बिहे कसको लागि गर्ने?


‘अहिले तिमीले जस्तो लुगा लगाएकी छौ बिहेपछि लगाउन पाइँदैन…।अहिले जस्तो स्टाइल छ तिम्रो, खान–पान, बोली वचनमा बिहेपछि पुरै चेन्ज हुनुपर्छ।मेरा बुबाआमा, दाजु दिदीको अगाडि मलाई नामबाट बोलाउने र मलाई तिमी भन्न पाइँदैन। हाम्रो आफ्नो कोठामा भन जे पनि सहन्छु तर अरुको सामु आदर गर्नुपर्छ। फलानोले यस्ती श्रीमती भित्र्यो भनेर समाजसामू मेरो बेइज्जत नगर।’

चार वर्षसम्मको प्रेम सम्बन्धलाई मंसिर २५ गते बिहेमा परिणत गर्ने क्रममा हुन लागेका पतिले दिएको निर्देशात्मक अभिव्यक्ति निरुता पाख्रिन (नाम परिवर्तन)को लागि एक किसिमले बोझ नै बन्यो। ‘हाम्रो जात मिल्छ, पढाइ मिल्छ, उसको र मेरो जागिर मिल्छ, परिवारको पनि राजीखुसी नै छ, एक अर्काले राम्रोसँग चिनेका छौँ तैपनि उसले अन्तिम क्षणमा किन यस्तो आदेश दिइरहेको हो बुझ्नै सकेकी छैन।’ बिहेको निम्तो दिने बेलामा चिन्तित देखिइन् निरुता।

‘अहिलेको जमानामा पनि हजुरआमाको पालाको जस्तै आदेश दिन्छ मेरो हुनेवालाले।’ मैले बिहे त उहीसँग गर्ने हो फेरी यत्रो आदेश पालना कसको लागि गर्नुपर्ने? बाआमा, दिदी–दाजुको लागि बिहे गर्नेजस्तै व्यवहार गर्छ। यत्रो वर्षको सम्बन्ध तोड्न पनि नसकिने, खुसी मनले घरमा भित्रन पनि नसकिने हालतमा छु। छोरीको जिन्दगी कस्तोकस्तो?’ उनी बीचैमा अड्किइन्। विवाह सम्बन्ध विस्तारको पहिलो महत्त्वपूर्ण खुड्किलो हो यसलाइ गह्राँै बोझ नठान, छोरी र बुहारीमा धेरै अन्तर हुन्छ तर अन्तरको अनुभूती गर्नु हुँदैन आफ्नो व्यवहार घर र माइतीमा समान हुनुपर्छ समस्या आउँदैन। पंक्तिकारको सुझावमा अवाक् देखिइन् निरुता।

तिम्रो जस्तो घर सबैको पर्छ भन्ने छ र? उनले फेरी दोहोर्याइन्, ‘बिहे गर्ने श्रीमानसँग हो कि परिवारसँग? आफ्नो इच्छा अनुसार चल्न नपाइने भएपछि केको विवाह त्यो त बन्धन भइहाल्यो नि होइन र? निरुतालाइ दिने जवाफ आफूसँग थिएन। बिहेपछि उनीसँग भेट भएको छैन, फोनमा पनि बोल्न चाहिनन्। पख तिमीलाइ भेटेरै मेरो कहानी भन्छु। उनको फोन काटियो। मंसिर महिना लगनको महिना धेरै नयाँ जोडीहरू विवाह बन्धनमा बाँधिए। विवाह नितान्त व्यक्तिगत मामिला भनिए पनि यसको सम्बन्ध संस्कृति, समाज, परिवार र आफन्तसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको हुन्छ। अहिलेसम्म पनि विवाह व्यक्तिगत सवालको विषय बन्न सकिरहेको छैन अर्थात् केटा र केटीले चाहेको भरमा सजिलैसँग विवाह हुँदैन, परिवारको राजीखुसी हुनैपर्छ। अपवादको रुपमा गरिने विवाहपछिको पारिवारिक सम्बन्ध त्यति सुमधुर बन्न सकेको देखिँदैन।

