कांग्रेस अस्पतालको शैय्याबाट फर्किएला?


 

संघीय गणतन्त्र नेपालको पहिलो आमनिर्वाचनमा आफ्नो दलको नराम्रोसँग पराजय पछि नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले प्रतिकृया दिए–काँग्रेस घाटमा होइन, अस्पतालको शैय्यामा छ। कांग्रेसलाई हृदयाघात भएर आकस्मिक रूपमा अस्पतालमा लगिएको भने होइन। बिरामीका लक्षण पहिलेदेखि नै देखिएका थियो, तर कहिले डाक्टरको पेनकिलर र कहिले मौसमले साथ दिएर सञ्चो महसुस भएको थियो। यसपाली यी दुबैले साथ दिएनन् र काँग्रेस साँच्चिकै अस्पतालमा थला परेको छ। कांग्रेसले उचित उपचार गर्न सकेन भने अस्पतालको शैय्याबाट फर्कने छैन।

२००७ मा राणा फाल्नेदेखि २०४६ मा पञ्चायत विरुद्धको लडाईँमा काँग्रेस तन्दुरुस्त थियो। प्रजातन्त्रको विजय प्राप्त गरी सत्तामा गए पछि भने उसले स्वास्थ्यको ख्याल गरेन। जता जे पायो त्यही खायो, पियो। हुन त अरूले पनि जथाभावी नखाएका होइनन्, कहिले आफैंले मात्र कहिले काँग्रेससँग मिलेर, तर उनीहरुले बेला बेलामा व्यायाम गरे, चेक अप गरे आफूलाई स्वास्थ्य राखे। काँग्रेसले भने आफूलाई कहिल्यै रोग नलाग्ने दम्भ देखायो।

निष्ठाको राजनीतिलाई छाडेर जसरी पनि सत्तामा बस्नुपर्ने मनोरोग काँग्रेसमा पलायो। गिरिजाप्रसाद कोइरालाले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई पाखा राखेर आफैं खाने मनोरोग प्रदर्शन गरे। पछि यो रोग शेरबहादुरलाई सर्‍यो। काँग्रेस रोगी भएपछि माओवादीले मैदानमा खेल्ने मौका पायो। माथिबाट ज्ञानेन्द्रको लात तलबाट माओवादीको मुक्का खान थालेपछि रोगी ज्यानले धान्न सकेन। २०६२-६३ को परिवर्तनको पेनकिलर खानु बाहेक काँग्रेससँग अर्को कुनै विकल्प रहेन।

त्यति बेला पेनकिलर दिने गिरिजाप्रसाद बितेपछि अर्को डाक्टर निस्किएन।

वामपन्थीको बाहुल्य रहेको पहिलो संविधानसभाले संविधान दिन नसकेपछि कांग्रेसको लागि मौसम फेरियो, केही राहतको महसुस गर्‍यो। उसलाई लाग्यौ अब म तन्दरूस्त भएँ, किन चाहियो व्यायाम, किन चाहियो चेक अप।

रोगको निदान गर्न दक्षिणतिर दौडिने समस्याले पनि कांग्रेस ग्रसित भयो। दक्षिणतिरका सबै डाक्टर राम्रा नहुने रहेछन्। कोही घाटे वैद्य जस्ता, आफ्नो स्वार्थका लागि औषधिको ठाउँमा मन्द बिष पनि दिन सक्ने। घाटे वैद्यबाट उपचार हुन सक्दैन भनेर ओलीले तिनलाई चटक्कै छाडेर उत्तरतिरका लामा तिर लागे। अहिले धेरैले लामाहरुको भरोसा गरेका छन् तर काँग्रेसले घाटे वैद्य छाड्न सकेन ।

