सबै आगो पानीले मात्र निभ्दैन


बढ्दो शहरीकरणसँगै नेपालमा आगलागीको प्रकृति तथा आगोका श्रोतहरु पनि फरक फरक हुँदै गइरहेका छन्। आगलागी हँुदा नियन्त्रण गर्न पानीको प्रयोग गर्नुपर्दछ भन्ने आमधारणा छ तर सबै खाले आगलागीमा पानीको प्रयोग गर्न सकिँदैन आगोको श्रोत र प्रकृतिअनुसार पानी, फोम अन्य केमिकल एवं पानीको मात्रा तथा पानी प्रयोग गर्ने विभिन्न तरिकाको प्रयोग गर्नुपर्छ।

रसायन (केमिकल) तथा केमिकलबाट बनेको वस्तुमा भएको आगलागीमा पानीको सिधै प्रयोग गर्दा यस्तो आगोमा रासायानिक प्रतिक्रिया भई आगो बढ्ने र झन फैलने गर्दछ। त्यसैले यस्ता प्रकारका आगलागीमा सिधै आगोमा पानी नहाली वरिपरिको वातावरणलाई चिस्याई पानीको छहरा बनाई पानीको प्रयोग गर्नु पर्दछ।

पेट्रोल, डिजेल, मट्टीतेल तथा केमिकललाई खतराजन्य पदार्थ भनिन्छ। खतराजन्य पदार्थ भनेको यस्तो वस्तु हो जुन अत्याधिक प्रज्वलनशील र विषाक्त हुन्छ। मानवीय नियन्त्रण, निगरानी र सावधानी बिना वातावरणमा छाडियो भने यसले वातावरण मात्र होइन मानव स्वास्थ्यमा समेत गम्भीर असर गर्दछ।

नेपालमा खतराजन्य पदार्थको खपत भण्डारण तथा ओसारपसार उल्लेख्य मात्रामा हुने गर्दछ। यस्ता खतराजन्य पदार्थहरुको खपत तथा कारोबार हुने स्थान पेट्रोल पम्प,औद्योगिक क्षेत्र तथा कलकारखाना हुन्। तर यी स्थान आगलागीको दृष्टिले कति सुरक्षित छन् यसमा कार्यरत कर्मचारीलाई आगलागीसम्बन्धी सचेतना कति छ? सँगै तालिमको अवस्था कस्तो छ भन्ने कुरा हालैको दिनमा राजधानीमा भएको पेट्रोल पम्प तथा औद्योगिक क्षेत्रमा भएको आगलागी तथा त्यसबाट भएको जनधनको क्षतिमा सरकारी उदासीनताबाट सहजै अनुमान गर्न सकिन्छ।

कुनै पनि विपद् संग जुध्नको लागि विपदको बारेमा बुझन जरुरी छ । विपदलाई बुझेमा विपद् आउँदैन त्यसैले विपदपूर्व विपदको बारेमा पुर्व तयारी गरेमा विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । नेपालको सन्दर्भमा आगलागी भएपछि दमकल परिचालन गरी आगलागी नियन्त्रण गर्ने भन्ने मानसिकताले काम गरिरहेको छ।

नीति निर्माण तहमा नै आगलागीको अत्याधिक जोखिम हुने स्थान तथा आगलागी भई हालेमा धेरै मानिस प्रभावित हुने तथा जनधनको क्षतिको सम्भावना बढी हुने उद्योगधन्दा कलकारखाना औधोगिक ग्राम पेट्रोल पम्प तथा पेट्रोल भण्डारण स्थल अग्नि सुरक्षित बनाउने तथात्यसमा संलग्न कर्मचारीलाई नियमित तालिम दिई प्रशिक्षित गर्ने र कदंकदाचित आगलागी भइहालेमा त्यसबाट कसरी बच्ने भन्ने बारेमा तालिम दिने तथा यस्ता क्रियाकलापलाई नियमित अनुगमन गर्न सम्बन्धीत निकायलाई नै जिम्मेवार बनाउन जरुरी छ।