घटना १

माघ अन्तिम साता विवाहको तयारीमा जुटेका चिनजानका एक आफन्त दाइ अहिलेदेखि नै निकै तनावमा देखिन्छन्। उनी परिवारमा एक्लो छोरा हुन्। बुढा बाआमा पाल्ने जिम्मा उनकै हो। यत्रो वर्ष बाआमाको काखमा हुर्किएँ, कुनै दिन बाआमाले आफ्नो मन दुःखाएनन्, कुनै कुराको अभाव हुन दिएनन्। नयाँ सदस्यको रुपमा बेहुली बनेर भित्रेकी हुनेवाला श्रीमतीले केही नराम्रो गर्ने पो हो कि? बाआमाको चित्त दुख्यो भने मैले कसको पक्ष लिने? चारजना भान्जा भान्जी छन्, दुईवटी दिदी तर्फका। उनीहरू माइत–मावली आएको बेलामा अहिले बाआमाले गर्ने जस्तो व्यवहार भएन भने के सोच्लान्? समाजमा आफ्नो इज्जत भोलिका दिनमा पनि अहिलेको जस्तै होला कि नहोला? आफन्तको कुरामा विश्वास गरेर मागी विहे गर्न लागेका यी दाइ त निकै बेचैनीमा छन् यतिबेला। उनको मात्रै होइन यस्तो तनाव सायद अधिकांश पुरुषमा हुने गर्छ। छोरा मात्रै होइन बाआमा पनि उतिकै तनावमा, छोरो आफ्नो भन्ने त विवाहको अघिल्लो दिनसम्म मात्र हो। बिहेपछि त छोराको पर्स हेर्न पनि बुहारीको अनुमति चाहिन्छ भन्छन्। आमाको यस्तै गुनासो सुनिन्छ। एक किसिमले छोरो बुहारीलाई जिम्मा लगाएकै त हो नि। हुन पनि अधिकांश परिवारमा यस्तै अवस्था देखिन्छ। सबैभन्दा ठूलो कुरा परिवारका आफन्तलाई बराबर व्यवहार गर्न सक्नु नै सर्वोत्तम हितकर मानिन्छ। विगतको र वर्तमानको व्यवहारलाइ भविष्यसम्म उही रुपले निरन्तरता दिने हो भने सायद कसैको परिवारमा य िआफन्तको जस्तो बेचैनी र छट्पटाहट देखिँदैन होला।

घटना २

स्नातक सकाएकी साथी बिहेको तयारीमा छिन्। नयाँ वर्षको मौकामा बिहे हुँदैछ। केटो सरकारी जागिरे हो, उनी पनि यसपटक अधिकृतको तयारी गर्ने सुरसारमा छिन्। आफूलाइ पढेर जागिर खाने कत्रो धोको छ, सासु ससुरा कस्ता होलान्? बुहारीले जागिर गर्नुपर्दैन, गाउँमै बस्ने घरको काम गर्ने, काममा सघाउनुपर्छ भने भने…. यत्रो पढेको के काम भयो र? श्रीमान् बाआमाका कुरा सुन्ने खालका भए भने त खत्तमै हुन्छ, बि.ए. पास गरेर भात पकाउने घरधन्दा गर्ने मात्रै त हुने होइन? नन्द आमाजु कस्ता छन्? जेठानी पनि छिन् रे, कस्ती होलिन्? सबै बुहारीमाथि हैकम जमाउने खालका छन् कि? मैले घर गरेर खाने देउरानीले सहरमा बसेर पढ्ने भन्न थालिन् भने के गर्ने होला? सबैका कुरा सुन्ने तर निर्णय आफ्नो विवेकले गर्ने श्रीमान् छन् कि छैनन् होला? अनुहार हेर्दैमा सबै कुरा थाहा नपाइने? बिहेपछिको करियरको सवाललाई लिएर चिन्तित साथी निकै बेचैनीमा छिन्।