उमेरको हिसाबले वामपन्थी र काँग्रेस उस्तै हुन्, दुबै २००७ सालको वरिपरि जन्मिएका। वामपन्थी पहिले पुड्को थियो, कसैले तङ्ग्राएको थियो, पछि हर्लक्क बढ्यो। तर काँग्रेसले उसलाई सधै पुड्को देख्यो। राजनीतिमा कसरी तन्दरुस्त रहन सकिन्छ वामपन्थीले सिके। मिडिया, प्रशासन, न्यायालय, निजी क्षेत्र जस्ता राजनीतिका भिटामिनहरुको संरक्षण गर्न जान्यो, आवश्यक परेको बेला सेवन पनि गर्यो। वामपन्थीले पश्चिमतिरका क्याल्सियमका चक्कीहरु पनि सेवन गरे, तर काँग्रेसले त्यता तिरका मदिरा मात्र। शक्ति आर्जन गर्न कहिलेकाही तितेझार सेवन गर्न काँग्रेसले आँट गरेन ।

भर्खरैको कुरा गर्दा वामपन्थीका मत धनुषा ३ बाट हराउदा राष्ट्रवादको पखला चलेन, झापा ३ मा प्रतिगमनको पेट दुखेन, काठमाडौ १ मा गठबन्धन कमजोर भएन। वामपन्थीहरुले जस्तो चुनावमा प्रयोग गरिने यस्ता बुटीको महत्व काँग्रेसले बुझेन। सिटौलाले उच्च कोटिको हसुर्न खोज्दा मेचीमा सबै भाइहरु थला परे।  कुन बेला के खानु पर्छ, के फाल्नु पर्छ भन्ने ज्ञान पनि काँग्रेसलाई भएन। चुनावकै मुखमा प्रधानन्यायाधीश र अख्तियार प्रमुखको प्रकरणबाट यो देखियो।

दलको स्टामिना युवाहरुमा हुन्छ भन्ने कुरा काँग्रेसले हेक्का राख्न सकेन। ३६ सालको जनमतसंग्रह ताका जस्तो २०४६ पछि युवाहरु काँग्रेसप्रति आकर्षित हुन सकेनन्। २०४८ पछि मदन भन्डारीको बुटीले युवाहरु एमालेमा आकर्षित भए, २०५२ साल पछिका युवाहरु माओवादी तिर लागे खासगरी ग्रामीण क्षेत्रका युवाहरु। तर पढेलेखेका युवाहरुले राजनीतिमा चासो दिन छाडे। चासो राख्नेहरुलाई विवेकशील साझा जस्ता दलहरुले आकर्षण गरे। तराईका युवाहरुलाई राजपा र फोरम जस्ता दलहरुले  पहिचानको गोली पिलाए भने ओलीको राष्ट्रवादको सुईले केहीलाई लठ्ठ पारेको छ।

स्वस्थ रहन सन्तुलित आहारा आवश्यक हुन्छ। राजनीतिको सन्तुलित आहारा ‘समावेशिता’ हो। विपिले ६५ वर्ष पहिले राजनीति गर्दा जतिबेला आमनेपालीले समावेशी राजनीतिको अनुभूत पनि गरेका थिएनन, पूर्वी तराईको निधि, पश्चिम तराईको चौधरी, मध्य पहाडको तामाङ, रौतहटको ईद्रिस, पूर्वको गुरुङ, उपत्यकाको सिंह, पश्चिमको विश्वकर्मा, सुदूर पश्चिमको क्षेत्री ठिटो, मध्यम परिवारकी पूर्वेली बाहुनी ठिटी, हुने खाने राणा, पढे लेखेको आचार्य, चुरेको जुझारु जोगी, सन्यासी भट्टराईमा समावेशी देखेका थिए। त्यो सन्तुलित भोजनले केही समयले काँग्रेसलाई धान्यो पनि।

