ।

आखिर, के क्रान्तिकारी, के प्रतिगामी सबैले पूजा–पाठ, होम–यज्ञादि गर्नेदेखि उपवास बस्ने, भाकल गर्ने, बलि दिने, तीर्थ जाने, गुरु थाप्ने, ज्योतिष र तान्त्रिकहरूको प्रभावमा यावत कार्य गर्ने गर्दा रहेछन्। साइत हेरेर मात्रै कुर्चीमा बस्ने, तन्त्र-मन्त्रका साथ हातका औंला भरी औंठी लगाउने, जन्तर भिर्ने अनि कालो बोको काटेर सरकारी निवासको ढोका छिर्ने साझा प्रबृत्ति हाम्रो लोकतन्त्रको अकाट्य परम्परा भैसकेको रहेछ।

चाहे जे होस जती सुकै क्रान्तिकारी नारा दिए पनि हाम्रो लोकतन्त्रमा  तन्त्र मन्त्र र ज्योतिषिको प्रभावलाई नजरअन्दाज गर्न सकिने अवश्था छैन।

यसको आफ्नै बिशिष्ट स्थान छ। सायद यही अकाट्य प्रभावका कारण हुनुपर्छ नेपालको ३९ औं प्रधानमन्त्रीका लागि फेरि बालुवाटारमा एउटा कालो बोको ‘कुर्बानी’ को लागि कुरी बसे झैं लाग्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.