खिया लागेको टिन र वामपन्थी असिना


आम निर्वाचनमा खिया लागेको नेपाली कांग्रेसको टिनको छानालाई वामपन्थी असिनाको चोटले ठाउँ–ठाउँमा प्वाल प¥यो । अब कांग्रेस स्पातकै रुपमा पुनःस्थापित हुन चाल्नुपर्ने कदमका लागि आइतबारै कु¥यो भने ढिला भइसकेको हुनसक्छ । सामान्य उपचारले नथेग्ने अवस्थामा नेपाली कांग्रेस भित्र विकसित हुँदै आएको रोगहरुलाई कांग्रेसले शल्यक्रियामार्फत नै समाधान खोज्नु जरुरी छ ।

नेपाली कांग्रेसको पार्टी संगठन पार्टीभित्रको सत्ता संघर्षमा मात्र व्यस्त छ । नामले क्रियाशील, काममा उदासीन बहुसंख्यक क्रियाशील सदस्यहरु पार्टीको अन्तरिक चुनावमा बहुतै क्रियाशील हुने तर आम निर्वाचनहरुमा भने अल्छी खरायो झै सुतेपछि कछुवाले दौड जित्ने नै हुन्छ । पार्टीका कार्यक्रम र योजना बढीभन्दा बढी मतदाताबीच सञ्चार गर्न सदुपयोग गर्नुपर्ने सामाजिक सञ्जाललाई सेल्फीमय बनाउँदै आफ्नो मात्र प्रचार गर्ने नेता–कार्यकर्ता व्यस्त देखिन्छन् । पार्टीका उम्मेदवारलाई जिताउन भन्दा पनि आफ्नो राजनीतिक निरन्तरता देखाउनका लागि मात्र निर्वाचनमा क्रियाशील भए झै गर्ने कार्यकर्ताको पनि ठूलै भीड छ, कांग्रेसमा । वास्तविक क्रियाशीलता मर्न नदिन क्रियाशील सदस्यताको कठोर व्याख्या र वैज्ञानिक पुनःसंरचनाको पर्खाइमा छ, कांग्रेस । नेताहरुले पदलाई विगतका कर्मको पारिश्रमिक तथा पुरस्कार भन्दा पनि चुनौती भन्ने यथार्थलाई मनन् गर्नु जरुरी छ । पदलाई प्रतिष्ठाको विषय नबनाई सामूहिक हितमा समर्पित हुने परिचयका रुपमा उपयोग गर्न आवश्यक छ । विपक्षका आरोपको जनताले बुझ्ने भाषामा जवाफ दिन पनि नेताहरु विफल छन् । कार्यकर्ताहरु विपक्ष सँगको बहसका लागि निपूर्ण छैनन् । आफ्नो इतिहास र उपलब्धि कहनमै अधिकतम् समय बिताउँदा कांग्रेस आफ्नो आगामी योजनाको सञ्चार गर्न असफल छ ।

नयाँ चुनौती – नयाँ नेतृत्व

तत्काल केन्द्रीय समिति हुँदै पार्टी महासमिति बैठक बोलाई स्थानीय निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्राप्त मत नतिजाको गम्भीर समीक्षा गर्दै संघीयता अनुरुप पार्टी तथा भातृ संगठनको पुनःसंरचनाको खाका निर्माण गरी विशेष महाधिवेशनमा जानुपर्ने छ । कुशल नेतृत्व, बलियो संगठन र समकालीन मुद्दाको अभावमा कांग्रेसका धेरै नेताहरु व्यक्तिगत रुपमा प्रभावशाली हुँदाहँुदै पनि त्यो प्रभावशालिता मतमा रुपान्तरण हुन सकेन । समानुपातिकतर्फ यस निर्वाचनमा कांग्रेसलाई मतदान गर्ने मतदाताले जनमत संग्रह गर्दा आफू अनुमोदित हुन्छु – हुन्न भन्ने आधारमा कांग्रेसका केन्द्रीय नेताहरुले आत्ममूल्यांकन गर्दै नेतृत्व लिन र छाड्न तयार हुनुपर्छ । अविरल संघर्षशील, सदा समर्पित र अनुभवी अघिल्लो पुस्ताको मार्गदर्शक मण्डलको सुझाव बमोजिम परिचालित हुने विचार र उमेरले युवाहरुको नेतृत्वमा पार्टी सञ्चालनको विकल्प वृहत कम्युनिस्ट गठबन्धन तथा बाँकी एकता अभियानसँग प्रतिस्पर्धामा आउने कांग्रेस बनाउन अर्को छैन । समाजका चुनौती र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सक्ने, पार्टी सँग नजोडिएका तर आधुनिक प्रविधिसँग परिचित र लोकतान्त्रिक मूल्य–मान्यतालाई सम्मान गर्ने तप्कालाई समेत क्रमशः भूमिकामा ल्याउन पार्टी हिच्किचाउनु हुँदैन ।