तर अहिले काँग्रेसले  कोइराला, देउवा, पौडेल, महत, सिटौला आदिमा मात्र ‘समावेशिता’ देख्यो। गच्छदार, महन्त, रामजनमहरुलाई रोक्न सकेन। कुल बहादुरहरु दलको चुनाव हारेर अपमानित हुनु पर्यो। उसो त एमालेमा यस्तो सन्तुलित आहाराको अभाव झन् छ तर उसको स्टामिनाले अझै धानेको छ भने पहिले देखि कमजोर काँग्रेसको शरीरले धान्न सकेन।

काँग्रेससँग सहानुभूति राख्नेले खिन्न हुँदै सुनाउँछन, अब काँग्रेस सकियो। पश्चिम बङ्गालमा कम्युनिष्टले ५० वर्ष चलायो अब नेपालमा वामपन्थीहरुले खान्छन। यो संभव पनि छ। लोकतन्त्रमा जसले जनताको मन जित्छ उसैले राज्य गर्ने हो। यो पद्धतिको लागि काँग्रेसले ५० वर्ष संघर्ष गर्यो। यसको प्रतिफल आफैले मात्र खानु पर्छ भन्ने जरुरी छैन।  समानुपातिक मतको स्टेथस्कोपले काँग्रेसको मुटु राम्रैसँग चलेको देखाएको छ। काँग्रेसको जनमत एमालेको हाराहारीमा छ भने एमाले, माओवादी, जनमोर्चा, मजदुर किसान पार्टी, माले लागयतका सबै वामपन्थीहरु मिलाउदा ५०% ।

यो जनमत वामपन्थी दलका हार्डकोर समर्थकहरुको मात्र होइन। काँग्रेसको कर्तुतले विकर्षण भएकाहरु पनि छन्।  स्थायी सरकार र विकासको आशाले मतदान गर्ने जनमत पनि यसमा मिसिएको छ।  पहाड तिर राष्ट्रबाद, तरई तिर बहुराष्ट्रबादले केही काम गरेको छ।  ५ वर्षमा वामपन्थीले प्रतिवद्धता गरे अनुसार काम हुन सकेन र वाम इतरहरुसँग गठबन्धन गर्न सक्यो भने यो जनमत फेरि फर्किन सक्छ । २०४६ साल देखिका चुनावहरुको नतिजाले यो देखिएको छ। काँग्रेसले अहिलेको भन्दा बिजोग परिस्थिति पनि भोग्न सक्न पनि पर्थ्यौ, यदि एमालेलाई एकल बहुमत वा वामपन्थीको दुई तिहाइ आएको भए। जनताले काँग्रेसको पुरै धड्कन बन्द गरी नहालम् सुध्रिन दिउँ भनेर यसो गरेका पनि हुन सक्छन्।

अहिले सत्तामा जो भए पनि चुनौतीका पहाडहरु छन। जनताका आकाक्षा बढी छन। पहिले भन्दा बढी सपना देखाईएको छ। संघीय गणतान्त्रीक नेपालको संरचनाको विकास गर्नुछ तर नेता उनै हुन, काम गर्ने शैली देखे कै हो । पजेरो र महलको संस्कृती सबैमा मौलाएको छ। कार्यकर्ताको दलाल र ठेकेदारी आचारण रातारात जाने होईन । सरकारी राहत र नियुक्तीमा पल्केका अल्छि कार्यकर्तालाई सुधार्न सजिलो छैन। स्वास्थ्य र शिक्षाका माफियाहरुले सुनौलो अवसर मानेका हुन सक्छन्। भ्रष्टचारको जालो अब केन्द्रमा मात्र सिमित नरहेर प्रदेश हुदै स्थानिय तह सम्म फैलिने संभावना छ। स्थानिय सरकारको उपस्थिति नहुदा बाढीचुढी खान पल्लेकाहरु अहिले निर्वाचित प्रतिनिधी छन, उनीहरुको हातमा करोडौको बजेट हुनेछ। करोडौ खर्च गरेन चुनाव जितेका सांसदहरुले दोहन गर्ने श्रोत पनि राज्यकोष नै हुनेछ।

