सुक्यो कि चुक्यो कांग्रेस?


‘पैसा, शक्ति र ग्ल्यामरको उत्कट चाहनाका अगाडि त्याग, समर्पण, सिद्धान्त र आस्था सबै गौण हुन्छन्।’ जीवनका आखिरी दिनहरूमा आफ्ना सहयोगीहरू बीच गिरिजाप्रसाद कोइरालाले भनको शब्दहरू हुन् यी।

तर, स्वयं कोइरालाले नै हुर्काएको एवं लोकतन्त्रको लागि कठोर संघर्ष गरेको कांग्रेस पार्टीका वर्तमान समयका उच्च तहका नेताहरूलाई संधै यस्तै मोहले पछ्याई रह्यो। चाहे शेरबहादुर हुन् या रामचन्द्र वा त्यस पछाडिका प्रभावशाली भनिएका नेताहरू। उनीहरूलाई पैसा, शक्ति र ग्ल्यामरको चाहना जोडिरह्यो।

आफूलाई समकालीन राजनितीका सबैभन्दा अग्ला नेता सावित गरेका गिरिजाप्रसादले जीवनको उत्तरार्धमा बारम्बार कांग्रेसको भविष्य बारेमा निकै चिन्ता गर्थे भन्ने कुरा सुनिएको हो। उनी भन्थे रे शेरबहादुरले प्रजातन्त्रलाई ज्ञानेन्द्रको दरबारमा लगेर बुझायो, फेरी अवसर पाउने बित्तिकै उसले जे पनि गर्न सक्छ, सुशीलले क्षमतै देखाउन सकेनन् । रामचन्द्र साह्रै लोभी एवं काँतर छ। नेतृत्व लिने मान्छे समयानुसार चल्नुपर्छ। यति बेला मलाई कुनै चिन्ता छ भने म मरेपछीको कांग्रेसको चिन्ता छ। म मरेपछि कांग्रेस सङ्कटमा पर्ने भयो।

गिरीजाले चिन्ता त्यसै गरेका पक्कै होइनन् होला। उनले आफू पछि नेतृत्वमा आउने नेताहरूको मुटु एवं नाडीको सबै ‘पल्स’ छामी सकेका थिए। उनीहरूसंग न आफू स्वयंले जस्तै कार्यकर्तासँग निरन्तर सम्पर्कमा रहने गतिशीलता थियो न त राजनीतिलाई आफ्नै वरिपरि घुमाइराख्ने विशेषता नै। तापनि उनै शेरबहादुर, रामचन्द्र वा सुशिललाई हटाएर अर्को नयाँ नेतृत्वलाई मार्ग प्रशस्त गर्ने परिस्थिति गिरीजा प्रसादसँग पनि थिएन।

जसरी आफ्ना दाजु बीपी कोइरालाले आफूपछि कांग्रेसको नेतृत्व गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले गर्ने जनाएका थिए। उनको देहान्तपछि सोही अनुसार ‘ट्रोइका’ नेतृत्वले पार्टी सञ्चालन ग¥यो। भट्टराई लामो समयसम्म काङ्ग्रेसको कार्यवाहक सभापति रहे भने व्यक्तित्वको हिसाबले गणेशमान र साङ्गठनिक तवरमा गिरिजाप्रसाद बलियो रहे। तर गिरीजाले आफ्नो बलियो उत्तराधिकारीको टीम छोडेर जान सकेनन्।

यसो त, इतिहासमा कांग्रेसलाई बीपीको करिष्मा, सुवर्णको साधन र गणेशमानको आँटले गतिशीलता दिएको र त्यस पछाडीका पुस्ताले केवल त्यसको ब्याज मात्रै खाएको जबर्जस्त धारणा पनि राजनैतिक वृत्तमा छ। त्यही कारण हुनु पर्दछ, जानकारहरू भन्छन्, इतिहासमा कांग्रेसले नेतृत्वको यस्तो सङ्कट कहिल्यै अनुभव गरेको थिएन। भर्खरै सम्पन्न केन्द्र एवं प्रदेश सभाको निर्वाचन परिणामले पनि त्यो पुष्टी गरिसकेको छ।

शेरबहादुर चार–चार पटक मुलुकको प्रधानमन्त्री भए। रामचन्द्रले प्रतिनिधिसभाको सभामुखको पद सम्हाले। अनगिन्ती पटक मन्त्री र उप–प्रधानमन्त्री भए। तर यिनीहरूले अपेक्षकृत नेतृत्व कौशल एवं क्षमता देखाउन सकेनन्। यी नेताहरूले मुलुकको कार्यपालिका र पार्टी सम्हालेकै बखत प्रजातन्त्र धेरै बदनाम भयो। भ्रष्टाचारका ठूलाठूला काण्ड मात्र भएनन् त्यसले संस्थागत स्वरूप पनि त्यही बेलादेखि लियो। माओवादी जनयुद्धको सुरुआत र विस्तार पनि त्यही बेला भयो। सांसद खरिदबिक्री, पजेरो संस्कृति, पार्टी विभाजन यिनैको पालामा भएका हुन्।

कहाँ चुक्यो कांग्रेस?

