मेरा कथाका नयाँ पात्रहरू

मेरा कथाका नयाँ पात्रहरू


रातको १० बजेपछि एकजना हितैसी मित्रको म्यासेस आउँछ, ‘काठमाडौंको १ मा तपाईँका परिवार र थुप्रै चिनेजानेका मानिसहरू बस्छन्। रविन्द्र मिश्रलाई भोट दिन फोन गरिदिनुस् है।’ मैले ‘ओके’ भनेर म्यासेस पठाएँ। अनि एकछिन गम खाएर सोचेँ। यिनी यहाँ बस्छन्? यतैको नागरिकता लिइसकेको कुरा पनि गर्दैथिए। फेरी यिनलाई केको जोश चलेछ। ‘स्माइल इमोजी’को जस्तो भयो सोच्दासोच्दै अनुहार। फेरी मैले ‘ओके’ नलेखेको भए यिनले मलाई तारन्तार म्यासेज र फोन गरेर ओठ तल फर्केको ‘इमोजी’ बनाउने थिए होलान्। खैर त्यो चान्स भने पाएनन्।

हरेक दिन एउटा कथा। कथा पनि अलिकता हँसाउने नै हुनुपर्छ।  त्यसमाथि पनि कथाका चरित्रहरूको नाम पनि उसैले राख्नुपर्छ र त नामहरू मुख आँ गरेर हाँस्ने इमोजीजस्तै हुन्छन्। हामी त्यो नाम राख्दाराख्दै पनि खुब हाँस्छौँ। कथा सुनेर पनि उसलाई मज्जाले हाँस्नुपर्छ, त्यसको लागि मैले जसरी हुन्छ ती कथाका पात्रहरूलाई हाँस्यरसले भरिपूर्ण पार्नुपर्छ। ती कथाका पात्रहरूले उसलाई मज्जाले हँसाउनुपर्छ। हाँसिसकेर मात्र ऊ बिस्तारै सुत्छे र मैले सिरक ओडाएर गुडनाइट किस गरिसकेपछि मजाले निदाउँछे।

अहिले १० वर्षकी भई एभा, उसको यो क्रम ऊ ३ वर्षकी हुँदादेखिको हो अहिलेसम्म जारी छ। उसलाई भनेका कथाहरुको टिप्पणी मात्र गरेको भए केही ठेली चाहिँ हुने नै थिए। छोरीलाई कथा भनेर ननिदाउन्जेलसम्म मैले धर नै पाउँदिन। कहिलेकाँही त कथाका पात्रहरूले डोर्याउँदा डोर्याउँदै रातको एघार नै कटाइदिन्छन्। त्यतिबेला मैले कसैको फोन उठाउनु र त्यसमा झुत्तिनु भनेको छोरीको अनुहारमा अनह्याप्पी इमोजी देखिनु हो।

हमेसा उनको निद्रा बिगार्न मलाई उचित लाग्दैन्। फेरी अब १, २ वर्ष त होला नि त्यसपछि उसको पनि आफ्नै संसार हुन्छ। छोरीकै साथीकी आमाले भन्दै थिई, ‘चन्द्र अब १÷२ वर्ष त हो नि १३ वर्ष लागेपछि हामीभन्दा बढी यिनीहरूलाई साथी प्यारो हुन्छ।’ अनि अझ गाढासँग बस्यो मेरो मनमा, कि मैले दिने समय यही रातको एक–डेढ घण्टा त हो नि। त्यसपछि त छुट्टीको दिनसमेत बाउछोरीको गफ र कथाले निद्राको सुरुवात गर्छ।

भोलिपल्ट पनि ती मित्रले झण्डै त्यस्तै समय पारेर म्यासेज गरे, ‘गर्नु भो?’ मैले पनि किन नगर्नु, गरेँ नि भनेर भनेँ। उनले फेरी सोधे,‘सबैलाई सोध्नुभो?’ मैले पनि लेखिदिएँ, सोधेँ। उनले तत्काल फोन गरे। छोरीको कथा भर्खर सुरु हुनलागेको थियो। मैले फोन उठाइँन। उनले फेरी म्यासेज गरे,‘फोन त उठेन।’ अनि त मैले त्यसको रिप्लाई नै गरिनँ। सोचे होलान्, म्यासेज पनि उठेन।

छोरीको स्कूलका पाठ्यक्रम बाहेकका अरु क्रियाकलापलाई ध्यानमा राखेर मेरो अफिसको समय पनि बिहान एक घण्टा अगाडि नै सारेको छु। त्यो एक घण्टाले अमेरिकाको अहिलेको जीवनमा बहुत फरक पारेको छ। एक त अफिस समयको अत्यधिक गाडी जामलाई केही हदसम्म कम गरियो। अर्को छोरीका अरू क्रियाकलापका लागि समय दिन पाइयो। त्यो समयको सारिणी मिलाउन पनि निकै नै पापड बेल्नुपरेको थियो, मेरा थुप्रै अनुरोधहरू पहिला बदर भएका थिए। ४ बजे छुटेको अफिस बेलुका घरपुग्दा साढे पाँच भैसक्छ। भनाँै सालाखाला डेढघण्टामा अफिसघरको एकतर्फी दुरी तय हुन्छ।