मधेशी प्रति राज्यको रबैया पहिले जस्तै रह्यौ र मधेशीले समानअनुभुती महसुस गर्न सकेनन भने यसले प्रलय निम्ताउने छ। यसको भागी अब बन्ने सरकार हुनु पर्नेछ। ठुला दलहरुले यो क्षेत्रमा जनमत गुमाई सकेका छन। मधेशबादी नेताहरुलाई पहिले जस्तो जनमत नभएका मसियाहरु भनेर हेप्ने ठाँउ अब रहेन। उत्तर र दक्षिणको सन्तुलित सम्बन्ध कायम राख्ने अर्को चुनौती सरकारको हुनेछ। पहिले टाढै बस्न रुचाउने उत्तरले नजिकिने चासो देखाएको छ। चुनावी नतिजाले उसलाई झन उत्हासित बनाएको हुन सक्छ। यसले दक्षिणलाई संशकित बनाउनु स्वभाविक नै हो। उनीहरुको राष्ट्रिय स्वार्थ बिना हामीलाई न उत्तरले सहयोग गर्छ न दक्षिणले भन्ने हेक्का राख्नु जरुरी। उनीहरुका अरु छिमेकीहरु संवन्धबाट पनि यो कुरा बुझ्न सकिन्छ।

वामपन्थीहरुको नजरमा काँग्रेसहरुले लिएको आर्थिक उधारवादको नीती फेल भएको छ। उनीहरुले बैकल्पिक आर्थिक नीती हेर्न बाँकि छ। पहिले सरकारमा रहदा काँग्रेसको आर्थीक उदारबादलाई उनीहरुले शिरोधार्य गरे। दिर्घकालीन प्रभाव पार्ने जलविधुत जस्ता विकासका ठुला परियोजनाका बारेमा बिगतमा जस्तो अलमलमा रहन सक्दैनन। वैदेशिक लगानीमा निती के हुने प्रष्ट हुनु पर्छ। युवाहरुलाई बेरोजगार भत्ताले आश्रित बनाउने वा उनीहरुलाई स्वाभलम्भी बनाउने, देशको धुकुटी बाढ्ने वा धुकुटी भर्ने आदि कुरा सरकारका आर्थीक नितिमा भर पर्छन। वामपन्थीहरुलाई यो पहिलो अवसर होईन, उनीहरुले ६-६ वटा प्रधानमन्त्री जन्माई सकेका छन्, ५ जना जिवित नै छन्। पहिले जस्तो यो वा त्यो कारणले गर्न पाएनौ वा गर्न दिएनन भन्ने  छुट अब उनीहरुलाई हुने छैन।

अन्त्यमा, अबको केही दिन वामपन्थी फुटाउन दक्षिणबाट तातो हावा बग्ने छ, घाटे वैध्यहरुले कान्तीपुर नगरीमा धाउने छन्।  काँग्रेसले तातो हावाको आनन्दको महसुस गर्दै अस्पतालको शैयाबाट फेरी सत्तामा आँखा लगायो भने त्यो बिष सरह हुनेछ। मुख चुबुर चुबर नचलाई र चिल्लो पिरो खान लोभ नगरी, रोग निम्ताउने पहिलेका सबै व्यबहारमा सुधार ल्याएर ऋष्टपुष्ट भएर ५ वर्षमा जनतामा जान सक्यौ भने उनीहरुले फेरि संजिवनी दिने छन। जनतामा जादा रोगका लक्षण र आँफुले सेवन गरेका राम्रा र नराम्रा कुराहरु बुझाउन सक्ने, स्पष्ट बोल्नेलाई मात्र पठाउनु जरुरी छ। काँग्रेसले अब पनि चेत्न सकेन भने विरासद सम्हाल्न तयार भएका विश्व प्रकाश शर्मा र गगन थापाहरु जन्त होईन मलामी जानु पर्ने छ। जनताले भिरबाट लड्नेलाई राम राम भन्ने छन फेरी काँध थाप्ने छैनन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.