घटना ३

गाउँमा दुईसय पचास जना जन्ती लगेर छिमेकी गाउँकै युवतीलाई बेहुली बनाएर घर भित्र्याएका एकजना आफन्तको खुसी धेरै समय टिक्न सकेन। बिहेपछि श्रीमान् विदेश जाने तयारीमा थिए, श्रीमतीलाई बाआमाको जिम्मामा छोडेर। तर श्रीमतीको जिद्धीको सामू उनको दाल गलेन। सहरमा बस्छु, स्नातक पढ्छु भन्ने अड्डी लिएपछि बिहेको एक महिनापछि काठमाडौंमा कोठा खोजदिएर श्रीमतीको पढाइको व्यवस्था मिलाएर श्रीमान विदेश उडे। दिनहुँ जसो श्रीमान श्रीमतीको फोनमा, भाइवरमा कुराकानी भइरहन्थ्यो। तीन वर्षको अवधिमा उनले जति पैसा कमाए सबै श्रीमतीको खातामा पठाइदिन्थे। घरका बाआमालाइ श्रीमतीले नै अड्कलेर पठाउने गर्थिन् पैसा। विदेशबाट आउने अघिल्लो दिन मात्र श्रीमानले आफुसँग भएको बाँकी पैसा पनि श्रीमतीलाइ पठाइदिए, बाटोमा चोरि हुन सक्छ भन्दै। म लिन आइहाल्छु नि किन चाहियो तपाईँलाइ पैसा? श्रीमतीको मीठो कुरामा लठ्ठै परे, एयरपोर्टबाट कोठासम्म आउने ट्याक्सी भाडा समेत नराखी श्रीमतीलाई पैसा पठाइदिए। रातको दश बजे विमानस्थलमा ओर्लिएका श्रीमान्ले यताउती हेरे आफ्नी श्रीमती देखेनन्।

अरू साथीका आफन्त, श्रीमती, छोराछोरी पहिल्यै आएर बसेका थिए तर आफ्नी श्रीमतीको अत्तोपत्तो थिएन। फोन गर्दा श्रीमतीको मोबाइल अफ। ट्याक्सी चढ्ने पैसासमेत आफूसँग छैन। ११ बजेसम्म कुर्दा पनि श्रीमतीको पत्तो नलागेपछि सानिमाको छोरालाई फोन गरेर उनैसँग सानिमाको छोराको कोठामा गए। अर्को दिन बिहान खोजी गर्दा छाँगाबाट खसेजस्तै भए, श्रीमती ६ महिना पहिले नै अर्कै केटासँग भागिसकेकी रहिछन्, श्रीमान भन्ने केटालाई कोठामा ल्याउने, एक ठाउँमा थाहा पाए भने अर्का ठाऊँमा कोठा सर्ने, घरतिरका आफन्तसँग सम्पर्कमा नरहने बानी परिसकेको रहेछ श्रीमतीलाई। तीन वर्षको कमाइ पनि सत्यानास, श्रीमती पनि फरार। यो भन्दा चोट के होला? यी केही प्रतिनिधि घटना हुन्, यस्ता पीडा भोग्नेहरू धेरै छन् समाजमा।

दाजुको बिहेको अघिल्लो दिनसम्म कति राम्रो व्यवहार थियो सबैसँग। विवाहको एक महिना भएको छैन भाउजुले एकोहोरो बनाई, आफ्नो छोरो आँखामा राख्दा पनि नबिझाउने खालको थियो त्यही बुहारी आएपछि छोरो फेरियो। यस्ता अनेकन गुनासाहरू दिनहँु सुनिन्छन्। आखिर किन यस्तो हुन्छ? नयाँ बुहारीले त बिग्रेको घर पनि मिलाउन सक्नुपर्नेमा मिलेको घर किन भाँडिन्छ? सासुससुराले जहिले पनि घरमा भित्रेकी बुहारीलाई छोरीको व्यवहार गर्न जान्नुपर्छ। बुहारीले पनि जन्मदाता भन्दा कर्मदिने ठूला हुन्छन् भन्ने कुरा आत्मबोध गर्न सक्नुपर्छ। आफ्ना बाआमा देवता देख्ने लोग्नेका बाआमालाइ शत्रु देख्नु कदापी हुँदैन।

नन्द आमाजु आफ्नै भाइबहिनी, दिदीभाइ ठान्नुपर्छ। उनहरूले पनि भाउजु बुहारी भन्दा पनि आफ्नै नजिकको आफन्तको जस्तो न्यानो माया दिन सक्नुपर्छ। एकले अर्काको कुरा काटेर होइन गल्ती ढाकछोप गरेर सम्बन्ध गाढा बनाउनु पर्छ। बिवाह सासुससुराको लागि, नन्द–आमाजू, देवर–जेठाजु, सालासाली वा समाज कसैको लागि गरिएको हुँदैन। यो त व्यक्तिका लागि व्यक्तिले गर्ने नितान्त नीजी मामला हो। सम्बन्धमा क्षणिक उतार–चढाव भन्दा पनि सँधैभरी एउटै व्यवहार सबै आफन्तलाई गर्न जान्ने हो भने जीवन जिउन कठिन छैन। विवाहको दिनको जस्तो हँसिलो मुहार बाचुन्जेल देखियोस्, नयाँ सम्बन्ध गाँस्न लागेकाहरूलाई शुभकामना!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.