विश्वेश्वरका खराऊ र करुवाको पानी

बिपीका समाजवादी खराउ पुजेर र लोकतन्त्रको भक्ति संगीत श्रवण तथा गायन मात्र जनमत सिर्जनाका लागि पर्याप्त छैन । यी वाद र तन्त्र अनुरुपको आचरण अनिवार्य हुन्छ । पार्टीले दुरगामी निर्णयहरु लिँदा जनताको मनोविज्ञान र केन्द्रीय समितिको धारणालाई मुख्य आधार बनाउनु पर्छ । पदाधिकारी र सदस्यहरु बैठकमा खुलेरै प्रस्तुत हुनुको सट्टा एक –दुई नेताको विरोध र प्रतिरक्षामा व्यस्त हुने संस्कार अन्त्य गर्नुपर्छ । पार्टीभित्र अभिलेखीकरणको अभावमा मूल्याङ्कन पद्घति स्थापीत हुन नसकेको सत्यलाई आत्मसाथ गर्दै पार्टी भित्रका सबैले देख्न र पढ्न सक्ने गरी छुट्टै विभाग मार्फत आधुनिक प्रविधिको साथ काम थाल्नुपर्ने हुन्छ । करुवाको तातो पानीले रुखलाई सिँचाई गर्न उद्घत ‘बिपीवादी’ हरुलाई निरुत्साहित गर्नुपर्ने अर्को चुनौती पनि थपिएको छ, कांग्रेसलाई । बिपीको राजनीतिक सपना समाजवादलाई श्रद्वाञ्जली दिँदै उहाँकै साहित्यिक प्रयोग अराजकतावादलाई राजनीतिमा भिœयाउने, मलजल गर्ने र संस्थागत गर्दै संगठनमा भूकम्प ल्याउनेहरुको अस्वाभाविक चहलपहलबाट निराश बनी निष्क्रिय बस्ने कयौँ कर्मयोगी पात्रहरुका कारण पनि काँग्रेसले ठूलै नोक्सानी बेहोर्नु परेको छ ।

मख्ख छौ सानु भेन्टिलेटरमा

समानुपातिक मतको भेन्टिलेसन मार्फत नेपाली कांग्रेसले यस प्रत्यक्षतर्फको परिणामले सिर्जना गरेको उकुसमुकुसतालाई केही हदसम्म न्यूनीकरण गरेको छ । समानुपातिकतर्फ कांग्रेसले प्राप्त गरेको जनमतलाई पार्टी नेतृत्वको खुबीभन्दा पनि कार्यकर्ताको परिश्रम र कम्युनिस्ट वन्न नरुचाउने लोकतन्त्रवादी वर्गको अभिमत भनेर बुझ्न जरुरी छ । यो इतिहासका कतिपय राम्रा कर्महरुको ब्याज पनि हो । तर बिडम्वना, कांग्रेस पराजयको एक मात्र कारण वामगठवन्धन भनी व्यख्या र विश्लेषण गर्दै समानुपातिक मत हेरेर मख्ख पर्नु विडम्बना हो । भविष्यमा हुन सक्ने थप प्रतिकूलतामा पनि वर्तमानको यो मत जोगाई राख्नु कांग्रेसका लागि महत्वपूर्ण चुनैती हो । त्यसका लागि नेताहरुलाई केही वर्ष जोडतोड मार्फत बनिने मन्त्री र प्रधानमन्त्री भन्दा पनि प्रतिपक्ष दलकै नेता बनेर गर्व गर्नसक्ने बनाउनुपर्छ । अनिमात्र काँग्रेस भेन्टिलेटरबाट तङ्ग्रिएर आफै भित्र सङ्लिएर जनताको विश्वासले फक्रिएर यो मुलुकको नेतृत्व गर्ने अवस्थामा फर्किन सक्छ।

राष्ट्रिय सभा कि वामहरुको आमसभा

वर्तमानमा नेपालको राजनीतिक पेच राष्ट्रिय सभा निर्वाचन सम्बन्धी कानुनमा फसेको छ । यो राष्ट्रिय सभाको संरचना र प्रकृतिसँग पनि जोडिएको विषय हो । हामी कस्तो राष्ट्रिय सभा चाहन्छौं ? हामीले चाहेको राष्ट्रिय सभामा छलफल होस् । बहस र चिन्तन होस् । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय, राजनीतिक र सामाजिक विषयमा जीवन्त वादविवाद होस् । निर्देशनात्मक नहोला सही, सुझावकै रुपमा भए पनि प्रतिनिधि सभालाई दिशानिर्देश गरोस् । अनुभवी अघिल्लो पुस्ता सम्मिलित मार्गदर्शक मञ्च बनोस् । बहुलवादी मण्डल बनोस् । तर निर्वाचन परिणाम पछिको चस्माले अव बन्ने राष्ट्रिय सभाको निर्वाचन प्रणालीको वारेमा साँघुरो सोचले विश्लेषण गरियो भने राष्ट्रिय सभाको औचित्य गठन नहुँदै समाप्त हुन्छ ।

