हामी देशको माया नलागेर मुग्लान भासिएका हौं र?


हामी विदेशमा बसिरहेका मानिसहरुलाई सधैँ एउटै आरोप लाग्ने गर्छ  देशको माया नभएर मुग्लान भाँसिएकाहरू’ भनेर। त्यसका साथै देशको बारेमा चिन्ता व्यक्त गर्दा चोर औँला हामीलाई देखाउँदै आफू चाँहि विदेशमा बस्ने अनि चिन्ता चाँहि स्वदेशको गर्ने , चिन्ता भएको मानिस खुरुक्क नेपालमा बस्नु नि भनेर पनि भन्ने गर्दछन्। यसरी हामीलाई आरोप लाग्नुको कारण कहिलेकाँहि हामी अतिनै बढी देशको बारेमा आलोचना र टिकाटिप्पणी गर्ने बानीले पनि हो जस्तो लाग्छ। तर, कहिलेँकाँहि उहाँहरुको आक्रोश यति धेरै अंहकारमा परिणत हुन्छ कि देशको बारेमा सोच्ने असल छोराछोरी हामी मात्रै हो, विदेशमा गएकोले उतैको देशको ठेक्का लिनु यता पर्दैन भनेर खुल्ला चुनौति दिनुहुन्छ। खुल्ला चुनौति दिनुहुने उहाँहरुलाई प्रश्न:

के तपाइँ आफ्नो जन्मदिने आमाबुबालाई छोडेर कहिले काम पढाइँको शिलशिलामा काठमाडौँ, पोखरा, विराटनगर, नेपालगन्ज कतै जानुभएको छ ? यही शिलशिलामा के कहिले विवाहवारी गरेर, बच्चा जन्माएर आफ्नो जन्मथलो छोडेर देशभित्रै कतै कर्मथलो बनाउनु भएको छ ? घरमा बसेको छोरा वा छोरीले मात्रै आमाबुबालाई माया गर्छ हो ? आमाबुबासँग जो बस्छ उसैको मात्र बुबाआमालाई हेरविचार र चिन्ता लिने धर्म हो ? अब भन्नुस् के आमाबुबासँग  र जन्मघर नबस्दा पनि तपाइँ आफ्नो कर्तव्यबाट विमुख हुनुहुन्छ ? पक्कै पनि हुनुहुन्न होला ?

हो, त्यस्तै हामी पनि हरेक श्वासमा देश सम्झिन्छौ। जन्मभूमिलाई चटक्कै बिर्सिएर कर्मभूमिमा मात्रै लिप्त हुने हामी नेपालीहरुको संस्कारनै होइन। बाबुनानीहरु ! केही सिक्नलाई घर छोडेपनि घर नर्बिर्स है भन्ने संस्कारबाट हुर्किएका हामी कसरी देशलाई सोचे विना बस्न सक्छौ। देशको बारेमा ठेक्का नलिई भन्दैमा ठेक्का नलिने पनि होइन, देशको बारेमा सोच्ने होइन भनेर भन्दैमा देशमा आउँन छोड्ने पनि होइन। नेपाल हाम्रो जन्मभूमि हो र जन्मभूमि हामी सबैलाई प्राण भन्दा पनि प्यारो हुन्छ।

हामी हाम्रो देश, परिवार, आफन्तजन, साथीभाइहरुलाई सपनामा त्यहीनै हाँसेर खेलेको देख्ने गछौँ। हामी सपना यहाँको भाषाले देख्दैनौ, हामी सपना पनि हाम्रै भाषा र संस्कारमा देख्छौ। हप्तामा एकछाक दाल,भात, गोलभेँडाको अचार खान पाएनौँ भने हामीलाई हप्तादिनमा के नखाएको के नभएको महसुस हुन्छ। कुनै रात पकाउन अल्छि लागेर भोकै वा चाउचाउ उमालेर खाएको दिन घर सम्झिन्छौ। आमाले पकाएर पस्केको सम्झिन्छौ , बुबा र परिवारसँगै हाँसेर खाएको यादले सताउँछ। देशमा महाभूकम्प जाँदा होस् या सप्तरीमा बाढी जाँदा हाम्रो मन आँतिएर उता हुत्तिन्छ। सायद विदेशमा बस्ने मानिसहरु आफ्नो घर र देश सम्झेर नरोएको कमै होलान्। नेपालको हरेक चाडपर्वदेखि हरेक संस्कारहरु हामी नेपालीहरुनै जम्मा गरेर यहाँ मनाउँछौ। नेपालको राजनितिको बारेमा हामीलाई चिन्ता हुन्छ , बाबु आमालाई राम्रो बुहारी र राम्रो ज्वाइँ नपर्ने होकि भनेर जति चिन्ता हुन्छ त्यतिनै हामीलाई पनि देश चलाउने राम्रो नेता नआउने हो कि भनी पीर लाग्छ।

हामीले हाम्रो घर बिर्सिएको छैनौ। परदेशमा मेरो देश भनेर नेपाली झण्डा गौरभको साथ फरफराउन भुलेको छैनौ। नेपाली पहिरनमा शिर ठाडो गरेर हिड्न छोडेको छैनौ। हामी यहाँ पनि हाम्रो पहिचानको खोजी गछौ। आफ्नो अस्तित्वको जर्गेना गछौ। हामीले मेल्वर्नमा अहिले आफ्नै नेपालीहरुको सामुदायिक भवन बनाउने तरखरमा छौँ। यो नेपाली सामुदायिक भवन सबैजनाको आस्थाको केन्द« विन्दु होस् र यो कदम एतिहासिक होस भनी लागि परेका छौ। परदेशमा बसेर देश चिनाउने काम गरेका छौ , के यो हाम्रो कार्य देशको माया नभएर हो ? यदि देशको माया र भक्ति नहुने हो भने हामी किन यति धेरै सोच्न बाँध्य हुन्छौ र नेपालको बारेमा ?

