नोट मात्र होइन भोट पनि चलाइदिनुस्   


चालीस लाख विदेशमा बस्ने नेपालीले देशको राजनीतिक संरचना नै परिवर्तन गर्ने यस पटकको चुनावमा मतदान गर्न नपाउँदा खिन्न भए। अवसरको खोजीमा विदेशीएका लाखौ नेपाली युवाको चाहना यस पटकको ऐतिहासिक निर्वाचनमा सहभागी हुन पाइयोस् भन्ने थियो। प्रवासी नेपालीको नोट चल्ने तर भोट नचल्ने भन्ने प्रश्न विदेशमा बस्ने नेपालीले गैर आवासीय नेपाली संघ मार्फत पटक–पटक उठाउँदै आएका थिए।

मुलुकको अर्थतन्त्र विदेशमा काम गरेर पठाइएको रेमिट्यान्सले चल्ने भएकोले पनि यो प्रश्न जायज थियो। नेपाल जस्तो विकोसोन्मुख राष्ट्रका लागि रेमिट्न्यास अर्थतन्त्रको महत्त्वपूर्ण हिस्साका रुपमा रहिआएको छ। यतिखेर रेमिट्यान्सले मुलकको अर्थतन्त्रमा करिब ३० प्रतिशत हिस्सा ओगटेको छ। यति हुँदाहुँदै पनि अवसरको खोजिमा विदेशिएका नेपालीलाई निर्वाचनमा संलग्न गराउन भने सरकार र राजनीतिक पार्टी उदासिन देखिएका छन्। मुलुकको अर्थतन्त्र रेमिट्यान्सले चल्ने भएपनि विदेशीएका नेपाली नागरिकलाई भोटको अधिकार वा व्यवस्था नहुनु भने राज्यको उदासिनता नै मान्नुपर्दछ।

अस्ट्रेलिया, अमेरिका र अन्य विकसित मुलुकहरूमा नागरिकले मताधिकारको हक प्रयोग नगर्दा जरिवाना समेत हुने प्रावधान रहेको छ। विदेशमा रहने नागरिकले पनि राजदुतावास मार्फत वा हुलाकबाट भोट पठाउने व्यवस्था समेत गरिएको हुन्छ। नेपालमा प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि दोस्रो चरणको निर्वाचन सम्पन्न भैसकेको छ। यो निर्वाचनले मुलुकको राजनीतिक स्थायित्व तथा दीगो विकासका  निमित्त मार्ग प्रशस्त गरोस् भन्ने चाहनामा छन् प्रवासी नेपालीहरू।  गैर आवासीय नेपाली संघले पनि आगामी दिनमा बन्ने सरकारले अवसरको खोजीमा विदेशिएका नेपालीलाई मताधिकारबाट बञ्चित नगरियोस् भनेर आह्वान गरिसकेको छ।

जहाँ रहे पनि जता बसे पनि नेपाली नागरिकता बाहकले मताधिकारको अधिकार पाउनुपर्दछ भन्ने हाम्रो माग हो। यस पटक विशेष परिस्थितिका बाबाजुद निर्वाचनमा मतदान गर्न नपाए पनि आगामी निर्वाचनमा मताधिकारको सुनिश्चित गर्ने विषयमा राज्यको ध्यान जाओस् भन्ने नै हाम्रो मूल चाहना हो। शान्ति, स्थायित्व र पूर्वाधार भए नेपालमा लगानीका अवसरको बाटो खुल्ने हुँदा गैर आवासीय नेपाली संघ आगामी सरकारले यसतर्फ ध्यान पुर्याओस् भन्न चाहन्छ।

हामीले विदेशमा रहेर पनि देशमा सकारात्मक परिवर्तन खोजेका छौँ। आर्थिक विकास, समुन्नत समाज र समृद्ध राष्ट्र हाम्रो चाहना हो। ठूलाे संख्यामा नेपाली युवा जमात विदेसिएको अहिलेको परिस्थितिमा राज्यले उनीहरूलाई पनि सम्बोधन गर्न सक्नुपर्छ भन्ने हाम्रो चाहना हो। देशमै रोजगारीको अवसरको सृजना गर्ने र युवावर्गलाई विदेशिनबाट रोक्न बाटो खोज्नु पर्ने राज्यको अर्को दायित्व पनि छ यतिखेर। तर विदेशिएका नेपालीलाई पनि समान मताधिकार प्रदान गर्ने विषयमा भने राज्य गम्भीर हुनैपर्छ। रोजगारी र अवसरको खोजिमा विदेशिएका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सकेको भए भोट प्रतिशत पनि बढ्ने नै थियो।

यसलै राजनीतिक परिवर्तनलाई सकारात्मक दिशा दिन थप योगदान दिने कुरामा गैर आवासीय नेपाली संघ विश्वस्त छ। यसो भएमा एक पटकको नेपाली सँधैको नेपाली भन्ने एनआरएनको मूल नारा सफलिभूत हुने साथै देश निमार्णको योजनामा प्रवासीहरूको उल्लेख्य सहभागिता हुने पक्का छ।

 

(लेखक गैर आवासीय नेपाली संघका अध्यक्ष हुन्।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.