प्रतिनिधि सभा जस्तो अल्पमत–बहुमतले अर्थ राख्ने अंगको निर्वाचन बहुमतीय र समानुपातिक प्रणालीमा गर्ने तर राष्ट्रिय सभा जस्तो मुलुककैे अभिभावकको भूमिका खेल्ने सल्लाहकार सभा, बहुमतीय प्रणलीमा निवाचन गर्नु भनेको राष्ट्रिय सभाको गरिमा र आवश्यकतालाई नबुझ्नु हो । तत्कालमा कुन दलका कति जना नेता –कार्यकर्तालाई यस सभामा भर्ती गर्न सकिन्छ भन्ने अस्वस्थ दौडका कारण राष्ट्रिय सभाको मूल मर्म मरेको छ । नयाँ सरकार गठनको प्रक्रिया अवरुद्ध छ । कुनै पनि उम्मेदवार निर्वाचन हुन आवश्यक न्यूनतम् मत (कोटा) पुरा भए पछिका एक – एक मत दोश्रो रोजाइका उम्मेदवारहरुमा हस्तान्तरण हुदै जाने एकल संक्रमणीय निवाचन प्रणाली हाम्रो संविधानको परिकल्पना भित्रकै एकमत पनि खेर नजाने निर्वाचन प्रणाली हो । समानुपातिक र बहुलवादी सिद्धान्तको असली उदाहरण हो । बहुमतीय प्रणालीले वर्तमान सन्दर्भमा राष्ट्रिय सभा बामहरुको आमसभा हुन्छ भन्ने चिन्ता मात्र हैन यसले दिर्घ राजनीतिक भविष्यमा राष्ट्रिय सभालाई फगत प्रतिनिधि सभाको दर्पण छाया मात्र बनाउँछ भन्ने हो । सत्तापक्षको कठपुतली संस्था बनाउँछ भन्ने हो ।

यस अन्योलबीच नेपाली कांग्रेसले सरकारको नेतृत्वमा रहेको बलमा भन्दा पनि राष्ट्रिय सभाको प्रकृति र मुलुकको आवश्यकता सुहाउँदो वैधानिक निर्वाचन प्रणाली नै एकल संक्रमणीय हो भन्ने सत्यतालाई जनता बीच स्थापित गर्दै यही विधिलाई कार्यान्वयनमा ल्याउन सक्यो भने कांग्रेसको नैतिक विजय हुनेछ । अस्टे«लियाको सिनेट, न्युजिल्यान्डको स्थानीय निकाय र माल्टाका सम्पूर्ण निर्वाचनहरुमा प्रयोेगमा आएको एकल संक्रमणीय प्रणाली भारतको माथिल्लो सभा निर्वाचनमा प्रयोग गरिन्छ । अमेरिकाका २२ शहरमा स्थानीय निकाय निर्वाचनमा अभ्यासमा ल्याइएको यो प्रणाली वेलायतमा विकासित भएर, बेलायती संसदीय निर्वाचनमा प्रयोगमा नल्याइए पनि क्याम्ब्रीज विश्व विद्यालयको विद्यार्थी संगठनको निर्वाचनमा प्रयोगमा ल्याइएको छ । हालको संविधानको तुलनामा निकै कम समावेशी हुँदै गर्दा पनि तात्कालिन राष्ट्रिय सभा निर्वाचन गर्न २०४७ सालको संविधानमा यही विधिलाई आत्मसात गरिएको थियो । आज यो विधिलाई प्रयोगमा नल्याउनु समावेशीकरणको खिल्ली उडाउनु हो । बहुलवादलाई व्यङ्ग्य हो । अझ सकिन्छ, आगामी दिनमा हरेक प्रदेशवाट सात–सात गरी उनन्पचास जना निर्वाचित हुने गरी कला, साहित्य, स्वास्थ्य, शिक्षा, खेलकुद, व्यापार, वाणिज्य आदि क्षेत्रका अब्बल दश व्यक्तित्वहरु सरकारले सिफारिस गरी उनन्साठी सदस्यीय राष्ट्रिय सभा गठन गर्न सकियो भने राष्ट्रिय सभाको गरिमा र प्रभावकारिता झनै बढ्ने हुन्छ ।

अन्त्यमा

खर्चिलो उपचार, महँगो शिक्षा र चरम रोजगारीलाई सम्बोधन गर्न सक्ने प्रष्ट योजना सहितका कार्यक्रम लिएर जनतामा जानुको विकल्प कुनै पनि पार्टीहरुसँग छैन । कांग्रेसले पनि पद र प्रतिष्ठाबिना जनताको वकिल बन्ने मौकालाई सदुपयोग गर्नसके आजको जस्तो ‘एन्टी इनकम्वेन्सी’को सिकार अबका दिनमा हुनुपर्ने छैन । सत्ताविरुद्धको मत पनि कांग्रेसलाई नै प्राप्त हुनेछ । गहिरो आत्मसमीक्षा र निरन्तर क्रियाशीलताको मात्र खाँचो छ । र त्यो पुनर्गमनका लागि पुनर्जागरणको आवश्यकता छ । अनि मात्र कांग्रेसले आफ्नो घरको छाना मात्र हैन जनताको घरको छाना पनि छाउने हैसियत राख्नेछ ।

[email protected]

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.