उपत्यकाभित्र रहेका झन्डै १५० वटा पेट्रोल पम्प अनुगमन गर्दा सबै पनि पेट्रोल पम्प नेपाल आयल निगमबाट जारी मापदण्ड तथा बिक्रेता नियमावलीभन्दा फरक किसिमले सञ्चालन भइरहेको देखिन्छ । पेट्रोल पम्पमा अग्नि सुरक्षाको लागि तोकिएको मापदण्ड अधिकांसले पालना गरेको देखिँदैन। हाल पेट्रोल पम्प लागि तोकिएको मापदण्ड पुरानो भएको हँुदा यसलाई समयसापेक्ष रूपमा परिमार्जन गर्न जरुरी छ।

दशौं हजार लिटर पेट्रोलियम पदार्थ भण्डारण तथा नियमित विक्री हुने स्थान आगलागीको दृष्टिले अत्यन्तै संवेदनशील क्षेत्र भएको हुँदा यस्तो स्थलमा आगलागीसम्बन्धी तालिमबिनाको व्यक्तिको संलग्नता रहनु हुदैँन।

पेट्रोल विक्री गर्ने व्यक्तिले सुरक्षा साधनको प्रयोग गर्नु पर्दछ। सुरक्षाको आधारभुत कुराहरुलाई पनि पालना अनिवार्य गर्नु गराउनु पर्दछ। एउटा पेट्रोल पम्पमा १० किलोग्राम क्षमताको ४ फायर एक्स्टिंगुइसर, ४ बाल्टिन, दुइटा साबेल र एक हजार लिटर पानीको व्यवस्था मात्र पर्याप्त हुदँैन। यी साधनले पेट्रोल पम्पमा हुने अग्नि नियन्त्रण गर्छु भन्नु हाँस्यास्पद र नियामक निकायको आँखामा छारो हाल्नु मात्र हो ।

यसतर्फ नियामक निकायले कदम चाल्न ढिलो भइसकेको छ।

आगलागी भई हालेमा यी साधनले पेट्रोलजन्य आगो नियन्त्रण गर्न सम्भव छैन।  त्यसैले पम्पमा कार्यरत जनशक्तिलाई आगलागीको बारेमा प्रशिक्षित गरी आगलागीको सम्भावनालाई न्यून गर्ने र आगलागी भई हालेमा कसरी सुरक्षित रूपमा नियन्त्रण गर्ने हो सोको उपाय सिकाई अग्नि नियन्त्रणको औजार उपकरणलाई समयसापेक्ष नियमित क्षमता अभिवृद्धि गराउनु पर्दछ ।

सबै आगो एकै हुदैँन। आगो उत्पन्न हुने स्रोतको आधारमा आगोको प्रकृति पनि फरक फरक हुन्छ। फरक आगलागी नियन्त्रण गर्न पनि छुट्टाछुटै विधि तथा केमिकलको प्रयोग गर्नु पर्दछ।

केमिकलजन्य आगलागीमा सिधै पानीको प्रयोगले आगोले झन स्वरुप बदलेर ठूलो हुन्छ त्यसैले केमिकलबाट हुने आगलागी नियन्त्रणको लागि फोमका तथा अन्य केमीकल प्रयोग गर्नु पर्छ।

सोहीअनुसार फायर फाइटिङ विधिको प्रयोग गर्नु पर्दछ।

काठमाडौं उपत्यकाबाहिरको दमकलको कुरा नगरौं, उपत्यकाभित्रैका दमकलमा केमिकल फायरसँग जुध्न सक्ने औपचारिक रुपमा तालिमप्राप्त फायर फाइटर नै छैन। केमिकल उत्पन्न अग्नि विज्ञान नै नबुझेका, बिनातालिम नै कोरा मानिसबाट अग्नि नियन्त्रण गर्दा कस्तोखालको परिमाण प्राप्त हुन्छ, सजिलै अनुमान गर्न सकिन्छ।

केमिकलबाट हुने आगलागी नियन्त्रणका लागि उच्चस्तरीय फोम र अन्य औजार उपकरण हुन जरुरी हुन्छ। यसको अभावको कारण उपत्यकामा भएका केमिकलजन्य आगलागी हामीले समयमा नियन्त्रण गर्न सकेको छैनौं।

दमकलमा सिक्न जाने कि सिकेर जाने भन्ने कुराको समेत मापदण्ड छैन। यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । केमिकलजन्य आगलागीसँग लड्न सक्ने फायर फाइटर आजको दमकलको आवश्यकता हो।

(लेखक काठमाडौ महानगरपालिकाको विपद व्यवस्थापन विभागमा कार्यरत छन्।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.