यसै क्रममा म एउटा सानो प्रसंग केलाउन चाहन्छु। यो प्रसंग यहाँ किन केलाउन उपयुक्त र आवश्यकता छ भने हामी देशबाट बाहिर बसेका नेपालीहरु आफ्नो देशको पहिचान र अस्तित्वलाई कति धेरै माया र इज्जत गछौँ भन्ने कुरालाई परिभाषित गर्दछ। यस्तै अष्ट्रेलियामा नेपाली इतिहासको कुरा गर्दै जाँदा एक दिन भिक्टोरीया राज्यको लागि नेपाली अवैतनिक महावाणिज्यदुत चन्द्र योन्जनले एउटा कुरा भन्नुभएको थियो।

त्यस्तै १९९०÷९१ सालको कुरा हुनुपर्छ रे। त्यतीखेर मेल्वर्नमा मात्रै होइन पुरै अष्टे«लिया महादेशमा नै नेपालीहरु जनसंख्या एकदमै निम्न थियो रे। यदि बाटोमा कोही नेपालीहरु झुक्किएरपनि हिडिरहेको देख्यो भने नेपाली रेष्टुराँको मालिकले खुसी हुँदै बोलाई बोलाई खाना खुवाउँथे रे। यसरी एकले अर्को नेपाली देख्दा पुरै नेपालनै देखेको महसुस हुँन्थ्यो रे उहाँलाई।

अनि एकदिन उहाँ आफ्नो रेष्टुराँबाट साथीसँग एकसुरमा गफ गर्दै गाडी चलाउँदै राती घर फर्किदैहुनुहुदो रहेछ। कतै बीचमा ट्राफिक लाइटमा परेपछि उहाँले यसो आफ्नो बाँया हेरनुभएको रे, एउटा कालो कालो अग्लो पातलो मान्छे ढाका टोपि लगाउँदै ढलकढलक ढल्किदै जाँदैरहेछ।

ओहो ! यति राति चिसोमा यो नेपाली मान्छे कहाँ हिडेको होला भन्दै लिफ्ट दिउँकि  भनेर्र ए दाइ, एकछिक रोकिनुस् , कहाँ जाने हो हामी पुर्याइदिउँला’ भनेर बोलाउनुभएछ। तर त्यो मान्छे भने यसो पुलुक्क हेरेर आफ्नै सुरमा हिड्दाृ पो रहेछ। चन्द्र दाइले गाडी यू ट्रन गरेर उसको पछि पछि लागेपछि त बल्ल त्यो मान्छे रोकिएछ। दाइहरु हत्तनपत्त गाडि रोकेर गाडीबाट झर्नुभएछ। त्यो मान्छे अलि डराएको देखिएछ। दाइले ढाडमा ढ्याप मार्र्दै   हामी पनि नेपाली नै हो, डराउनु पर्दैन। अनि कस्तो तपाइँ त, त्यत्रो चिच्चाउँदा पनि नरोकिएको। यस्तो राती एक्लै हिडेको देखेर झन् सहयोग गर्न खोजेको, बुढा त लम्केको छ लम्केको छ। ’ दाइहरु बोलेको बोल्यै छ रे तर त्यो मानिस चाँहि केही बोल्दैन रे। किन नबोलेको दाइ भनेर सोध्दा बल्ल पो बोल्छ रे – आप क्या बोल रहे हो समझ मे कुछ बी तो नही आया’ पो भन्दो रहेछ। लौ खत्तम भन्दै दाइ र दाइको साथी मुखामुख गर्नुभएछ र पछि सोध्दा पो थाहा पाउनुभएछ कि उहाँ त भारतीय मुलको पो हुनुहुदोरहेछ। कुरा बुझ्दै जाँदा उहाँको साली पर्ने एउटा नेपाली रहेछ र त्यो ढाकाटोपी साली अष्ट्रेलिया आउँदा उपहार दिएको रहिछिन्, मन परेर सालीको मन राख्न पो लगाएर हिडेको रे।

उहाँलाई यो घटनापछि महसुस भएछ। हामी नेपालीहरु विदेशीभूमिमा रहँदा कति धेरै नेपाल सम्झदो रहेछौ र नेपाललाई माया गर्दोरहेछ। एउटा ढाकाटोपी लगाएको मानिस बाटोमा देख्दा भावुक हुने हाम्रो मनमा कसले भन्न सक्छ हामीमा देशभक्ति छैन भनेर ?

त्यसैले भन्न मन लाग्छ, देशभक्ति भनेको चिच्चाएर बोल्ने कुरा पनि होइन। देशभक्ति भनेको त महसुस गर्ने कुरा हो। देशको माया तराजुमा तौलिन मिल्दैन। देशको मायालाई छामेर यति रहेछ भन्न पनि मिल्दैन , न देशको माया नापेर नै पत्ता लगाउन सकिन्छ। देशलाई माया गर्न भूगोलले पनि छेक्दैन। सायद, भोलि हामी हाम्रो देश फर्किउँला वा नफर्किउँला तर नेपाल यो मनमा सधैँ रहिरहनेछ। देशको झण्डा बोकेर कहिँले थाक्नेछैनौ हामी। मेरो देश नेपाल भनेर छाति फुलाएर हिड्न छोड्ने छैनौ। नेपाल देश र नेपाली समुदायको पहिचान यो बहुसाँस्कृतिक समुदायमा चिनाउन हामी यहाँको सरकार देखि सदनसम्म धाउँन पनि पछि हट्नेछैनौ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.