नेपालमा राजसंस्थाको अवसानपछि करिब सात दशकको इतिहास बोकेको कांग्रेस नै सबभन्दा पुरानो राजनीतिक संस्था बन्न पुगेको थियो। यो रिक्ततालाई कांग्रेसले मात्रै पुरा गर्न सक्थ्यो र फेरी पनि राजनीतिको मियो बनेर एउटा समन्वयकारी भूमिकामा राष्ट्रलाई अघि बढाउन सक्थ्यो तर विचार र विवेकशुन्य नेतृत्वबाट त्यो सम्भव भएन।

वास्तवमा पछिल्लो राजनीतिक संक्रमणकालमा हुर्केका नयाँं पुस्तासँग कांग्रेसको भावना समयानुकूल जोडिनै सकेन। पटक–पटक मुलुकको नेतृत्व सम्हाल्न पाए पनि सुशासन दिन भने कांग्रेस चुकेको देखिन्छ। पटक–पटक प्रजातन्त्र पुनर्बहाली गर्न संघर्षको नेतृत्व गरेको दल भए पनि सुशासनमा देखिएको कमजोरीका कारण कांग्रेस आफ्नो इतिहास अनुरूपको साख कायम गर्न असफल भयो।

कार्यकर्ताको तहमा कांग्रेसको कुनै समस्या थिएन र छैन पनि। यदि हरेक कांग्रेसजनले निर्मम तरिकाले विश्लेषण गर्ने हो भने कांग्रेसको समस्याको जड भनेकै गत डेढ दशकमा पैसा, शक्ति र ग्ल्यामरका लागि मरिहत्ते गर्दै प्रधानमन्त्री, मन्त्री बनेका दुई चार दर्जन व्यक्ति मात्रै हुन्। पार्टीमा गुट र फुटको तथा लुटको बिग्रह मच्चाउने व्यक्ती यिनै अवसर पाएका स्वांठहरू हुन्।

अहिले पनि कांग्रेसका यी स्वांठहरूको उचित व्यवस्थापन गरेर नयाँ भिजन र मिसन भएको नेतृत्व ल्याउने हो भने पार्टी फेरि गतिशील हुनेछ। वास्तवमा नेतृत्व स्थापित हुने संक्रमणको बेलामा हो। त्यस अर्थमा कांग्रेसको रूपान्तरणको लागि यो अवसर पनि हो।

किन सुक्यो कांग्रेस?

नीतिगत कुरामा पनि कांग्रेसले आफूलाई पुर्नमूल्यांकन गर्न जरूरी छ। कांग्रेसले करिब सात दशकअघि अँगालेको प्रजातान्त्रिक समाजवादलाई आजको सन्दर्भमा व्याख्या गर्न सकेको छैन। न त नयाँ नीति तर्जुमा गरेको छ न त पुरानै नीतिलाई फेरिएको परिस्थितिमा परिभाषित गर्न सकेको छ।

राजनीतिक परिवर्तनलाई अर्थ–राजनीतिक हिसाबले संस्थागत गरिनुपर्छ भन्नु हुन्थ्यो बिपी। उहाँले राज्य–अर्थतन्त्र अन्तरसम्बन्धलाई निरपेक्ष रूपमा हेरिनुहुँदैन भन्ने मान्यता अनुरूप राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई कांग्रेसको आदर्शका रूपमा व्याख्या गर्नुकोभएको थियो।

मुख्यतया बीपीले परिकल्पना गरेको समाजवादका तीन आयाम थिए। पहिलो– आर्थिक असमानता र शोषणको अन्त्य, दोस्रो– जातीय उत्पीडन र अन्यायको अन्त्य र तेस्रो– भ्रातृत्व, सहकारिता, आत्मसम्मान र स्वाभिमानको सम्मान तथा सुखदुःखमा साथ दिने संस्कृतिको विकास।

२०१५ मा गठीत उनको नेतृत्वको सरकारले समाजवादी आर्थिक विकासको दिशामा क्रान्तिकारी नीति–कार्यक्रम लागू गरेको थियो, तर डेढ वर्षमै राजा महेन्द्रले सैन्य बलमा निरंकुशता लादेपछि नेपालमा समाजवादी आर्थिक विकासको बृहत् लक्ष्य अवरुद्ध भयो।

बीपी कोइरालाको देहान्तपछि कृष्णप्रसाद भट्टराई, सीके प्रसाईं जस्ता नेताहरूले समाजवादी सिद्धान्तको व्याख्या प्रयास गरी नै रहे। तर वर्तमान सन्दर्भमा भने कांग्रेसमा सिद्धान्तको व्याख्या गर्ने नेताको खडेरी छ। कस्तो बिडम्बना! पार्टीको मुख्य नेतृत्व १० मिनेट उभिएर आफ्नो दलको सिद्धान्तको व्याख्या गर्न सक्दैन!