बिहानको तिरीखिरी पनि त्यही नै हो। साढे ६ बज्दा त घरबाट निस्किसक्नुपर्यो । अाठ बज्दा अफिसमा प्रवेश भइसक्छ। अनि त अरु कुरा सोच्ने फुर्सद त हुन्छ, तर सोच्ने मात्रै, गर्ने त कुरै छैन। साथीहरूको फोन आउँछ, भूमिगत भयो भनेर। भएँजस्तो लाग्दैछ, आफ्नै ताल हेर्दा। तर यो भूमिगत जीवनको समाप्ति अब चाँडै नै हुन्छ । भनौं केही वर्षमै। बाहिरी भेटघाट ज्यादै न्यून, निकट पारिवारिक बाहेक सञ्चार पनि करिब सबैसँग बन्द। साँच्चैको भूमिगत जीवनमा छु, अमेरिकी भूमिमा।

बिहान फेरी म्यासेज आयो अर्का मित्रको, झापाबाट। तपाईँको परिवारका सबै सदस्यले त भोट विश्वप्रकाश शर्मालाई दिन्छन् होला, तर समानुपातिकमा चाहिँ तराजुमा हाल्न भनिदिनोस् ल! अफिसका लागि बस चढ्न लाइनमा थिएँ । सोचेँ एकछिनपछि सिटमा बसेर म्यासेर रिप्लाई गर्नुपर्ला। फेरि म्यासेज आयो अर्कै पुराना स्कूल पढ्दाका साथीको। फोन नम्बर पनि कहाँबाट पाएछन् कुन्नि। म … हो, थाहा छ तेरो परिवारले भोट विश्वलाई गर्छ, तर समानुपातिकमा चाहिँ  यसपालि सूर्यलाई गर्नु भन् है, तैले भनिस भने सुन्छन्। धुलाबारी माद्यमिक विद्यालय पढ्दाका ती मेरा बालसखा सम्झिएँ। आँखै रसाउला जस्तो भयो। बालखकालको मित्रता मरुञ्जेलसम्म रहन्छ रे! हो कि जस्तो लाग्यो। तर मित्रका कुराले एकछिन सोच्न बाध्य बनायो।

मित्र उठेका भए वा उनका परिवारका सदस्य उठेका भए उनको कुरा म मान्थेँ पनि होला तर यो त्यसभित्र पर्ने कुरा थिएन। फेरी मैले मेरो परिवारलाई अमेरिकाबाट फोन गरेर यसलाई भोट गर भनेर दवाव दिनु राम्रो काइदा हो जस्तो पनि लागे। मित्रलाई भने म त्यहाँ भएको भए बेग्लै कुरा अहिले म त्यहाँ छैन, त्यसैले परिवारलाई यो कुरामा मैले दबाब दिन मिल्दैन। जसले जेमा हाल्छन् हालुन्, त्यो तिनीहरुको मताधिकारको कुरा हो। तँ घरमा गएर फकाएर सूर्यमा हाल्न लगा न, भैगो नि! उसले भन्यो,‘एकपल्ट ट्राई गर्न यार!’ मैले भने अँह गर्न सक्दिनँ। ऊ रिसायो होला, तैपनि उसले आफ्नो पार्टीका लागि त्यहीँबाट एकपल्ट ट्राई मार्यो भन्ठानेँ।

नेपालबाट म्यासेज आउनुलाई त स्वाभाविक नै ठान्न सकिनँ। किनभने यसलाई एउटा उत्सवजस्तो मनाइन थालेको छ। नेपाली जनताको पैसामा नेपाल सरकारले आयोजना गरेको उत्सव। चारपाँच वर्षमा दुईतीन पटक आउने। सबै नेपालीहरू यसमा भाग लिन्छन् र आ–आफ्नो तरिकाले उत्सव मनाउँछन्। अनि जसले जित्छ त्यसले ५ वर्ष एकल उत्सव मनाउँछ।

तर अमेरीकाकै नम्बरबाट पनि थुप्रै यस्ता किसिमका म्यासेज आइरहेकाछन्। लाग्छ, नेपालीहरु अमेरीका आएका मात्र छन् र यहाँ सास मात्र फेरेका छन्, राजनीति मोह र त्यसभित्रको हंश नेपालमै छ। आज न्यूयोर्कको ज्याक्सन हाइट्ुसमा बाबुरामको पार्टीमा फलाना फलाना जाने भए रे। टेक्सासमा आज रवीन्द्र मिश्रको पार्टीमा जानेहरुको नाम लेख्न सुरु गरे रे। क्यालिफोर्नियादेखि न्यूयोर्कसम्म कांग्रेस, एमाले, माओवादीमा पहिलादेखिकै थुप्रै रैथाने त्यसै पनि हुने नै भए, जसको किल्ला निकै गाडिएको छ। आफूलाई भने रनभुल्ल हुन्छ। एक त समय छैन, अलिकति भएको समय पनि सकेसम्म तानेरै लान खोज्छन्।

अहिलेसम्म छोरीलाई मैले सुनाएका अधिकांश कथामा जनावरहरूलाई विभिन्न पात्रका रुपमा उभ्याएको थिएँ। अब भन्ने कथामा मैले मेरै मातृभूमि नेपालको स्वर्गजस्तो भूगोल, त्यसकाे प्राकृतिक छटा, विविध जाति, भाषा, साँस्कृतिक चाडपर्वको वर्णन गर्नेछु। र त्यसमा राज्य गर्ने नेताहरूको नाम तिनीहरुले अहिलेसम्म देखाएका चरित्रअनुसार प्रयोग गर्ने विचार गरेँ। अब केहि दिनसम्म कथा नेपालकै सेरोफेरोमा घुम्नेछ। नयाँ पात्रहरू जुराउन मलाई सहयोग गर्ने मेरा म्यासेजवादी मित्रहरूलाई धेरैधेरै धन्यवाद!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.