अहिले कांग्रेसको नीतिगत समस्या भनेको बीपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादको समयसापेक्ष व्याख्याको सवाल हो। राजनीतिशास्त्री अलेक्जेण्डर मिनेतले समाजवादलाई ‘व्यक्तिवाद विपरीत’ भनेका थिए।अर्थात्, त्यागको भावना र अरूको सम्मान समाजवादको महत्त्वपूर्ण शर्त हो। समाजवादमा अरूको सम्मान गर्ने संस्कार–चरित्र निर्माण हुन्छ।

तर आफूलाई समाजवादी भन्ने कांग्रेसमा सदैव व्यक्तिवाद हावी भैरह्यो। कार्यकर्ता एवं जनता गरिब हुने अनि नेता धनी हुने प्रवृत्ति व्यक्तिवादी सोच कै परिणाम हुनु पर्दछ। आफ्नो नेतृत्वमा सरकार बनेपछि कांग्रेसले उसले अंगिकार गरेको अर्थ निती समाजवादसापेक्ष थियो वा थिएन मूल्यांकन गरेको पाईंदैन।

आज विपीले भनेको प्रजातान्त्रिक समाजवादको नीतिले विश्वव्यवस्थासँगै जोडिएर चलायमान भएको सन्दर्भमा काङ्रेसले नेपाली समाजका संवेगहरूलाई सम्बोधन गर्नु पर्दथ्यो, त्यो सकेन। जहाँनीया निरंकुश राणा शासन एवं सामान्ती राजतन्त्र ढाल्ने आन्दोलनको नेतृत्व गरेको कांग्रेसले मुलुकमा नागरिक अधिकार सुनिश्चित गरी सामन्ती सामाजिक–आर्थिक पद्धतिले सिर्जना गरेको गरीबी, अशिक्षा, अज्ञानता, असमानता, भेदभाव, शोषण र अन्याय अन्त्य गर्ने लक्ष्यका लागि सैद्धान्तिक अवधारणाको रूपमा समाजवादलाई स्थापनाकालमै अवलम्बन गरेको हो।

उति बेला संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्र उसको पहिचान थियो। तर मुलुक आज प्रजातन्त्रबाट लोकतन्त्र हुँदै गणतन्त्रमा अभ्यस्त भएको छ र राजासहितको प्रजातन्त्र असान्दर्भिक भइसकेको छ। नेपाली कांग्रेसको पहिचान भने अहिले रनभुल्लमा देखिन्छ।

सारांशमा भन्ने हो भने जनजाती, आदिवासी, मधेशी एवं थारू जनताको भावना बुझ्न र उनीहरूको माग सम्बोधन गर्ने सवालमा पनि कांग्रेस नेतृत्व नराम्रोसँग चुक्यो। त्यसका साथै नयाँ संविधान जारी भएसँगै मधेशमा सुरू भएको आन्दोलनलाई निहुँ बनाएर भारतले गरेको नाकाबन्दीका दौरान आफ्ना जनताको भावना बुझ्न या छिमेकीसंग कुटनैतिक चातुर्यता देखाउने कुरामा प्रतिकृया बिहिन जस्तै भयो कांग्रेस नेतृत्व।

यसका अलवा, प्रधानन्यायधिस सुशिला कार्की, डिआईजी नवराज सिलवाल र अख्तियार प्रमुख लोकमान सिंह कार्की प्रकरणका सन्दर्भमा कांग्रेस नेतृत्वको भूमिका पार्टीको लोकतान्त्रिक इतिहासलाई क्षतविक्षत गर्न उद्दत रहे। यी सबै पृष्ठभूमीमा जनताले यस पटकको निर्वाचनमा कांग्रेसलाई दण्डीत गर्न उचित ठाने र गरे पनि।

यसको अर्थ कांग्रेस सदाको लागि सिद्दियो भन्ने होइन। जनताले वर्तमान नेतृत्वको नालायकीपन उपर औँलो ठड्याएका हुन्। अब कांग्रेसले आफ्नो सिद्दान्तले जित्ने तर दलले हार्ने अवस्थाबाट मुक्ति पाउन, आफूलाई समयानुकुल सुधार गर्नै पर्छ। त्यसको सुुरुवात अहिलेको नेतृत्वले अर्को सक्षम नेतृत्वको लागि मार्ग प्रशस्त गरेर मात्रै हुन सक्छ।

(लेखक विपी चिन्तन प्रतिष्ठान अष्ट्रेलियाका प्रवक्ता हुन्।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.